site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युवतीको बयान– ‘टुनामुना’ लगाई विवाह गरियो, छोराको चिन्ताले आमा बिरामी
बेपत्ता चन्द्रे कामी ।

काठमाडौं । हुम्लामा कथित माथिल्लो जातको युवतीसँग विवाह गरेका भनिएका एक युवक एक सातादेखि बेपत्ता छन् ।

स्थानीय चन्द्रे कामी बेपत्ता भएको एक सातासम्म पनि अत्तोपत्तो नलाग्दा परिवार चिन्तित छ । केटाले आफूलाई दुई महिनासम्म लुकाइछिपाइ राखेको र ‘टुनामुना गरी विवाह गरेको’ बयान ती युवतीले प्रहरीसमक्ष दिएकी छन् ।

छोराको चिन्ताले चन्द्रेकी आमा पिरोलिएको चन्द्रेका भिनाजु धुनी भियालले बताए । ‘‘छोरा बेपत्ता भएको दिनदेखि चन्द्रेकी आमाले केही पनि खाना खाएकी छैनन् । पहिलेदेखि कमजोरी खाना नखादा बिरामी परेकी छन् । घरमा रातदिन रुवाबासी छ । युवती पक्षले उसैको घरतिर छाडिदिएको भन्दै टारिरहेको छ । हाम्रै घरतिर छोडेको भए बेपत्ता चन्द्रे किन घर आएन ? लामो समयको प्रेमपछि भागी विवाह भएको सबैलाई थाहा छँदै छ । कहाँबाट कसले लगायो टुनामुना ?,” भियालले भने ।

युवतीलाई ललाइफकाइ ‘टुनामुना’को बयान दिन लगाएको कामी पक्षको दाबी छ । उनको परिवारका अनुसार विवाहपछि दुवैजना राजीखुसी लुकेर बसेका थिए ।

गएको मंसिर ५ गते सर्केगाड गाउँपालिका–१, जैर नात्ता गाउँका १९ वर्षीय चन्द्रे कामी र मुगुको सोरु गाउँपालिका–४, लिपु्र गाउँकी १९ वर्षीया सुन्तली मल्लको ‘भागी विवाह’ भएको बताइन्छ । कथित उपल्लो जातसँग दलित युवकको विवाह युवती पक्षलाई मञ्जुर थिएन ।

त्यसपछि उनीहरू युवतीको परिवारको डरले सर्केगाड गाउँपालिका–२, रिप गाउँमा लुकीछिपी बस्दै आएका थिए । त्यस समयमा वडाध्यक्ष गोकुल बुढालाई विवाह दर्ताका लागि आग्रह पनि गरेका थिए । तर, वडाध्यक्ष बुढाले उमेर नपुगी विवाह दर्ता गर्न नमिल्ने बताए ।

पछि युवती पक्षले केही नगर्ने भन्दै उनीहरूलाई घर आउन मञ्जुर गराइएको थियो । गएको मंसिर २९ गते राति करिब २० जनाको समूहले चन्द्रे कामीलाई नग्न बनाएर निर्घात कुटपिट गर्दै आफूसँगै लगेको चन्द्रेका बुवा धञ्जय कामीले बताउँदै आएका छन् ।

उक्त समूहका व्यक्तिहरू अहिले पनि फरार छन् । सोमबार प्रहरीले युवतीका बुवालाई प्रक्राउ गरेर सोधपुछ गरिरहेको छ । घटनापछि उनी पनि फरार थिए ।

युवतीका आफन्तले युवकले ‘टुनामुना लगाएर’ मल्ललाई लिएर गएको र प्रेम सम्बन्ध नभएको बताउँदै आएका छन् । युवती पक्षले चन्द्रे कामीलाई बेपत्ता नपारिएको दाबी पनि गर्दै आएको छ ।

युवती पक्षले ‘टुनामुना’लगायत अन्धविश्वासजन्य कुरा गरेर घटना मोड्न खोजिएको सर्केगाड गाउँपालिका–१ का वडाध्यक्ष बुढाले बताउँछन् । ‘‘युवतीले अर्थ न व्यर्थको बयान दिएकी छन् । दलितको छोराले ठकुरीको छोरीलाई ‘टुनामुना’ लगाएर विवाह गरेको असम्भव हो । केटाकेटीको लामो समयको प्रेम सम्बन्धकै कारण बिहे भएको हो । आज चन्द्रे बेपत्ता भएको एक साता भइसक्यो । केटाको आमा घरमा बिरामी हुनुहुन्छ,” बुढाले भने ।

परिवारले कुटपिट घटनाको भोलिपल्ट पुस १ गते स्थानीय डाँडामा चन्द्रेको टिसर्ट फेला पारेको थियो । चन्द्रेका भिनाजु भियाल भन्छन्, ‘‘हाम्रो पावर–पहुँच छैन । अहिलेसम्म चन्द्रेको कुनै अत्तोपत्तो छैन । कहाँ गएर के गरौँ ?”

कुटपिट घटनाकै राति कामीलाई उनकै घर आसपास छोडिएको बयान पनि युवतीले दिएको प्रहरी स्रोतले जनाएको छ ।

जिल्ला प्रहरीका कार्यालय हुम्लाबाट खटिएको डीएसपी नेतृत्वको टोली हाल घटनास्थलमा सक्रिय छ । घटना अनुसन्धानकै क्रममा रहेकाले थप जानकारी दिन नसकिने प्रहरीले जनाएको छ ।

डीएसपी हेरम्ब शर्माले बेपत्ता कामीको अहिलेसम्म केही पत्ता नलागेको बताए । ‘‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा ५० प्रतिशत लुकाइएको र ५० प्रतिशत मारिएको भन्ने छ । यद्यपि, बेपत्ता कामीको खोजीकार्य जारी छ । लुकाइएको र मारेको कुनै पनि प्रमाण अहिलेसम्म भेटिएको छैन । अहिले केही भन्न सकिने अवस्था छैन,” डीएसपी शर्माले भने ।

डीएसपी शर्माले बयानभन्दा बेपत्ता कामीको खोजीकार्य तीव्र पारिएको जानकारी दिए ।

यी पनि पढ्नोस्–

हुम्लामा अन्तरजातीय विवाह : फरार रहेका युवतीका बुवा पक्राउ 

बेपत्ता छोराको खोजीमा छटपटाइरहेका बुवा भन्छन्– छोराले ठकुरानीसँग नगर्नु बिहे गरेछ, कहाँ गएर न्याय मागौँ ?

हुम्लामा अन्तरजातीय बिहे गरेको भन्दै दलित युवालाई घरबाटै बेपत्ता बनाइयो !

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro