site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दैनिक ५ लाख डोज खोप दिने घोषणा 'फेल' : एक करोड डोज मौज्दात, कभरेज सुस्त

काठमाडौं । चितवनका सात पालिकामध्ये पाँचवटामा बसोबास रहेको चेपाङ समुदायका नागरिक कोभिड–१९ विरुद्धको खोप लगाउन मान्दैनन् । जिल्लाभर छरिएर रहेका चेपाङ समुदायका २१.८२ प्रतिशत नागरिकले मात्रै हालसम्म खोप लिएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांक छ  ।

देशभरको जनसंख्याको दोस्रो ठूलो हिस्सा ओगट्ने प्रदेश २ कोभिडविरुद्धको खोप लगाउनमा भने सबैभन्दा पछाडि छ । प्रदेश २ मा पूर्ण खोप लगाउनेको संख्या लक्षित नागरिकमध्ये ५० प्रतिशत कट्न सकेको छैन ।

पुस १४ गतेदेखि हरेक दिन पाँच लाख डोज खोप लगाउने घोषणा सरकारले गर्‍यो । तर, घोषणा गरेकै दिनयता नेपालमा दैनिक खोप लगाउनको संख्या पाँच लाख पुगेको रेकर्ड नै छैन ।

सरकारले ५० शय्याका निजी अस्पताल र मेडिकल कलेजहरूबाट पनि कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन पुस १२ गते नै सूचना जारी गरेको थियो । तर, पुस अन्तिमसम्म आइपुग्दा काठमाडौंका ६ वटा अस्पतालबाट मात्रै खोप दिन सुरु गरिएको छ ।

नेपालमा १८ वर्षमाथिका खोप लगाउनुपर्ने नागरिकको संख्या दुई करोड १७ लाख ५६ हजार ७६३ रहेको छ । त्यस्तै, १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका झन्डै १२ लाख छन् । जसमध्ये पुस २९ गतेसम्म १८ वर्षमाथिका ५८.७ प्रतिशतले पूर्ण खोप र ७७.६ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् ।

तर, कुल जनसंख्यामा हेर्ने हो भने ५०.९ प्रतिशत नागरिकले एक डोज र ३८.५ प्रतिशत नागरिकले मात्रै दुवै डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्याको तथ्यांक छ । 

खोपको आन्तरिक व्यवस्थापनमा अलमलियो सरकार
नेपालमा कोभिड–१९ विरुद्धको खोप गाउन सुरु गरिएको एक वर्ष पूरा हुन लागेको छ । पहिलो लटमा केही अनुदान र केही खरिदको खोप आएपछि नेपालाई थप खोप पाउन हम्मेहम्मे परेको थियो । तर, दोस्रो लहरको संक्रमण कम भएसँगै नेपालमा विभिन्न देशबाट अनुदानको खोप निरन्तर आइरह्यो । यसबाहेक सरकारले खोप खरिदको दायरा पनि बढायो । तर, खोप लगाउने गति भने अपेक्षाकृत रूपमा बढेन ।

खोपको गति नबढ्नुमा सरकारको आन्तरिक व्यवस्थापनमा कमजोरी भएको विज्ञहरूको बुझाइ छ । जनस्वास्थ्यविद् डा. शरद वन्त भन्छन्, "खोपमा मुख्य दुईवटा चुनौती थिए– पहिलो खोपको पर्याप्त उपलब्धता र दोस्रो आन्तरिक व्यवस्थापन । त्यसमध्ये दोस्रो चुनौतीमा अहिले सरकार अलमलिरहेको छ । यसैकारण जनशक्ति भएर पनि सरकार दैनिक पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिनका पछि परिरहेको छ ।" उनी तल्लो तहका स्वास्थ्यकर्मी परिचालन गरेर भएपनि नागरिकका घरदैलोमा पुग्नुपर्नेमा सरकारले त्यसो गर्न नसकेको बताउँछन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी पनि नेपालमा पुस अन्तिमसम्म ८० प्रतिशत खोप कभरेज भइसक्नुपर्ने बताउँछन् । "सरकारले पहिले खोप ल्याउनै ढिला गर्‍यो । ल्याएपछि अहिले लाउन ढिलो भयो । कमसेकम जिल्ला अस्पतालहरूबाट मात्रै पनि खोप दिएको भए कभरेज बढ्थ्यो," उनले भने ।

जनस्वास्थ्य अध्ययनकर्ता डा. समीरमणी दिक्षित पनि अहिलेको खोप कभरेजसँग सन्तुष्ट छैनन् । दैनिक कम्तीमा पाँच लाख जनालाई खोप लगाउनेगरी सरकार अघि बढ्नुपर्ने उनी बताउँछन् ।

नागरिकलाई सचेतना पुगेन  
सरकारले माघ ७ गतेदेखि हरेक सार्वजनिक निकायमा विना खोप कार्ड प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ । यसैअनुसार लक्षित सबै नागरिकलाई खोप लिन सरकारले पटक पटक आह्वान पनि गरिरहेको छ ।

तर, नगर क्षेत्रकै केही स्थानहरूमा कोभिड विरुद्धको खोपको महत्वबारे नागरिकलाई बुझाउन जनप्रतिनिधिहरूलाई मुस्किल परेको छ । चितवनको भरतपुर महानगर आसपासमा पहाडी क्षेत्र र खोप केन्द्रभन्दा केही टाढा बसोबास गर्ने चेपाङ समुदायका नागरिक केन्द्रसम्म आउनसमेत नखोजेको कालिका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारी बताउँछन् ।

"चेपाङ समुदायलाई खोप किन आवश्यक पर्छ र ? भनेर उल्टै प्रशन्न गर्छन् । पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन । भन्छन्," उनले भने ।

यता प्रदेश २ मा भारतसँग सीमाना जोडिएका क्षेत्रमा बसोबास गर्ने र मुस्लिम समुदायका केही मानिसहरू भेरोसेल खोप लगाउन मान्दैनन् । "सीमाका नागरिक चाइनिज खोप भनेर लगाउन मान्दैनन् । उनीहरूलाई आश्वस्त पार्न हामी प्रयास गरिरहेका हुन्छौँ," प्रदेश २ स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत सरोज यादवले भने,"केही मुस्लिम समुदायमा पनि खोप लगाउन नमान्ने नागरिक छन् । यी सबै समुदायलाई समेट्दै खोपको कभरेज बढाउन लागि परेका छौँ ।"

यता प्रदेश नम्बर १ मा पनि अपेक्षाकृत रूपमा खोप लगाउन नसकिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानेन्द्र बहादुर बस्नेतको स्वीकारोक्ति छ ।

'खोप कार्यक्रम सरकारको लक्ष्यअनुरूप नै अघि बढिरहेको छ' 
कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सुरु भएको एक वर्ष बित्दा कुल जनसंख्याको ३८ प्रतिशतले पूर्ण खोप लिनु र आधा जासंख्याले एक डोज खोप लगाउनलाई सरकारी अधिकारी भने लक्ष्यअनुरूप नै भएको बताउँछन् । "हामीले बढीभन्दा बढी नागरिकसम्म खोप पुर्‍याउन तीनवटै तहबाट निरन्तर प्रयास गरिरहेकै छौँ । खोप कार्यक्रमका व्यवहारिक पाटोहरू अलि कठिनाइपूर्ण छन् । तरपनि हामी लक्ष्य अनुरूप नै अघि बढिरहेका छौँ," स्वास्थ्य सेवा विभागअन्तर्गत खोप विभाग प्रमुख सागर दाहाल भन्छन् ।

सरकारले पछिल्लो समय गरेको खोप कार्ड अनिवार्यको निर्णयले पनि नागरिकलाइै खोप दिन थप दबाव बढेको दाहालको भनाइ छ ।  

एक करोड २ लाख डोज खोप भण्डारणमा 
पुस २७ गतेसम्मको तथ्यांकअनुसार सरकारको केन्द्रीय र प्रदेश खोप स्टोरमा गरी एक करोड २ लाख डोज कोभिड–१९ विरुद्धको भ्याक्सिन मौज्दात रहेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको २७ पुसको तथ्यांकअनुसार सबै बढी टेकुस्थित केन्द्रीय खोप भण्डारमा ७० लाख १७ हजार डोज खोप मौज्दात छ ।

केन्द्रीय खोप भण्डारमा भेरोसेल १० लाख ५७ हजार ५ सय ६० डोज, जोनसन एन्ड जोनसन ३ लाख ६७ हजार ५० डोज, कोभिसिल्ड ३५ लाख ८० हजार ४५० डोज, फाइजर ४ लाख १० हजार ७ सय ९० डोज र मोडर्ना १६ लाख १२ हजार डोज मौज्दात छ ।

त्यसैगरी, पथलैया केन्द्रीय स्टोरमा ५ लाख ७७ हजार ५ सय डोज कोभिशिल्ड खोप रहेको छ ।

प्रदेश  १ का लागि विराटनरस्थित कोल्ड चेन स्टोरमा भेरोसेल १ लाख ३१ हजार ४ सय ६० भायल, जोनसन १ लाख २९ हजार ७ सय ५० भायल कोभिशिल्ड १ लाख ६१ हजार गरी ४ लाख २२ हजार २ सय १० भायल खोप मौज्दात रहेको व्यवस्थापन महाशाखाका वरिष्ठ फर्मासिस्ट बडेबाबु थापाले जानकारी दिए ।

प्रदेश २ को जनकपुर कोल्ड चेन स्टोरमा ६ लाख २८ हजार ५ सय ५७ डोज मौज्दात छ । जसमा भेरोसेल ३९ हजार ७ सय ५७ डोज, जोनसन एन्ड जोनसन ८८ हजार ८ सय डोज, कोभिशिल्ड ५ लाख डोज रहेको छ ।

वाग्मती प्रदेशअन्तर्गत हेटौडा कोल्ड चेन स्टोरमा तीन जिल्लाका लागि २ लाख ६७ हजार १ सय डोज खोप मौज्दात छ । जसमा भेरोसेल १ लाख ३० हजार २ सय, भेरोसेल ५ लाख आठ हजार १ सय डोज, जोनसन एन्ड जोनसन १ लाख २८ हजार ८ सय डोज रहेको छ । वाग्मती प्रदेशकै १० जिल्लाका लागि टेकुको स्टोरमा ३ लाख ५० हजार २ सय ५९ डोज खोप राखिएको छ । जसमा मोडर्ना १९ हजार ४० डोज, कोभिशिल्ड ४२ हजार ४ सय ४० डोज, जोनसन एन्ड जोनसन २ लाख ७४ हजार ८ सय ५० डोज र भेरोसेल १३ हजार ९ सय २९ डोज मौज्दात छ ।

गण्डकी प्रदेशका लागि पोखरा कोल्ड चेन स्टोरमा ४ लाख ४० हजार २ सय ३५ डोज खोप मौज्दात छ । जसमा मोडर्ना १ लाख ९५ हजार ६ सय डोज, कोभिसिल्ड ४६ हजार ७ सय ६० डोज, जोनसनएन्ड जोनसन ५५ हजार २ सय डोज र भेरोसेल १ लाख ४२ हजार ६ सय ७५ डोज छ ।

लुम्बिनी प्रदेशमा ४ लाख ७ हजार ९ सय ५३ डोज मौज्दात रहेको छ । जसमा कोभिसिल्ड २ लाख ११ हजार डोज, जोनसन एन्ड जोनसन ६९ हजार ६ सय डोज र भेरोसेल १ लाख २७ हजार ३ सय ३५ डोज छ ।

कर्णाली प्रदेशका लागि नेपालगन्ज कोल्डचेन स्टोरमा १७ हजार ७ सय ८० डोज खोप मौज्दात छ । सो प्रदेशको विभिन्न जिल्लामा थप १ लाख ४ हजार ९ सय डोज खोप मौज्दात छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीस्थित कोल्ड चेन स्टोरमा ७८ हजार ९ सय ७२ डोज खोप मौज्दात रहेको थापाले जानकारी दिए । उनकाअनुसार जसमा भेरोसेल ३ हजार ६ सय २२, जोनसोन ७५ हजार ३ सय ५० डोज रहेको छ ।

यो बाहेक विभिन्न जिल्लामा पनि पर्याप्त मात्रामा खोप पठाइएको थापाले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  २१:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro