-1745139334.jpg)
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनसहित उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहित सातजना कार्यकर्ता प्रहरी नियन्त्रणमा परे । उनीहरुलाई नियन्त्रणमा लिएको करिब चार घण्टापछि थुनामुक्त गरिदिएको छ ।
सिंहदरबारस्थित दक्षिणगेटमै अध्यक्ष लिङदेनसहितका नेताहरुले सरकारको विरोधमा ‘प्ले कार्ड’ देखाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा रहेका लिङदेनसहितका नेताहरुलाई जिल्ला प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखेर छाडिएको हो ।
आइतबार राप्रपाले राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शन गर्ने घोषणा गरेको थियो । त्यसका लागि सुरुमा राप्रपाले बिजुलीबजार हुँदै बानेश्वर र बालुवाटार क्षेत्रमा प्रदर्शन गर्ने र सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने योजना थियो ।
प्रहरी अधिकारीका अनुसार सुरुमा बिजुलीबजार क्षेत्रको प्रदर्शनको कमाण्ड अध्यक्ष राजेन्द्र लिङ्दने आफैँले गर्ने तय गरेका थिए । बालुवाटार प्रदर्शनका लागि डा. प्रकाशचन्द्र लोहनीको नेतृत्वमा प्रदर्शनको तयारी थियो ।
तर, प्रदर्शन सुरु हुने भनिएको समय १२ बजेभन्दा केहीसमय अघिमात्रै पूर्वयोजनासहितको प्रदर्शनबारे राप्रपाले पुनर्विचार गर्यो । बालुवाटरको प्रदर्शन रोकेर बानेश्वर एकै ठाउँ गर्ने निर्देशन कार्यकर्तामाझ राप्रपा नेतृत्वले पुर्याएका थिए ।
सिंहदबारस्थित राप्रपाकै संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकले पूर्वयोजनासहितको प्रदर्शनबारे पुनर्विचार गरेको निर्णय कार्यकर्तामाझ पठाएका थिए । तर, उनीहरुले एकाएक त्यो रणनीतिसमेत बदले ।
काठमाडौंका एक प्रहरी अधिकारीका अनुसार राप्रपाले प्रहरीको सुरक्षा घेरा तोडेर निषेधित क्षेत्र प्रवेश गर्न सक्ने अवस्था नदेखेपछि अन्तिम समयमा रणनीति नै बदलेका हुन् ।
ती अधिकरीले भने, ‘‘सुरुमा उनीहरुले प्रदर्शन गरेर नै निषेधित क्षेत्र तोड्ने सर्कुलेसन कार्यकर्ता तहमा पुर्याएका थिए । त्यसका लागि दुई/तीन क्षेत्रमा नेतासहितका कार्यकर्ता परिचालन नै गर्ने सूचना हामीले पाएका थियौँ । त्यो अनुसार हाम्रो सुरक्षा व्यवस्था कडा गर्यौँ । त्यो थाहा पाएपछि उनीहरुले अन्तिम समयमा बैंठक गरेर परिर्वतन गरेका हुन सक्छन् ।’’
प्रहरी अधिकारीका अनुसार संसदीय दलको कार्यालयमा बसेको बैठकले सिंहदरबारभित्र ‘प्ले कार्ड’ देखाउने निर्णय गरेको सूचना समेत प्रहरीले पाएको थियो ।
सोही सूचनाका आधारमा प्रहरीको टोली राप्रपाको संसदीय दलको कार्यालय परिसरसम्मै पुगेको थियो । त्यसपछि उनीहरुलाई कार्यालय बाहिर निस्कनसमेत रोक लगायो । उक्त जानकारी प्रमुख सचेतक ज्ञानेन्द्र्र शाहीले आफैँले फेसबुक लाइभमार्फत समेत गरेका थिए ।
पछि भने उनीहरु कार्यालयबाट निस्केर दक्षिण गेट पुगेपछि ‘प्ले कार्ड’ प्रदर्शन गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी परिसरका डीएसपी हरि खतिवडाको टोली सिंहदरबारभित्र नै पुगेको थियो ।
अध्यक्ष लिङदेनले ‘तीनकुने घटनाको न्यायिक छानबिन आयोग गठन गर’ भन्ने नारा लेखिएको कार्ड देखाएका थिए । चैत १५ मा राजावादीले तीनकुनेमा गरेको प्रदर्शन अराजक बनेको थियो । उक्त प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो । सोही घटनामा प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई पक्राउ गरेर मुद्दा नै चलाएको छ ।
तीनकुने प्रदर्शनमा नियन्त्रणमा प्रहरीको आलोचना पछि प्रहरीले पछिल्लो समय आक्रामक रणनीति बनाउँदै प्रदर्शनकारीमाथिको धरपकड तीव्र पारेको छ ।