site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘छारेरोगीलाई भेदभाव होइन उपचार गरौं’

काठमाडौं । काठमाडौं गोकर्णेश्वरका ३० वर्षीय विनोद शर्मा (नाम परिवर्तन) पटक–पटक बेहोस भएर ढल्थे । कार्यालय समय र घरमा पनि बेहोस हुने, शरीर काँप्ने, छिनभरम ढल्ने र २/४ मिनेटमा नै होसमा आउने उनी एकदिन आधा घण्टासम्म पनि होसमा नआएपछि उनलाई नेपाल मेडिकल कलेजमा उपचारका लागि पुर्याइयो, जहाँ उनलाई ब्रेन ट्युमर भएको पहिचान भयो । उपचारमा ढिलो पुगेका उनको अन्ततः मृत्यु भयो, यो घटना आजभन्दा ६ वर्ष अगाडिको हो ।
 
कैलाली घोडाघोडीकी २७ वर्षीया अल्पना चौधरी डेढ वर्षे छोरोलाई काखमा लिएर घरमै आगो तापिरहेकी थिइन् । अचानक रिँगटा लागेर ढलेकी अल्पनाका आमाछोरा सेकेन्ड नबित्दै बलिरहेको चुल्होमा ढल्न पुगे । घरका अरु सदस्य आ–आफ्नै काममा थिए । डेढ वर्षे आर्यनको रुवाइले बाटोमा हिँडिरहेका गाउँलेको ध्यान खिच्यो आधा घण्टापछि उद्धार हुँदा अल्पना बेहोस् थिइन् । घोडाघोडी, धनगढी हुँदै ६ दिनपछि काठमाडौंको कीर्तिपुर अस्पताल आइपुग्दा अल्पनाको दुबै हात काम नलाग्ने भइसकेका थिए । अहिले उनी एउटा कृत्रिम हात र अर्को हातविहीन भएर जीवनयापन गरिरहेकी छन् । छोरा आर्यनको दुई चरणको शल्यक्रियापछि टाउकोको चोट निको हुँदैछ । डेढ वर्षअघि कैलालीस्थित अल्पनाकै घरमा भएको घटना हो यो ।

विनोद र अल्पनाको यो घटनामा स्थान र समयकाल फरक भए पनि उनीहरु दुवैमा एउटै समस्या थियो, छारेरोग नेपाली समाजमा छारेरोगलाई मिर्गि, चरिफाई, छोप्ने रोग, फफड्के, रिने र अंग्रेजीमा सिजर तथा इपिलेप्सी नामबाट चिनिन्छ । समाजमा आम रुपमा देखिएको रोग भए पनि छारेरोगबारे पर्याप्त सचेतना नहुँदा विनोद र अल्पनाका जस्ता धेरै रोगी प्रत्यक्ष अप्रत्यक्ष रुपमा मृत्युको मुखसम्म पुगिरहेका छन् । 

छारेरोग मानसिक रोग हो ? 
छारेरोग भएका व्यक्तिमा देखिने लक्षणका आधारमा धेरैले यसलाई मानसिक रोगको रुपमा बुझेको पाइन्छ । स्नायु र मस्तिष्कसँग जोडिएको रोग भए पनि छारेरोग मानसिक समस्या भने होइन । मानिसको मस्तिष्क विद्युतीय उर्जाजस्तै एक प्रकारको उर्जाले सञ्चालित हुन्छ । यसरी एक नशाबाट अर्को नशासमम्म उर्जा प्रवाह गर्ने काम विभिन्न रसायनहरुले गर्ने गर्छन् । तीनै रसायन प्रवाह हुने क्रममा केही तलमाथि वा तँछाडमछाडले नशामा असर परेको अवस्था नै सिजर अर्थात् छारोरोग हो । त्यसको असर मस्तिष्क भित्रमात्रै पनि हुनसक्छ भने शरीरका विभिन्न भागमा पनि देखिन सक्छ ।

मस्तिष्क भित्रको हुने कुनै एक भागबाट सुरु भएको सिजर शरीरका एउटै अंगमा मात्रै पनि असर गर्नसक्छ । मस्ष्किमा हुने रसायनको प्रवाह वंशाणुगत बनोटमा पनि निर्भर गर्ने नेसनल न्युरो सेन्टरका वरिष्ठ कन्सल्टेन्ट न्यूरोलोविष्ट डा. लेखजंग थापा बताउँछन् । यस्ता कारणले हुने छारेरोग बंशाणुगत रोग हो ।
 
कसलाई हुनसक्छ छारेरोग  ?
छारेरोग नेपालमा मात्रै नभई सबैखाले राष्ट्रमा देखिने आम रोग हो । अमेरिकामा यो प्रत्येक २६ जनामध्ये एकजनामा देखिने यो समस्या नेपालमा भने प्रत्येक एक हजारमध्ये मध्ये ७ दशमलव ३ जनामा देखिने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा पछिल्लो आर्थिक वर्षमा मात्रै २४ हजार ५३२ जना छारेरोगी पहिचान भएका छन् । 

छारेरोग कुनै निश्चित उमेर वा समूहका व्यक्तिलाई हुने रोग होइन । बाल्यअवस्थादेखि वृद्धावस्थासम्म कुनै पनि उमेरमा यो रोग देखिनसक्ने बताउँछन् नेसनल न्युरो सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिस्ट डा. सुमन भट्टराई ।
 
छारेरोगका निश्चित कारण हुन्छन् ? 
हालसम्म गरिएको अध्ययनमा छारेरोग भएका व्यक्तिहरुमध्ये ५० प्रतिशतमा भने करण पत्ता लागेको छैन । पत्ता लागेका ५० प्रतिशत कारणमध्ये फित्तेजुकाको फुल मस्तिष्कसम्म पुग्नु, मस्तिष्कमा अक्सिजनको कमी हुनु, हार्मोनमा असामान्य परिवर्तन हुनु, ब्रेन ट्युमर, इन्सेफ्लाइटिस, मेनेन्जाइटिसजस्ता समस्या लामो समयसम्म रहिरहनुजस्ता कारण प्रमुख रुपमा देखिएको छ । नेपालको सन्दर्भमा काँचो तरकारी वा मासु खाने चलन रहेका समुदायमा फित्तेजुकाको फुलबाट नै छारेरोग बढी हुने गरेको अध्ययनहरुले देखाएका छन् । 

छारेरोग : के हो, के होइन ?
समाजमा आम रुपमा देखिएको र पुरानो रोग भए पनि छारेरोगलाई नेपालमा अझै पनि विभिन्न अन्धविश्वाससँग जोड्ने गरेको पाइएको छ । छारेरोगबाट बेहोस भएका व्यक्तिलाई जुत्तामोजा सुँघाउँने, अक्षता छर्किने, दाँत बाँध्न् समस्या देखिएमा मुखमा चम्चा राखिदिनेजस्ता गलत उपचार विधीहरु अपनाउने गरेको पाइएको छ । त्यतिमात्रै नभएर देवी देउताको शक्ति चढेको भन्दै झारपफुक गर्नेे, धामी झाँक्री लगाएर उपचार गर्न खोज्नेजस्ता गलत अभ्यासहरु अझै पनि नेपाली समाजमा देखिन्छन् । 

तर, स्नायुसँग जोडिएको छारेरोगको उपचारमा यस्ता विधी अपनाउनु पूर्णत अन्धविश्वास मात्रै भएको बताउँछन् निर्देशक डा. भराई । यसरी घरमै अनेक उपचारका उपाय लगाउनुको साटो छारेरोग सम्बन्धि कुनै पनि लक्षण देखिएमा चिकित्सकहरुको सल्लाहमा पुग्नु जटिल छारेरोग हुनबाट बच्ने उपाय भएको उनी बताउँछन् । यस्ता लक्षणमध्ये रोगी एक्कासी बेहोस हुने, हात खुट्टा काँप्ने हातखुट्टामा झट्का दिने र शरीर कम्पन हुने, यस्तै, मानिसले जिब्रो टोक्ने, मुखमा फिज आउने, आँखा सेतो भाग पल्टिने, दिसा, पिसाब नियन्त्रण नहुने हुने गर्दछ  । 

