
काठमाडौं । मंसिर १९ गते संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा सवाल उठ्यो, ‘अन्य खोपजस्तै कोभिड-१९ विरुद्धको खोप सबैलाई पुर्याउन घरदैलो कार्यक्रम किन नगर्ने ?’ सांसद रेखाकुमारी झाले प्रश्न गर्दै भनिन्,“राज्यले नियमित सञ्चालन गरिरहेका अन्य खोप अभियानजस्तै कोभिड-१९ विरुद्धको खोप घर घरमा पुगेर दिन सकिँदैन ?” सांसद झाको जिज्ञासामा अर्का सांसद जीवराम श्रेष्ठले थप्दै भने, “पछिल्लो तथ्यांकमा ९० लाख डोज कोभिड-१९ विरुद्धको खोप सरकारसँग स्टक रहेको देखिन्छ, यसलाई द्रूत गतिमा वितरण गुर्नपर्यो, कोभिड-१९ को नयाँ भेरियन्ट नेपालमा फैलिए अब लकडाउन थेग्नसक्ने अवस्थामा मुलुक छैन त्यसैले पनि जुन तवरले हुन्छ बढीभन्दा बढी नागरिकलाई खोप दिनुपर्यो ।”
जनवरीदेखि १६ हजार केन्द्रबाट खोप दिइँदै
कोभिड-१९ विरुद्धको खोप कार्यक्रमबारे समितिको बैठकमा उठेका जिज्ञासा र सुझावको सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले लक्षित समुदायसम्म आगामी जनवरीदेखि १६ हजार केन्द्रबाट खोप दिइने बताए ।
यसअघि सबै वडाबाट दिइँदै आएको कोभिड-१९ विरुद्धको खोप अब १६ हजार केन्द्रबाट दिन लागिएको हो । त्यसैगरी १८ वर्षमुनिका बालबालिकालाई दिन विद्यालयलाई नै केन्द्र बनाएर खोप दिइने पनि मन्त्री खतिवडाले जानकारी गराए । दैनिक कम्तीमा २ लाख जनालाई खोप दिन यसअघि नै मन्त्रीपरिषदले निर्देशन दिइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा अहिले पनि दैनिक डेढदेखि २ लाखसम्म नागरिकलाई खोप दिइरहेको छ । नेपालमा खोप लगाउनका लागि १५ वर्षमाथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जना नागरिक छन् । जसमध्ये मंसिर २० गतेसम्म ८७ लाख २५ हजार ७८५ जनाले दुवै डोज र एक करोड चार लाख ३१ हजार ६५९ जनाले पहिलो डोज खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
खोपको उपलब्धताको अवस्था के छ ?
नेपालमा मंसिर १९ गतेसम्म दुई करोड ७३ लाख ५६ हजार ५३० डोज कोभिड-१९ विरुद्धको खोप आएको छ । जसमध्ये एक करोड ८९ लाख ९२ हजार ९०४ डोज खपत भइसकेको छ । सरकारले यही पुस मसान्तसम्म एक तिहाईलाई र चैत मसान्तरसम्म खोप लगाउन लक्षित सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार बाँकी नागरिकलाई लगाउन सन् २०२२ को मार्चसम्ममा ९६ लाख ९० हजार ६४८ डोज आइपुग्नेछ । जसमध्ये सन् २०२१ को डिसेम्बरभित्र विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामार्फत् २१ लाख ८८ हजार ८०० डोज जेन्सन एण्ड जोन्सन, ३७ लाख १२ हजार डोज मोर्डना, ३३ लाख ६४ हजार डोज एष्ट्राजेनेका खोप आउँदैछ ।
कोभ्याक्समार्फत् नै थप ६० लाख ३९ हजार डोज कोभिशिल्ड खोप सन् २०२१ को चौंथौ त्रैमासभित्र आउँदैछ । त्यस्तै यही वर्षको नोभेम्बरमा चीनबाट ३० लाख डोज सिनोभ्याक खोप चीनबाट अनुदानमा आउँदैछ । यसबाहेक सरकारले एसियाली विकास बैंकको क्रृण सहयोगमा २३ लाख ८६ हजार ८४८ डोज साइनोर्फाम खोप यही वर्षको चौंथो त्रैमासमा र थप ५० लाख डोज सन् २०२२ को पहिलो त्रैमासमा ल्याउने तयारी गरेको छ ।
त्यस्तै, सन् २०२२ कै पहिलो त्रैमासमा कोभ्याक्स सुबिधामार्फत् विश्व बैंकको क्रृण सहयोगमा ४० लाख डोज मोर्डना र ६० लाख डोज फाइजर खोप ल्याउने सरकारको तयारी छ ।
घरदैलो खोप अभियान गर्न सम्भव छ ?
लक्षित नागरिकलाई खोपको पहुँच पुर्याउन सरकारले पछिल्लो समय हट स्पटहरू छनौट गरेर खोप वितरण गरिरहेको छ । तर ती केन्द्रहरूबाट पनि खोप लिन अपेक्षाकृत रुपमा नागरिकहरू नआएको मन्त्री खतिवडा बताउँछन् । “जनशक्ति नपुगेर पनि होइन तर कोभिड-१९ विरुद्धको खोप दिने कुरामा हाम्रो पहिलो अभ्यास भएकाले हामी केही कुराहरुले खोप वितरणमा अपेक्षकृत रुपमा अघि बढ्न सकिरहेका छैनौं, लक्षित सबै नागरिकसम्म पुग्न नै साढे सात सयबाट बढाएर १६ हजार केन्द्रबाट खोप दिन लागिएको हो, सबै नागरिकलाई खोप दिन सरकार हर तवरले प्रयासरत छ” मन्त्री खतिवडा भन्छन् ।
सरकारले चाहेको खण्डमा खोपको घरदैलो कार्यक्रम गर्न पनि सम्भव रहेको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लाल बताउँछन् । अहिले चलिरहेका नियमित खोप अभियानजस्तै ठाउँ ठाउँमा आइस प्याकयुक्त भ्याक्सिन क्यारियरमा राखेर खोप वितरण गर्न सकिने उनको भनाइ छ ।