
काठमाडौं । ‘फिफा सही थियो’ अध्यक्ष जियानी इन्फान्टिनोले सन् २०२३ को महिला विश्वकपमा १६ बाट ३२ टिम पुर्याउने फिफाको निर्णयप्रति दिएको अभिव्यक्ति हो यो ।
त्यसको दुई वर्षभन्दा पनि कम समयमै उनले फेरि अर्को उद्घोष गरिसकेका छन् । जसअनुसार सन् २०३१ मा हुने महिला विश्वकपमा कुल ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
तर, के फिफाको यो निर्णय सही छ ?
अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजित महिला विश्वकपमा कुल ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दा केही आश्चर्यजनक नतिजाहरू निस्किए ।
यो अफ्रिकी मुलुकहरूका निम्ति सफल प्रतियोगिता बन्यो । जहाँ ‘अन्डरडग्स’ मोरोक्को, दक्षिण अफ्रिका र नाइजेरियाले अन्तिम–१६ को यात्रा तय गरे । त्यसबेला यी टिम फिफाको वरीयतामा क्रमशः ७२, ५४ र ४०औँ स्थानमा थिए ।
यीमध्ये मोरोक्काले दुईपटकको जर्मनीलाई पछि पार्दै विश्वकपको प्रि–क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।
वरीयताको ८१औँ स्थानमा आसिन अर्को अफ्रिकी मुलुक जाम्बिया विश्वकपको उक्त संस्करणमा छनोट हुने सबैभन्दा तल्लो वरीयताको टोली थियो ।
समूह चरणमा जापान र स्पेनसँग ५–० को हार व्यहोरे पनि अन्तिम खेलमा कोस्टारिकाविरुद्ध ३–१ को जित निकाल्दै जाम्बियाले सुखद् अन्त्य गर्यो । वरीयतालाई तुलना गर्ने हो भने जाम्बियाभन्दा कोस्टारिका ४४ स्थानमाथि रहेको टिम हो ।
४०औँ स्थानको नाइजेरियाले अन्तिम–८ को यात्रा तय गर्न नसके पनि इंग्ल्यान्डविरुद्धको प्रदर्शन प्रशंसनीय थियो । प्रतियोगिताको उपविजेता बनेको इंग्ल्यान्डविरुद्ध नाइजेरियाले पेनाल्टी सुटआउटमा निराशा बेहोरेको थियो ।
कुल ३२ टोलीमध्ये कोस्टारिका, हाइटी र भियतनामले मात्रै विश्वकपमा अंकको खाता खोल्न सकेनन् । यसमध्ये भियतनाम मात्रै विश्वकपको यो संस्करणमा गोल नगर्ने एकमात्र टोली बन्यो ।
त्यहाँ केही एकतर्फी खेलहरू पनि भए । जसमा नेदरल्यान्ड्सले भियतनामविरुद्ध निकालेको ७–० को जित र नर्वेले फिलिपिन्सविरुद्ध निकालेको ६–० को जित समावेश छन् ।
४८ टिम पुर्याउँदाको फाइदा कस्तो हुन्छ ?
महिला विश्वकपको इतिहासमा हालसम्म ४४ राष्ट्रले मात्रै कम्तीमा एक संस्करणमा प्रतिस्पर्धा गरेका छन् । नयाँ निर्णयअनुसार १६ टिमको बढोत्तरी हुँदा विश्वकप छनोटमा टिमका निम्ति ६ महादेशले अझ धेरै स्थान पाउनेछन् ।
जसले महिला फुटबलमा उदाउँदो राष्ट्रलाई अवसर प्रदान गर्दै महिला फुटबलमा लगानी बढाउने निश्चित छ । विशेषगरी विश्व फुटबलको साना राष्ट्रलाई फिफाको यो निर्णयले धेरै हदसम्म उत्साहित बनाएको छ ।
यूएस सकरका अध्यक्ष जेटी बाटसनले सन् २०३१ मा हुने विश्वकपमा ४८ राष्ट्र हुनु ‘महिला फुटबलको विकासका निम्ति असाधारण अवसर हुने’ बताए । विश्वकपको यो संस्करण अमेरिकाले नै आयोजना गर्ने तय भएको छ ।
इंग्ल्यान्डकी प्रशिक्षक सारिना वेगमन सन् २०२३ को संस्करणमा १६ बाट ३२ टोली पुर्याउने फिफाको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् । तर, प्रतियोगितापछि भने उनको धारणामा परिवर्तन देखियो । उनले थप टोली हुँदा प्रतियोगिता अझ प्रतिस्पर्धात्मक बनेको बताएकी थिइन् ।
“यसले महिला फुटबललाई अरु देशमा माथि पुर्याउने छ । किनकी उनीहरूलाई पनि विश्वकप पुग्ने अवसर हुनेछ । विश्वका धेरै देशहरू महिला फुटबलको विकासमा केही अघि छन् । त्यसैकारण यसले खेलमा महिलाको उपस्थितिलाई बलियो बनाउनेछ,” वेगमनले भन्छिन् ।
कस्ता छन् खराब पक्ष ?
फिफाले ३२ बाट ४८ टोली पुर्याउने निर्णय गर्दा विश्वभरका समर्थकमाझ एउटै असन्तुष्टि थियो– यसले विश्वकपको प्रतिस्पर्धालाई कमजोर बनाउँछ ।
यही प्रश्न महिला फुटबलमा पनि उब्जिएको छ । समर्थक र फुटबल विश्लेषकमा धेरै टोली हुँदा खेल एकपक्षीय बन्न सक्ने र गुणस्तरमा कमी हुँदा महिला फुटबलप्रतिको चासो घट्ने चिन्ता छ ।
“यसले प्रतियोगिताको स्तर खस्किन सक्ने डर छ,” इंग्ल्यान्डकी पूर्वगोलकिपर कारेन बार्डस्लीले भनिन् ।