site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीव्र महत्त्वाकांक्षीको बेगले ढलेको मंगतुराम समूह

काठमाठौं । साढे दुई दशकअघिसम्म विराटनगरमा व्यवसायी घरना मंगतुराम समूहको रजगज नै थियो ।  समूहले आक्रामक रुपमा लगानी बढाइरहेको थियो । व्यवसाय विस्तार गरिरहेको घरानाको अवसान २०५७ देखि सुरु भयो । 

इन्डोनेसियाबाट आयात गरिएको पाम आयलमा पशुको बोसो मिसिएको भेटिएपछि समूहको पतन सुरू भएको हो ।  त्यसबेला समूहको २० करोड रुपैयाँ डुबेको थियो ।  त्यसपछि समूहको व्यापार व्यवसाय निरन्तर ओरालो लाग्यो । अहिले समूह अस्तित्वमा छैन भने परिवारका सदस्यहरू छिन्नभिन्न भइ भारत पलायन भएका छन् ।

पछिल्लो पटक राष्ट्रिय वाणिज्य बैंकले समूहको उद्योग र परिवारका सदस्यको नाममा रहेको सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । यसअघि पनि बैंकले लिलामीको प्रक्रिया अघि बढाएको थियो ।  अहिले राष्ट्रिय वाणिज्य बैंकले ३५ दिनभित्र ऋण तिर्न समूहलाई ‘अल्टिमेटम’ दिएको छ । 

तोकिएको समयभित्र ऋण नतिरे समूहको उद्योग र परिवारको नाममा रहेको धितो लिलाम गरी कर्जा असूल गर्ने बैंकले जनाएको छ ।  बैंकले धितोमा रहेको सम्पत्तिको न्यूनतम् मूल्य एक अर्ब चार करोड ५५ लाख ७६ हजार नौ सय ६० रुपैयाँ तोकेको छ । 

समूहको सम्पत्ति सकार्न न्यूनतम् सीमा भन्दा बढी कबोल गर्नुपर्ने बैंकले जनाएको छ ।

समूहअन्तर्गत अन्नपूर्ण सप एन्ड केमिकल्स इन्डष्ट्रिज प्रालि, नारायण भेजिटेवल इन्डष्ट्रिज प्रालि, गणेश प्लास्टिक इन्डष्ट्रिज प्रालि, जयकाली बिस्कुट एन्ड कन्फेस्नरी, दन्तकाली प्याकेजिङ एन्ड इन्डष्ट्रिज, लक्ष्मी फूडवेयर इन्डष्ट्रिज सञ्चालनमा थिए । 

यस्तै सञ्चालनमा रहेका अन्य उद्योगहरुमा अन्नपूर्ण आइरन एन्ड स्टिल प्रालि, घटस्थापना इन्टरप्राइजेज, र फूलपाती इन्टरप्राइजेका नाममा समूहले औद्योगिक, मालसामान, बैंक जमानत, क्यास क्रेडिट, विल्स पर्चेज, एओसी र टीएललगायत विविध शीर्षकमा कर्जा लिएको बैंकले जनाएको छ । 

समूहको अधिक महत्त्वाकांक्षाका कारण नौ उद्योग व्यवसाय बन्द भएको छ भने ठूलो संख्यामा रोजगारी पनि गुमेको छ । 

बैंकले माथि उल्लेखित उद्योगका साथै मंगतुराम अग्रवाल, सुरेशकुमार अग्रवाल, कृष्णकुमार अग्रवाल, दामोदरप्रसाद अग्रवाल, सुवोधकुमार अग्रवाल, नारायण अग्रवाल, सुमन अग्रवाल, शान्तिदेवी अग्रवालका साथै हनुमान स्पिनिङ एन्ड वेभिङ इन्डष्ट्रिज र शान्ति फूडवयेर इन्डष्ट्रिजको नाममा रहेको जग्गा लिलाम गर्न लागेको हो । 

सर्वोच्च अदालतबाट दोषी ठहर 

सर्वोच्च अदालतले २०८० मंसिर ७ गते दुई दशकअघिको वाणिज्य बैंकको ऋण अपचल मुद्दामा मंगतुराम समूह र बैंकका कर्मचारीलाई दोषी ठहर गरेको थियो ।  सर्वोच्चका तत्कालीन न्यायाधीश प्रकाशमानसिंह राउत (हालका प्रधानन्यायाधीश) र डा. कुमार चुडालको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गरेको थियो । 

अदालतले मंगतुराम दाजुभाईहरुलाई जनही एक एक वर्ष जेल सजाय र बिगो तिराउने फैसला गरेको थियो ।  राष्ट्रिय वाणिज्य बैंक कर्जा अपचलन मुद्दामा आरोपित व्यक्तिहरुलाई दोषी ठहर गर्ने विशेष अदालतको फैसलालाई सर्वोच्चले सदर गरिदिएको थियो । 

सर्वोच्च अदालतबाट मंगतुराम व्यवसायी समूहका चार दाजुभाइ र राष्ट्रिय वाणिज्य बैंकका चार कर्मचारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्जा अपचलनमा संलग्न व्यक्तिलाई एक अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गरेको थियो । भ्रष्टाचार मुद्दामा मंगतुराम र उनका छोराहरु सुबोध, सुरेश, कृष्ण, नारायण र दामोदर अग्रवाललाई दोषी ठहर गरेको थियो ।

त्यसबेला वााणिज्य बैंकको विराटनगर रानी शाखाका ६ जना कर्मचारीहरु पनि दोषी ठहर भएका थिए । 

बैंकका रानी शाखाका तत्कालीन प्रबन्धकहरु राधाप्रसाद साह र शिवचरण मण्डल, सहायक प्रवन्धक चन्द्रलाल अमात्य, लेखा अधिकृत भैरवप्रसाद पोखरेललाई विशेष अदालतले ६–६ महिनाको कैद सजाय सुनाएको थियो । 
यस्तै बैंकका सहलेखा अधिकृत वीरेन्द्रलाल छोटे र कामू सहलेखा अधिकृत श्यामकुमार श्रेष्ठलाई भने विशेष अदालतले सफाइ दिएको थियो ।

समूहले नक्कली र झुटो कागजातका आधारमा ऋण लिएको दाबी गर्दै अख्तियारीले २०६२ जेठमा कर्जा अपचलन र भ्रष्टाचारमा मुद्दा चलाएको थियो । मंगतुराम समूह अन्तर्गत रहेका विभिन्न कम्पनी र फर्महरूलाई ऋण दिँदा कर्मचारीसँग मिलेमतो भएको अख्तियारको दाबी थियो । 

मुद्दा दायर भएको ६ वर्षपछि अर्थात् २०६८  वैशाखमा विशेष अदालतबाट फैसला भयो । 

कमसल धितोमा सीमाभन्दा बढी ऋण दिएर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले मंगतुराम समूहका परिवार र ऋण दिने बैंकका कर्मचारीलाई दोषी ठहर गरेका थिए ।

२०५३ सालदेखि मंगतुरामले स्थापना गरेका उद्योगहरुमा कूल ५१ करोड रुपैयाँ ऋण प्रवाह भएको र साढे १४ करोड ऋणको मात्रै धितो लिइएको अख्तियारको दाबी थियो ।  अख्तियारले मुद्दा दायर गर्ने अवधिसम्म ८६ करोड ७० लाख ऋणको ब्याज ५१ करोड रुपैयाँ पुगिसकेको अख्तियारले जनाएको थियो ।

तीव्र महत्वाकांक्षाले सकियो समूह  

कुनै बेला मंगतुराम समूह विराटनगरका चर्चित व्यवसायीक घरनाको रुपमा चिनिन्थ्यो ।  मंगतुराम अग्रवालले आक्रामक रुपमा लगानी बढाउँदै गएका थिए ।  त्यसबेला समूह विराटनगरका ठूला औद्योगिक घरानामा गनिने अवस्थामा पुगेको थियो ।  

साझेदारी व्यवसाय असफल भएपछि मंगतुरामले २०४७ सालमा अन्नपूर्ण सप एन्ड केमिकल इन्डस्ट्रिज स्थापना गरेका थिए ।  अन्नपूर्ण समूहको एकल लगानी भएको अन्नपूर्ण पहिलो उद्योग थियो ।  मंगतुरामका परिवारका सदस्य उद्योगका सञ्चालक थिए । 

पाम आयलको व्यवसाय गरेको समूह फस्न पुगेको थियो । 

निर्यात व्यापारमा पाम आयलको हिस्सा ठूलो रहेको छ । इन्डोनेसियाबाट आयात गरिएको पाम आयलमा पशुको बोसो मिसाइएको परीक्षणबाट पत्ता लागेपछि कोलकाता बन्दरगाहबाट नेपाल आउन पाएन । 
त्यसबेला समूहको २० करोड रुपैयाँ लगानी डुबेको जानकारहरुको भनाइ छ । 

यसपछि मंगतुरामको व्यवसाय ओरालो लाग्यो । अधिक ऋणको पासोमा पर्न गयो ।  समूहले ऋण तिर्न नसकेपछि बैंकले २०६२ सालदेखि कर्जा सूचना केन्द्रको कालोसूचीमा छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro