काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय निर्माणका लागि भूमिपूजन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार संयुक्त रूपमा भूमिपूजन गरेका हुन् ।
भारत सरकारको सहयोगमा ३६ करोड ११ लाख ६६ हजार २९१ रूपैयाँ ३७ पैसामा सो पुस्तकालय बन्न लागेको हो ।
भूकम्पले पुस्तकालयको भवन चर्किएपछि
०७२ सालको विध्वंशकारी भूकम्पका कारण त्रिविको पुस्तकालय भवन चर्किएपछि सरकारले रातो स्टिकर टाँसिदिएको थियो । त्यसपछि अगाडिको भवन प्रयोग गर्न बन्द गरिएको पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ बताउँछन् ।
उनी भन्छन्, “पाठकलाई पढ्ने ठाउँको अभाव भएपछि भुइँतला र भ¥याङ भएको स्थान अलिकति प्रयोगमा ल्यायौँ । बाँकी भाग त्यतिकै छोडेका छौँ । अहिले पनि बिग्रिएकै अवस्थामा छ । प्रयोग गर्न मिल्दैन ।”
हाल पुस्तकालयमा चार लाख ३० हजार पुस्तक, चार लाख ५० हजारभन्दा बढी ई–बुक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसन तथा जर्नल, म्यागजिन तथा रिपोर्ट छन् ।
पुस्तकालयका सदस्य १४ हजारभन्दा बढी छन् । प्रत्येक दिन विद्यार्थीसहित ८०० देखि एक हजार पाठकले पुस्तकालय भ्रमण गर्ने गरेको उनले जानकारी दिए ।
तत्कालीन शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटाको अग्रसरतमा ०१६ सालमा त्रिभुवन विश्वविद्यालय र केन्द्रीय पुस्तकालयको स्थापना भएको श्रेष्ठ बताउँछन् । जसले ६२ वर्षे इतिहास पार गरेको छ ।
उनी भन्छन्, “त्रिपुरेश्वरमा स–साना टहरा थिए । तत्कालीन समयका विद्वान्सँग भएका पुस्तक र केही थप गरी १२ सय पुस्तक बनाई दुई कोठामा फलेक राखेर पुस्तकालय स्थापना भएको थियो ।”
०२४ सालमा भारत सरकारले पुस्तकालय भवन बनाइदिएको थियो ।
नयाँ भवनमा २४सै घन्टे सेवा
पुस्तकालय भवन भूकम्पप्रतिरोधी मापदण्डअनुरूप बन्नेछ । भवन सात हजार ८७५ स्क्वायर मिटर क्षेत्रफलमा बन्ने जनाइएको छ । भवनमा तीनतला रहनेछन् । भवनमा लिफ्ट तथा हिटिङ कुलिङ सुविधा हुनेछ ।
पुस्तकालयमा ई–लाइब्रेरी समेत हुनेछ । चार हजार पाठकले एकैसाथ अध्ययन गर्न पाउनेछन् । पुस्तकालय २४सै घन्टा खुला हुनेछ । भवनमा आधुनिक सुविधालगायत अतिरिक्त सुविधासहित प्राज्ञिक शाखा हुनेछ ।
“पाठक बिहान ३ बजेदेखि पुस्तकालय आउँछन् । गर्मीमा ५ बजेपछि मात्रै पुस्तकालयभित्र प्रवेश गराउँछाँै,” पुस्तकालय प्रमुख श्रेष्ठ भन्छन्, “बस्ने ठाउँ नपाएर कति फर्किनुहुन्छ । उहाँहरूलाई नै लक्षित गरेर राति पनि पुस्तकालयमा बसेर पढ्न मिल्ने बनाउन खोजेका छौँ ।”
भारतको केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई)ले पुस्तकालय निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । यो संस्था भूकम्पप्रतिरोधी पुनर्निर्माणको क्षेत्रमा काम गर्ने संस्था हो ।
गएको पुस ६ गते भवन निर्माणकार्यको सुरु भएको थियो । उद्घाटन भएको १५ महिनाभित्र पुस्तकालय भवन निर्माणकार्य सक्नुपर्नेछ ।
ई–लाइब्रेरीको उडान
केन्द्रीय पुस्तकालयको अनलाइन स्रोतमा अहिले करोडौँ अनुसन्धानात्मक दस्तावेजलगायत पुस्तक राखिएका छन् । ती स्रोत इन्टरनेटको माध्यमबाट जुनसुकै ठाउँमा बसेर अध्ययन गर्न सकिन्छ । यसका लागि त्रिविको केन्द्रीय पुस्तकालयको सदस्य बने पुग्छ ।
यसका अलावा विश्वविद्यालयमा भर्ना नभएका सर्वसाधारणले पनि केन्द्रीय पुस्तकालयको सदस्य बनेर पढ्न पाउने प्रावधान छ । यहाँ करोडौँ आर्टिकल, रिसर्च र पुस्तक पढ्न पाइन्छन् ।
नेपाली प्रयोगकर्ताका लागि १५ सय र विदेशी प्रयोगकर्ताले तीन हजार रुपैयाँ डिपोजिट जम्मा गर्नुपर्छ । पुस्तकालयले अहिले जर्नलहरू र आठ हजार ५०० थेसिस अनलाइनमा राखेको छ ।
“हामीसँग भएका स्रोत विस्तारै अनलाइनमा राखिरहेका छौँ । अनलाइनबाहेकका साधन–स्रोतलाई डिजिटलमा राख्ने कोसिस गर्दै छौँ,” उनले भने, “पुस्तकालय जान भ्याइनँ भन्ने अवस्था अब छैन ।”
त्रिविले अहिले ई–लाइब्रेरीको पहुुँच अरू विश्वविद्यालय, पब्लिक कलेजलाई दिइरहेको छ ।
पुराना पुस्तक संरक्षणमा चुनौती
पुुराना पुस्तकको संरक्षणमा अझै चुनौती छ । पुराना पुस्तक व्यवस्थापन गर्न खर्च र समय दुवै लाग्छ । यस्ता संरक्षण गर्नुपर्ने करिब चार लाख पुस्तक, ३० हजार पत्रपत्रिका पिरियोडिक जर्नल छन् । तिनको व्यवस्थापनका लागि छलफल भइरहेको पुस्तकालयको भनाइ छ ।
यसैगरी, आईएसबीएन नम्बर व्यवस्थापन पुस्तकालयका लागि अर्को चुनौती हो । पुस्तक प्रकाशन भएपछि केन्द्रीय पुस्तकालयमा दर्ता गराई आईएसबीएन नम्बर लिनुपर्छ ।
तर, प्रकाशकले आफैँ अन्धाधुन्ध आईएसबीएन नम्बर राखेर पुस्तक प्रकाशित गर्दै आएका छन् । जसका कारण लेखकले समस्या भोग्नुपरेको छ ।
तर, श्रेष्ठ समस्या पहिलेभन्दा केही कम भएको बताउँछन् । उनी भन्छन्, “मौखिक रूपमा मात्रै प्रकाशकलाई जानकारी गराउने गरेका छौँ । त्यसपछि कार्यालयमा आएर आईएसबीएन नम्बर दर्ता गराउनुहुन्छ ।”