काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र उद्योग अन्तर्य भन्दा पनि आवरणमा रमाइरहेको छ । विषयवस्तुको गहनता र गहिराइमा पुगेर चलचित्र निर्माण गर्ने भन्दा पनि आवरणलाई भव्य बनाउन मेकरहरू केन्द्रित भएका छन् ।
प्रोडक्सन डिजाइनमा मात्रै मेकरहरू केन्द्रित हुन थालेका छन् । चलचित्रको विषय कमजोर हुने तर प्रोडक्सन भव्य बनाउन निर्माता तथा निर्देशकहरूले जोड दिइरहेका छन् । दृश्यको भव्यता खडा गरेर त्यसमै व्यापार खोज्न मेकरहरू उद्यत देखिएका छन् ।
गज्जबको क्यामेरा वर्क, भव्य साउन्ड, लाइटिङ र तारिफयोग्य सम्पादन, कस्ट्युम र सेटको भव्यता देखाउनमा मात्रै मेकरहरू आकर्षित भएका छन् । “पछिल्लो समय हामी फिल्ममेकरहरू सतही आकर्षणमा फोकस भएका छौँ । भव्य सिन देखाउँदै गज्जबको प्रोडक्सन डिजाइन देखाएर त्यसबाटै तारिफ खोज्ने प्रयास गरिरहेका छौँ,” निर्देशक तथा समीक्षक मनोज पण्डित भन्छन्, “विदेशी फिल्मसँग कसरी प्रतिस्पर्धा गर्नेभन्दा बजेट बढाउने र प्रोडक्सन ठूलो देखाउन खोजिरहेका छौँ ।”
नयाँ मेकरले नै विषयवस्तुको अन्तर्य, इमानदारिता, भव्यता, गहिराइ र इमोसनभन्दा पनि आवरणमा भव्यता खोज्नु नेपाली चलचित्र उद्योगका लागि राम्रो संकेत नभएको उनी बताउँछन् । “यसले नेपाली चलचित्र उद्योग कतातर्फ जाँदै छ भन्ने स्पष्ट संकेत गर्छ । अब हामी सात करोड र ११ करोडको सिनेमा बनाउनमा केन्द्रित भएका छौँ । कुनै गम्भीर र प्रभावकारी विषयमा काम गर्दै छौँ भन्दा पनि विदेशमा भव्य लोकेसनमा गएर चलचित्र खिच्नेमा केन्द्रित हुँदै छौँ,” मनोज भन्छन्, “नेपाली मेकर अब म मेरो चलचित्र आइफिल टावरमा चलचित्र खिचेर आउने घोषणा गर्न मात्रै बाँकी छ । भारतमा एस. शंकरले सुरुमा इन्डियन सिनेमा बनाए । त्यसपछि उनले विश्वका सातवटै आश्चर्यमा पुगेर बनाएको चलचित्र जिन्स नराम्ररी बिग्रियो । यसले आवरणको भव्यताले कसरी सिनेमा बिगार्छ भन्ने स्पष्ट पार्छ ।”
दृश्य र एक्सनमा चलचित्र जतिसुकै सबल भए पनि राम्रो कथा भन्न सकेन भने त्यसको उपादेयता रहँदैन भन्ने बुझाइ नेपाली फिल्ममेकरमा निकै कम छ । नेपाली चलचित्रकर्मी अहिले अब्बल अभिनय भन्दा पनि ‘बडी’ बनाउन जिममा केन्द्रित छन् । विषयवस्तु के हो र त्यो कति राम्रो छ भन्ने भन्दा पनि व्यक्तिको लुक्समा ध्यान दिइरहेका छन् ।
“आवरणमा मात्रै केन्द्रित हुनु भनेको यो चिन्तनमा देखिएको रोग हो । गन्तव्य नै गलत रोजेपछि कसरी सही ठाउँमा पुगिन्छ ?,” मनोज भन्छन्, “यसले नेपाली चलचित्रको भविष्य राम्रो बाटोतर्फ गइरहेको संकेत गर्दै छैन । यसले हामीलाई कहीँ पुर्याउँदैन । लगानीको वेस्ट मात्रै हो ।”
प्रविधिलाई मेकरले भन्दा पनि मेकरलाई प्रविधिले प्रयोग गरिरहेको निर्देशक दिवाकर भट्टराई बताउँछन् । विषयवस्तुलाई कसरी राम्रो बनाउने भन्दा पनि सिन कसरी ग्रान्ड देखाउने भन्ने चक्करमा सिनेमा बिग्रिरहेको उनको ठम्याइ छ । प्रोडक्सन रिच बनाउने नाममा कथाको मर्म र भिजुअल नेपाली चलचित्रमा अन्तरसम्बन्धित नहुने ठूलो समस्या रहेको उनी स्वीकार्छन् ।
“चलचित्रको इमोसन भन्दा पनि लोकेसनको प्रोपर्टीतर्फ हाम्रो ध्यान गइरहेको छ । विशेषगरी ग्रान्ड देखाउने नाममा कथावस्तु र स्क्रिनप्ले नै तोडमोड गरिन्छ,” निर्देशक दिवाकर भन्छन्, “भिजुअल रिच बनाउने नाममा कथावस्तुको मर्म नै मार्ने गरेको पाइन्छ । यो रोगकै रूपमा अगाडि बढिरहेको छ ।”
यसको असर नेपालका सिनेमा घरमा दर्शक हेरे पुग्छ । चलचित्रको कथासँग दर्शकको साक्षात्कार हुन नसक्दा नेपाली चलचित्र हेर्न दर्शक हल कमै मात्रै गइरहेका छन् । त्यही सिनेमा घरको अर्को स्क्रिनमा अंग्रेजी र हिन्दी सिनेमा हेर्ने दर्शकको भिड हुन्छ ।
“जबसम्म चलचित्रको कथासँग इमोस्नल्ली र कल्चरल्ली दर्शक कनेक्ट हुँदैनन्, कथाभित्र आफूलाई दर्शकले पाउँदैनन् वा आफूछेउको कथा पाउँदैनन् अथवा आफूभन्दा फरक व्यक्तिको कथा स्वीकार्य हुँदैन, तबसम्म त्यो सिनेमा मन पर्दैन,” दिवाकर भन्छन्, “कथाले भनेभन्दा बाहिर गएर जतिसुकै राम्रो लोकेसनमा गएर भव्य सिन खिचे पनि त्यसले दर्शकको मन खिच्न सक्दैन । यही नै नेपाली चलचित्र हेर्न दर्शक हल नजानुको मुख्य कारण हो । नेपाली चलचित्रप्रति नकरात्मकता सिर्जना हुनुको कारण हो । नेपाली सिनेमाप्रति विश्वास हराउनुको कारण हो ।”
आवरणमा देखाइने झल्याकझुलुक दृश्यकै आधारमा अहिलेको ट्रेन्ड अडियन्सलाई आफूतर्फ खिच्न नसकिनेमा उनी ढुक्क छन् । पछिल्लो समय कोरोना महामारीले घरमै बसेर वर्ल्ड सिनेमा हेरेका दर्शकलाई भव्य प्रोडक्सनको बहानामा छक्याउन र झुक्याउन नसकिने उनको भनाइ छ । कोरोनाको त्रासमा घरमै बसेको समय नेपाली मेकरले वर्ल्ड सिनेमा हेरेर आफूलाई त्यही स्कुलिङमा अगाडि बढाउन सके नेपाली सिनेमा उद्योग विषयवस्तुमा पनि अगाडि बढ्ने अन्यथा संख्या मात्रै थपिने उनमा डर छ ।
देखाउने चक्करमा ठूलो क्यानभासको पछाडि लागे नेपाली चलचित्रको अवस्था दयनीय भएर जाने दिवाकरको आकलन छ । अक्सर धेरैमा ‘ठूलो’ सिनेमा बनाऔँ भन्ने सोच रहेको भन्दै उनी भन्छन्, “सिनेमा ठूलो सानो कहिल्यै हुँदैन । सिनेमा राम्रो र नराम्रो मात्रै हुन्छ ।”
कमर्सियल चलचित्रको नाममा ठूलो क्यानभास र ठूलो प्रोडक्सनले मेकरको ध्यान खिचेको छ । भलै, कथासँग जोडिएर नआउने जतिसुकै भव्य दृश्यले चलचित्रको व्यापार प्रवर्द्धन गर्दैन । “पछिल्लो समय कमर्सियल चलचित्रको नाममा ठूलो प्रोडक्सन डिजाइनमा मेकरहरूले खर्च गरिरहेको पाइएको छ,” निर्देशक हेमराज बिसी भन्छन्, “चलचित्रको कथासँगै दृश्यहरू पनि आउँछन् भने त केही भएन । तर, बिनाकथा ठूलो प्रोडकसन मात्रै छ भने त्यसको अर्थ हुँदैन ।”
चलचित्रको पब्लिसिटीका लागि फालिने ट्रेलर, गीतमा ठूलो क्यानभास देखियो भने नोटिस हुन्छ भन्ने मेकरमा लोभ हुने गरेको तर त्यो अन्ततः कथासँग जोडिएन भने अर्थ नरहने उनको भनाइ छ ।
“कथामा नेपाली मेकरले ध्यान नदिएको सत्य हो । यो देखिएकै कुरा हो । यसले हामीलाई कहीँ पुर्याउँदैन,” हेमराज प्रतिप्रश्न गर्छन्, “तपाईंहरूले देखिरहनुभएको छ, हामी कहाँ पुग्यौँ ? अहिले कहाँ छौँ ?”