काठमाडौं । सरकारले माघ १५ गतेसम्म सिनेमाहल, डान्सबार, जिमखाना, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब स्विमिङ पुल, फुटसल, पटके हाट बजारजस्ता भिड हुने क्षेत्र सञ्चालनमा रोक लगाएको छ । भौतिक उपस्थितिमा आमसभा, भेला, जुलुस पनि नगर्न भनिएको छ ।
भौतिक रूपमा उपस्थित गराउनु परे जनस्वास्थ्य मापदण्ड पालना अनिवार्य पालना गर्न भनिएको छ । माघ ७ गते पछि त सार्वजनिक स्थलमा प्रवेश गर्दा पूर्ण खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्नेछ ।
पुस २७ गते बुधबार कोभिड १९ व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को निर्देशनमा उपत्यका तीन जिल्ला प्रशासन कार्यालयले २५ जना भन्दा बढी मानिसहरू भेला हुन नपाउने आदेश जारी गरे । त्यसको २४ घण्टा नबित्दै राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले सिहंदरबार गेट अगाडि सयौँ मानिस जम्मा गरेर स्वास्थ्य प्रोटोकल उल्लङ्न गरे ।
त्यसपछिका दिनहरूमा सरकारका मन्त्रीहरूले लगातार पत्रकार सम्मेलन, अनुगनमन लगायतका गतिविधिहरू गरेर स्वास्थ्य प्रोटोकलको धज्जी उडाइरहेका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलले पशुपति धर्मशालामा अनुगमन गर्दा २५ जनाभन्दा बढी मानिसहरू जम्मा गरेर स्वास्थ्य प्रोटोकल मिचे ।
हिजो सोमबारमात्र सहरी विकास मन्त्री रामकुमारी झाँक्री आफ्नो १०० दिने कार्यकालको समीक्षा गर्दै पत्रकार सम्मेलन गर्दा पनि स्वास्थ्य प्रोटोकल बेवास्ता गरिन् ।
काठमाडौं महानगरपालिकाका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष विद्यासुन्दर शाक्य शिलान्यास र उद्धघाटनमा व्यस्त देखिएका छन् । आज मात्रै मेयर शाक्यले हारती माता देवताको घर शिलान्यास र लायकुसा सुभारम्भ गरे ।
देशभरको संक्रमणको दुई तिहाइ संक्रमण उपत्यकामै देखिँदा पनि स्वास्थ्य प्रोटोकल उल्लङ्घनको शृङ्खला रोकिएको छैन ।
सरकारले कोरोना महामारी रोकथाम गर्न अनिवार्य स्वास्थ्य प्रोटोकलसहित स्मार्ट लकडाउनको प्रावधान लागु गर्दै आएको छ ।कार्यान्वयन गर्ने निकायले प्रभावकारी र व्यवस्थित ढंगले अगाडि बढाउन नसक्दा उपत्यका संक्रमणको हटस्पट नै बनिसकेको छ ।
विज्ञहरूले अझै दुईसाता कोरोना संक्रमणदर उकालो लाग्ने चेतावनी दिँदै आएका छन् । ओमिक्रोन संक्रमण एक सातामा उचाइमा पुग्ने प्रक्षेपण गरिएको छ ।
सार्वजनिक सवारी साधनमा स्वास्थ्य प्रोटोकलमा कडाइ गरिएको छ । सवारीमा सिट क्षमताभन्दा बढी यात्रु नचढाउने, मास्कको अनिवार्य प्रयोग गर्ने, सवारीको ढोकामा स्यानिटाइजर राख्ने, मास्क नलगाउने यात्रुलाई सवारीमा प्रवेश नदिने, प्रवेश दिने भए यात्रुलाई सहचालकले कम्तीमा ५ रुपैयाँ लिएर मास्क उपलब्ध गराउनुपर्ने प्रावधान छ । तर, दैनिक सार्वजनिक सवारी साधनमा यात्रु कोचाकोच र ठेलमठेल छ । न त ढोकामा स्यानिटाइजर नै छ ।
चालक सहचालकले नै मास्क लगाउँदैनन् । मठमन्दिर, सार्वजनिक स्थलमा पनि उस्तै ठेलमठेल छ ।
आज पुन: उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी रोकथाम गर्न नयाँ आदेश जारी गरेका छन् । कार्यान्वयन प्रभावकारी नहुँदा प्रमुख जिल्ला अधिकारीहरूले पनि औपचारिकता दिन मात्र आदेश जारी गरेको जस्तो देखिन्छ ।
तर, उनीहरू त्यो मान्न तयार छैनन् । बरु आफूहरूले स्वास्थ्य प्रोटोकल पालना गराउँदै आएको दाबी गर्छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले कडाइका साथ प्रावधान पालना गराउन आज अर्को आदेश जारी गरेको बताइन् ।
‘‘आज प्रशासनद्धारा अर्को आदेश पनि जारी गरिएको छ । यस अझै थप कडाइका साथ अघि बढ्ने छौँ,” उनले भनिन्, ‘‘सर्वसाधारणबाट पनि गुनासाहरू आएका छन् । यी कुराहरूलाई सुधार गर्दै लैजानेछौँ । सर्वसाधारणलाई लकडाउनको अनुभुति नहुने गरी चरणवद्ध रूपमा स्मार्ट लकडाउनका प्रावधानहरू पालना गराउँदै जानेछौँ । आवश्यकता अनुसार कडाइ पनि गर्दै जान्छौँ,” उनले भनिन् ।
प्रशासनका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सरकारले ल्याएको स्मार्ट लकडाउनको प्रावधान र निर्णयहरूलाई प्रभावकारी रूपमा लागु गरिरहेको दाबी गर्छन् ।
‘‘आम नागरिकले आफ्नो तर्फबाट सचेत रहनैपर्छ । जतिसक्दो कडा बन्दाबन्दी नगर्ने योजना सरकारको हो,” प्रजिअ उपाध्यायले भने ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दोस्रो चरणको लकडाउनमा सर्वसाधारणले पाएको जस्तो सास्ती यसपल्ट नदिने बताइन् ।
‘‘मन्त्रिपरिषद्ले भिडभाड हुने क्षेत्रमा प्रतिवन्ध लगाएको सबैलाई अवगत नै छ । प्रशासनद्वारा पनि उक्त आदेश जारी गरेका छौँ । कार्यान्वयन त गरिरहेकै छौँ । अनुगमन भइरहेकै छ,” उनले भनिन् ।
एकैपटक सबै क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था लागु नगर्ने सरकारको योजना भएपनि संक्रमणदरले निर्धारण गर्ने जनाइएको छ ।