काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पुनः कोरोना संक्रमण बढ्दा भिडभाड हुने क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्था लागु गर्ने तयारी थालेको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले सीसीएमसीसीको निर्देशनपछि संक्रमण रोकथाम गर्ने कदम चाल्ने बताएका छन् । यद्यपि, आफूहरूले अहिल्यै निषेधाज्ञा, ‘लकडाउन’, ‘स्मार्ट लकडाउन’ लागु गर्नेबारे तयारी नगरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल बताउँछन् ।
‘‘केही समयमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को शुक्रबारको बैठकको निर्देशन आउला । तीन जिल्लाका प्रजिअ बैठक बस्नुअघि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका पदाधिकारीहरूसँग छलफल हुन्छ । सरोकारवाला निकायसँग बैठक बस्छौँ । त्यसपछि केही निष्कर्ष आउला । त्यसकै आधारमा प्रजिअ बैठक बसेर आवश्यक निर्णय गरिनेछ,” प्रजिअ रिजालले भने ।
प्रजिअ रिजालका अनुसार सीसीएमसीसीको निर्देशन प्रशासनमा आएपछि आज बेलुका वा भोलि बैठक बस्नेछ ।
गएको शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको सीसीएमसीसी बैठकले रोकथामका लागि तत्काल कदम चाल्न निर्देशन दिइसकेको छ । सीसीएमसीको उक्त निर्देशन आएपछि आफूहरूको बैठक बस्ने प्रजिअ रिजालले जानकारी दिए ।
बढी भिडभाड हुने क्षेत्रमा भिडभाड कम गर्ने प्रावधान ल्याइने प्रजिअ रिजालको भनाइ छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलने भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत रहन आग्रह गर्दै आएको छ ।
यसअघि, काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले एकसाथ उपत्यकामा निषेधाज्ञा, लकडाउनको कदम चाल्दै आएका थिए । पुनः संक्रमण बढे त्यस्तै अवस्था आउन सक्ने प्रजिअहरूको भनाइ छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा विगतको जस्तो लकडाउन गर्ने वा नगर्ने भन्नेबारे उपत्यकाको संक्रमणदरले निर्धारण गर्ने बताउँछिन् ।
‘‘कोरोना संक्रमण बढ्दै जाँदा ढिलोचाँडो बढी भिडभाड हुने क्षेत्र नियन्त्रण गर्नैपर्ने हुन्छ । भिडभाडबाटै बढी संक्रमणदर बढेको अनुभव हामी सबैमा छ । यद्यपि, सम्बन्धित सरोकारवाला निकायसँगको छलफलपछि मात्रै लकडाउन जारी गर्ने/नगर्नेबारे निष्कर्षमा पुग्छौँ,” प्रजिअ शर्माले भनिन् ।
प्रजिअ शर्माका अनुसार आज वा भोलि बस्ने प्रजिअहरूको बैठकमा भिडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, सार्वजनिक यातायातलगायत क्षेत्रको भिडभाड कम गर्ने प्रावधानमा छलफल हुनेछ । भक्तपुरको संक्रमणबारे सरोकारवाला निकायसँग छलफल भइरहेको पनि प्रजिअ शर्माले जानकारी दिइन् ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि पहिलेकै अवस्था आउन सक्ने जोखिम भएकाले पूर्ण सावधानी र स्वास्थ्य मापदण्ड पालना गराउन सचेत रहेको जनाएको छ ।
ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा सावधानी अपनाउने कामहरू भइरहेको जानकारी दिए । उनले विभिन्न सरोकारवाला निकायसँगको छलफल र बढ्दो संक्रमणदरको समीक्षाले आवश्यक निर्णयको बाटो देखाउने बताए ।
‘‘प्रशासनले भिडभाड नगर्न, स्वास्थ्य मापदण्ड पालना गर्न सल्लाह–सुझाव दिँदै आएको छ । बढी भिडभाड हुने क्षेत्र नियन्त्रणबारे तीन जिल्लाका सीडीओबीच अनौपचारिक छलफल भइसकेको छ,” प्रजिअ उपाध्यायले भने ।