मस्तिष्कको कुनै एक भागबाट सुरु भइ सोही स्थानमा सिमित छारेरोगले शरीरका एकमात्र भागमा असर देखिन्छ जस्तै ः मुख बांगो हुने, एउटा हातमात्रै काँप्ने आदी । तर, यस्ता समस्यामा पनि स्नायुरोग विशेषज्ञको सल्लाहमा उपचार पक्रियामा जानुपर्ने हुन्छ । 

‘छारेरोगलाई भेदभाव र लाञ्छनासँग नजोडौं’ 
नेपाली समाजमा अहिले पनि छारेरोगलाई मानिसको व्यक्तित्व र विभिन्न सामाजिक लाञ्छनासँग जोडेर हेर्ने गरेको पाइन्छ । छारेरोगलाई देवी देवताको शक्ति वा कुकर्मको पापको रुपमा व्याख्या गर्ने र त्यस्ता व्यक्तिलाई विभिन्न ढंगले भेदभाव गर्ने गरेको अहिले पनि देखिन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सन् २०१९ मा स्वास्थ्य वैज्ञानिकहरूको पाँचौ सम्मेलनमा प्रस्तुत गरेको एक प्रतिवेदनमा छारेरोग भएका ११.१० प्रतिशत व्यक्तिलाई अति जटिल प्रकारको डिप्रेशन हुने गरेको तथ्यांक उल्लेख छ । त्यस्तै ६३.९० प्रतिशतमा कुनै न कुनै प्रकारको डिप्रेशन हुने गरेको पनि सो रिपोर्टमा उल्लेख छ । तर, छारेरोगलाई यसरी अनावश्यक लाञ्छना लगाई भेदभावपूर्ण व्यवहार गर्दा उनीहरुमा डिप्रेशनजस्ता मानसिक समस्या आउनसक्ने र उपचारमा कठिनाई थपिने मानसिक अस्पताल पाटनकी चिकित्सक मनोविद् तृष्णा बिष्ट बताउँछिन् । कतिपय छारेरोग भएका व्यक्तिहरुलाई परिवारले मानसिक असन्तुलन भएको भन्दै आफूकहाँ ल्याउने गरेको अनुभव सुनाउँदै उनी भन्छिन् छारेरोगलाई मानसिक असन्तुलन भन्दै अनेक तवरबाट होच्याउने, दूव्र्यवहार गर्नु उनीहरुको मनोवल घटाउनु हो । 

यसले जुनसुकै उमेरका व्यक्तिको मनोविज्ञानमा नकारात्मक असर पुर्याउँछ । सही उपचार पाउन ढिलो हुँदा समस्या झनै जटिल बन्नसक्छ । कतिपय वौद्धिक वर्गका युवा प्नि छारेरोग एक अर्कामा सर्छ भन्ने भ्रमका अझै पाइएको नेपाल इपिलेप्सी सोसाइटीका सचिव डा. पवेशराज भण्डारी बताउँछन् । त्यही भ्रमका कारण कतिपयको सम्बन्ध टुट्ने अवस्थामा पुगेको र उपाचारपछि सामान्य भएको पनि उनको भनाइ छ । 
 
छारेरोग भएका बालबालिकाका अभिभावकले बुझ्नुपर्ने कुरा 
बालबालिकामा हुने भित्री छारेरोग पनि भविष्यमा गएर प्रकारको गम्भीर समस्या हुनसक्छ । भित्री छारेरोग भएका बालबालिकामा पढाइमा कमजोर हुने आफ्ना कुराहरु अरुलाई शेयर गर्न नसक्नेजस्ता लक्षण हुनसक्छन् । यस्ता बालिबालिकाहरुमा हुने गरेको भेदभावले उनीहरुमा समाजप्रति नकारात्मक सोच बढाउँदै लैजाने र भविष्यमा गएर आपराधिक गतिविधीमा संलग्न हुनसक्ने पनि डा. थापा बताउँछन् । 

आफ्ना बालबालिकामा यस्ता कुनै लक्षण भएमा परामर्श र उपचारको जरुरी हुने उनी बताउँछन् । त्यस्तै ५ देखि १५ वर्षसम्मका बालबालिकामा २ देखि ४ वर्षको अवधिमा एकपटक छारेरोग देखिनसक्छ । यस्तो छारेरोग बिना औषधिको प्रयोगबाट आफैँ पनि निको भएर जाने तर अभिभावकको राम्रो हेरचाह र परामर्श जरुरी हुने डा. थापाको भनाइ । तर, १७ देखि १९ वर्षका किशोरकिशोरीमा देखिने बंशाणुगत छारेरोग भने लामो समयसम्म रहने उनी बताउँछन् ।
 
छारेरोगले बेहोस भएकालाई तत्काल के गर्ने ?

मनिसको बीचमा, कार्यालयमा, विद्यालयमा वा कुनै सार्वजनिक स्थलमा व्यक्ति छारेरोग भएर बेहोस हुन पुगेमा पानी छम्किने, कसैले रोगीलाई बाँधेर राख्नखोज्ने, च्याप्ने गरेकोे पनि पाइन्छ । तर, उनीहरु एक्कासी ढलेमा वा मुखबाट फिँज काढेमा सुरुमा टाउको स्थिर बनाइदिनु पर्दछ । त्यसपछि उनीहरुलाई कोल्टे फर्काएर सुताइदिनुपर्छ ताकी मुखमा भएको फिँज बाहिर जान सकोस् । डा. भट्टराई थप्छन्, “त्यसपछि मात्रै उनीहरुलाई स्थिर सुरक्षित अवस्थामा राख्नुपर्छ , यो नै बेहोस् भएर ढलेका छारेरोगीका लागि प्राथमिक उपचार हो ।” 

छारेरोग भएकाले जीवनभर औषधि प्रयोग गर्नुपर्छ ?
छारेरोगका लक्षणहरुका आधारमा यसको पहिचान गर्नु उपचारको सुरुआत हो । कतिपय व्यक्तिमा आँखा झिमझिम हुने, मुख चलाइराख्ने, भक्भकाउने आदी बानीमात्रै पनि हुनसक्छन् । तर, यस्ता समस्या निरन्तर बढ्दैजाने भएमा त्यो छारेरोग हुनसक्छ । ईईजी, सिटी स्क्यान, एमआरआईजस्ता परीक्षण छारेरोग पहिचानका लागि अपनाइने विधी हुन् । औषधिबाट निको नभएको छारेरोग शल्यक्रियामार्फत् उपचार गरिन्छ ।  

डा. भट्टराईका अनुसार समयमा पहिचान भए र सही उपचार पाएमा ७० प्रतिशत छारेरोग नियन्त्रण हुन्छ । कति समयसम्म औषधि प्रयोग गर्नुपर्ने भन्ने कुरा रोगी कुन अवस्थामा उपचारमा आइपुग्छ र कति जटिल छ भन्नेमा पनि निर्भर रहन्छ । ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’का अनुसार प्रति १ हजार मा १.१६ जनाले अचानक हुने छारेरोगका कारण बर्सेनि ज्यान गुमाउने गरेका छन् । छारेरोग भएका व्यक्तिलाई सवारी चलाउन वा कुनै मेसिनहरु चलाउन सकेसम्म नलगाउनु पनि मृत्युबाट बच्ने उपाय हो । 

कतिपय छारेरोग भएका गर्भवतीलाई गर्भमा रहेको शिशुममा खराबी देखिन्छ की भन्ने त्रास हुन्छ । तर, १ देखि २ प्रतिशतबाहेक छारेरोग भएकी आमाले जन्माउने शिशुमा कुनै खराबी नदेखिने डा. थापाको भनाइ छ । अर्थात् विशेषज्ञसँगको नियमित परामर्शमा छारेरोग भएका महिलाले स्वस्थ शिशु जन्माउन सक्छन् । छारेरोग भएकाहरुले औषधिको प्रयोगलाई निरन्तरता दिनु नै रोग निदानको प्रमुख उपाय भएको विशेषज्ञ अन्नपूर्ण न्युरो अस्पतालका पब्लिक हेल्थ डिरेक्टर डा. शरद हरी गजुरेल बताउँछन् । त्यस्तै छारेरोगले व्यक्तिको वौद्धिक विकासमा कुनै असर नपुर्याउने वैज्ञानिक तथ्य पनि पुष्टि भइसकेको छ । व्यक्तिको वैद्धिक विकासमा छारेरोग बाधक नभएको तथ्य विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरु लियोनार्दो दा भिन्ची र आइज्याक न्यूटनको सफलताले पनि प्रमाणीत गरेको थियो । यी दुवैजनामा छारेरोगको समस्या थियो ।
 
नेपालको चुनौति : सिमित उपचार सेवा र जनचेतनाको कमी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो पाँच वर्षको तथ्यांकमा नेपालमा छारेरोग निरन्तर बढ्दो क्रममा देखिन्छ । अर्थिक बर्ष २०७३/०७४ मा देशभर १५ हजार ६४७ जना छारेरोगका बिरामी भेटिएकोमा ०७७/७८ सम्म आइपुग्दा २४ हजार ५५३२ जना नयाँ बिरामी थपिएका छन् । जसमध्ये प्रदेश १ मा मात्रै ३ हजार ५८५ जना छारेरोगका बिरामी छन् । प्रदेश १ को मोरङमा मात्रै पछिल्लो वर्ष २ हजार ८९६ जना नयाँ बिरामी थपिएको मन्त्रालयको तथ्यांक छ । झापा, इलाम सोलुखुम्बु र ओखलढुंगामा छारेरोगीको संख्या बर्सेनि बढ्दो क्रममा देखिएको छ । 

छारेरोगका बिरामीलाई सरकारले २०७४ सालबाट सबै स्थानीय तहबाट निःशुल्क औषधि  प्रदान गर्दै आएको छ । तर, देशका सबै भू–भागमा ती औषधि सहज रुपमा उपलब्ध नहुँदा अधिकांश छारेरोगका बिरामीले २ देखि ३ महिनापछि औषधि छोड्ने गरेको डा. गजुरेल बताउँछन् । सरकारले निःशुल्क औषधिको दायरा बढाउनुपर्ने र नयाँ जेनेरेसनका औषधिहरु पनि हरेक स्थानीय तहमा पुर्याई निःशुल्क प्रदान गर्नुपर्ने नेपाल इपिलेप्सी सोसाइटीको धारणा छ । नेपालमा छारेरोग नियन्त्रणको अर्को मुख्य कारक सामाजिक अन्धविश्वासलाई हटाउन स्थानीय सरकारको जनचेतनामुलक कार्यक्रममा जोड दिनुपर्ने सरोकारवालाहरु बताउँछन् । त्यसमा पनि छारेरोगको सुरुआती अवस्थामा धामी झाँक्री, माताको भर पर्ने र घरेलु जडीबुटीबाटै नियन्त्रण गर्ने प्रयास गर्दा रोग झनै जटिल बनेको देखिन्छ । 

छारेरोगका अधिकांश बिरामी बेहोस भए पनि भएको ५ मिनेटभित्रमा होसमा आउने र छोटो समयमा नै निको भएजस्तो देखिने प्रकृतिका हुन्छन् । छारेरोगको यस्तो विशेषताले कतिपयलाई धामी झाँक्री र फुकफाकबाटै निको भएको हो की भन्ने भ्रम पनि हुने र फेरी फलोअपमा नआउने समस्या रहेको डा. गजुरेलको अनुभव छ । तर, लामो समयसम्म उपचारमा नआएका र घरेलु उपचारको भरमा बस्नाले व्यक्तिलाई अप्रत्यक्ष मृत्यु निम्तयाएका घटना धेरै छन् । माथि उल्लेखित बिनोदको हकमा उनलाई शरीर काँप्ने र ढल्ने हुँदा अक्षता फुकेर छर्ने गरिएको उनका परिवारका सदस्य बताउँछन् । छारेरोगकै कारण आगोमा ढलेर दुवै हात गुमाउन पुगेकी अल्पना र उनका परिवाले छारेरोगलााई कहिलेकाही आउने सामान्य मिर्गिको रुपमा मात्रै लिएर उपचारमा पुर्याएको थिएन । 

छारेरोगप्रतिको यस्तो अन्धविश्वासले यसमाजमा ठूला दुर्घटना त निम्त्याएको छ नै युवा उमेरका व्यक्तिहरूको मृत्यु भएसँगै कतिपय परिवारको आडभरोसा नै गुमाउनु परेको छ । त्यसैले पनि यसबारे समाजमा नकारात्मक दृष्टिकोण र अन्धविश्वास तोड्नु आवश्यक देखिन्छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro