site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सबैको एउटै स्वरः तिजका गीत विकृत भए, सेन्सर बोर्ड खडा गरौं

काठमाडौं । पछिल्लो समय तिज गीत विकृतितर्फ उन्मुख भएको गायक–गायिकाहरुले बताएका छन् । अग्रजदेखि अहिले स्थापित भइसकेका लोक तथा दोहोरी गायक÷गायिकाहरु नयाँ पुस्ताले तिजका गीतलाई विकृत बनाउँदै गएको बताउँछन् । 

तिज गीत सुरुआत गर्ने गायिका हरिदेवी कोइरालादेखि अहिलेका लोकप्रिय गायक पशुपति शर्मासम्म तिजका गीत भड्किला हुँदै जानुमा पुस्तालाई दोष दिन्छन् । 
तर, नयाँ पुस्ता भने आफ्नो कारणले गर्दा तिज गीतमा मौलिकता हराएको स्वीकार गर्दैन । कहिले मोडलिङ त कहिले आफ्ना गीतका कारण चर्चा र विवादमा रहने गायिका ज्योती थापा मगर तथा तिजबाटै गायन यात्रा सुरु गरेकी सिर्जु अधिकारी नयाँ पुस्ताले तिजको मौलिकता अतिक्रमण गरेको स्वीकार्दैनन् । 

हरिदेवी कोइरालालाई अहिलेका कति तिज गीत त तिज गीतजस्तै लाग्दैनन् । “तिज गीत हो कि होइन ठम्याउन गाह्रो छ । रातो साडी लगाएर दुई चार जना नाच्दैमा तिज गीत हुँदैन । यसमा मौलिक परम्परा, मौलिक लय, शिष्टता र मौलिक पहिचान झल्किने माइती र चेलीको सम्बन्धका विषय हुनुपर्छ । यसलाई कायम राख्दै कलाकारले गाउनु पर्छ । यसलाई संरक्षण र सम्बद्र्धन गर्दै जानुपर्छ । यसका लागि सोच्नु पर्छ,” उनी भन्छिन्, “हाम्रोमा ऋतुअनुसारका गीत छन् र बाह्रै महिनामा गाइने गीत छन् । यही हाम्रो चिनारी हो र यसलाई कसरी अगाडि बढाउनु पर्छ भनेर पत्रकार तथा संस्कृतिविद्हरुले पनि औंल्याइदिनुपर्छ ।” 
आफूले गाउँदै गरेको गीतको विशेषता के हो भन्ने बुझेर मात्रै गीत गाउन उनी आग्रह गर्छिन् । 

गायिका कोमल ओली तिजका गीत भन्नेबित्तिकै प्रायः विवादमा आउँछिन् । गीतमा प्रयोग गर्ने शब्दलाई लिएर उनको कडा आलोचना हुनेगर्छ । तर, उनी स्वयम्लाई भने उनका गीतले समाजलाई अपाच्य हुने खालका गीत गाएको जस्तो लाग्दैन । 

“लोक गीतमा टिपिकल शब्द प्रयोग हुनुपर्छ । गीत मौखिक कथ्य साहित्य भएकाले बोलेर एउटा पुस्ताबाट अर्को पुस्तालाई हस्तान्तरण गर्दै जाने हो । जस्तो पोई भन्ने शब्द हराउन लाग्यो । लोग्ने भनिन्थ्यो, त्यो पनि लोप हुन लाग्यो । आजकलका युवायुवती श्रीमानलाई ‘हबी’ भन्न थालिसके । आफूलाई इलिट वर्गको सम्झनेहरुले आफ्नै भाषा बोलिरहेका छन्,” गायिका वली भन्छिन्, “म संस्कृतिकर्मी र लोकसंगीतमा भएकाले मौलिक शब्दहरु नै प्रयोग गर्छु ताकी यो अर्को पुस्ताले थाहा पाओस् । बोलीचालीका शब्दहरु हराउन थाले । हामी पहिला अमिलोलाई चुकिलो भन्थ्यौं, त्यो अहिले हराइसक्यो । मेरा गीतमा पोई, लोग्ने, स्वास्नी जस्ता शब्द हुन्छन् उसले महिलालाई हिनता बोध र अपमानित गर्दैनन् भनेर नै प्रयोग गर्नेगर्छु ।”

पर्व गीतको आफ्नै लय हुने गरे पनि त्यो लयलाई अहिलेको नयाँ पुस्ताले प्रयोग नगरेको उनको गुनासो छ । तिजका नाममा रत्यौली गीत आएको गुनासो गर्दै उनले भनिन्, “दोहोरी भाकामा पनि तिज गीत गाइएका छन् । कुन तिज गीत हो र कुन होइन भनेर आम स्रोता तथा दर्शक र सञ्चारमाध्यमले छुट्याउनु पर्ने बेला भएको छ ।”

गायक पशुपति शर्मालाई पनि तिज गीत परिर्माजनका नाममा भड्किला भन्दै भएको महसुस हुन्छ । तर शर्मा स्वयम्लाई भने तिजका गीतलाई कमेडी बनाइदिएको आरोप लाग्ने गर्छ । शर्मा भने यो टिप्पणीलाई आफू पनि गर्न नसक्नेहरुले लगाउने गरेको आरोप भन्छन् । 

“म व्यङग्ग्य गरिरहेको हुन्छु । व्यङग्यात्मक गीत पनि गाउन हुन्छ जस्तो लाग्छ मलाई । पहिला पहिलाका गीत सुन्दा पनि त्यस्ता गीत छन्,” उनी भन्छन्, “म पनि अव धेरैको अग्रज भइसकें । मैले पनि उनीहरुलाई गरेर देखाउनुपर्छ । मेरो भनाइ उहाँहरुले पनि यस्तो होइन यस्तो हो है भनेर गरेर देखाउनुपर्छ । चुप लागेर बसेर मात्रै हुँदैन । काम पनि गर्नुपर्छ । नयाँ कलाकाले विगारे भनेर मात्रै हुँदैन । यस्ता गीत पनि चल्छन् भनेर देखाउनुपर्छ ।” 

समय अनुसार गीत फेरिँदै गएको उनको बुझाइ छ । उनी भन्छन्, “५० वर्षकी आमा र २० वर्षकी युवतीले सुन्ने गीत र मन पर्ने गीत एकै खालका हुँदैनन् । फरक उमेर अनुसार माग र स्वाद पनि फरक हुन्छ । मैले मेरी छोरीलाई तिमीले यही गर्नुपर्छ भनेर भन्न सक्तिन र भन्नुपनि हुँदैन । सबै समय अनुसार चल्नुपर्छ । ६० वर्षको जेष्ठ नागरिक र २० वर्षको किशोरले हेर्न र संसार फरक भइसकेको छ ।” 

यद्यपी के चल्छ भन्ने मानसिकताबाट नयाँ कलाकार आएकाले विकृति बढेको उनको भनाइ छ । 

पशुपतिको समय परिवर्तन भएसँगै गीत पनि परिवर्तन हुदै गएको भन्ने तर्कमा गायिका ज्योती थापा मगरको पनि सहमति छ । उनी आफ्ना गीतले तिजको मौलिकता मार्दै गएको भन्नेहरुको टिप्पणीमा सहमति जनाउँदिनन् । 

“समाजमा जे भइरहेको छ त्यो नै मैले मेरा गीतमा समावेश गरेको छु । तिजमा दारु खाँदै हिँड्ने अनि उनीहरुले नै त्यही कुरा समावेश भएको गीतलाई विकृति फैलाएको भन्दै हिँड्न सुहाउँदैन,” ज्योती भन्छिन्, “चेली र माइती एक वर्षमा भेट हुने र आफ्नो दुःख साट्न अहिले तिज कुर्नु पर्दैन त्यही भएर पनि तिजका गीतमा समाजको यथार्थ समावेश हुन थालेको हो । यसमा आलोचना र टिप्पणी गरिरहनुपर्ने कारण म देख्दिन ।”

मिलन लामा तिजका गीतप्रति आफ्नो कठोर धारणा सार्वजनिक गर्दै आएका लोक गायक हुन् । उनी पुरुषले तिज गीत गाउनु नहुने बताउँछन् । “महिलाको पर्व भएकाले राज्यले महिलालाई मात्रै विदा दिँदै आएको छ तिजमा । त्यसैले पुरुषले तिज गीत नगाएकै राम्रो हो,” उनी भन्छन्, “तिजका नाममा दोहोरी र रत्यौली जस्ता गीत आए यसले यो पर्व नै कता जाँदैछ भन्ने प्रश्न उठाएको छ ।” 

मिलन लामा र हरिदेवीको चिन्ता एउटै विषयमा छ, कतै तिज नै लोप हुने त हैन ? हेरिदेवी भन्छिन्, “अहिलेका उत्ताउला गीत हेर्दा तिज नै लोप हुने त हैन भन्ने प्रश्न जन्मिएको छ । यो लोप भयो भने हाम्रो संस्कृतिको एउटा पाटो हामीबाट हराएर जान्छ ।”

चलचित्र लुटको सिक्वेलको गीत ‘ठमेल बजार...’ गाएर लोकप्रिय भएकी गायिका मीना निरौला पनि कलाकारहरुले तिजका गीतलाई व्यवसायको आँखाले हेर्दा विकृति भित्रिँदै गएको बताउँछिन् । युट्युब भ्युअर्स बढाउने नाममा उत्ताउला गीत बजारमा आएको उनको टिप्पणी छ । 

लोक दोहोरी गायिका मुना थापा मगर, सुनिता दुलाल, राधिका हमाल, देवी घर्तीमगर लगायतका कलाकार पनि तिजका गीत विकृत बन्दै गएकोमा चिन्तित देखिन्छन् । “कतिले यस्तो धारणालाई विरोध पनि गर्नुहोला, तर विकृति भित्रिन नदिने हो भने सेन्सर बोर्डको आवश्यकता पर्नेरहेछ । सेन्सर बोर्ड भन्नाले स्वतन्त्रतामाथि हस्तक्षेप नै गर्ने खालको भने होइन । त्यसले छाडापन र चरित्रलाई भने रोक्न सक्छ,” उनीहरुको धारणा छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro