site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रहरीलाई नै ‘हैरानी पार्दै’ कहाँ लुकेका छन् दुर्गा प्रसाईं ? 

काठमाडौं ।  विवादित र अराजक प्रवृत्तिका मेडिकल ब्यवसायी दुर्गा प्रसाईं १३ दिनदेखि कहाँ लुकेका छन् ? सुरक्षा संयन्त्र अझै बेखवर छ । तिनको खोजीमा ‘गुप्तचरी’ निकायदेखि देशको आन्तरिक सुरक्षाको जिम्मा पाएको प्रहरीको आधा दर्जन टोली परिचालित छ ।

प्रहरीको टोली प्रसाईंको खोजी गर्न झापा हुँदै भारतसम्मै पुगिसकेको छ । तर, उनी कहाँ छन् ? प्रहरी आधिकारिक रुपमा जवाफ दिनसक्ने अवस्थामा छैन ।  राज्यको संयन्त्रले पत्ता लगाउन नसकेका बेला प्रसाईं भने लगातार सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सन्देश जारी गरीरहेका छन् ।

गत चैत १५ गते हिन्दू राज्य र राजसंस्था पुनस्र्थापनाको माग गर्दै आयोजित प्रदर्शन अराजक र हिंसात्मक बनाउँदै भागेका प्रसाईंले यसबीचमा ‘दुर्गा प्रसाईं (महाअभियान संस्थापक सचिवालय)’ नामक फेसबुकमार्फत  दुई/दुई पटक भिडिओ सन्देश जारी गरेका छन् ।

पहिलो पटक गत चैत १७ गते आइतबार दिउँसो एक भिडियो सार्वजनिक गरेका थिए ।  त्यसपछि चैत २७ गते साँझसमेत अर्को भिडिओ सन्देश जारी गरेका छन् ।  पहिलो भिडिओ सन्देश कुनै मन्दिरबाट खिचिएको जस्तो देखिन्छ । तर, बुधबार साँझ सार्वजनिक गरिएको भिडियो भने ‘क्रोमा’ गरेर बनाएको देखिन्छ ।

दुवै भिडियोमा प्रसाईंले आफू नेपालमै भएको दाबी गरेका छन् । बुधबार सार्वजनिक भिडिओ सन्देशमा आफ्नो ज्यान सुरक्षित हुने ग्यारेन्टी प्रहरीले गर्ने हो भने आफू मानवअधिकारवादी र आफ्ना निजी वकिलमार्फत् २४ घण्टाभित्र प्रहरीमा उपस्थित हुने बताएका छन् ।

यसरी नै चैत १५ गतेको अराजक प्रदर्शनका पछाडि राज्यकै हात रहेको, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीले जिम्मा लिनुपर्ने बताएका छन् । 

त्यस्तै, प्रदर्शनका क्रममा प्रहरीको गोली लागी मारिएका कीर्तिपुरका सबिन महर्जन र एक निजी घरमा लगाएको आगजनीमा परी ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई ५/५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरेका छन् ।

प्रहरीको जवाफ १३ दिनअघिकै जस्तो रेडिमेड छ, ‘अनुसन्धान गर्दैछौँ ।’ केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले प्रसाईंको पोष्ट भिडियोबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले भने, ‘‘हामीले उनको भिडियो हेरिरहेका छौं । पोष्ट भएको भिडियो कहाँबाट भइरहेको छ ? त्यसका लागि फेसबुकको आधिकारिक निकायसँग सोधिसकेका छौँ । आउन बाँकी छ ।’’

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले प्रसाईं भारतमै लुकेको दाबी गरे ।  उनी भन्छन्, ‘‘प्रसाईंले आफू जति नेपालमै बसेको भनी भिडियो बनाए पनि उनी भारतमै लुकेका छन् । हाम्रो अनुसन्धान सही नै छ । हामी पक्राउ गछौँ ।’’

प्रसाईंको खोजीमा लागेको प्रहरीको एक टोली भारत पुगिसकेको छ । 

काठमाडौंबाट प्रसाईंले भाग्न प्रयोग गरिएको भनिएको बा एमबी ४२०८ नम्बरको स्कर्पियो गाडी भने प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक साताअघि इटहरीबाट बरामद गरिसको छ ।

प्रहरीले गाडीका चालक ईश्वर विक र गाडीधनी मुक्कुद दाहाललाई पक्राउ  गरिसकेको छ । दाहालमाथि प्रहरीले अझै अनुसन्धान जारी राखेको छ । चालक विकलाई भने तारेखमा छाडिएको छ ।

प्रहरी स्रोतका अनुुसार, प्रसाईं सुरुमा भारतको उत्तर प्रदेश पुगेको सूचना प्रहरीले पाएको थियो । केही प्रहरी अधिकारीहरू चाहिँ प्रसार्इं भारतीय हिन्दू संगठन आरएसएसको शरणमा पुगेको दाबी गरेका छन् ।
चैत १५ मा राजावादीले आयोजना गरेको तीनकुनेको प्रदर्शनका कमाण्डर प्रसाईं थिए । 

प्रसाईंकै कमाण्डमा रहेको प्रदर्शन अराजक बनेपछि तीनकुनेको अवस्था तनावपूर्ण बनेको थियो । प्रहरीले अवस्था नियन्त्रणमा लिन एक सय १० राउण्ड गोली चलाएको थियो ।  प्रहरीको गोली लागेर २० जना घइते भएका थिए । जसमध्ये पाँचजनाको अस्पतालमा उपचार जारी छ । 

गृहमन्त्री रमेश लेखक बुधबार घाइतेको अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

प्रदर्शन अराजक बनाउन निर्देशन दिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रका) उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणा पक्राउ परेका छन् । उनीहरूबाहेक ७० जनामाथि प्रहरीले मुद्दा चलाएर अनुसन्धान गरिरहेको छ । प्रहरीले पक्राउ भने १६१ जनालाई गरेको थियो ।

हुन सक्छ सुरक्षा थ्रेट

प्रहरीका अनुसार, प्रसाईं केही सहयोगीका साथ भारत हानिएका हुन् । उनीसित अन्य तीनजना भारत पुगेको आशंका प्रहरीले गरेको छ । एक प्रहरी अधिकारीको दाबी अनुसार, प्रसाईंकै बडीगार्ड दिपक खड्का, रामकुमार धिताल र सहयोगी दुरेन राई पनि उनीसँगै भारत पुगेका छन् । 

प्रहरीले उनीहरूको समेत खोजी गर्दा नभेटिएपछि प्रसाईंसितै गएको आशंका गरेको हो ।  अराजक प्रवृत्तिका प्रसाईं तत्काल पक्राउ गर्न नसके प्रहरीका लागि सुरक्षा चुनौति हुनसक्ने प्रहरी अधिकारीको विश्लेषण छ ।

एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘‘दुर्गा अराजक शैलीका र प्रतिशोध लिन खोज्ने मान्छे हुन् । उनी प्रहरीको खोजीमा नहुँदा समेत आफू निकटका युवा परिचालन गरेर व्यवयायीदेखि बैंकका कर्मचारीलाई समेत धम्काउने गरेका थिए । अब त आफैँ भूमिगत छन् । जे पनि गर्न सक्छन् ।’’

यसअघि व्यवसायीलाई भारतीय कुख्यात ग्याङस्टर लरेन्स विश्नोइ समूहको भन्दै फिरौती माग्ने झापा मेचीनगरका हरिचन्द्र फुयाललाई प्रहरीले गएको मंसिरमा दार्जिलिङबाट पक्राउ गरेको थियो । उनीसँग प्रसाईंको कनेक्सन देखिएको थियो । त्यही आरोपमा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संगठित मुद्दा चलाएको थियो ।

तर, उनीहरू दुवैजना तीन लाख रुपैयाँ धरौटी बुझाउँदै छुटेका थिए । लेरन्स हत्या र संगठित अपराधका कुख्यात भारतीय अपराधी हुन् । उनी २०१४ देखि भारतको जेलमा छन् । 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro