site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘ताली बजाउने र गाली गर्ने दुवै खालका दर्शक हुनुहुन्छ’
SkywellSkywell

काठमाडौं । कोरोना महामारीका कारण झन्डै दुई वर्ष बन्द रहेर केही महिनाअघिदेखि मात्र सञ्चालनमा आएका हलहरूमा प्रदर्शनमा आएका अधिकांश नेपाली चलचित्रले दर्शकलाई तान्न सकेनन् । तर, गएको हप्तादेखि हलमा रिलिज भएको नेपाली ‘हरर’ चलचित्र ‘कठपुतली’ले भने दर्शकलाई हलमा फर्काएको भनेर प्रशंसा पाइरहेको छ ।

नेपालमा कमेडी धारका चलचित्रले दर्शकलाई तानिरहेको समयमा हरर जनरा लिएर सम्पदा मल्लले लेखिकामा र भीमसेन लामाले फिचर चलचित्रको निर्देशकको रूपमा डेब्यु गरेका छन् ।

नेपालमा बनेका कतिपय हरर चलचित्रले दर्शकलाई तर्साउने भन्दा पनि हँसाउने गरेको भनेर आलोचना समेत हुने गर्छ । के कठपुतलीले दर्शकलाई तर्साउन सफल बनिरहेको छ त ? मिश्रित प्रतिक्रिया पाइरहेको कठपुतलीकी मुख्य अभिनेत्री शोभा महर्जन उर्फ उषा रजक र कथा लेखिका सम्पदा मल्लसँग गरिएको कुराकानीको सम्पादित अंश : 

KFC Island Ad
NIC Asia

चलचित्रले कस्तो व्यापार गरिरहेको छ ?

काठमाडौंका मल्टिप्लेक्सहरूमा राम्रो व्यापार गरिरहेको छ । बाहिर (मोफसल)का हलहरूमा चाहिँ ठिकठिकै मात्रै छ । हुन त हामीले बाहिर त्यति प्रमोसन पनि गरेनौँ । म आफैँ (सम्पदा मल्ल) पनि हलहरूमा गइरहेको छु । जहाँबाट मैले राम्रो कुरा के थाहा पाएँ भने, छाया सेन्टर जहाँ नेपाली चलचित्रहरू त्यति प्रदर्शन हुँदैनन्, नेपाली चलचित्र नहेर्ने एलिट (धनाढ्य) वर्ग मात्रै जाने हलमा पनि हाउसफुल छ ।

Royal Enfield Island Ad

चलचित्रले मिश्रित प्रतिक्रिया पाइरहेको छ । कथा लेखिकाको रूपमा भन्नुपर्दा दर्शकले मन पराउनुको कारण के हो ?

सर्जकको रूपमा जब हामीले केही सिर्जना पस्कन्छौँ, त्यो सबैले रुचाउनैपर्छ भन्ने जरुरी पनि छैन । एक सर्जकको रूपमा हामीले आलोचना र प्रशंसा दुवैका लागि एकदम तयार हुनुपर्छ । धेरैले चाहिँ कथा बुझिनँ भन्ने प्रतिक्रिया दिनुभएको छ । भीमसेन (निर्देशक भीमसेन लामा)जीको टेक युरोपियन शैलीको फिल्ममेकिङ छ, जहाँ सबै कुरा व्याख्या गर्नुपर्दैन भन्ने सिद्धान्त हो । र, त्यही सिद्धान्तकै कारण हामीले अमेरिकामा ‘बेस्ट हरर फिल्म’को अवार्ड पनि जित्यौँ । जुन चलचित्रको पोस्टरमा हिरो–हिरोइन नभएर भूत छ र दर्शक त्यही पोस्टर हेरेर हलसम्म जानुभएको छ भने त्यो आफैँमा केही नयाँ अनि फरक धारको चलचित्रलाई पनि दर्शकले रुचाइदिनुभएको छ भन्ने प्रमाण हो ।

प्राविधिक पक्षबाट मात्रै दर्शक तान्न खोजिएको छ भन्ने पनि समीक्षा आइरहेको छ । कथा लेखेकाले यसमा तपाईंको के प्रतिक्रिया छ ?

कुन दर्शकको कुरा हो भन्ने पनि हुन्छ । ताली बजाउने र गाली गर्ने दुवै दर्शकहरू हुनुहुन्छ । यदि, ताली बजाउने नभइदिएको भए हलसम्म जानुहुने नै थिएन । त्यसैले प्रतिक्रिया राम्रो र नराम्रो दुवै छ । एक सर्जकको रूपमा मेरो काम त्यहाँ सकिन्छ, जहाँ मैले पस्किसकेँ । अब मेरो काम भनेको चुपचाप बसेर गाली र ताली दुवै लिने हो । मैले कथा पेस गरिसकेपछि स्क्रिनप्लेदेखि सबै कुरा निर्देशकको हुन्छ ।

आफूले अभिनय गरेको फिल्म हलमा हेरेर आफैँ कत्तिको तर्सिनुभयो ?

मज्जाले तर्सेँ । त्यो रात (प्रिमियर) घर फर्केपछि निकै बेरसम्मै सुत्नै सकिनँ । कुन कर्नरबाट भूत निस्कने हो, ओछ्यानमुनिबाट हात आउँछ कि भनेर आफ्नै घरमा तर्सिरहेको थिएँ । एकदम डराएको थिएँ । छायांकनमा चाहिँ त्यति डर लागेन । तर, केही दृश्यहरूमा चाहिँ डर लागिरहेको थियो । जस्तै : राति भर्‍याङमा बामे सर्दै आउँदाको दृश्य एकदमै डरलाग्दो थियो ।

नेवार समुदायकी महिलाको पात्र फेरि ‘किचकन्नी’को भूमिका निभाउनुभएको छ । त्यो लवजका लागि कत्तिको मिहिनेत गर्नुपर्‍यो ?
यो चलचित्रमा मेरा लागि सबैभन्दा ठूलो चुनौती भनेकै डायलग डेलिभरी थियो । किनभने, म आठ वर्ष कीर्गिस्तान बसेको थिएँ, जहाँ कीर्गिस र रसियन मात्रै बोलिन्थ्यो ।

यो चलचित्र छायांकन बेला भर्खरै देश फर्किएको थिएँ । त्यस्तै ६ महिना भएको थियो । त्यसैले यसका गहकिलो डायलग गाह्रो लाग्यो । यसका लागि मैले मेरो खोकनामा भएकी साथी (शर्मिला शाक्य महर्जन)को घर गएर दिनभरि बस्थेँ, अबजर्भ गर्थेँ । सम्पदाले पनि सहयोग गर्नुभयो अनि विशेष धन्यवाद मैले अशेष मल्ल सरलाई दिनैपर्छ । सबैको सहयोगका कारण दर्शकले मन पराउनुभएको छ ।

नेपालमा अरू अभिनेत्रीहरू पनि हुनुहुन्थ्यो । तर, कीर्गिस्तानमा रहेकी उषा रजकलाई नै प्रस्ताव गर्नुको केही विशेष कारण ?
राम्रा कलाकारहरूलाई सँगै लिएर आऊँ भन्ने थियो । कथा हेर्दा कथाले जुन पात्रलाई छान्दा ठिक हुन्छ जस्तो लाग्यो, त्यही कलाकारलाई छानेका हौँ । जसमा उषाजी पनि पर्नुभयो ।

करिब एक दशकपछिको ‘कमब्याक’का लागि ‘कठपुतली’ चलचित्र छानेर सही गरेँजस्तो लाग्छ ?
एकदमै सही भयो । किनभने, मैले यूएनडीपी इन कीर्गिज रिपब्लिकमा कम्युनिकेसन स्पेसलिस्टको काम गर्थेँ । सबै वेल सेटल्ड थियो । तर, मलाई भित्रभित्रै केही अपूर्णजस्तो लागिरहेको थियो । ठ्याक्कै सम्पदाको फोन आयो र मलाई मैले खोजिरहेको कुरा पाएँजस्तो महसुस भयो । अनि, मैले सबै छोडेर आएँ ।

हालै मिसेस नेपाल इन्टरनेसनलको पनि उपाधि जित्न सफल हुनुभयो । सँगै डिभोर्सको कुरा पनि आइरहेको छ !

मैले आफ्नो पति अर्थात् परिवार छोडेर नेपाल फर्किएर आएदेखिको हल्ला हो र अझै केही समय यो हल्ला चली नै रहन्छ जस्तो लाग्छ । एउटी नारीले घर छोडेर आफ्नो कर्मक्षेत्रमा अगाडि सर्दा डिभोर्स भयो भन्ने सुनिन्छ । तर, त्यही काम पुरुषले गर्दा भने उसलाई राम्रो भनिन्छ ।

म पनि त्यही एउटा प्रवृत्तिको पीडित बन्न पुगेकी छु । मैले यूएनको जागिर छोडेर कलाकारितामा फर्किएको कुरालाई प्राथमिकतामा राखियोस् भन्ने चाहन्थेँ, हाम्रो मिडियाले । तर, ठिकै छ मिडियालाई गसिप चाहिने रहेछ । यी सबै हल्ला मात्रै हुन् ।

भनेपछि ‘मिसेस’को टाइटल आफैँले तपाईंको वैवाहिक सम्बन्धलाई प्रस्ट्याउँछ त ?
मलाई आफैँलाई थाहा थिएन मेरो डिभोर्स भयो भनेर यता समाचारमा आइसकेको रहेछ । विवाह भनेको दुई व्यक्ति एकार्काको सधैँ साथ हुने हो । कागजमा कैद विवाह भनेको त समाजले दिएको दायरा हो । त्यसलाई तपाईं कत्तिको विश्वास गर्नुहुन्छ हुन्न भन्ने कुरा आ–आफ्नै हो । हामी (लुना (छोरी) लुनाका बुवा, म) जीवनभरि सँगै हुनेछौँ । हाम्री छोरीलाई दुवैले हेर्नेछौँ ।

सम्बन्धबिच्छेदपछि महिलाकै कमजोरी र दोष देखाइन्छ हो ? तपाईंहरू दुवैजनाको धारण के छ यसमा ?
सम्पदा : त्यो कुरामा म सहमति जनाउदिनँ । किनभने, आजको समाज एकदमै स्वीकार गर्ने समाज छ । फेरि, यति भनिरहँदा सबैजनाले स्वीकार्छन् भन्ने छैन । दुवै प्रवृत्तिका व्यक्तिहरू हुनुहुन्छ समाजमा ।

उषा : मेरो आफ्नै व्यावसायिक अनुभव सुनाउनुपर्दा कसैलाई पनि चासो छैन, म डिभोर्स हो वा होइन भनेर । मेरो क्षमतालाई हेरिन्छ काम दिनेहरूले । तर, केही पत्रकारहरूले भने आफ्नो पेसाको दुरूपयोग गरेर चटपट समाचार लेख्छन् ।

अभिनयकै लागि परिवार र यूएनको जागिर छोड्ने निर्णय कसरी लिनुभयो ?
मध्य जीवन संकट (मिड लाइफ क्राइसिस) ! ३३ वर्ष पुगिसकेको थिएँ । त्यो मोनोटोनस अफिस जब गरिरहँदा आफ्नो सिर्जनशीलता कताकता हराएजस्तो, काम गरिरहँदा पनि खुसी नभएको जस्तो भइरहेको थियो । १८ वर्षको हुँदै मैले नेसनल थिएटर अवार्डको बेस्ट एक्ट्रेस अवार्ड जितेको थिएँ । भनेपछि मभित्र कलाकारित कति पहिलेदेखि गडिएको रहेछ त । कीर्गिस्तानमा कला क्षेत्रको हाम्रोजस्तो ठूलो इन्डस्ट्रि छैन । म ध्यान गर्थेँ, भगवान्को नाम जप्थेँ । तर, म भित्रैदेखि खुसी हुनै सकिरहेको थिइनँ ।

नेपालमा कमेडी जनराले दर्शक तानिरहेको बेला हरर जनरा त्यो पनि डेब्यु चलचित्र लेख्ने सोच कसरी आयो ?
जीवनमा चुनौती मोल्यो भने मात्रै अघि बढिन्छ जस्तो लाग्छ । चलिआएको धारमा त सबैले गर्छन नि ! फेरि, हाम्रो टिम पनि सबैजना नयाँ गरौँ भन्ने खालको थियो ।

म हाम्रो फिल्मका निर्माता पृथ्वी दाइ (पृथ्वी रानामगर)लाई धन्यवाद दिन चाहन्छु । किनभने, उहाँले म नयाँ लेखिकाको प्रयासलाई साथ दिनुभयो । चलचित्र एकदमै रिस्क भएको अनि महँगो मिडियम हो । चलिआएको त्यो पनि लभस्टोरीमा गरौँ न भन्ने धेरै निर्माताहरू भेटेको छु । होला, पहिलो चलचित्र भएर केही गल्तीहरू भएका होलान् । तर, यसका बाबजुद पनि दर्शकले जुन माया दिनुभएको छ, त्यसका लागि आभारी र अझै हौसला मिलेको छ ।

निर्देशककै कुरा गर्नुपर्दा हालै उहाँले पत्रकारले लेख्नुभएको समीक्षामा आक्रोश पोख्नुभयो । यसमा तपाईं के भन्नुहुन्छ ? 
गाली त मलाई पनि आइरहेको छ (लामो हाँसो) । सायद, सबैभन्दा बढी गाली मैले नै खाइरहेको छु । तर, यो मेरो अन्त्य नभएर सुरुवात हो । हामीले इमानदारिताका साथ सिर्जना गर्‍यौँ । त्यसमा केही कमी–कमजोरी पनि हुनसक्छ र हेर्ने दृष्टिकोण पनि फरक–फरक हुनसक्छ ।

एउटा सर्जकलाई आफ्नो सिर्जना भनेको आफ्नो बच्चाजत्तिको प्यारो हुन्छ । त्यसैले त्यो बच्चालाई कसैले गाली गरेपछि भएको चित्तदुखाइ हो । भीमसेनजीलाई पनि त्यस्तै भएको हो । तर, हामीले त्यसमा चित्त दुखाउनु हुँदैन । उहाँलाई पनि गलत नलिइदिनुहोला भन्न चाहन्छु ।

चलचित्र महिलाकेन्द्रित भनेर दाबी गरिरहँदा कथामा त त्यो देखिएन भन्ने टिप्पणी आयो नि ?
कठपुतलीलाई टिप्पणीहरू एकदमै चरम आएका छन् । कति मिडियाले सकारात्मक पनि लेख्नुभएको छ । कथा बुझिएन भन्ने प्रतिक्रियालाई चाहिँ म स्वीकार गर्दछु । किनभने, भीमसेनजीको स्टोरी भन्ने शैलीमा सबै कुरा बताइराख्नुपर्दैन । यो दर्शकलाई आ–आफ्नौ शैलीबाट व्याख्या गर्न छोड्दिनुपर्छ भन्ने शैलीलाई पनि म स्वीकार्छु । किनभने, अन्तिममा त्यो निर्देशककै चलचित्र हुन्छ ।

तर, महिला पात्र नै निरीह देखियो भन्ने कुरामा मेरो सहमति छैन । किनभने, मिथिला शर्माको एकदमै पावरफुल पात्र देखिएको छ । फेरि, गौरी मल्लले सत्ता नै जनताको हातमा सुम्पिदिएकी छन् । यो कथा भनेकै महिलाहरूले लिने बदलामा आधारित छ । अनि, कसरी निरीह भन्न सकिएला त ?

फिल्ममेकरको समर्थनमा लेखिदिँदा खुसी हुने र नराम्रो भनेर लेखिदिँदा समीक्षकको क्षमतामाथि नै प्रश्न उठाइदिने प्रवृत्ति छ भनिन्छ । तपाईंहरूको केसमा पनि त्यस्तै भयो नि !
समीक्षकहरूको आ–आफ्नो धारणा हो । त्यसमा म सर्जक भएर केही भन्न सक्दिनँ । यदि, मैले त्यो स्वीकार्नै सक्दिनँ भने म यो क्षेत्रमा नआए पनि हुन्छ । यसैमा म एउटा सन्दर्भ जोड्न चाहन्छु, मेरो बुवा (रंगकर्मी अशेष मल्ल)ले चलचित्र हेरिसकेपछि भन्नुभएको थियो– हेर नानी, मैले यति लामो रंगमञ्चको यात्र तय गर्दा कतिले मलाई ताली बजाए, कतिले गाली पनि गरे । अब तिमीले ताली पाउँदा खुसी हुने अनि गाली गर्दा डिप्रेसनमा जाने हो भने त्यही दिनदेखि तिमीले यो क्षेत्र छोडिदेऊ ।

तपाईंहरू आफैँचाहिँ भूतप्रेतमा कत्तिको विश्वास गर्नुहुन्छ ?
सम्पदा : मैले एकदमै नजिकबाट अनुभव गरेको छु, त्यसैले पनि मैले यति विस्तृत रूपमा लेख्न सकेँ । आत्मा आएको देखेको छु । तान्त्रिकहरूलाई नजिकबाट नियालेको छु । यसमा मेरो विश्वास छ ।

उषा रजक : राम्री किच्कन्नीहरू छन् रे भन्नेचाहिँ सुनेको छु, तर मैले अहिलेसम्म देखेको छैन । 

वैज्ञानिक कुरालाई विश्वास गर्नुपर्नेमा भूतप्रेतका कुरा ल्याउँदा कन्ट्रास्टजस्तो छैन ?
यो पनि मिक्स छ । हुँदै नहुने भन्ने पनि होइन । अलौकिक शक्ति त छ । तर, हामीले यसमै टेकेर कसैलाई दोष लगाउनु भने हुन्न ।

उषाजी जतिखेर जस्तो प्रश्नमा पनि हाँसेर जवाफ फर्काइरहनुभएको देखिन्छ । यो सकारात्मकता कहाँबाट आउँछ ?

सकारात्मकता र नकारात्मकता दुवै हुन्छ । मेरो बुवा जस्तो परिस्थितिमा पनि सधैँ हाँसिरहने, सधैँ सकारात्मक देखिरहनुहुन्थ्यो । हामी गरिबीमा हुर्किएको, बुवा एकजनाको कमाइले हामी पाँच सन्तानलाई खुवाउनुपर्थ्यो । तर, उहाँ सधैँ हाँसिरहनुहुन्थ्यो । सायद, त्यो बुवाको गुण मभित्र आएको हो कि जस्तो लाग्छ ।

अन्तिमपटक कहिले रुनुभएको थियो ?
कोरोनाको समयमा म डिप्रेसनमा गएको थिएँ । किनभने, मलाई मानिससँग घुलमिल हुन मनपर्छ । त्यो समयमा अनेक नकारात्मक कुराहरू दिमागमा चलिहरको थियो । त्यसैले कतिपटक एक्लै रोएँ । तर, त्यसबाट उम्किन म विपश्यना ध्यान गएँ, जसबाट धेरै सकारात्मकता आयो ।

कठपुतलीलाई दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ पोस्टपोन्डले पनि राहत मिलेको छ ?
एकदमै मिलेको छ । मैले पहिलोपटक कार्यकारी निर्माताको रूपमा भित्री वितरणको शैली हेर्ने मौका पाएँ । जसबाट के थाहा पाए भने, नेपाली चलचित्र हेर्ने दर्शक छ भने हलले साथ दिन्छ । किनभने, पहिलो दिन हाम्रो चलचित्रलाई धेरै सो थिएन । तर, जब हाउसफुल भयो दोस्रो दिनदेखि सो बढाइयो । यदि, वितरकहरूले चाहने हो भने त्यो सो ‘पुष्पा’लगायत अरू विदेशी चलचित्रलाई पनि दिन सक्थे । यति मात्रै होइन, उहाँहरूले नाइट सोको टाइम बढाइदिनुभयो ।

यसले नेपाली कि विदेशी भनेर हेर्ने होइन, दर्शक हेर्ने हो जस्तो लाग्यो । तर, आरआरआरको पोस्टपोन्डले पनि राहत पक्कै मिलेको हो ।

उषाजीले चलचित्र चलाउन रिलिजताका कन्ट्रोभर्सी सिर्जना गर्न खोज्नुभयो भन्ने आरोप छ नि ?
प्लिज, मलाई यस्तो आरोप नलगाउनुहोस् । जुन दिन म कन्ट्रोभर्सी ल्यान चाहन्छु, त्यो दिन म ल्याउँछु अनि थाहा हुन्छ । तर, मैले डिभोर्सको कुरा ल्याएर र प्रिमियरमा त्यस्तो जाडो मौसमको दिन क्लिभेज देखाउने पहिरन लगाएर कन्ट्रोभर्सी क्रियट गर्न खोजेँ भनेर नभन्नुहोस् । म चर्चाका लागि कहिले पनि मेरो परिवारलाई अघि ल्याउदिनँ । मेरो काम बोल्छ ।

दर्शकले हलसम्म गएर कठपुतली किन हेर्न जानुपर्छ जस्तो लाग्छ सम्पदाजी ?
यदि, ट्रेलरले आकर्षित गर्‍यो भने आइदिनुहोला । र, एउटा मौलिक कथावस्तुमा नयाँ किसिमको चलचित्र बनाउने प्रयास गरेका छौँ, त्यसलाई हेरिदिनुहोला । यसले हामीलाई पनि हौसला मिल्नेछ । तर, हाम्रो लागि भन्दा पनि हजुरहरूलाई तान्यो भने हेरिदिनुहोला ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro