site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पुरुषप्रधान समाजलाई दर्साउने ‘पुतलीको घर’
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठाडौं । नोरा एकदमै खुसी छे । ऊ आफूलाई चाहिने हरेक भौतिक वस्तु किन्न जति पनि खर्च गर्न सक्छे । तर, यसरी बेफिक्री पैसा खर्च गरेर पाउने उसको खुसी अरू कसैसँग जोडिएको छ । अर्थात् नोराको खुसीको चाबी उसका श्रीमान हेमन्तसँग छ । जो नोरालाई 'एकदमै माया गर्छु' भन्छ ।

नोरालाई हेमन्तले घरकी पुतली जसरी सजाएर राखेको छ । नोराले घरको काम गर्नुपर्दैन । बच्चाहरूसँग खेल्ने र श्रीमान कामबाट घर फर्किएपछि उसको खुसी र थकान मेटाउन मिठामिठा कुरा गर्ने जिम्मा नोरा उर्फ 'मैना'को हो । 

तर, हेमन्त श्रीमतीसँग कहिले पनि गहिरो सम्वाद गर्दैन । किनभने हेमन्तको आँखामा नोरामा त्यो कुरा बुझ्ने क्षमता नै छैन । नोरालाई श्रीमानकै सुरक्षा अनि काँध चाहिन्छ भन्ने सोच हेमन्तमा छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नोराले पनि आफ्नो श्रीमानलाई औधी माया गर्छे । यतिसम्मकी श्रीमानको ज्यान बचाउन नोरा जुनसुकै हदसम्मको झुटो बोल्न र फर्जी काम गर्न पनि तयार हुन्छे । किनभने नोरालाई लाग्छ कि श्रीमानले उसलाई यतिधेरै माया गरेको बदलामा आफूले पनि त्यस्तै माया दिनुपर्छ ।

तर, हेमन्तको माया निस्वार्थ नभएर पुरुषप्रधान समाजका पुरुषहरूको दम्भ अनि महिलालाई भौतिक सुख दिएर आफ्नो जिम्मेवारी पूरा भएको भन्दै गर्व गर्ने अनि समाजमा आफूलाई राम्रो देखाउन श्रीमतीको साथ छोड्ने एक पुरुष चरित्र हो भनेर थाहा पाउन नोरालाई निकै समय लाग्छ ।

नोरा र हेमन्तको वैवाहिक सम्बन्धले पुरुषप्रधान समाजको सचित्र वर्णन गर्छ । श्रीमानप्रतिको आत्मनिर्भरताले नोरालाई कमजोर बनाइरहेको हुन्छ । मायाको नाममा र श्रीमानको खुसीमा आफ्नो खुसी खोज्दै गर्दा नोराले कतिबेला आफ्नै औचित्य र स्वाभीमान गुमाइसकिन् उनलाई पत्तै हुँदैन ।

यता नोराको विपरीत आफ्नो स्वाभीमान, आत्मसम्मान र अस्तित्वलाई कायम राख्न अर्की पात्र ‘लीना’को प्रवेश हुन्छ । कुनै समय आर्थिक र भौतिक आवश्यकता पूरा गर्न प्रेमीलाई छोडेर धनाढ्यसँग लीनाको विवाह हुन्छ । तर, रातोबाट सेतो पहिरनमा आइपुग्दा लीनाको मनोभाव परिवर्तन भइसकेको हुन्छ । उनमा आत्मविश्वास बढेको हुन्छ । बलियो मनोबलसहित ऊ आत्मनिर्भर हुन्छे ।

त्यस्तै, नाटकमा अर्का दुई पुरुष पात्र छन् जसमा पहिलो पात्र केदार, जो आफ्नो जागिर बचाउन ‘किर्ते हस्ताक्षर’को प्रयोग र महिलाको विवस्ताको फाइदा उठाएर आफूलाई ठूलो ओहदामा राख्न कोशिस गरिरहेको हुन्छ ।

नाटकमा रातो पहिरनले विवाहपछि आर्थिक रूपमा श्रीमानप्रति आत्मनिर्भर भएर कसरी महिलाले आफ्नो स्वाभीमान गुमाइरहेका छन् भन्ने कुरालाई बिम्बका रूपमा प्रयोग गरिएको छ । त्यस्तै सेतो पहिरनलाई श्रीमानको छत्रछायाँबाट बाहिर भएका महिलामा कसरी आफ्नो स्वाभीमान ,आत्मसम्ममन र आत्मविश्वास फर्किन्छ भन्ने कुरा देखाउन खोजिएको छ । 

अर्कफ पुरुष पात्र ‘डा. राणा’ । बिरामीहरूको उपचार गरेर नयाँ जीवन दिने ऊ आज आफ्नै मृत्यको दिन कुरेर बसिरहेको छ । आफ्नो मृत्युलाई स्वीकार्नुबाहेक ऊसँग कुनै उपाय छैन । तर, यसलाई आफ्नो मृत्यु भन्दा पनि आफ्नै मिल्ने साथीकी श्रीमती (नोरा)लाई छोडेर जानुपर्ने डरले पिरोलिरहेको छ ।

साथीको घर आउजाउ गर्ने क्रममा साथीकी श्रीमतीलाई एकोहोरो माया गरिरहेका डा. राणाले अन्तत: आफ्नो माया प्रकट गर्छन् । 

डा. राणाले माया प्रकट गर्दा नोराले के प्रतिक्रिया दिन्छन् ? नोरा र हेमन्तबीच के भयो ? अन्त्यमा आफ्नै ज्यान दिएर जीवन दिन तयार श्रीमानको निधनअघि नै सेतो पहिरन लगाउने निर्णय लिइन् ? नोराले श्रीमानको ज्यान बचाउन के कदम चालेकी थिइन् जसले उनको सुखी वैवाहिक जीवनमा पहिरो आयो ? यीसहित थुप्रै प्रश्नको उत्तर खोज्न कुञ्ज थिएटरमा मञ्चन जारी ‘पुतलीको घर’ हेर्न जानुपर्ने हुन्छ ।

नर्बेजियन नाटककार हेनरिक इब्सेनको ‘डल्स हाउस’को नेपाली अनुवाद ‘पुतलीको घर’ हो । रंगकर्मी सुनील पोखरेलको निर्देशन र अनुवादमा तयार भएको यो नाटक यतिबेला कुञ्ज थिएटरमा माघ २२ गतेसम्म मञ्चन हुँदैछ ।

१० वर्षपछि फर्किएको गुरुकुलले ‘पुतलीको घर’मार्फत 'कमब्याक' गरेको हो । नाटकमा निशा शर्मा, शेखर चापागाईं, राजुमार पुडासैनी र अन्जु देउवा रहेका छन् । सुरुको चार दिन नेपालको पात्र सुनील पोखरेलले निभाउँदै छन् । शुक्रबारबाट चित्रकला, कविता वाचन गरी विभिन्न कार्यक्रसहित गुरुकुल औपचारिक रूपमा सुरु भएको हो ।

नाटककी नोरा उर्फ निशा शर्मा निकै उत्साहित छिन् । एक दशकदेखि गुरुकुल फर्काउने उनीहरूको प्रयासले मूर्त रूप लिइसकेको छ । त्यसैले उनी निकै  खुसी छिन् ।

यता हेमन्त उर्फ शेखर चापागाईंको गुरुकुल बन्द हुँदाको अन्तिम नाटक र अहिले 'कमब्याक' पछिको पहिलो नाटक ‘पुतलीको घर’ हो । १२ वर्षपछि पुन गुरुकुलमै यो नाटक गर्न पाउँदा उनी पनि उत्साहित छन् । नाटक गर्न पाएर त छँदै छ त्यो भन्दा बढी उनी गुरुकुल पुनः फर्किएकोमा खुसी छन् ।

“मैले वास्तावमा यसको गहिराइ बुझ्ने र छुने कोशिसमा धेरै जोड लगाएँ । कति सफल भएँ, दर्शकले थाहा पाउनुहोला,” उनले भने । गुरुकुल बन्द भएपछि उनी व्यवसायतर्फ पूर्णरूपमा फोकस भएका छन् । तर, अब गुरुकुललाई समय मिलाएर पूरानै जोशसहित समय दिने बताउँछन् ।

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: आइतबार, माघ २, २०७८  १९:२६
प्रतिक्रिया दिनुहोस्