काठमाडौं । नेपालमा उत्कृष्ट सिनेमेटोग्राफर छैनन् ? केही मेकरहरू राम्रो चलचित्र निर्माणका लागि भन्दै सकेसम्म विदेशी सिनेमेटोग्राफर खोज्छन् । यसको पछिल्लो उदाहरण हो, ‘गाउँ आएको बाटो’ । नवीन सुब्बाले अमेरिकाबाट सिनेमेटोग्राफर झिकाएर यो चलचित्र बनाएका छन् । आफू सकेसम्म चलचित्रको प्राविधिक काम विदेशी प्राविधिकसँग गर्न रुचाउने गरेको उनी आफैँ बताउँछन् ।
नवीन त पछिल्लो एक उदाहरण मात्रै हुन् । थुप्रै नेपाली फिल्ममेकर छन्, जो आफ्नो चलचित्रको प्राविधिक काम विदेशी प्राविधिकसँग गर्न रुचाउँछन् ।
सिनेमेटोग्राफरसँगै साउन्ड र कलरको कामका लागि अक्सर नेपाली मेकरको पहिलो रोजाइमा विदेशी प्राविधिक पर्छन् । भर्खरै रिलिज भएको चलचित्र ‘कठपुतली’को प्राविधिक पक्षले ठूलो तारिफ बटुल्यो । यो चलचित्रको अधिकांश प्राविधिक पक्षको काम विदेशीले गरेका छन् ।
करिब दुई वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘आमा’को साउन्ड र कलरको काम विदेशी प्राविधिकबाट गराउन अन्तिम समयसम्म प्रयासरत थिए, लेखक तथा निर्देशक दीपेन्द्र के खनाल । कारणवश त्यो सम्भव भएन । त्यसैले उनले दोस्रो विकल्पका रूपमा नेपाली प्राविधिकसँग काम गरे ।
यति बेला मुम्बईमा रहेका निर्माता सन्तोष सेनले आफ्नो चलचित्र ‘प्रेमगीत–३’ को प्राविधिक पक्ष भव्य रहेको दाबी गर्दै आएका छन् । नेपाली दर्शकले ‘नेपाली चलचित्रमा पनि यति भयंकर हुन्छ प्राविधिक पक्ष ?’ भनेर प्रशंसा गर्ने स्तरको काम चलचित्रमा भएको उनको भनाइ छ । सन्तोषको यो चलचित्रको प्राविधिक पक्षको काम भारतीयले गरेका छन् ।
यसको अर्थ नेपाली चलचित्रको प्राविधिक पक्ष राम्रो बनाउन विदेशी प्राविधिक अनिवार्य प्रायः छ भन्ने बुझाइ हो । नेपाली चलचित्रको गुणस्तरका लागि विदेशी टेक्निसियन अनिवार्य सर्त हो ?
प्रायः नेपाल नआएको र नेपालबारे पर्याप्त नलेज नभएको सिनेमेटोग्राफरले स्टोरीको गुदी बुझेर खिच्न सक्छ ? समीक्षक तथा निर्देशक मनोज पण्डित भन्छन्, “वेस्टन पोइन्ट अफ भ्युबाट हेर्ने सम्भावना धेरै हुन्छ । केही नेपाली चलचित्रले यो समस्या फेस गरिसकेका छन् । नेपाली विषयवस्तुलाई वेस्टको पोइन्ट अफ भ्युबाट हेर्दा नेपाली चलचित्रको क्वालिटी कसरी इनह्यान्स हुन्छ ?,” मनोजको प्रतिप्रश्न छ ।
न्यूनतम ज्ञान र सीप भएको सिनेमेटोग्राफरबाट निर्देशकले चाहेको खण्डमा राम्रो काम लिन सक्छ । आफूले बनाउन लागेको चलचित्रको कथा कसरी भन्न लागेको हो, निर्देशकले यसबारे जति धेरै सिनेमेटोग्राफरसँग छलफल र बहस गर्छ त्यति नै राम्रो काम निस्किने मनोज दाबी गर्छन् । राम्रोसँग गाइड गर्न सके नेपाली सिनेमेटोग्राफरबाट चाहेजति काम लिन सकिने उनको विश्वास छ ।
विदेशी प्राविधिक लिएर काम गर्दैमा नेपाली चलचित्रको प्राविधिक पक्षको ग्राफ उकालो लाग्छ ? पहिलो चलचित्र ‘आमा’देखि नै नेपाली चलचित्रमा विदेशी प्राविधिकले काम गरे । लामो समयसम्म यो क्रम रह्यो । “त्यसैले यो विषयमा बहस गर्ने बेला भएको छ । विदेशबाट सिनेमेटोग्राफर ल्याउने नाममा नेपालका राम्रा सिनेमेटोग्राफर कतै अवसरबाट वञ्चित त भइरहेका छैनन् ?,” मनोजको प्रश्न छ ।
सिनेमेटोग्राफर हरि हुमागाईं विदेशबाट ल्याएर काम गराउने सिनेमेटोग्राफरलाई दिने सुविधा आफूहरूले पाए ‘ए’ ग्रेडको काम गर्न सक्ने बताउँछन् । निर्देशकमा आत्मविश्वासको कमी भएका कारण विदेशी सिनेमेटोग्राफरको पछि लागेको उनको टिप्पणी छ ।
“उनीहरूलाई दिने समय, उनीहलाई दिने इकुप्मेन्ट, उनीहरूलाई दिने लोकेसन मलाई दिने हो भने म जुनसुकै देशबाट ल्याएको सिनेमेटोग्राफरसँग च्यालेन्ज गरेर काम गर्न सक्छु,” निर्देशकसमेत रहेका हरि भन्छन्, “विदेशी ल्याएर उनीहरूका हरेक डिमान्ड पूरा गर्न मेकर तयार हुन्छन् । तर, हामीले मेकरसँग बजेट धेरै छैन भनेर माया गरेर चलचित्र खिच्नुपर्छ । प्रोडुसरले लोकेसन दिन सक्दैनन् । पैसा सकिएला भनेर हामीले काम गर्नुपर्छ । उनीहरूलाई दिने सुविधा हामीलाई दिए उनीहरूको जति काम हामी पनि गर्न सक्छौँ । हामी पनि कमजोर छैनौँ ।”
बाहिरका ‘ए’ ग्रेडका सिनेमेटोग्राफर ल्याएर नेपाली चलचित्र कसैले पनि नखिचाएको र त्यो पर्दामा देखिने गरेको भन्दै एकाधबाहेक बाहिरका सिनेमेटोग्राफरको काम पनि उल्लेख्य तारिफयोग्य नरहेको उनको भनाइ छ ।
“बाहिरको सिनेमेटोग्राफरले म घाम र पानीमा खिच्दिनँ भन्दा पनि पाउने । पाटन दरबार मलाई पूरै चाहियो भन्दा खाली गराउन प्रोडक्सन तयार हुने । तर, हामीले त्यो सुविधा पाउँदैनौँ । समय, इकुप्मेन्ट र लोकेसन पाउने हो भने विश्वका जुनसुकै देशका सिनेमेटाग्राफरभन्दा हामी कम छैनौँ,” उनी विश्वास दिलाउँछन् ।
सिनेमेटोग्राफर पुरुषोत्तम प्रधान क्वालिटी वर्कका लागि विदेशी सिनेमेटोग्राफर खोज्न आवश्यक नरहेको बताउँछन् । नेपालमै दक्ष र अनुभवी सिनेमेटोग्राफरको संख्या उल्लेख्य रहेको उनको भनाइ छ ।
“अमेरिका, रुसलगायत देशमा पढेर आएका सिनेमेटोग्राफरकै संख्या नेपालमा धेरै भइसक्यो । अर्कोतर्फ, दशकौँ सिनेमा खिचेर पारंगत भइसकेकाको संख्या पनि उच्च छ,” पुरुषोत्तम भन्छन्, “त्यसैले नेपालमा वेल सिनेमेटोग्राफर छैन भनेर कसैले भन्छ भने त्यसमा सत्यता छैन । पर्याप्त दक्ष जनशक्ति यहीँ छ ।”
नेपाली चलचित्र उद्योगमा बक्स अफिसका हिट चलचित्र नेपाली सिनेमेटोग्राफरले नै खिचेको तथ्य भुल्न नहुने उनी बताउँछन् । भारतका सुपरहिट चलचित्र पनि भारतीय सिनेमेटोग्राफरले खिचेको उनी बताउँछन् । देशका जनताको मनोविज्ञान र परिवेश सोही देशको सिनेमेटोग्राफरले जति बाहिरबाट ल्याएको व्यक्तिले नबुझ्ने सत्यलाई नजरअन्दाज गर्न नहुनेमा उनको जोड छ ।
यद्यपि, विदेशी सिनेमेटोग्राफर ल्याएर चलचित्र खिच्नुको सबल पक्ष पनि रहेको उनी सुनाउँछन् । विदेशीले हाम्रो देशको कथालाई कसरी हेर्छ भन्ने ज्ञान विदेशी सिनेमेटोग्राफरलाई लिँदा हुने भन्दै उनी भन्छन्, “यो प्राक्टिस धेरै देशमा छ । अमेरिकनहरू मेक्सिन सिनेमेटोग्राफरलाई लिएर चलचित्र खिचिरहेका हुन्छन् । अष्ट्रेलियनले अमेरिकन सिनेमेटोग्राफर लिइरहेका हुन्छन् । त्यो देशको भाषा, संस्कृति विदेशीको आँखाबाट हेर्दा कस्तो देखिन्छ भन्ने कुराले यो प्राक्टिस चलिरहेको छ ।”
पुरुषोत्तम आफैँले पनि भारतमा पुगेर त्यहाँका चलचित्र खिचेका छन् । हरिले पनि भारतमा चलचित्र खिचेका छन् । “कालोपोथी, सुनगाभा, कठपुतली हेर्दा हामीले खिच्नेभन्दा केही फरक तरिकाले खिचेको देखिन्छ,” पुरुषोत्तम भन्छन्, “यसलाई सिकाइका हिसाबले पनि लिन सकिन्छ । तर, दक्ष सिनेमेटोग्राफरको अभावकै कारण विदेशी छायांकार झिकाउनुपर्यो भनेर कसैले भन्छ भने त्यो गलत हो ।”
निर्देशक छिरिङ रितार शेर्पा पनि पछिल्लो समय नेपालमा केही राम्रा सिनेमेटोग्राफर रहेको बताउँछन् । उनीहरूलाई निर्देशकले आफ्नो उद्देश्य र भिजन बताउन सके चाहेको जस्तो काम निकाल्न सकिने उनको विश्वास छ ।
विदेशी सिनेमेटोग्राफर बोलाएर सिनेमा खिचाउनुका पछाडि विभिन्न कारण रहेको र त्यसमध्ये एउटा कारण नियमितभन्दा फरक तरिकाले खिच्ने उद्देश्य हुने गरेको उनी बताउँछन् ।
“अर्को कारण इकुप्मेन्ट पनि हो । विदेशी सिनेमेटोग्राफर ल्याउँदा उसले आफैँ लेटेस्ट क्यामेरा लिएर आउँछ, जुन क्यामेरा हाम्रोमा छैन,” निर्देशक छिरिङ भन्छन्, “अर्को कारण, इन्टरनेसनल फिल्म फेस्टिभलमा जाने सोच भएका मेकरले राम्रो एक्सपोजर भएका सिनेमेटोग्राफर लिन खोज्छन् ।”
नेपालमा अहिले ल्याइने सिनेमेटोग्राफर विदेशी फिल्म फेस्टिभलमा अवार्ड जितिसकेका हुने गरेका छिरिङ बताउँछन् । “सेतो सूर्य, कालो पोथी खिच्ने सिनेमेटोग्राफर विभिन्न इन्टरनेसनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेका क्यामेरामेन हुन्,” छिरिङ भन्छन्, “त्यो लेवलको क्यामेरामेनसँग काम गर्दा कन्फिडेन्स पनि हुन्छ भन्ने पनि हो ।”
यद्यपि, नेपाली सिनेमेटोग्राफरले खिचेका केही चलचित्रले इन्टरनेसनल फिल्म फेस्टिभलमा राम्रो रेस्पोन्स पाएको तथ्यलाई पनि भुल्न नहुने उनी बताउँछन् ।
निर्देशक नवीन सुब्बा विदेशी भन्दा पनि नेपाली सिनेमेटोग्राफर महँगो भएको बताउँछन् । उनले आफ्नो चलचित्र ‘गाउँ आएको बाटो’ घोषणा कार्यक्रममा भनेका थिए, “विदेशीभन्दा नेपाली सिनेमेटोग्राफर महँगा भए । त्यसैले मैले चाहेर पनि नेपाली सिनेमेटोग्राफर लिन सकिनँ ।”