site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
डेढ वर्षपछि लाइसेन्स छाप्न सुरु, तीन महिनामा ७ लाख चालकले पाउने

काठमाडौं । आजदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु भएको छ । स्मार्ट कार्डको अभावमा डेढ वर्षदेखि बन्द रहेको लाइसेन्स छपाइ पुन: सुरु भएको हो । 

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले दैनिक १० हजार स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने जानकारी दिए । उनकाअनुसार नवीकरण गर्ने सेवाग्राहीहरूलाई १० दिनमै लाइसेन्स उपलब्ध गराइनेछ ।

‘‘पहिलो चरणमा पुराना सेवाग्राहीलाई लाइसेन्स उपलब्ध गराइनेछ । दोस्रो चरणमा अन्य सेवाग्राहीलाई प्राथमिकताका आधारमा लाइसेन्स उपलब्ध गराइनेछ,” महानिर्देशक घिमिरेले भने, ‘‘लाइसेन्स छाप्नको लागि स्मार्टकार्ड र प्रिन्टिङ मेसिन चाहिन्छ । विभागमा यी साधनको अभाव छैन । पहिला स्मार्टकार्डको अभावमा समस्या आएको थियो । अब वितरणमा समस्या आउँदैन ।”

विभागले लाइसेन्स यातायात व्यवस्था विभागको कार्यालय मिनभवनमै छापेर सम्बन्धित यातायात कार्यालयहरूमा पठाइने जनाएको छ । सुरुमा काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सेवाग्राहीहरूलाई लाइसेन्स वितरण थालिने छ ।उपत्यका बाहिरका यातायात कार्यालयहरूमा वितरण गर्न केही समय लाग्ने जनाइएको छ ।

विभागले लाइसेन्स छापेर देशभरका २१ वटा यातायात कार्यालयहरूमा पठाएर सजिलै वितरण गर्ने जनाएको छ । त्यसपछि यातायात कार्यालयहरूले सम्बन्धित सवारी धनीलाई वितरण गर्नेछन् ।

ट्रायल परीक्षा पास गरेका सेवाग्राहीले सम्बन्धित यातायात कार्यालयले जारी गरेको सूचनाका आधारमा सम्पर्क गरी लाइसेन्स लिन पाउनेछन् ।  

विभागले खरिद गरेको १४ लाख स्मार्टकार्ड मंसिर ८ गते बुधबार नेपाल आएको थियो । त्यसपछि स्मार्टकार्डको स्याम्पल टेस्ट गर्न कार्ड फ्रान्स पठाएको थियो । उक्त स्याम्पल टेस्टको रिजल्ट आएपछि छपाइ थालिएको हो ।

विभागमा स्मार्टकार्ड अभाव हुँदा ०७७ मा कार्ड खरिदका लागि टेन्डर आह्वान गरिएको थियो । टेन्डरपछि १४ लाख स्मार्टकार्ड ९० दिनमा कम्पनीले कार्ड उपलब्ध गराउनेगरी विभागले नेपाल फ्रान्स संयुक्त कम्पनी सेल्फलाई ठेक्का दिएको थियो । तर, कम्पनीले समयमै विभागलाई स्मार्टकार्ड उपलब्ध गराउन नसक्दा लाइसेन्स लिनेको संख्या बढेको थियो । विभागलाई कम्पनीले एक वर्षपछि मात्रै स्मार्टकार्ड उपलब्ध गराएको थियो । 

केही समयअघि स्मार्टलाइसेन्स सक्कली र नक्कली छुट्याउन गाह्रो भएपछि खारेज हुने चर्चा भएको थियो । यसबारे महानिर्देशक घिमिरे भन्छन्, ‘‘स्मार्टलाइसेन्स वितरण प्रभावित बन्दैमा खारेज हुने होइन । खरिद सम्झौता बमोजिम कार्ड नआउँदा समस्या भएको हो । अब सहजै लाइसेन्स उपलब्ध गराउँछौँ । आवश्यक परेको बेलामा सक्कली र नक्कली लाइसेन्स पहिचान गरिरहेकै छौँ ।” 

स्मार्ट लाइसेन्स परीक्षणका लागि महानगरीय ट्राफिक प्रहरीसँग एउटा मात्रै मेसिन छ । सँगै कसैको लाइसेन्स परीक्षण गर्न परे विभागमा सम्पर्क गर्नुपर्ने बाध्यता छ । विभागसँग लाइसेन्स छाप्ने एउटा मात्रै मेसिन भएकाले पटक–पटक छपाइ रोकिँदै आएको छ । 

भारतीय कम्पनीको नियन्त्रणमा रहेको लाइसेन्स छाप्ने सफ्टवेयर विभागले आफ्नो नियन्त्रणमा ल्याइसकेको छ । त्यसैले अब प्राविधिक समस्या सिर्जना भएर छपाइ रोकिने समस्या नआउने विभागले जनाएको छ । 

तत्काल ट्रायल परीक्षा पास गरेका सेवाग्राहीलाई विभागले परीक्षणकालीन लाइसेन्स उपलब्ध गराइरहेको छ । यसका लागि राजस्व तिर्नुपर्नेछ । परीक्षणकालीन लाइसेन्स वितरण सुरु हुँदा स्मार्ट लाइसेन्सको विकल्प खोजी गर्न लागिएको भन्ने चर्चा थियो ।तर, परीक्षणकालीन लाइसेन्स स्मार्टलाइसेन्सको विकल्प नभएको विभागले प्रस्ट पारेको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५१ को परीक्षणकालीन लाइसेन्स अन्तर्गत बनेका नियमहरू चालकले पाँचपटक वा सोभन्दा बढी उल्लङ्घन नगरे स्थायी सवारी चालक अनुमतिपत्र प्राप्त गर्नेछन् ।

विभागले परीक्षणकालीन लाइसेन्सको समयावधि चालकको परीक्षणकाल रहेको पनि प्रष्ट पारेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro