site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालबालिका नै किन गाउँदैनन् बालगीत ?

काठमाडौं । बालबालिकाहरूले बालगीतभन्दा पनि ‘लभ सङ’ रुचाउने गरेको पाइएको छ । उनीहरू बालगीतभन्दा लभ सङ गाउन र सुन्न रुचाउन थालेका छन् । ६/७ वर्ष कटेपछि बालगीत गाउन नै लजाउने गरेको संगीतकार न्ह्यू बज्राचार्य बताउँछन् ।

नेपालमा अहिले चलिरहेका सांगीतिक रियालिटी शो ‘सारेगम लिटिल च्याम्प्स’ र ‘भ्वाइस अफ किड्स’मा सहभागी बालबालिकाको रोजाइका गीतले पनि यसलाई पुष्टि गर्छ । शोमा सहभागी अधिकांश प्रतिस्पर्धीहरूले लिजेन्ड गायक/गायिकाका गीत मात्रै गाउँदै आएका छन् । उक्त शोका निर्णायकहरूका अनुसार उनीहरूको रोजाइमा बालगीत पर्दैन ।

संगीतकार न्ह्यू बालबालिकाहरूले बालगीत गाउन छोड्दै गएको बताउँछन् । आफूहरूको पालामा १०/११ वर्षको उमेरसम्म बालगीत गाउने गरिए पनि अहिलेका बालबालिकाले बालगीत लामो समयसम्म नगाउने गरेको उनको भनाइ छ । अहिलेका बालबालिकाले ६/७ वर्षभन्दा माथि बालगीत नै नगाउने गरेको उनको अनुभव छ । यद्यपि आफूहरुले पनि ६/७ वर्षको उमेरदेखि नै ठूला मान्छेका गीत गाउन सुरु गरेको उनको सम्झना छ । 

प्रविधिको विकाससँगै बालकालिकाहरू पनि ‘एड्भान्स’ हुँदै गएको न्ह्यू बताउँछन् । “अहिले नर्सरीमा मात्रै बालबालिकाले बालगीत गाउँछन् जस्तो लाग्छ । ६/७ वर्षका बालबालिका बालगीत गाउन लजाउँछन्,” सारेगमप लिटिल च्याम्प्सका निर्णायकसमेत रहेका उनी भन्छन्, “उसलाई म ठूलो भइसकेँ भन्ने अनुभूति हुँदो रहेछ । अहिले हामीले मोबाइल, कम्युटरमा नजान्ने कुरा ५/६ वर्षको बच्चाले जान्दछ । यस्तै संगीतमा पनि भइसकेको छ ।”

बालगीतको कलेक्सन पनि नभएको न्ह्यू बताउँछन् । अग्रज गायक÷गायिकाका गीत सुन्ने र त्यस्तै नै गाउने गरेको उनको भनाइ छ । “अहिले हामीले १० वटा बालगीत भन्नुस् त भन्यो भने सायद धेरैले भन्न सक्दैनन् । त्यसैले जुन गीतको कलेक्सन धेरै छ, त्यही नै बच्चाहरूले सुन्छन् र गाउँछन्,” उनी भन्छन्, “लिजेन्डका गीत सुन्छन् । उनीहरूकै गीत स्कुलमा पनि सिक्छन् र त्यही गाउँछन् ।”

बालबालिकाहरूमा ‘एक्स्ट्रा ट्यालेन्ट’ पनि देखिने गरेको उनको अनुभव छ । “साहित्यिक शब्द जो बिम्ब र प्रतीक हुन्छन्, त्यसको अर्थ बुझ्न ठूलै मान्छेलाई पनि कठिन हुन्छ । तर, त्यस्ता गीत पनि ८/९ वर्षको बच्चाले फिल गरेर गाइरहेको हुन्छ । सायद यो उसमा रहेको एक्स्ट्रा ट्यालेन्ट हो । अद्भुत क्षमता हो ।” ८/९ वर्षका बालबालिकाले लभ सङ रोजेको देख्दा कहिलेकाहीँ आफैँ पनि अचम्मित हुने गरेको उनी बताउँछन् ।

विदेशमा पनि बालबालिकाले ठूलै मान्छेको गीत गाउने गरेको उनी सुनाउँछन् । बालबालिकाले गाउने केही गीत भए पनि त्यसमा उनीहरूले खासै चासो नदिने र लभ सङ नै रोज्ने गरेको उनी सुनाउँछन् । आफूसँग पनि केही बालगीत तयार रहेको तर लक्षित वर्गले त्यसमा चासो दिँदैन कि भन्ने भयले सार्वजनिक गर्न हिचकिचाइरहेको न्ह्यू सुनाउँछन् ।

“हाम्रोमा मात्रै होइन, म कहिलेकाहीँ अमेरिका जाँदा पनि त्यहाँको अभिभावकले बच्चाहरूलाई एक/डेढ वर्षदेखि नै लयमा ए, बी, सी, डी..., वान, टु, थ्रि... मोबाइलमा बजाएर सिकाउने गरेको पाएँ । तर, तिनै बच्चाहरू अलिकति ठूलो भएपछि ठूलै मान्छेले गाएका गीत गाउने गर्दा रहेछन्,” उनी भन्छन्, “हामी ठूलो भइसक्यौँ भन्ने उनीहरूलाई महसुस हुँदो रहेछ । ठूलैले गाएका गीत नै गाउँछन् ।”

गायक प्रमोद खरेल बालबालिका सहभागी शो भए पनि यस्तो शो बालबालिकाका लागि मात्रै लक्षित नभएको बताउँछन् । सबै उमेर समूहका लागि लक्षित शो भएकाले बालगीत मात्रै गाउनुपर्छ भन्ने नरहेको प्रमोदको भनाइ छ । “बालबालिकाले मात्रै गाउने शो हो । तर, बालबालिकाले मात्रै हेर्ने शो नभएकाले यहाँ जस्तो पनि गीत गाउनुपर्छ,” भ्वाइस अफ किड्सका कोचसमेत रहेका प्रमोद भन्छन्, “यदि, कसैले म बालगीत गाउँछु भनेर भन्छ भने उसले आफूले चाहेको गीत गाउन सक्छ । तर, स्वयं बालबालिका नै बालगीत गाउन त्यति धेरै लालायित भएको पाइँदैन ।” 

बालबालिकाका लागि मात्रै बनाइएको शो भएको भए बालगीत मात्रै गाउनुपर्ने तर सबैका लागि बनाइएको भएकाले सबै प्रकारका गीत बालबालिकाले गाउने गरेको उनी बताउँछन् । “उनीहरूको भोलिको सम्भावना र क्षमता मापन गर्ने शो भएकाले यसमा सबै प्रकारको गीत गाउनुपर्छ । उनीहरूको भर्सटाइल र स्किल हेरिने भएकाले उनीहरूको ट्यालेन्ट बालगीत गाएर मात्रै देखिँदैन,” प्रमोद भन्छन् ।

बालबालिकाहरूले बालगीत गाउन नखोज्ने गरेको प्रमोद दाबी गर्छन् । ठूलाले मान्छेहरूले नै गाएको गीत नै गाउन रुचाउने गरेको उनी सुनाउँछन् । नेपालमा मात्रै होइन, विश्वमै यस्तो भइरहेको उनको भनाइ छ । “यो बालगीत कम्पिटिसन होइन, ट्यालेन्ट शो हो । उनीहरूले जस्तो गीत गाउन चाहन्छन् त्यस्तै गीत गाउन पाउँछन् । कुनै छेकबार हुँदैन,” उनी भन्छन्, “अहिलेको जेनेरेसन यति ट्यालेन्ट भइसक्यो, सानै उमेरमा ठूला मान्छेले जस्तो गीत गाउने भइसके ।

स्कुलिङको प्रभाव रहेको प्रमोदको ठहर छ । स्कुलमा बालबालिकालाई संगीत सिकाउँदा नै ठूला व्यक्तिले गाउने गीत सिकाउने गरिएको र त्यसैको प्रभाव स्टेज वा प्रतिस्पर्धामा देखिने गरेको उनको जिकिर छ । “स्कुलमा सिकाउँदा बालगीत प्रायः सिकाइँदैन, ठूलै मान्छेले गाउने गीत सिकाइन्छ । स्कुलतिर हुने प्रतिस्पर्धामा पनि बालबालिकाले ठूलैका गीत गाएको देखिन्छ,” प्रमोद भन्छन्, “कुनै बालबालिकाले रकगीत गायो वा मेरै अथवा नारायणगोपालका गीत गायो भने तिमी यो गीत नगाऊ, बाल गीत नै गाऊ भनेर भन्न पनि सकिँदैन । कारण, प्रतिस्पर्धामामा पछि पर्छन् ।”

अहिलेका बालबालिकाले लेजेन्डका गीत नगाए प्रतिस्पर्धामा पछि पर्ने र सिक्न पनि ढिलो हुने उनको बुझाइ छ । सानैमा धेरै सिके प्रगति पनि सोहीअनुसार गर्ने प्रमोद बताउँछन् ।

“बालबालिका भनेको काँचो माटो हुन् । काँचो माटोलाई जस्तो आकार दियो त्यस्तै बन्छ । बालबालिकाले पनि कलिलो उमेरमा जति धेरै सिक्यो त्यति नै धेरै प्रगति गर्ने सम्भावना रहन्छ,” उनी भन्छन्, “बच्चाको गीत मात्रै गाएर १४ वर्षसम्म बस्दैनन् । टेक्निकल कुरा सानैबाट सिक्छन् । अहिले भोलि के गर्ने हो त्यो क्षेत्रमा सानैबाट काम गर्ने वा सिक्ने जमाना छ । भोलि म्युजिकमा लाग्ने हो भने १०/१२ वर्षमै अब्बल सिंगर भएर निस्किन्छन् । यसका लागि उसले कडर्स, भोकल, रेन्ज, ताल, सुर, खड्का, गमक, बिटजस्ता धेरै कुरा सिक्नुपर्छ । यसका लागि सजिला बालगीत मात्रै सिकेर हुँदैन ।” बालबालिकाले बालबालिकाकै गीत गाउनुपर्छ भन्ने सोच राख्न नहुने उनको धारणा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro