
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमास (चैत मसान्त) सम्म वाणिज्य बैंकहरूको खराब कर्जा औसत ४.८३ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्ष ०८०/८१ को चैत मसान्तसम्म वाणिज्य बैंकहरूको खराब कर्जा औसत ३.६५ प्रतिशत थियो ।
आर्थिक वर्ष ०८०/८१ चैतसम्मको तुलनामा यो वर्ष १.१८ प्रतिशत विन्दुले खराब कर्जा बढेको छ । अर्थतन्त्रमा देखिएको दबाब, नयाँ कर्जा लगानी नबढ्नु, गैरबैंकिङ सम्पत्ति बिक्रीमा भएको ढिलाइ र बैंकहरूबीच बढ्दो प्रतिस्पर्धाका कारण वाणिज्य बैंकहरूको खराब कर्जा बढेको बताइएको छ ।
सरकारले समयमा नै निर्माण व्यवसायीको भुक्तानी नगर्दा पनि खराब कर्जा बढ्न सहयोग पुगेको देखिन्छ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीहरूले लिएको कर्जालाई पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न समय दिँदा पनि बैंकहरूको खराब कर्जा बढ्दै गएको छ ।
चालु आर्थिक वर्षको चैतसम्म अधिकांश वाणिज्य बैंकको खराब कर्जा चार प्रतिशतभन्दा माथि छ । जसमा नौ बैंकको खराब कर्जा पाँच प्रतिशतभन्दा बढी छ । खराब कर्जा पाँच प्रतिशतभन्दा बढी हुनेमा हिमालयन, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सन्राइज, एनआईसी एसिया, सिटिजन्स इन्टरनेसनल, प्राइम कमर्सियल, नेपाल र प्रभु बैंक छन् ।
हिमालयन बैंकको खराब कर्जा ७.६८ प्रतिशत छ । गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस बैंकको खराब कर्जा २.७२ प्रतिशत विन्दुले बढेको हो ।
सबैभन्दा कम खराब कर्जा एभरेस्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको छ । यी दुई बैंकको खराब कर्जा गत वर्षको चैतको तुलनामा घटेको हो । स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा गत वर्षको चैतसम्मको तुलनामा ०.७ प्रतिशत विन्दुले घटेको छ । त्यस्तै, एभरेस्ट बैंकको खराब कर्जा ०.०६ प्रतिशत विन्दुले घटेको छ ।
बैंकको नाम | तेस्रो त्रैमाससम्मको खराब कर्जा (प्रतिशतमा) | घट्बढ् प्रतिशत | |
२०८१/८२ | २०८०/८१ | ||
हिमालयन बैंक | ७.६८ | ४.९६ | २.७२ |
कुमारी बैंक | ६.९८ | ४.९५ | २.०३ |
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक | ६.०६ | ४.६६ | १.४ |
लक्ष्मी सन्राइज बैंक | ५.८६ | ५.४९ | ०.३७ |
एनआईसी एशिया बैंक | ५.७५ | ३.०८ | २.६७ |
सिटिजन्स इन्टरनेशनल बैंक | ५.७१ | ३.७६ | १.९५ |
प्राइम कमर्सियल बैंक | ५.६५ | ४.२९ | १.३६ |
नेपाल बैंक | ५.४५ | ४.८५ | ०.६ |
प्रभु बैंक | ५.०९ | ४.८१ | ०.२८ |
ग्लोबल आइएमई बैंक | ४.९८ | ४.७४ | ०.२४ |
कृषि विकास बैंक | ४.९८ | ३.३ | १.६८ |
नबिल बैंक | ४.९६ | ४.०४ | ०.९२ |
राष्ट्रिय वाणिज्य बैंक | ४.६९ | ४.३ | ०.३९ |
माछापुच्छ्रे बैंक | ४.५९ | ३.६८ | ०.९१ |
एनएमबि बैंक | ४.४७ | २.८६ | १.६१ |
नेपाल एसबिआई बैंक | ४.०६ | १.९८ | २.०८ |
सिद्धार्थ बैंक | ४.०४ | २.५२ | १.५२ |
सानिमा बैंक | ३.४२ | १.८९ | १.५३ |
स्ट्याण्डर्ड चार्टर्ड बैंक | १.४४ | २.१४ | -०.७ |
एभरेष्ट बैंक | ०.६४ | ०.७ | -०.०६ |
औसत | ४.३८ | ३.६५ | १.१८ |