काठमाडौं । गएको बुधबारको साँझ विपीन कार्की भर्खर घर पुगेका मात्रै थिए । विशाल सापकोटाले फोन गरे– तपाईंलाई मुम्बईबाट सिनेमाको कास्टका लागि फोन आउँछ है । प्रणय रेड्डीले तपाईंको नम्बर मागेका छन्, मैले दिएको छु । रनवीर कपुर खेल्ने चलचित्रका लागि कास्ट गर्न लागेका हुन् ।
विपीनलाई लाग्यो, विशालले मसँग प्रयाङ्क त गरिरहेका छैनन् । विशालले भने– भोलि र पर्सिसम्म तपाईंलाई फोन कल आउँछ । अन्ततः उनले विश्वास गरे ।
भोलि वा पर्सि आउँछ भनेको फोन १५ मिनेटपछि नै आयो । प्रणयले फोन गरे र चलचित्र ‘एनिमल’का लागि कास्टको प्रस्ताव गरे । ‘अर्जुन रेड्डी’को हिन्दी भर्सन ‘कबिर सिंह’को निर्देशन गरेका सन्दीप रेड्डी भांगाले निर्देशन गरिरहेको चलचित्र ‘एनिमल’का लागि प्रणयले विपीनलाई कास्ट गर्न चाहेको बताए । ‘एनिमल’मा रनवीर कपुर, अनिल कपुर, बबी देओल र परिणीति चोपडाले अभिनय गरिरहेका छन् ।
विपीनले सोधे– के हो मेरो रोल ? “तपाईंको चलचित्र मैले हेरेको छु । तपाईं राम्रो अभिनेता हो भन्ने हामीलाई थाहा छ । त्यसैले हामीले अडिसन नलिई सिधै कास्ट गर्न खोजेका हौँ,” प्रणयले विपीनलाई अगाडि भने, “म यति भन्छु, यो चलचित्रमा तपाईंलाई राम्रो रोल छ । तपाईंले काम देखाउने प्रशस्त ठाउँ छ ।”
सन्दीपले विपीनको चलचित्र ‘सेल्फी किङ’ हेरेका रहेछन् । उनलाई यो चलचित्र हेराएका थिए यसकै निर्देशक विशाल सापकोटाले । यो चलचित्र हेर्दै उनले भनेका रहेछन्, ‘यो अभिनेतासँग काम गर्नुपर्छ ।’
“डेब्यु गर्नका लागि प्रशस्त ठाउँ छ । मार्केबल रोल छ भनेपछि राम्रो रोल होला भन्ने विश्वास लिएको छु । तर, रोल यो र यही हो भनेका छैनन्,” विपीन भन्छन्, “पहिलोपटक संवाद भएकाले मैले स्क्रिप्ट चाहिन्छ नै भनेको छैन । तर, अब कुरा हुँदा स्क्रिप्टका लागि रिक्वेस्ट गर्छु । स्क्रिप्ट पाएको खण्डमा चरित्र निर्माणको काम गर्न सहज हुने थियो ।”
यो अवसरलाई आफूले चुनौतीका रूपमा लिएको विपीन बताउँछन् । एउटा चलचित्र हेरेर बोलाउनु अवसर भए पनि यो अवसरलाई कसरी सदुपयोग गर्ने भन्ने कुरा चुनौतीपूर्ण भएको उनको भनाइ छ । “मैले फिल्म खेल्न पाउनु ठूलो कुरा होइन । बलिउडका ठूला स्टारहरू खेलेको फिल्ममा म नहराउनुचाहिँ ठूलो कुरा हुन्छ । मैले काम नगरी त्यो कुरा थाहा हुँदैन । जब मैले त्यो चलचित्रमा काम गर्छु, त्यसमा मेरो उपस्थिति देखिनुपर्यो । पर्दामा म देखिनुचाहिँ ठूलो कुरा हो । काम गरिस् भन्दा गरेँ भन्नुभन्दा पर्दामा अर्थपूर्ण उपस्थिति देखिनुपर्यो,” विपीन भन्छन्, “यहाँ मैले दर्शक र समीक्षकको यति धेरै माया र तारिफ पाएको छु । नेसनल अवार्ड विनरले पर्दामा अर्थपूर्ण उपस्थिति देखाउन सकेन भने मेरो त बेइज्जत हुन्छ नै देशकै बेइज्जत हुन्छ । ठूलो सेट हुन्छ, ठूलो अनुभव पनि होला भन्ने लागेको छ । यसका लागि मैले मेरो भू्मिका के हो भन्ने थाहा भएको भए सहज हुने थियो । त्यसैले म एकपटक स्क्रिप्ट दिन रिक्वेस्ट गर्नेछु ।”
अफर आयो । मनाउनुपर्ने त उत्सव थियो, तर विपीनलाई यति बेला डरले गाँजेको छ । बलिउड स्टारका अगाडि हराउने त हैन ? पर्दामा टिकिरहन सक्छु कि सक्दिन ? नेपालको बलियो छाप बलिउडमा छोड्न सक्छु कि सक्दिन ? यहाँ पाएको जस्तै माया त्यो चलचित्रबाट पाउँछु कि पाउँदिनँ भन्ने कुराले उनलाई पिरोलिरहेको छ ।
अक्सर नेपाली कलाकार बलिउडमा सानो रोलका लागि पनि अडिसन दिन जान्छन् । पास भए अवसर पाए, नभए फर्किनुपर्छ । तर, ‘सेल्फी किङ’ नै विपीनका लागि अडिसन भइदियो ।
“सायद मलाई भाग्यले जुरायो । त्यसैले एकपटक मुम्बई गएर काम गर् न त भनेजस्तो लाग्छ,” उनले खुसी सुनाए ।
प्रायः नेपाली कलाकार जसलाई जिन्दगीको कुनै न कुनै समय बलिउडमा गएर काम गर्ने रहर हुन्छ । कतिले गरेका पनि छन् । भलै, सफलता सबैको पोल्टामा बिरलै परेको छ, मनीषा कोइरालाबाहेकलाई ।
विपीनलाई पनि बलिउड प्रवेशको रहर थियो ? पटक्कै थिएन । प्रश्न खस्न नपाउँदै उनको जवाफ आयो । “बलिउड भनेको ठूलो ठाउँ हो । त्यहाँ गएर वर्षौँदेखि संघर्ष गरेर बसेका व्यक्ति मुम्बईमा गल्ली–गल्लीमा छन् भन्ने हामीले सुन्दै आएको हो,” विपीन चुनौतीको पहाड छिचोल्न कठिन रहेको जनाउ दिन्छन्, “हाम्रै साथीहरू पनि जानुभएको छ । कति अहिले पनि उतै हुनुहुन्छ । त्यसैले नेपालको जस्तो सानो चलचित्र उद्योगको कलाकार त्यहाँ गएर सफलता पाइएला भन्ने त म मात्रै होइन, कमैले सोच्छ ।”
बलिउडलाई हामी हेर्छौँ । तर, बलिउडले हामीलाई हेर्दैन । बलिउडलाई हामी आदर्श मान्छौँ । तर, उसले त हामीलाई देखेको पनि छैन । यो तीतो सत्य हो । चाहे रोटी–बेटीको सम्बन्ध होस् वा छिमेकीको, भारतलाई गन्ने र मान्ने हामीले मात्रै हो, हामीलाई उसले होइन । राजनीतिमा मात्रै होइन र चलचित्रमा पनि यही नै कटु यथार्थ हो । त्यसैले उनले पनि कल्पना गरेनन्, जसरी अरू धेरैले यो साच्दै सोचेनन् ।
तर, बलिउडले हेरेर बिनाअडिसन विपीनलाई बोलायो । यो अवसर र विश्वासलाई कसरी पूरा गर्ने उनी यति बेला यसमै सेरोफेरोमा केन्द्रित छन् ।
अडिसन दिनका लागि त अर्जुन कपुरको चलचित्रका लागि पहिला पनि विपीनलाई बोलाएकै हो । तर, उनी त्यो बेला ‘प्रसाद’को छायांकन सेटमा थिए । सेटमा रहेका उनलाई त्यति धेरै क्रु र निर्माता–निर्देशकले गरेको भरोसालाई कुुल्चिएर मुम्बई दौडिन नैतिकताले दिएन । सौहार्दपूर्ण रूपमै इन्कार गरिदिए ।
‘जात्रै जात्रा’ रिलिजको समय थियो । त्यो बेला पनि उनलाई मुम्बईबाटै आग्रह आयो अडिसनको । हिन्दीमा बोलेर एउटा क्लिप्स पठाउन भनियो । सिरिजका लागि अफर थियो । हिन्दीमा बोलेको सुट गरेर पठाउनुपर्ने त्यो झन्झटतिर पनि उनी लागेनन् । ‘हरि’को सिनमा समावेश क्लिप्स पठाइदिऊँ कि भनेर प्रयास पनि गरे । तर, मिलेन । त्यसैले त्यो अफर पनि बेवास्ता गरिदिए ।
जुन, जुलाई र अगस्टमध्ये कुनै एक समय मुम्बई गएर विपीनले आफ्नो कला देखाउनेछन् । उनले काम गर्न सके भने नेपाली कलाकारका लागि बलिउडको ढोका पुनः एकपटक खुल्नेछ । “मेरा लागि मात्रै पनि म भन्दिनँ । समग्र नेपाली कलाकार र नेपाली चलचित्र उद्योगका लागि राम्रो हुन्छ भन्ने लाग्छ,” उनी भन्छन्, “तर, यसका लागि मैले त्यहाँ आफ्नो छाप छोड्न सक्नुपर्छ । म मार्क हुनुपर्छ । हामीले राम्रो काम गर्न सक्यौँ भने थोरबहुत जति हुन्छ, नाम त रोशन देशकै हुने हो । विश्वव्यापी भइसकेको बलिउडको बजारमा रोशन हुन सके फाइदा नेपाली चलचित्र उद्योगलाई नै हुने हो । तर, यसका लागि सानदार काम पर्दामा देखाउनुपर्नेछ । अनि बल्ल फिल्मको सक्सेस पार्टीझैँ म उत्सव मनाउनेछु ।”
जबसम्म दर्शक र नेपाली समीक्षकले गज्जब गरेछन् भनेर भन्ने छैनन्, तबसम्म आफ्नो मनमा चुनौती र डर मात्रै रहिरहने उनी सुनाउँछन् । “हामी स्कुल पढ्दा पहिला सानो जाँच र ठूलो जाँच भन्ने हुन्थ्यो । अर्धवार्षिक जाँचलाई हामी सानो जाँच भन्थ्यौँ, त्यसमा खासै डर लाग्दैन थियो । तर, वार्षिक जाँचलाई हामी ठूलो जाँच भन्थ्यौँ, त्यसमा डर लाग्थ्यो,” विपीन नेपाली चलचित्र र बलिउडको तुलना गर्दैै चुनौतीको कुरा गर्छन्, “नेपालमा काम गर्दागर्दा युज टु भएर सानो जाँचजस्तो लाग्थ्यो । तर, बलिउड ठूलो इन्डस्ट्रि भएकाले त्यहाँ मार्क हुन कठिन हुन्छ । त्यसैले ठूलो जाँच दिन लाग्दा लाग्ने डरजस्तै अहिले डर लागिरहेको छ ।”
जिरो हेटर्स अभिनेता: धेरैपटक बालबाल बचेका विपीन