काठमाडौं । नेपाली सेनाकी प्युठ असिम बानियाँ । करिब ९० हजार फौजकी उनी एपीसी कार (बख्तरबन्द) चलाउने एक मात्र महिला चालक हुन् ।
हसमुख स्वभावकी बानियाँलाई भेट्न सीतापाइलास्थित युद्धकवच गढ पुग्यौँ । हाम्रो निमन्त्रणामा उनी पाँचखालबाट यहाँ आएकी थिइन् । फौजमा १७ वर्ष बिताइसकेकी बानियाँ चापागाउँकी रैथाने हुन् ।
जीवनमा केही गर्न चाहने मानिसले प्रेरणा जहाँबाट पनि लिन सक्छ भन्नेको गतिलो उदाहरण असिम पनि हुन् । नेपाली सेनाको एउटा बहुचर्चित कार्यक्रम छ, माटोले माग्दैन आफैँले दिनुपर्छ । मानवीय स्वभाव हो, केले कति बेला कुन कुराले प्रेरित गर्छ थाहा हुँदैन । नेपाल टेलिभिजनमा आउने सेनाको उक्त कार्यक्रमले उनमा गहिरो छाप छोड्यो ।
उनी भन्छिन्, “त्यसमा टेलिसिरियल अनि सेनाले गरेका महत्त्वपूर्ण गतिविधिका बारेमा देखाइथ्यो । त्यसमा देखाइने देश तथा जनताप्रति समर्पित र देश भावनाले ओतप्रोत विषयले मलाई पनि आफ्नो मातृभूमिको लागि केही गरौँ भन्ने इच्छा जाग्थ्यो ।”
उनी भलिबल, टेबलटेनिसकी माहिर खेलाडी पनि थिइन् । जावलाखेल भलिबल क्लबमा भलिबल खेल्न जाँदाजाँदै सेनामा भर्ती भइन् । आम मानिसको जीवन व्यतीत गरिरहेकालाई सेनाको उच्चतम अनुशासनमा बसी लडाकु बन्न पक्कै सजिलो छैन ।
उनी भन्छिन्, “सुरुका दिनमा गाह्रो भएकै हो । तर, म खेलकुदमा रमाउने हुँदा त्यसले तालिमका दौरान सहज बनाइदियो कि जस्तो लाग्छ ।”
सानो छँदा पनि फुटबल, भलिबल, बास्केटबल र टेबलटेनिस खेल्थिन् । सँगैका केटा साथीलाई टेबलटेनिसमा हराउँदा उनको सान नै बेग्लै हुन्थ्यो ।
एपीसी तालिमप्रति आकर्षण
‘बगाए पसिना तालिममा बग्ने छैन रगत रणभूमिमा ।’ असिम पृथ्वीनारायण शाहको उक्त भनाइ शतप्रतिशत मैदानमा लागु हुने बताउँछिन् । त्यसैले कुनै पनि तालिमलाई सामान्य सोच्दिनन् । सक्छु, गर्छु भनेर अगाडि बढे जस्तोसुकै सफलता पनि हासिल गर्न सकिने उनी सुनाउँछिन् ।
एपीसी तालिमका लागि ‘जी’ क्याटागोरीको लाइसेन्सलाई मात्र मान्यता दिइन्छ । एपीसी तालिमपूर्व धेरैवटा चरण पार गर्नुपर्छ । १३ नम्बर बाहिनीमा तालिमका अवसरहरू आइरहन्थे । उनले तीन वर्ष त्रिभुवन आर्मी क्लबमा भलिबल पनि खेलिन् । ड्राइभिङको कथा भने रोचक छ । अरूले गाडी चलाएको देख्दा मैले पनि चलाउन पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्थ्यो ।
“अझ आर्मीको गाडी चलाएर घर वरिपरि घुमाउन पाए मेरो सान कस्तो हुन्थ्यो भन्ने लागिरहन्थ्यो,” उनी भन्छिन् ।
उनको इच्छा नेपाली सेनाले पूरा गरिदियो । हेभी ड्राइभिङको तालिम सफलतापूर्वक सम्पन्न गरिन् । हेभीको लाइसेन्स लिइसकेपछि एपीसीको कोटा आयो ।
“त्यति बेला १३ नम्बर बाहिनीको निमित्त बाहिनीपति महासेनानी पुरुषोत्तम खड्काको यदि सेनामा महिलाहरू यस क्याटागोरीमा छन् भने त्यस्ता महिलालाई अगाडि बढाऔँ भन्ने धारणा रहेछ,” उनले भनिन् । बाहिनीपतिले ‘यस्तो पत्र आएको छ तालिम लिन्छौ ?’ भनेपछि उनले सहर्ष स्वीकारिन् ।
१७ नम्बरका निमित्त बाहिनीपति अनुप अधिकारी, १३ नम्बरका निमित्त बाहिनीपति खड्का र युनिटका साथीहरूको साथ, सहयोग र हौसलाले उनले उक्त तालिम लिने अठोट गरिन् । एपीसी तालिमपछि मिसनका लागि छनोट हुने मौका पाइन् ।
हुन त हेभी गाडी चलाउने संगठनमा अरू पनि महिला छन् । तर, उमेरको हदबन्दी र सबै कुराले असिमलाई सहज भयो । “मैले एपीसी तालिम गर्न पाउनु भनेको मैले नेपाली सेनाको इतिहास र गौरव राख्न पाएँ,” उनले भनिन्, “त्यो मेरो सौभाग्यको कुरा हो । तर, यही तालिमले मलाई यो सफलता दिलाउला, मिसनमै पर्छु भन्ने सोचेको थिइनँ ।”
यो तालिम लिन सात हप्ताका लागि उनी नम्बर दुई युद्धकवच गुल्म महोत्तरी पुगिन् । अफसोस ! उक्त गुल्ममा कोही महिला थिएनन् । अझ तालिममा सहभागीमध्ये उनी एक मात्र महिला थिइन् ।
“ठाउँ छुट्टै, बसाइ छुट्टै । तर, हाम्रो तालिमको अवधिमा महिला, पुरुष भनेर छुट्ट्याउने चलन छैन । पुरुष र महिलासँग सामूहिक तालिम गरेको हुँदा त्यसले सहज बनायो,” उनले भनिन् । साउनदेखि सुरु भएको तालिम असोजमा सफलतापूर्वक सकियो ।
उनी शान्ति मिसनअन्तर्गत सेन्ट्रल अफ्रिका अफ रिपब्लिक जाँदै छिन् । त्यसका लागि हवाईजहाजको टिकट समेत फाइनल भइसकेको उनी उत्साहित हुँदै सुनाउँछिन् ।
शान्ति मिसनका लागि उनी उत्सुक छिन् । त्यहाँको वातावरण कस्तो छ, कहाँ युद्ध र कहाँ शान्ति छलगायत विषयमा अहिले चालकहरूलाई छुट्टै तालिम दिइरहेको उनले बताइन् ।
अविवाहित हुँदा परिवारलाई थाहै नदिई खेलखेलकै क्रममा सेनामा भर्ती भएकी उनलाई बिहेपछि पनि परिवारको साथ र सहयोग छ । १० वर्षकी छोरीकी आमा असिम घरमा आफू आमा, बुहारी र पत्नी भए पनि फौजमा भने सिपाही भएको बताउँछिन् ।
“देशको सुरक्षाको लागि काम गर्नु मेरो एक मात्र उद्देश्य हो । सिपाहीको जीवनमा कर्म पहिला आउँछ । परिवार त्यसपछि,” उनी भन्छिन्, “छोरी छोडेर जान पक्कै गाह्रो छ । तर, मैले मेरो कर्तव्य पहिला निभाउनुपर्छ ।”
उनले थपिन्, “यो अवसर पाउँदा खुसी छु । अझ शान्ति स्थापनाको लागि विदेश जान पाउँदा झनै खुसी छु । सफलतापूर्वक गर्छु भनेर दृढ प्रतिज्ञा गरेको छु ।”
जीवनमा अघि बढ्न शिक्षाले सहयोग गर्ने उनी बताउँछिन् । “शिक्षाले सबै अन्धकार चिर्छ । जुन क्षेत्रमा छौँ, त्यसैमा ध्यान दिनुस् । आत्मबल र आत्मभरोसा भयो भने नसकिने केही छैन,” उनले भनिन् ।