काठमाडौं । काठमाडौं उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बनिसकेको छ । देशभरको संक्रमणदरको दुईतिहाइ संक्रमित उपत्यकामै छन् । यस्तो अवस्थामा यहाँका स्थानीय तह भने कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आफूहरूसँग समन्वय गर्न नमानेको भन्दै पन्छिरहेका छन् ।
मंगलबार काठमाडौं उपत्यका मेयर फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सीसीएमसीसीले स्थानीय तहसँग समन्वय नगरेको गुनासो गरे । मेयर शाक्यले दोस्रो चरण र पहिलो चरणमा सीसीएमसीसीले गरेको जस्तो समन्वय अहिले नभएको बताएका थिए । उनले आम नागरिकले कोरोना महामारीलाई सामान्य रूपमा लिई बढी नै लापरबाही गरेको पनि बताएका थिए ।
काठमाडौं महानगर यतिखेर महामारी रोकथाम गर्न आवश्यक पूर्वाधारको तयारी गर्नुपर्ने बेलामा केही नगरी मौन बसेको छ ।
यस्तै, ललितपुर महानगरपालिकाले पनि स्थानीय सरकारले रोकथामका लागि चाल्नुपर्ने आवश्यक कदम चालेको छैन ।
उपत्यकामा सबै नगरपालिकाहरूले खोप कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाइरहेको बताएका छन् । तर, अन्य पूर्वाधारण तयार नगर्दा र स्थानीयस्तरमा आवश्यक सावधानीमूलक कार्यक्रम सञ्चालन नगर्दा संक्रमण झन्–झन् फैलँदो छ ।
उता, जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकारसँग समन्वय नगरी काम गरिरहेको भन्दै भक्तपुर नगरपालिका उदासीन देखिएको छ ।
यता, मेयर फोरमका अध्यक्ष शाक्य स्थानीय सरकारले रोकथाममा चाल्नुपर्ने कदम नचाली संरचना शिलान्यास र शुभारम्भ गर्न व्यस्त देखिएका छन् ।
यसअघि, उपत्यकाका स्थानीय तहहरूले महामारीविरुद्ध लड्न आइसोलेसन, अक्सिजन प्लानलगायत पूर्वाधारण निर्माण गर्ने सहमति भएको थियो ।
मेयर शाक्य भन्छन्, ‘‘पहिलो र दोस्रो बेला सीसीएमसीले हरेक निर्णयमा स्थानीय सरकारसँग समन्वय गरेको थियो । अहिले काठमाडौं कोरोनाको हटस्पट बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।”
महानगरपालिका स्वास्थ्य विभागका प्रमुख हरि कुँवर भने महामारीविरुद्ध लड्न पुरानै पूर्वाधारहरू तयारी अवस्थामा रहेको दाबी गर्छन् । ‘‘अहिले पनि संक्रमण रोकथाम गर्न निःशुल्क आइसोलेसन र क्वारेन्टिनहरू सञ्चालन गर्न सक्छौँ । समन्वय भएको भए अझ प्रभावकारी ढंगले अगाडि बढ्न सहयोग पुग्थ्यो,” प्रमुख कुँवरले भने ।
यस्तै, ललितपुर महानगरपालिका पनि महामारी रोकथाममा उदासीन देखिएको छ । मेयर चिरिबाबु महर्जन महानगरले महामारी रोकथाम गर्न आवश्यक स्वास्थ्य प्रोटोकलहरू व्यवस्थापन गर्दै आएको बताउँछन् ।
‘‘महानगरपालिकाले कोरोना महामारीसँग जुध्न विभिन्न पूर्वाधार तयार र स्वास्थ्य सावधानीमूलक कार्यक्रमहरू गर्दै आएका छौँ । सरकार र ललितपुर महानगरको आर्थिक सहयोगमा पाटन अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरिएको छ । महामारीसँग जुध्न महानगर तयार छ,” उनले भने ।
मेयर महर्जनको संयोजकत्वमा महानगरीय विपत् व्यवस्थापन समिति गठन गरिएको छ । उक्त बैठकले आर्थिक वर्ष ०७७÷७८ बाट कोरोनाका कारण प्रभावित भएकाहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको थियो । निर्णय कार्यान्वयनमा आइसकेको छ ।
जनताको स्वास्थ्यप्रति पूर्ण संवेदनशील रहेर काम गरिरहेको मेयर महर्जनको दाबी छ । पहिलो र दोस्रो लहरमा अक्सिजन अभावको समस्या यसपटक नआउने गरी कदम चालेको पनि उनले बताए ।
यस्तै, भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति महामारी रोकथाम गर्र्न स्थानीय सरकारले गर्नुपर्ने सबै तयारी गरिसकेको दाबी गर्छन् । ‘‘पहिलो र दोस्रो चरणको महामारीबाट हामीले पाठ सिकिसकेका छौँ । आ–आफ्नो क्षेत्रबाट सबैले संक्रमण रोकथामको काम गर्नुपर्छ । खोप अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाएका छौँ । पहिलो र दोस्रो चरणका पूर्वाधारहरू यथावत् छन् । यद्यपि, अहिले पनि विभिन्न किसिमका रणनितिहरू अपनाउँदै आएका छौँ,” मेयर प्रजापतिले भने ।
कागेश्वरी मनोहरा नगरपालिका, नागार्जुन नगरपालिका, टोखा नगरपालिका, चन्द्रागिरि नगरपालिका, शंखरापुर नगरपालिका, बूढानीलकण्ठ नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका पनि संक्रमण रोकथाम गर्न उदासीन देखिएका छन् ।
यस विषयमा सीसीएमसीसीकी प्रवक्ता सुनीता नेपाल अहिले सीसीएमसीसीको भूमिका कुण्ठित भएको बताउँछिन् । ‘‘मन्त्रिपरिषद्ले स्थानीय तहको भूमिका पारित गरेको छ । त्यसअघि पनि संघीय मामिला मन्त्रालयमार्फत पालिकाहरूलाई अनुरोध गर्नेे काम हुँदै आएको छ । कार्यान्वयनमा लागु गर्नु फरक कुरा हो,” प्रवक्ता नेपालले भनिन् ।
उनका अनुसार सीसीएमसीसीको पहिलेको भूमिका र अहिलेको भूमिका फरक छ । ‘‘अहिलेको भूमिका कुण्ठिएको छ । साधारण छलफल भइरहेको हो । उहाँहरूलाई प्रत्यक्ष बोलाएर छलफल भएको छैन,” उनले भनिन् ।