site stats
बाह्रखरी :: Baahrakhari
देश
बेपत्ता छोराको खोजीमा छटपटाइरहेका बुवा भन्छन्– छोराले ठकुरानीसँग नगर्नु बिहे गरेछ, कहाँ गएर न्याय मागौँ ?

काठमाडौं । मुगुको सोरु गाउँपालिका वडा नम्बर ४ लिप्रु गाउँकी सुन्तली मल्ल (१९ वर्ष)ले दुई महिना अगाडि आफूले प्रेम गरेको दलित युवकसँग अन्तरजातीय विवाह गरिन् । ठकुरी र दलितको जात नमिलेको भन्दै  उनीहरुको विवाहमा परिवारले सहमति जनाएको थिएन ।
  
तल्लो जातको केटासँग सुन्तलीको विवाहलाई लिएर चार दिन अगाडि  माइती पक्षले केटालाई नग्न बनाएर हात बाँधेर निर्घात कुटपिट गरी बेपत्ता पारिदिएको थियो । सुन्तली ठकुरीसँग सर्केगाड गाउँपालिका १ जैर नात्ताका चन्द्रे कामीले गरेको विवाहकै कारण उनलाई बेपत्ता पारिएको छ ।  

चन्द्रेलाई घरबाट निकालेर युवती पक्षका महान्छेले नियन्त्रणमा लिएको खुलेको छ । चन्द्रेको परिवार अहिले चिन्तामा डुबेको छ ।

हुम्लामा ठकुरीकी छोरीसँग बाहुन तथा क्षेत्रीले विवाह गरे पनि क्षमा याचना गर्ने चलन अहिले पनि छ । दुबैजनाले दुई महिना पहिले प्रेम विवाह गरी हुम्लाको रिप गाउँमा लुकेर बसेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युवती सुन्तलीकाे परिवार, अन्य सदस्य र ठकुरी समुदाय यो विवाहको विरुद्धमा थिए । सर्केगाड गाउँपालिका १ का वडाध्यक्ष गोकुल बुढाका अनुसार युवती पक्षको डरले लुकरे बसेको बेला चन्द्रेले विवाह दर्ता गरिदिन भनेका थिए ।
 
‘‘उमेर नपुगी विवाह दर्ता गर्न नमिल्ने भन्दै अहिले आ–आफ्नो ठाउँमा बस्न सुझाएको थिएँ । २० वर्ष नपुग्दै विवाह दर्ता गर्न मिलेन,”  वडाध्यक्ष बुढाले भने ।

विवाहपछि उनीहरुलाई युवती पक्षले खोजिरहे पनि दुईमहिनासम्म नभेटेपछि केही नगर्ने भन्दै चन्द्रे कामीको जोडीलाई परिवारमार्फत केटी पक्षले घर आउन राजी गरायो । 

चन्द्रे र सुन्तली घरमा आएपछि युवती पक्षका २०–२५ जनाको समूहले गाउँभरीका घरका ढोका बन्द गरेर चन्द्रेलाई ‘नाङ्गै’ बनाएर कुटपिट गर्दै लगिएको बताइएको छ । 

चन्द्रेका बुवा धन्जय कामी तत्लो जाति भएकै कारण अपहेलना गरी पाँचदिनदेखि छोरालाई बेपत्ता पारिएको बताउँछन् । ‘‘विवाहपछि सुन्तलीका परिवारलाई यो विवाह स्वीकार्य थिएन । युवती पक्षमा अन्तरजातीय विवाहको विरोध भइरहेको थियो । अहिले छोराका सास र लास दुबै छैन । पढ्न लेख्न केही आउँदैन । छोराले ठकुरानीसँग नगर्नु बिहे गरेछ । कहाँ गएर न्याय मागौँ ?,” कामीले भने ।
 
यतिखेर चन्द्रेका बुवा धन्जय कामी र चन्द्रेका दाइ गोकुल कामी चन्दे्रको खोजीमा छटपटाइरहेका छन् । उनका दाइ भन्छन्, ‘‘आमा घरमा रुदारुदा विरामी हुनुहुन्छ । बाबा र म भाइको खोजीमा छौँ । प्रहरीले पनि भाइलाई खोजिरहेको छ । तर, अहिलेसम्म भाइको कुनै पत्तो लागेको छैन ।”

चन्द्रेका बुवा धन्जय कामीले छोरा बेपत्ता भएको पछिल्लो दिन प्रहरीलाई जानकारी गराएका थिए । हाल प्रहरीले खोजी कार्य जारी राखे पनि चन्द्रेको कुनै अत्तोपत्तो छैन ।
 
चन्द्रेको परिवारले मुगु र हुम्लाका नेताहरुले घटना तोडमोड गर्न लागेको आरोप समेत लगाएको छ । प्रहरीले सत्यतथ्य बाहिर निकालेर सास कि लास बाहिर ल्याउनुपर्ने परिवारको माग छ ।
  
चन्द्रेलाई निर्घात कुटपिट गरी बेपत्ता पारेका २०–२५ जना फरार छन् । फरारलाई प्रहरीले अहिलेसम्म सम्पर्कमा ल्याउन सकेको छैन । घटनाको सत्यतथ्य बाहिर ल्याउन जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको डीएसपी हेरम्ब शर्माको टोली सक्रिय छ ।
 
यस्तै सर्केगाड प्रहरी चौकीको टोली, श्रीनगर प्रहरी चौकी र सोरुकोट प्रहरी चौकीले पनि चन्द्रको खोजी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी हेरम्ब शर्माका अनुसार युवतीका बुवा र युवतीको बयान लिइएको छ । 
 
‘‘युवती पक्षको बयान लिइरहेका छौँ । पाँच दिन बेपत्ता कामीको खोजीकार्य जारी रहेको छ । घटनाको सत्यतथ्य छिट्टै बाहिर निकाल्ने गरी प्रहरी सक्रिय छ,” डीएसपी शर्माले भने ।
 
प्रहरीले केटीलाई लिएको बयानमा केटालाई उसको गाउँतिर छाडिएको छ । घटनाबारे प्रहरीले थाहा पाएपछि प्रहरी परिचालन गरिएको डीएसपी शर्माको भनाइ छ । 

परिवारले चन्द्रेको ‘टिसर्ट’ डाँडामा फेला पारेको थियो ।
 
मुगुस्थित एक होटलमा चन्द्रेले काम गर्दा युवतीसँग चन्द्रेको भेट भएपछि प्रेम सम्बन्ध सुरु भएको थियो । 


 

प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्