काठमाडौं । धितोपत्र बजारलाई अर्थतन्त्रको ऐना र पुँजी परिचालनको आधारको रूपमा लिने गरिन्छ । नेपालमा पनि प्रत्यक्ष/अप्रत्यक्ष रूपमा धितोपत्र बजारमा प्रवश गर्नेको संख्या १० लाख पुगिसकेको छ ।
पुँजीबजारमा प्रवेश गर्ने पहिलो खुड्किलो हितग्राही खाता (डिम्याट) खोल्ने नागरिकको संख्या करिब साढे ४७ लाख पुगेको छ । पछिल्लो समय सेयर बजारप्रति विशेष आकर्षण देखिन्छ । केही समययता भने केही निराशा पनि छाएको छ ।
कोभिड–१९ अघि ०७६ फागुनमा नेपाल पुनर्बिमा कम्पनीले सार्वजनिक निष्कासन गर्दा उक्त निष्कासनमा आवेदन दिने लगानीकर्ताको संख्या करिब चार लाख थियो । तर, पछिल्लो समय सार्वजनिक निष्कासन गर्ने कम्पनीमा आवेदन दिने प्राथमिक बजारको लगानीकर्ताको संख्या २५ लाखसम्म पुग्यो । यसले कोभिडपछि सेयर बजारमा लगानीकर्ताको आकर्षण कति बढेको छ भन्ने प्रस्ट हुन्छ ।
यस अवधिमा आम नागरिकको सेयर बजारप्रतिको आकर्षण मात्रै बढेन, प्राथमिक बजार हुँदै दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या पनि बढ्यो ।
सेयर बजार परिसूचक नेप्सेले गएको भदौ २ गते ३१९९.०३ अंकको ऐतिहासिक उचाइ कायम गरेको थियो । साउन ३१ गते सेयर बजारमा अहिलेसम्मकै उच्च एकैदिन २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँसम्मको कारोबार भयो । भदौ २ गते ऐतिहासिक विन्दुमा पुगेको नेप्से त्यसपछि लगातार घट्दो क्रममा देखिएको छ ।
गएको साउन अन्तिम साता नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति समीक्षामा सेयर धितो कर्जामा कडाइ गर्दै प्रतिव्यक्ति अधिकतम १२ करोड र प्रतिबैंक प्रतिव्यक्ति सीमा चार करोड रुपैयाँ कायम गरियो । राष्ट्र बैंकको उक्त व्यवस्थाले सेयर बजार प्रभावित भएको भन्दै लगानीकर्ताको एउटा समूहले आन्दोलन पनि गर्यो । केन्द्रीय बैंकको उक्त व्यवस्था कार्यान्वयन भइसकेको थियो । सेयर बजार पनि ३२०० अंकको विन्दुबाट झरेर २५१० सम्म आएर पुन: ‘बाउन्स ब्याक’ भएको थियो ।
राष्ट्र बैंकले मंसिर १० गते चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्यो । त्यसमा सेयर बजारसँग सरोकार राख्ने कुनै निर्णय गरिएन । तर, मौद्रिक नीति समीक्षाबाट मौद्रिक नीतिले सेयर धितो कर्जामा लगाएको सीमा हटाउँछ भनेर ‘चलखेल गरिरहेका’ स्वार्थ समूहको उद्देश्य भने पूरा भएन ।
त्यसपछि नेप्से लगातार घटिरहेको छ । भदौ २ गते ३१९९ अंकसम्म पुगेको नेप्से मंसिर २७ सम्म आउँदा २०० अंकभन्दा माथिले गिरावट भएर २२८१.६७ अंकसम्म झरेको छ ।
प्रविधिक रूपमा बुल मार्केटको उच्च विन्दुबाट नेप्सेमा २० प्रतिशतको गिरावट हुँदा ‘वियरिस ट्रेन्ड’ भन्ने गरिन्छ । भदौ २ गतेको क्लोजिङ विन्दु ३१९९.०३ अंककलाई उच्च विन्दु मान्दा मंसिर २७ (हिजो)को क्लोजिङ विन्दु २२८१.६७ मा करिब २८.६८ प्रतिशतको गिरावट भइसकेको छ । यस आधारमा सेयर बजारमा प्रस्ट रूपमा वियरिस ट्रेन्ड नै हो भन्ने सकिन्छ ।
अहिले तरलता अभाव, राजनीतिक नेतृत्वको गैरजिम्मेवार अभिव्यक्ति पनि एकसाथ देखिएको र कोभिड–१९ पछिको अर्थतन्त्र पुरानै अवस्थामा फर्किंदा अल्पकालीन लगानीकर्ता नियमित व्यवसायमा नै लागेकाले पनि बजारमा प्रभाव परेको हुँदा ‘सर्ट ट्रम वियरिस’ मात्रै हो भन्ने लगानीकर्ताको बुझाइ छ । तर पनि उनीहरू आत्मविश्वाससाथ लगानी गर्न भने सकिरहेका छैनन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गणना गर्ने बजार पुँजीकरणमा बेलाबेला प्रश्न उठ्ने गरेको छ । नेप्से ३१९९.०३ अंकको विन्दुमा पुग्दा भदौ २ गतेको सेयर बजारको कुल बजार पुँजीकरण अर्थात् सेयर लगानीकर्ताको कुल सम्पत्ति ४४ खर्ब ६८ अर्बसम्म पुग्यो । नेप्से उच्च विन्दुमा पुगेको दुई दिनअगाडि साउन मसान्तमा नेप्सेमा एकैदिन २१ अर्ब ६४ करोडको कारोबार भएको थियो । तर, त्यसपछि घट्न सुरु भएको बजारमा कारोबार रकम त लगातार घट्यो नै लगानीकर्ताको सम्पत्ति पनि साढे १२ खर्बभन्दा बढीले घटेको छ ।
सेयर विश्लेषक हेमन्त बस्याल बजारमा कारोबार घट्नुको प्रमुख कारकको रूपमा तरलतालाई लिन्छन् । “कोभिडको प्रभाव कम हुँदै जाँदा विगतका वर्षहरूमा हुने नियमित आयातभन्दा उच्च आयात भयो भने विदेशमा रहेका नेपालीले विदेशमा नै लगानीको राम्रो अवसर प्राप्त गर्दा रेमिट्यान्स घट्यो,” बस्याल भन्छन्, “पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले आयात बढ्न सहयोग गर्यो । उपभोग्य वस्तुको आयात बढ्दा तरलतामा समस्या भयो ।”
उच्च आयातले गर्दा विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्ने संकेतसँगै राष्ट्र बैंकले आयातमा कडाइ गर्न ‘इम्पोर्ट फाइनान्स’ नियन्त्रणका लागि सीसीडीलाई खारेज गरेर सीडीमा ‘मुभ’ गर्दा तरलतामा दबाब परेको बस्यालको विश्लेषण छ ।
उनले भनेजस्तै निजी क्षेत्रमा प्रवाह हुने कर्जा १९ प्रतिशतभित्र सीमित राख्ने लक्ष्यसहित चालु आवको लागि मौद्रिक नीति सार्वजनिक गरियो । राष्ट्र बैंकले उच्च क्रेडिट ग्रोथ रोक्न ८५ प्रतिशतको कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी) रेसियोलाई खारेज गरेर ९० प्रतिशतको कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो कार्यान्वयन गर्यो । जसले गर्दा बैंकको कर्जा लगानी क्षमतामा संकुचन ल्यायो ।
तर, यति मात्रै कारणले घटेको हो त सेयर बजार ? एउटा सिधा रेखामा नभई उतारचढाव हुने सेयर बजारको प्रवृत्ति नै हो । ०७७ असार मसान्तमा करिब १३०० अंकको विन्दु आपमास रहेको बजार परिसूचक नेप्से करिब १३ महिनाको अवधिमा ३२०० अंकको विन्दु छुन पुग्यो । यति छोटो अवधिमा सेयर बजारमा यति धेरै विस्तार हुनुका पछाडि विविध कारण छन् । पहिलो, अनलाइन कारोबार साथै प्राथमिक बजार हुँदै लाखौँ संख्यामा नयाँ लगानीकर्ताको बजार प्रवेश र कोभिडले गर्दा अरू उद्योग–व्यवसाय प्रभावित हुँदा लगानीको एक मात्रै विकल्प र आवश्यक परेको बेलामा बेचेर आवश्यकता ‘टर्न’ सकिने सबैभन्दा सहज क्षेत्र पनि सेयर बजार बन्यो ।
यसरी कोभिडपछि सेयर बजारमा बढेको आकर्षणले गर्दा बजार बुझेका र नबुझेका सबै सेयर बजारमा सक्रिय भए । बजारमा एउटाले नगुमाई अर्कोले कमाउने भन्ने हुँदैन ।नवप्रवेशी लगानीकर्ता अरूले कमाएको देखेर फन्डामेन्टल हेरर भन्दा पनि बजारमा आएको हल्ला र अरूको लहैलहैमा लागेर लगानी गर्न सक्रिय भए । विनाज्ञान गरेको लगानीले एक-दुईपटक फाइदा भए पनि सेयर बजारजस्तो जोखिमपूर्ण बजारमा नबुझी गरेको लगानी कहिल्यै पनि सकारात्मक हुन सक्दैन ।
सेयर विश्लेषक बस्याल नेप्से ३२०० पुग्दा पनि फन्डामेन्टल राम्रो भएको कम्पनीको मात्रै सेयर नबढेको बताउँछन् । कतिपय फन्डामेन्टल कमजोर भएको कम्पनीको सेयर मूल्य उच्च र राम्रो भएको कम्पनीको सेयर मूल्य कम भएको उनी बताउँछन् ।
सेयर बजारमा लगानीकर्तामा चेतनाको कमी देखिन्छ । सेयर बजार सूचनाको बजार पनि यो । यसलाई ‘सेन्सेटिभ’ मार्केटको रूपमा पनि लिने गरिन्छ । शिक्षित लगानीकर्ताको कमी भएको बजारमा अहिले महिनौँदेखि लगानीकर्तालाई प्रशिक्षित गराउने नियामक निकाय नै नेतृत्वविहीन छ ।
सेयर बजार बढ्दै जाँदा पटक–पटक विज्ञप्ति निकालेर लगानीकर्तालाई सचेत गराउने काम गरेको नेपाल धितोपत्र बोर्ड नेप्से ३२०० बाट २२०० को विन्दुमा झर्दै गर्दा भने मौन बसेको छ ।
अर्कोतर्फ, सेयर बजारलाई सरकारी तवरबाट पनि पटक–पटक प्रहार भएको छ । चाहे त्यो अर्थमन्त्रीले ‘फुलेको बेलुन’ भनेर होस् वा पूर्वअर्थमन्त्रीले ‘जुवाघरजस्तै’ भनेर नै किन नहोस् । संरक्षण गर्नुपर्ने निकायबकाट नै यस प्रकारका टिप्पणी भएपछि लगानीकर्ताको मनोविज्ञानमा त्यसको नकारात्मक प्रभाव पर्ने नै भयो ।
सेयर विश्लेषक बस्याल घटिरहेको बजारमा राजनीतिक नेतृवको गैरजिम्मेवार टिपणीले पनि लगानीकर्ताको मनाबेल थप खस्केको बताउँछन् । “राजनीतिक नेतृत्वमा रहेकाले पुँजीबजारलाई स्पष्ट नबुझी खण्डन गरेको कारणले पनि लगानीकर्ता त्रसित भएको हो कि भन्ने देखिन्छ,” उनले भने, “स्याल कराउनु र बाख्रो–कुखुरो पनि हराउनु भएको हो अथवा त्यसैको प्रभाव हो, जे भए पनि लगानीकर्ताको मनोविज्ञान त्रसित देखिन्छ ।”
सेयर बजार घटबढ हुनु हुँदैन भन्ने होइन, त्यो स्वाभाविक र प्राकृतिक हुनुपर्छ भन्ने हो । हिजो अर्थतन्त्रको सबै सूचक प्रतिकूल हुँदा बैंकिङ क्षेत्रमा पर्याप्त तरलता र ब्याजदर घट्नेबाहेक सेयर बजारलाई सपोर्ट गर्ने अन्य कुनै कारण भने फन्डामेन्टल रूपमा देखिएको थिएन । यसो भन्दैमा हिजो अस्वाभाविक रूपमा बढ्यो र अहिले घट्यो भन्ने पनि हैन । सेयरमा उतारचढाव स्वाभाविक भए पनि त्यो स्वीकारयोग्य हुनुपर्छ । सोझा लगानीकर्ता फस्ने र टाठाबाठाले रजाइँ गर्ने परिस्थिति हुनु हुँदैन ।
अहिले पनि लगानीकर्ताको नाममा खुलेका संस्था र तिनका प्रतिनिधि विभिन्न मागसहित अन्दोलन गर्ने बहानामा पुनः सक्रिय भएको देखिन्छ । लगानी भनेको स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता छ । नेपालमा भने लगानीकर्ताको नाममा खुलेका संस्थाहरूको नाम बचेर हुने गलत प्रवृत्ति नियन्त्रण गर्न जरुरी छ ।
सेयर बजार साम्राज्यवादकै विकसित रूप हो ?
एकातिर लगानीकर्ताको घट्दो मनोबल र अर्कोतिर राजनीतिक नेतृत्वले सेयर बजारलाई हेर्ने दृष्टिकोण पनि सकारात्मक रहेको देखिँदैन ।
सेयर बजारको नियमनकारी निकाय धितोपत्र बोर्ड भए पनि बोर्डले सरकारसँग रिपोर्टिङ गर्ने विभागीय मन्त्रालय अर्थ हो । अर्थ मन्त्रालयको नेतृत्वमा रहेका अर्थमन्त्री जनार्दन शर्माले केही समयअगाडि सेयर बजारलाई ‘फुलाएको बेलुन’सँग तुलना गर्दा निकै आलोचना खेप्नुपर्यो ।
नेकपा (माओवादी केन्द्र)बाट अर्थमन्त्री नियुक्त भएको शर्माको उक्त अभिव्यक्ति आएको केही महिनामै सोही पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई ‘साम्राज्यवादको विकसित रूप’ भएको टिप्पणी गरे । त्यति मात्रै नभएर उद्योगमा लगानी गर्नुपर्ने पैसा सेयर बजारमा लगानी गरिएको भन्दै यसलाई निस्तेज पार्न पार्टीको दस्तावेजमा नै समावेश गर्ने उद्घोष पनि गरे ।
अहिले सेयर बजारमा रहेको ४७ लाख जनसंख्या साम्राज्यवादकै एजेन्ट हुन् त ? पूर्वप्रधानमन्त्री समेत रहेका एकजना नेताले दिएको अभिव्यक्ति कत्तिको वस्तुसंगत छ ? त्यसको समीक्षा जरुरी छ ।
यदि, प्रचण्डले बोलेको भनाइ पुष्टि हुँदैन र ४७ लाख सेयर लगानीकर्ता साम्राज्यवादको एजेन्ट हैनन् भने उनीहरूले लगानी गरेको पुँजीबजार कसरी साम्राज्यवादको विकसित रूप भयो ?
उद्योगमा लगानी गर्नुपर्ने पैसा सेयर बजारमा लगानी गरियो भन्ने उनको भनाइ छ । उनै नेतृत्वको तत्कालीन सरकारमा अहिलेका अर्थमन्त्री शर्मा ऊर्जामन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको र उनले नै लोडसेडिङ हटाएको जस लिइरहेका छन् । तर, त्यो लोडसेडिङ हटाउने विद्युत् कसरी उत्पादन भएको छ ? निजी क्षेत्रले जलविद्युत् उत्पादन गर्न पुँजी परिचालन गरी गरेका छन् भन्ने हेक्का उनले राखेका छन् कि छैनन् ?
यदि, प्रचण्डले विनाअध्ययन लाखौँ नेपाली नागरिकको लगानी रहेको सेयर बजारलाई साम्राज्यवादको विकसित रूप भनेका हुन् भने यसको जिम्मा उनले लिनुपर्छ । यदि, उनको तर्कलाई प्रमाणित गर्ने आधार छन् भने यसकारणले ४७ लाख नागरिक आबद्ध रहेको सेयर बजार साम्राज्यवादको विकसित रूप हो र ती ४७ लाख नागरिक यसको एजेन्ट हुन् भनेर प्रमाणित गर्नुपर्छ ।
अर्कोतर्फ, उनकै पार्टीबाट अर्थमन्त्री नियुक्त भएका शर्माले महिनौँदेखि अभिभावविहीन भएका सेयर लगानीकर्तालाई धितोपत्र बोर्डको अध्यक्ष र नेप्सेको सीईओ नियुक्त गरेर त्यसको अभाव पूरा गर्न सकेका छैनन् ।
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अगाडि बढाउने अभिभारा अर्थमन्त्रीकै हो । गएको कात्तिकमा नै बोर्ड अध्यक्ष नियुक्तिका लागि प्रक्रिया नै पूरा नगरी सिफारिस समिति बनाएका अर्थमन्त्री शर्माले सिफारिस समितिले आवेदन माग गरेर आवेदन दिने समय सकिएको पनि कैयौँ दिन बितेपछि पुनः अर्को सिफारिस समिति गठन गर्नुपर्ने भन्दै त्यसलाई खारेज गरे । उक्त समिति खारेज भएको महिना दिन पुग्न लाग्दा पनि सिफारिस समित बनाएर बोर्ड अध्यक्ष नियुक्ति गर्ने प्रक्रिया अगाडि बढेको छैन ।
मिनि संसद्सम्म सेयर बजारकै बहस
गएको साता प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा सभापति कृष्णप्रसाद दाहालले सेयर बजारबारे सरकारको दृष्टिकोण के हो स्पष्ट हुनुपर्ने भन्दै प्रश्न गरे । तर, उनको प्रश्न धितोपत्र बजारको स्थायित्वको लागि थियो वा सेयर लगानीकर्ताका नाममा खुलेका संगठनको प्रतिनिधिको स्वार्थ पूरा गर्ने हेतुले थियो भन्ने स्पष्ट छैन । किनकि, उनले सेयर बजार इन्डेक्स कति हुनुपर्ने ? भन्दै प्रश्न गरेका थिए । यतिभन्दा तल नल्याउन सरकारको नीति छैन ? भनेर सोधेका थिए । प्राविधिक विषयमा उनलाई ज्ञान नभएकोले पनि यस्तो प्रश्न आएको हुनसक्छ ।
सोही छलफलमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजार घट्दा साना लगानीकर्ता जोखिममा परेको बताएका थिए । उनले बजारमा कार्टेलिङ गरेर सोझा लगानीकर्ता फस्न सक्नेतर्फ ध्यान दिएर धितोपत्र बोर्डसँग समन्वय गरेर अर्थ मन्त्रालयले काम गर्नुपर्ने सुझाव दिए । उनले साना लगानीकर्तालाई संरक्षण गर्नुपर्ने देखिएको भन्दै यस्तै अवस्था रहे सेयर बजार वियरिस ट्रेन्डमा जान सक्ने बताएका थिए ।
बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कम्पनीको फन्डामेन्टल हेरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरे । “लगानीकर्ताले कम्पनीको अध्ययन गरेर लगानी गर्नुपर्ने हुन्छ । सेयर बजार घट्नै हुँदैन भन्ने पनि देखियो,” उनले भनेका थिए ।
यस्तै, अर्थसचिव मधुकुमार मरासिनीले सेयर बजारलाई स्थायित्व प्रदान गर्न नै ४/१२ करोडको सीमा ल्याइएको बताए । “यो व्यवस्था नगरेको भए थप जोखिम बढ्ने रहेछ,” उनले भने ।
खुला बजारमा इन्डेक्स यति नै हुनुपर्छ भनेर सरकारले भन्न नमिल्ने भन्दै उनले लगानीकर्ताले फन्डामेन्टल हेरेर लगानी गर्नुपर्ने बताए । अहिले पनि दीर्घकालीन रूपमा लगानी गर्ने लगानीकर्ता डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।