site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली कलाकारको काँधमा नेपाल र नेपालीविरुद्धको बन्दुक ?

काठमाडौं । बाह्र वर्ष अगाडि निर्देशक दीपेन्द्र के खनाल चलचित्र ‘धर्मा’ निर्देशन गर्दै थिए । रक्तचन्दन तस्करीको सिन थियो । रक्त चन्दन तस्करीमा भारतीय पनि संलग्न छन् भन्ने स्टोरी थियो । त्यसैले उनलाई एउटा डाइलगका लागि इन्डियन फेस चाहिएको थियो । प्रोडक्सनले इन्डियन फेस खोज्न थाल्यो ।

कलाकारितामा ठूलो झुकाव भएकाले भारतीय जुटाउन समस्या थिएन । प्रोडक्सनले एउटा सिनका लागि २५ हजार रुपैयाँ दिने सर्तमा इन्डियनलाई सेटमा ल्यायो । ती इन्डियनले सोधे, मेरो डाइलग के हो ? जब उनले रक्तचन्दन तस्करीमा भारतीय नागरिक संलग्न रहेको आफ्नो सिनले देखाउने थाहा पाए । उनले भने, ‘मेरो देशलाई तरस्करीमा संलग्न देखाउने सिन म कसरी गर्न सक्छु ? २५ हजार हैन, जतिसुकै पैसा दिए पनि म मेरो देशलाई होच्याउने काम गर्दिनँ ।’

‘आफ्नो देश र आफ्नो देशको कला, संस्कार र संस्कृतिप्रति भारतीय जति जिम्मेवार छन्, त्यति नै हामी छौँ ?’ निर्देशक दीपेन्द्र के खनालको प्रश्न छ । हिन्दी र भारतमा अन्य भाषाभाषीका क्षेत्रीय चलचित्रमा काम गर्दा आफूले काम गर्ने रोल के हो, नेपाली कलाकार सचेत हुनुपर्नेमा उनको जोड छ ।

भारतीय चलचित्रले नेपाली कलाकारलाई नै नेपालविरुद्ध प्रयोग गरिरहेको हुन सक्नेतर्फ सुरुमै सचेत हुनुपर्ने उनी बताउँछन् । “जसरी आफ्नो देश, भाषा, संस्कार र संस्कृतिप्रति भारतीय जिम्मेवार छन्, नेपाली कलाकार त्यति नै बफादार छन् ?,” उनी प्रश्न गर्छन्, “हाम्रा स्टार कलाकारहरू कतै म नेपाल र नेपालीविरुद्ध प्रयोग भइरहेको पो छु भन्नेतर्फ गम्भीर हुनुपर्छ ।”

ठूलो फिल्म इन्डस्ट्रीमा प्रवेश गर्ने रहरमा कलाकारहरूले धेरै नसोच्ने गरेको अर्का निर्देशक दिनेश राउत बताउँछन् । “प्रवेश गरेपछि बलिउडका लागि ढोका खुल्छ कि भन्ने लोभ जोसुकै कलाकारमा पनि हुन्छ । र, यो स्वाभाविक पनि हो,” निर्देशक दिनेश भन्छन्, “कलाकारकार हिसाबले आफ्नो रोल निभाउनु गलत होइन । सिनेमामा कहिले सकारात्मक रोल हुन्छ, कहिले नकारात्मक त्यो स्वाभाविक हो । तर, आफ्नै देशलाई नकारात्मक रूपमा चित्रित गर्ने रोल छ कि छैन, त्यो भने कलाकारले ध्यान दिने कुरा हो ।”

नेपालबारे थाहा नभएको व्यक्तिले नेपाललाई नकारात्मक रूपमा कुनै चलचित्रले देखाए नेपालप्रति उसको धारणा सधैँ त्यस्तै बन्ने भन्दै उनी आफ्नो दायित्त्व, जिम्मेवारी र नैतिकता कसैले भुल्न नहुने त्यसमा कलाकार झन् सचेत हुनुपर्नेमा उनको जोड छ ।

नेपाली कलाकारको काँधमा बन्दुक राखेर भारतीय मेकरले नेपाल र नेपालीविरुद्ध नै पड्काइरहेको निर्देशक खनाल बताउँछन् । नेपाली कलाकारले भारतमा गएर अभिनय गरेका चलचित्र प्रायः धेरै नेपालविरुद्ध नै प्रयोग हुने गरेको उनी बताउँछन् । “भर्खरै नेपालमा छायांकन भएर गएको एक भारतीय चलचित्रले पनि नेपाललाई खराब रूपमा चित्रित गरेको मैले सुनेको छु,” दीपेन्द्र भन्छन्, “त्यही प्रोडक्सन टिममा रहेका एक नेपालीले मलाई भनेका छन्, आफ्नै अगाडि नेपाल आएर उनीहरूले हामीलाई नै नकारात्मक रूपमा चित्रित गर्दा पनि केही गर्न सकिएन ।”

अक्सर हिन्दी चलचित्रहरूले नेपाललाई आतंकवादीको आश्रयस्थलका रूपमा चित्रित गर्दै आएका छन् । यसका लागि नेपाली भूमि र नेपाली कलाकार नै ‘प्रयोग’ भइरहेका छन् । “ढाका टोपी लगाएर आतंकवादी भनेर हिन्दी चलचित्रले नेपालीलाई भनेपछि अन्तर्राष्ट्रियतस्तरमा हाम्रो छवि कस्तो बन्छ ?,” दीपेन्द्र भन्छन्, “यसमा हाम्रै कलाकारले साथ दिने ?”

केही समय अगाडि अभिनेता विपीन कार्कीलाई पनि भारतीय चलचित्र ‘एनिमल’मा अभिनयका लागि अफर आयो । विनाअडिसन एनिमलको प्रोडक्सनले उनलाई अभिनयका लागि बोलाएको छ । फोनमा विपीनले स्क्रिप्ट मागे । तर, प्रोडक्सनले विपीनलाई ‘तपाईंलाई नोटिस हुने पर्याप्त भूमिका’ छ भने ।

विपीनले स्क्रिप्ट पुनः एकपटक मागेका छन् । “मैले स्क्रिप्ट पठाउन मेल गरेको छु । केही समयपछि पठाउँछु भनेको पनि छ,” विपीन भन्छन्, “केही दिन अगाडि सार्वजनिक भएको स्वस्तिमा (खड्का)को गीतले पनि मलाई थप सजग गराएको छ । त्यस अगाडि मैले यसबारे सोचेको रहेनछु । काम गर्दै, हेर्दै सिक्दै जाने हो । यो गीतले पनि मलाई पाठ सिकायो ।”

अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गरेको भनिएको मलयालम चलचित्र ‘थिरिमाली’को गीत ‘रंग विरंगी’को आइटम सङमा स्वस्तिमाको डान्स छ । उक्त गीतको भिडियोमा काठमाडौंमा वेश्यावृत्ति हुने गरेको देखाइएको छ ।

नेपाली सार्वभौमिकता, अस्मिता, राष्ट्रिय अखण्डता, सुरक्षा तथा नेपाली आत्मसम्मानमा ठेस पुर्‍याउने कुरा छ भने काम नगर्ने विपीनले स्पष्ट पारे । जतिसुकै ठूलो अफर भए पनि आफू यसमा सचेत रहेको उनी बताउँछन् । “सुरुमा त मलाई पनि अवसर हो, छोड्नु हुन्न भन्ने लागेको थियो । तर, यो गीतले मलाई सचेत गराएको छ । यदि, नेपाली अस्मितामाथि र नेपालीको आत्मसम्मानमाथि नै ठेस पुर्‍याउने रोल छ भने जस्तोसुकै अफर आओस् म काम गर्दिनँ,” उनी भन्छन्, “अवसर हो भन्दैमा देश र जनताको भावनविपरीत गएर काम गर्दिनँ ।”

अवसर भन्दा पनि देशको आत्मसम्मान ठूलो कुरा भएकाले यसमा सचेत हुनुपर्नेमा उनको जोड छ । पछिल्ला दिनमा अध्ययन गर्दै जाँदा भारतीय चलचित्रमा नेपाली कलाकारलाई प्रयोग गरेर नेपाल र नेपालीविरुद्ध नै बोल्न लगाउने गरेको आफूले पनि पाएको विपीन बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १४:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro