
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । सिंहदरबारभित्र प्लेकार्ड प्रदर्शन गरेपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यसअघि उनीहरू राप्रपा संसदीय दलको कार्यालयमा जम्मा भएका थिए । उनीहरू सिंहदरबारभित्रैबाट नाराबाजी गर्दै अघि बढेका थिए । निषेधित क्षेत्रमा नाराबाजी गरेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
लिङ्देनको नेतृत्वमा राप्रपाका सात सांसदले सिंहदरबारस्थित सहरी विकास मन्त्रालयअगाडिको सडकमा प्लेकार्ड प्रदर्शन गरेर निषेधाज्ञाको विरोध गरेका थिए । प्लेकार्ड खोसेर प्रहरीले च्यातिदिएको छ ।
यसअघि, राप्रपा सांसद शाहीले आफूसहितलाई सिंहदरबारस्थिति संसदीय दलको कार्यालयमा नै प्रहरीले बन्दी बनाएको बताएका थिए ।
तर, केहीबेरमा राप्रपा सांसदहरूले सिंहदरबारमै प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्लेकार्ड खोसेर उनीहरूलाई प्रहरीले छोडिदिएको थियो । उनीहरू मिडियासँग कुरा गर्दै दक्षिण गेटबाट बाहिरिए । बाहिरिएपछि उनीहरूले ‘गणतन्त्र मुर्दावाद’, ‘भ्रष्ट सरकार मुर्दावाद’ भन्दै नारबाजी गरेका थिए । नाराबाजी गरेपछि सिंहदरबार बाहिर उनीहरू पक्राउ परेका हुन् ।
गिरफ्तारिकै क्रममा शाहीले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्ट रहेको आरोप लगाउँदै दिनगन्ति सुरु भएको बताए ।
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी