काठमाडौं । जबसम्म नेपाली सिनेमाका लेखक तथा निर्देशक आध्यात्मिक तहमा पुगेर सोच्ने र लेख्न सक्ने हुँदैनन्, तबसम्म नेपाली चलचित्र पावरफुल (सशक्त) नहुने चलचित्रकर्मीहरू बताउँछन् । मेकरमा अध्यात्मको ज्ञान कति छ भन्ने कुराले चलचित्रमा असर पार्छ । अध्यात्मको तहमा पुग्ने ज्ञान मेकरमा नभएसम्म पावरफुल सिनेमा नबन्ने निर्देशक तथा समीक्षक मनोज पण्डित बताउँछन् ।
“अध्यात्मले मान्छे कसरी खुसी हुन्छ, मान्छे किन दुःखी हुन्छ, मान्छे कसरी भ्रमबाट मुक्त हुन्छ भन्ने कुराको ज्ञान दिन्छ । कथाबाट चलचित्रले दिने आधारभूत ज्ञान हो,” उनी भन्छन्, “चलचित्रमार्फत हात धुनुपर्छ भनेर भन्ने होइन, यसरी पनि जीवन जिउन सकिन्छ भन्दिने हो । जीवनमा समस्याको कारक तत्व बाहिरी कुरा हुँदाहुँदै पनि व्यक्तिको आफ्नै सोच्ने प्रणाली, चेतनाको अभावमा मान्छेले दुःख पाइराखेको छ भन्ने कुरा अध्यात्म बुझेको मेकरले राम्रोसँग भन्न सक्छ ।”
राम्रो चलचित्र आध्यात्मिक रूपमा बलियो हुने गरेको उनको तर्क छ । अध्यात्म भन्नेबित्तिकै धार्मिक भन्ने गलत बुझाइ रहेको पनि उनको भनाइ छ ।
संसार गौतमबुद्धको ज्ञान र वाणाीबाट धेरै हदसम्म प्रभावित भएको छ । तर, नेपाली चलचित्रमा बुद्धको ज्ञानको प्रभाव देखिँदैन । हिन्दुधर्मको ठूलो प्रभाव रहेको हाम्रो समाजमा त्यसभित्रकै ज्ञान र प्रभावको प्रभाव नगन्य रहेको मनोज सुनाउँन् । महाभारत, रामायणजस्ता धर्मग्रन्थबाट प्रभावित हुन नसक्नु पनि नेपाली चलचित्र कमजोर हुुनुको अर्को कारण हो ।
“पछिल्लो हिन्दी सिनेमा आरआरआरको जग महाभारत हो । किन हिन्दी सिनेमा हरेक व्यक्तिसँग अन्तरसम्बन्धित हुन्छन् भने तिनीहरूले धर्मको ज्ञान र प्रभाव छ,” उनी भन्छन्, “विश्वलाई प्रभावित पारेको कुरालाई जसले संश्लेषण गरेर चलचित्र बनायो, ती चलचित्र नै पावरफूल भए ।”
“नेपालमा राम र रावणका सिनेमा किन बनेनन् ?,” मनोज प्रश्न गर्छन् । राम र रावजणलाई मुख्य पात्र बनाएर चलचित्र नबने/नबनाए पनि त्यसको संश्लेषण गरेर चलचित्र बनाउन सकिने उनी बताउँछन् । रावण व्यक्ति नभएर प्रवृत्ति भएको र उक्त प्रवृत्ति आज पनि समाजमा व्याप्त रहेकाले यसलाई चलचित्रमा उठान गर्न सकिने उनको भनाइ छ ।
निर्देशक प्रदीप भट्टराई गहिराइमा पुगेर विश्लेषण गर्दा सीतालाई रामले भन्दा रावणले धेरै माया गर्ने बताउँछन् । तर, उनको प्रश्न छ– के यो न्यारेटिभमा आजसम्म नेपाली चलचित्र बनेका छन् ?
माया गर्ने विविध तरिका हुने भन्दै उनी भन्छन्, “शाहरुख खानको डर सिनेमा हेरौँ । माया गर्ने फरक तरिका छ त्यसमा । कविर सिंह किन चल्यो ? फरक तरिकाले माया गरेको देखाइएको छ, त्यसैले चल्यो ।”
अध्यात्मको ज्ञान नेपाली मेकरमा नभएका कारण कथा नै कमजोर हुने गरेको प्रदीपको निष्कर्ष छ । नेपाली मेकरले आफैँले आफैँलाई भित्री तहबाट हेर्न नसकेको यथार्थ उनी सुनाउँछन् ।
“अध्यात्म भनेको पहिला आफैँलाई हेर भन्ने हो । हामी आफैँलाई अध्ययन गर्न सक्तैनौँ भने समाजको अध्ययन कसरी गर्न सक्छौँ ?,” प्रदीपको प्रश्न छ । समाजको प्रतिधित्त्व गर्ने वा देखाउने चलचित्रले पहिला आफैँलाई चिन्नुपर्ने अन्यथा बलियो चलचित्र निर्माण नहुनेमा उनी ढुक्क छन् ।
“समाजमा विविध चरित्र हुन्छन् । त्यसलाई बुझ्नु मेकरका लागि अनिवार्य सर्त हो । समाजका भिन्न–भिन्न चरित्रमध्ये व्यक्ति आफैँ हो । आफैँ समस्याग्रस्त व्यक्तिले कसरी समाजको यथार्थ देखाउँछ,” मनोज भन्छन्, “चलचित्रको कथा भनेको समस्या र समाधानको जुहारी हो । जो आफैँ समस्यामा छ भने उसले समस्या र समाधानबीच जुहारी खेल्न सक्तैन ।”
अध्यात्मबाट मेकरहरू बाहिर हुनु नै नेपाली चलचित्र अपेक्षितभन्दा कमजोर हुनुको कारण रहेको उनको ठहर छ ।
समग्रमा नेपाली चलचित्र सतही कुरामा मात्रै केन्द्रित रहेको निर्देशक निश्चल बस्नेत बताउँछन् । एकाधबाहेक अधिकांश चलचित्रले गहन विषय र गहिराइमा पुगेर मिहिनेत नगर्ने उनको भनाइ छ ।
“धेरै चलचित्रले खुलेर दर्शकको प्रशंसा पाएका मैले पाएको छैन । आर्टलाई हेर्ने नजरमा परिवर्तन आउनु आवश्यक पर्छ,” निश्चल भन्छन् ।
कतिपय अवस्थामा हेर्ने दृष्टिकोणले पनि फरक पार्ने उनी बताउँछन् । ‘हाइवे’, ‘कालोपोथी’, ‘बुलबुल’को उदाहरण दिँदै उनी भन्छन्, “यी चलचित्रलाई हेर्ने नेपाल र विदेशीको नजरिया नै फरक छ । हेर्ने नजरिया फरक परेपछि देखाउन खोजिएको कतिपय कुरा देखिँदैन । त्यही कुरा विदेशीले हेर्दा नदेखाएको कुरा पनि यस्तो पो होला भनेर बुझिदिन्छ ।”
नेपालमा सिनेमा हेर्ने कल्चर र बुझ्ने कल्चरको विकास नै गलत तरिकाले भइरहेको निश्चलको धारणा छ । स्क्रिन प्लेमा भने नेपालमा समस्या रहेको उनी स्वीकार गर्छन् । कुनै चलचित्रमा आवश्यकभन्दा कम र कुनैमा चाहिनेभन्दा बढी स्क्रिन प्लेमा काम भइरहेको उनको बुझाइ छ ।
निर्देशक मीन भाम नेपाली चलचित्रको कथामा समस्या रहेको स्वीकार गर्छन् । विषयवस्तुको अध्ययनबिना नै कथा लेख्नेसम्मको समस्या रहेको उनी बताउँछन् ।
“हामी मनाङको डाँडाको दृश्य देखाउँछौँ । तर, त्यो डाँडाको कथा के हो भन्दैनौँ,” निर्देशक मीन भन्छन्, “मनाङको दृश्य देखाइसकेपछि त्यहाँ रितिरिवाज, संस्कार र संस्कृतिको कथा भन्नुपर्छ । तर, हामी मनाङको दृश्यमा कथा अन्त कतैको भन्छौँ । तालमेलबिनाको कथा र दृश्यको चलचित्र कस्तो हुन्छ भन्नै पर्दैन ।”