
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रमा मोरङका सञ्जय ओझामाथि अभद्र व्यवहार गर्ने प्रहरीमाथि छानबिन सुरु भएको छ । बुधबार विमानस्थलबाट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानेर उनीहरुमाथि छानबिन थालिएको हो ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी शेखर खनालले विमानस्थलमा युवामाथि अभद्र व्यवहार गर्ने प्रहरी कर्मचारीलाई रानीपोखरी तानेर घटनाबारे छानबिन थालिएको भन्दै विज्ञप्ति नै जारी गरेका थिए ।
प्रहरी कर्मचारीले सञ्जय ओझामाथि अभद्र व्यवहार गर्दैै छलारपछार गरेको भिडिओ भाइरल भएपछि उपत्यका प्रहरीले भिडिओमा देखिएका तीनजना प्रहरी कर्मचारीलाई रानीपोखरी तानेको हो ।
एसएसपी खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘‘२०८१ चैत ३१ मा स्वदेश फर्किरहेका एक युवामाथि त्रिभुवन विमानस्थल सुरक्षा कार्यलय गौचर काठमाडौंबाट खटिएको प्रहरी कर्मचारीले दुव्र्यवहार गरेको भन्ने भिडिओ विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशन भएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको र छानविनकालागि३ जनाप्रहरी कर्मचारी विमानस्थलबाट तानेर रानीपोखरी झिकाइएको छ ।’’
त्यसरी प्रहरीबाट नै दुर्व्यवहारमा परेका युवा मोरङका सञ्जय ओझा दुवईबाट केही दिनको लागिमात्रै बिदामा नेपाल आएको खुलेको छ । ट्रली राखेको विषयमा भएको सामान्य विवादपछि आफूमाथि दुर्व्यवहार भएको सञ्जयले बताएका छन् ।
भएको के हो ?
करिब २ मिनेटको भिडिओ हेर्दा विमानस्थलमा खटिएका प्रहरीले सञ्जयमाथि दुर्व्यवहार गरेको देखिन्छ । तीनजना प्रहरी कर्मचारीमध्ये एकजना ट्राफिक प्रहरी देखिन्छन् । प्रहरी हवल्दारसहितका तीन प्रहरीले उनलाई तानेर नै बाहिरबाट भित्र लगेको देखिन्छ, त्यो पनि लछारपछार गर्दै ।
त्यसमध्ये एकजना प्रहरीले लात्ताले समेत हानेको भिडिओमा देखिन्छ । त्यही भिडिओको आधारमा विमानस्थलमा खटिएका प्रहरी कर्मचारीमाथि सामाजिक सञ्जालमा चर्को विरोधसमेत भइरहेको छ । सोही आलोचनापछि सञ्जयमाथि दुर्व्यवहार गर्ने प्रहरीलाई रानीपोखरी प्रहरीले बुधबार तानेको हो । सञ्जय हिमालय एयरलाइन्समार्फत चैत ३१ मा दुवईबाट नेपाल फर्किएका थिए ।
सञ्जय र उनकी श्रीमती दुवैजना आफन्तको विहेका लागि नेपाल आएका थिए । तर, विमानस्थलमा भने सञ्जयमाथि दुर्व्यवहार भएको हो । सञ्जयकी श्रीमतीले भने अब घटना साम्य भएका कारण कुरा गर्न नमिल्ने प्रतिक्रिया दिइन् ।
उनले भनिन्, “मेरो भाइको विहेका लागि हामी दुवैजना सँगै आएका हौँ । हामीले जे भयो भयो भनेर छोडेका थियौँ । तर, पछि भिडिओ भाइरल भएछ । अब यो बारे कुरा नगरौँ ।’’
तर, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्थापन प्रालिले भने सञ्जयमाथि नै कारबाही हुनुपर्ने माग राख्दै विज्ञप्ति जारी गरेको छ ।
सेवा प्रालिका सचिव उमाशंकर धितालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘सञ्जय ओझाले ११ः३० मा विमानस्थलको आगमन पार्किङ एरियाका प्रि–पेड ट्याक्सी सेवाका कर्मचारी तथा सुरक्षाकर्मीमाथि गालीगलौज तथा प्रहरीमाथि जुत्ता प्रहार गर्ने प्रयासको घोर भर्त्सना गर्दै सरकारसँग ओझाविरुद्ध कानुनअनुसारको कारवाही माग गछौँ ।’’
विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरले पनि सञ्जयले भन्सारका कर्मचारीमाथिसमेत अभद्र व्यवहार गरेको खुलेको बताए । उनले भने,‘‘प्रहरीको भूमिका के थियो भन्ने बारे रानीपोखरीले छानबिन गर्दैछ । तर, सञ्जय पनि एग्रेसिभ हुँदा घटना भएको जस्तो देखिन्छ ।’’