site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नैतिकताले ढलेको 'सालैजो'

काठमाडौं । पसलभित्र चारैतिर हातले बुनेका थरिथरि बुट्टाले सजिएका कार्पेटहरू छन् । पसल प्रवेश गर्न बित्तिकै अगाडिको भित्ताको माथि ठुलो निलो अक्षरमा ‘सालैजो कार्पेट’ लेखिएको बोर्ड छ । 

बोर्डको मुनि पसलमा खराब नजर नलागोस् भनेर कागती र हरियो खुर्सानी (नजर बटु) झुण्ड्याइएको छ । तर, नजर बटुले काम गरेन । किनभने पसलमा कोरोना महामारी र बृहस्पतिको नैतिकताको आँखा लागिसकेको छ । 

बृहस्पतिको काँधमा समस्या, पीडाको ठुलो भारी छ । कोरोना महामारीले करिब एक वर्ष भयो, उनको पसल थलिएको ।

सडकका गल्ली चहारेर सुरु भएको सालैजो कार्पेटको व्यापारले लाखौँको भाडा लाग्ने सटरसम्मको यात्रा गर्‍यो । तर, बजारमा छ्यापछ्याप्ती उपलब्ध सस्ता मेसिनले बुनेका कार्पेट र महामारीको चपेटामा बृहस्पतिको सालैजो कार्पेट पर्‍यो । अनि त्यसको स्वाभाविक असर उनको परिवारमा पर्‍यो । 

पसलको ११ महिनाको भाडा तिर्न बाँकी छ । पचास लाख ऋणका जमानत साहु बा (शंकर जी) दिनको एकपटक बृहस्पतिको पसलमा आएर धम्क्याइरहन्छन् । महामारी केही कम भएपनि त्यसको असर यति छिटै कम हुने छाँटकाँट छैन ।

यति हुँदाहुँदै पनि बृहस्पतिले हिम्मत हारेका छैनन् । उनीसँग तीन महिनाको समय मात्रै बाँकी छ । आफूले भोगिरहेका सबै समस्या आजको भोलि नै पार लगाएर मेहनतले सिचेको ‘सालैजो कार्पेट’लाई बचाउने मौका बृशस्पतिसँग छ ।

तर, शक्तिको आडमा छलकपट गर्ने शोभितले दिएको मौका र अनैतिकताबाट कोसौँ टाढा भाग्ने बृहस्पतिको नैतिकताबीच ठुलो घम्साघम्सी पर्छ । आखिर जित कस्को हुन्छ ? छलकपट वा नैतिकताको ? परिवारको सुख र मेहनतले सिचेको सालैजो कार्पेटका लागि बृहस्पतिले आफ्नो नैतिकता बेचिदिन्छ ?

यी सबै अनुत्तरित प्रश्नको जवाफका लागि टेकुस्थित कौशी थिएटरको ‘कथा घेरा’भित्र पुग्नुपर्ने हुन्छ । नाटकका मुख्य पात्र बृहस्पतिको भूमिकामा रोय श्रेष्ठले दिएको प्रस्तुति साँच्चै जीवन्त महसुस हुन्छ । 

नाटकका अर्का बलिया तर खलनायक पात्र हुन्, शोभित उर्फ अनोज पाण्डे । कमजोर आर्थिक स्थितिकै कारण समाजको हेपाइ सहेर जेनतेन एसएलसीसम्मको पढाइ पूरा गरे । त्यहीबेला समाज परिवर्तनको बिगुल फुक्दै आएको वामपन्थी पार्टीको 'जिन्दावाद' र 'मुर्दावाद'लाई आत्मसात गरेर उनी अघि बढे ।

तर, पार्टी सत्तामा पुगेपछि मात्र उनले थाहा पाए– उनको पार्टी समाज परिवर्तका लागि होइन, आफ्नो ढुकुटी बलियो बनाउन सबै खेल खेल्दै छ ।

नेताहरूलाई नजिकबाट नियालेका उनले अन्तत: पैसा र पदले दिने शक्तिको सामर्थ्य थाहा पाए । र, कुनैबेला उनलाई कठपुतली बनाएर नचाउने नेताहरूलाई कठपुतली बनाउने बाटोमा लागे । त्यहाँसम्म पुग्न उनले साम, दाम दण्ड, भेद सबै गरे ।

आँखामा चस्मा र औपचारिक पहिरनमा भलादमी र नैतिकवान देखिने शोभितभित्रको अनैतिकताले बृहस्पतिको नैतिकतालाई कसरी डस्छ भन्ने कुरा नाटकको गतिसँगै अघि बढ्छ ।

नाटककार आशान्त शर्माको लेखन र निर्देशन रहेको यस नाटकले आम नागरिकको मानसपटलबाट धमिल बन्दै गएको महामारीको असर पुन: एकपटक गाढा बनाउँछ । महामारी, देशको राजनीतिक स्थिति, सामाजिक बेथिति, निकट्म मित्रको प्रहार र साँस्कृतिक आक्रमणका मुद्दालाई शर्माले टपक्क टिपेर रंगमञ्चमा दुरुस्तै र अझै बलियो ढंगले प्रस्तुत गरेका छन् । 

कुनै बेला सीदेखि बिरहका कुरा पोख्ने माध्यम बन्ने गरेको गण्डकी प्रदेशको लोकप्रिय भाका ‘सालैजो’बाट सुरु हुने नाटकको अन्त्य पनि त्यही भाकाबाट हुन्छ । किन र कसरी गाउँमा साताको एकपटक घन्किने सालैजोको आवाज मधुरो हुँदै गयो ? भन्ने नाटकमा देखाइएको छ ।

श्रीमान्को नैतिकता र स्वाभिमानको जगलाई डगमगाउन नदिन एक श्रीमतीले गर्ने त्याग र हातेमालोको गरो निभाएकी शान्ता उर्फ सुचित्रा उप्रेतीको अभिनयले नाटकमा अर्को रंग भरिदिएको छ । 

त्यस्तै, एक मात्रै आयस्रोत भएका कतै पीडित र कतै पैसाको भावना मात्रै बुझ्ने कठोर पात्र साहु उर्फ प्रभार न्यौपानेको जीवन्त अभिनय पनि तारिफयोग्य छ ।

एकल अभिभावकलाई महामारीले सिर्जना गरेको असर नाटकले उठाएको अर्को गहन विषय हो । आफ्नो एकमात्र सन्तानको रोजीरोटीका लागि रोजी (संगीता थापामगर)ले आफ्नो शरीर बेच्नसमेत पछि पर्दिनन् । तर, अन्तिममा उनले आत्महत्याको बाटोल रोज्छिन् ।

बुबाको स्थानीय उत्पादनलाई बजारीकरण गर्न हरेक प्रयास गर्ने दक्षता भएर पनि बेरोजगार युवाको कोटामा परेका प्रतीक (अजश्र ढुंगाना) र हिमानी (हेना नगरकोटी), उनीसँग विवाह गरेर श्रीमान् र ढल्कदै गरेको परिवारलाई उकास्ने सपना बुनेकी हुन्छिन् ।

महामारीकै कारण आफ्नै पसल बन्द गरेर हरेक दिन त्यसकै अगाडि बाघचाल खेल्ने रमन (प्रयास बान्तवा राई) र बाह्य पर्यटक नभित्रिएपछि त्यही बाघचालका चालकमै सीमित टुगा (वीरेन्द्र मुखिया)मार्फत महामारीको चपेटाले बेरोजगार बनेका आम युवाको कथा बोलेको छ । 

मुखले ठिक्क अनि व्यवहारले दिक्क पार्ने आफन्त भनिएका मामा (अर्जुन न्यौपाने) अनि दिदि (सरला पराजुली)मार्फत दुखमा साथ छोड्ने अनि सुखमा आफन्तको नाता लगाउने रंग बदलिरहने छेपाराजस्ता आफन्तहरू देखाउन खोजिएको छ । 

अभिनय, बोलीचालीको भाषा, दृश्य र संवादलाई बल पुर्‍याउन समयसमयमा गुन्जिने प्रत्यक्ष संगीतले नाटकलाई थप बलियो बनाएको छ । 

अन्तिममा दर्शकदिर्घाबाट आएको ताली, रसाएका आँखा र आफूसँग मिल्दोजुल्दो भएको भन्दै आएका प्रतिक्रियाले पनि नाटकको सफलता बताउँछ । 

मार्च ११ बाट मञ्चन भएको नाटकको अन्तिम मिति २२ मार्च हो । शनिबार दिउँसो १ बजे र साँझ ५ः१५ अनि हरेक दिन साँझ ५ः१५ मा नाटक मञ्चन हुँदै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ६, २०७८  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro