
काठमाडौं । अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटा ‘घुस रिसवत उद्योग’मा दोषी ठहर भएका छन् ।
आयोगको कञ्चनपुर कार्यालयका अनुसन्धान अधिकृतलाई नै घुस दिने प्रयास गरेपछि उनीमाथि मुद्दा चलाइएको हो । घुस दिई नसकेकाले सापकोटा ‘घुस रिसवत उद्योग’मा दोषी ठहर भएका हुन् ।
विशेष अदालतका न्यायाधीशहरू रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले उनलाई एक लाख घुस दिन खोजेकोमा ५० हजार जरिवाना र साढे दुईमहिना कैदको फैसला भएको छ । घुस रकम दिइनसकेको हुँदा उनको बिगो जफत भने नहुने फैसलामा उल्लेख छ ।
गत पुससम्म नुवाकोटको किस्पाङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका सापकोटाले मेल्लेख गाउँपालिकाको मेसिनरी सामान खरिदसम्बन्धी उजुरीमा विस्तृत अनुसन्धान भइरहेका कागजात पेस गर्न जाँदा खाममा एक लाख रुपैयाँ लिएर पुगेका थिए ।
उनले कार्यालयमै पुगेर कागजातसँगै खाम पनि दिएका थिए । अनुसन्धान अधिकृतले खाम आफैँले खोलेर दिनुस् भन्दा निजले बोकेको हरियो रंगको झोलाभित्र रहेको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको थियो ।
यो केको पैसा हो भनी अनुसन्धान अधिकृतले प्रश्न गर्दा सापकोटाले ‘तपाईंका लागि नै स्वेच्छाले ल्याएको हो’ भनेका थिए । त्यसपछि आयोगले उनलाई नियन्त्रणमा लिएर गत पुस २५मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।