काठमाडौं । शनिबार राति ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको प्राचीन, ऐतिहासिक, पुरातात्विक महत्व बोकेको बालकुमारीको मूर्ति चोरी भयो । पित्तलले बनेको मूर्ति चोर्न चार ढोकाका ९ वटा ताला फोडिएको पाइएको छ ।
स्थानीय पुजारीहरू बिहान पुजा गर्न जाँदा मात्र मूर्ति चोरी भएको थाहा भएको थियो । त्यसलगत्तै जनप्रतिधिमार्फत प्रहरीलाई खबर गरिएको थियो ।
जनप्रतिनिधिले प्रहरीलाई खबर गरेपछि मूर्ति चोरीबारे प्रहरीले खोजिकार्य अगाडि बढाएको थियो ।
वाग्मती प्रदेश सांसद तथा ललितपुर सुनाकोठीका स्थानीय राजकाजी महर्जन शनिबार बिहान ९ बजेदेखि रातिको २ बजेबीचको समयमा मूर्ति चोरी भएको हुनसक्ने बताउँछन् । ‘‘त्यहाँ रहेका चारवटा ढोकाका ९ वटा ताला लगाइएको थियो । ९ वटै ताला काटेर मूर्ति चोरी भएको छ । फलाम काट्ने कैँचीले ताला काटेर मूर्ति चोरी भएको छ । मूर्ति करिब साढे दुई फिट उचाइको हो,” सांसद महर्जनले भने ।
लिच्छिविकालीन हिसाबले पित्तलको मूर्ति भएपनि पुरातात्विक हिसाबले २०० देखि ६०० वर्ष पहिले बनाइएको हुन सक्ने स्थानीयको अनुमान छ ।
मूर्तिलाई सुनाकोठीवासीको आस्थाको केन्द्र र बालकुमारी देवताको रूपमा पूजा गरिँदै आएको सांसद महर्जनले बताए ।
‘‘बिहानदेखि यहाँका पुजारी, स्थानीय चिन्तित छन् । सबैजनाले कतै फालिएको छ कि भनेर खोजिरहेका छौँ । प्रहरीको मुचुल्कादेखि यहाँका गुठीयार, भलादमी र स्थानीय एकीकृत रूपमा खोजिकार्यमा खटिरहेका छन्,” महर्जनले भने ।
आजै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्पा भुसालले मन्दिर निरीक्षण पनि गरेकी छन् ।
‘‘मूर्ति चारीपछि विभिन्न निकायहरूले मन्दिर निरीक्षण गरेका छन् । प्राचिन, ऐतिहासिक, पुरातात्विक महत्वको सम्पदा बालकुमारी मूर्तिको नाम गुठी स्थापना गरिएको थियो । बालकुमारी मन्दिर, मूर्ति गुठियारको हो । उक्त गुठीले करिब ६ सय परिवारलाई संगठित गरेर राखेको छ । गुठी काठमाडौं उपत्यकाकै सुविधा सम्पन्न मानिन्छ । करिब १५० रोपनी जग्गामा बालकुमारी मन्दिरको क्षेत्रफल रहेको छ,” सांसद महर्जनले भने ।
सांसद महर्जनकाअनुसार मूर्तिलाई पूजाआजा गर्दा स्थानीयले बेलाबेलामा सुन, चाँदी लगायतका गरगहनाहरू चढाउँदै आएका थिए । स्थानीयले पुजाआजा गर्दा चढाएका सुन, चाँदीका गरगहना भने चोरी नभएको सांसद महर्जनले बताए ।
ललितपुर प्रहरीले मूर्तिको खोजिकार्य तीव्र पारिएको जनाएको छ । ललितपुरका प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले आजै डीएसपीको कमान्डमा बालकुमारीको मूर्ति खोजी गर्न टिम गठन गरिएको छ ।
‘‘मूर्ति चोरीको खोजिकार्यकै लागि टिम गठन गरिएको छ । महाशाखाको टोली आएर पनि अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा अगाडि बढेका छौँ,” प्रवक्ता शाहले भने ।
प्राचिन, पुरातात्विक भएपनि मूर्ति कति वर्ष पुरानो हो भन्नेबारे खुल्न नसकेको प्रहरीको भनाइ छ ।
‘‘कसैले २०० वर्ष पुरानो मूर्ति भन्छन् । कसैले ६०० वर्ष परानो मूर्ति भन्छन् । पुरातात्विक महत्वको मूर्तिबारे थप अनुसन्धान भइरहेको छ । विस्तृत विवरण छिट्टै निकाल्ने गरी खोजिकार्य तीव्र पारेका छौँ,” प्रवक्ता शाहले भने ।