प्रतिभाको अगाडि अभाव र दबाब सामान्य हुन्छ भन्ने कुराको बलियो उदाहरण हुन्, गायक प्रकाश दूतराज । विशेषतः आर्थिक समस्याका कारण सपना पूरा गर्न नसकिरहेकाहरूका लागि पनि उनी राम्रो प्रेरणा हुन सक्छन् ।
दूतराजले गायन यात्राको सुरुवात अभावबाटै गरेका थिए । परिवारको जेठो छोरा, काँधमा जिम्मेवारी बोकेर विदेश जान काठमाडौं आएका उनी गायनतर्फ मोडिए ।
कयौँ रात भोकै सुते तर, उनको गायनयात्रा रोकेनन् । र, आज उनको परिश्रम अनि निरन्तरताले गति लिइरहेको छ । तर, उनी अझै पनि सफलता मानिरहेका छैनन् ।
‘निम्न वर्गीय’ परिवारमा हुर्किएका प्रकाश अभाव र गरिबीका कारण विदेशीन उनी काठमाडौं आएका थिए । ०७२ सालको भूकम्पपछि विदेश जान काठमाडौं आएका उनको यात्रा गायनतिर मोडियो ।
सुरुवातका दिनमा एकातिर विदेश जाने प्रक्रिया अघि बढाइरहेका उनले दोहोरी साँझमा गीत पनि गाइरहेका थिए । “विदेश नजाँदासम्म जीवन धान्न अनि आफ्ना आवश्यकता परिपूर्ति गर्न त्यहाँ काम गरेर जेनतेन चलिरहेको थियो,” उनले भने ।
विदेश जाने प्रक्रियासँगै गायनमा व्यस्त रहेका उनको विदेश जाने सपना दलालीको जालझेलमा पैसा फसेसँगै समाप्त भयो र, दोहोरी साँझमा मात्र केन्द्रित भएको उनी बताउँछन् ।
विदेश जान नपाएको उनले दोहोरी साँझमा गाएरै आफूलाई गायनमा निखार्ने मौका पाए । विदेश जाने दुई/तीन पटकको प्रयास असफल भएपछि उनी गायनमै केन्द्रित भई भविष्य खोजिरहेका हुन् । उनी भाग्यले विदेश जान नपाएको विश्वास गर्छन् ।
“गीत संगीतमै आउनु रहेछ । त्यतिबेला धेरै कुरामा असफल भए । छट्पटी थियो । परिवारको जेठो छोरा भइसकेपछि परिवारको सबै जिम्मेवारी हुन्छ,” प्रकाश भन्छन्, “त्यसैले पनि होला म यो नै बन्छु भन्दा पनि पैसा कमाउनुपर्छ भन्ने मात्रै लाग्थ्यो । तर दुई÷तीन पटक प्रयास गर्दा पनि विदेश जान पाइएन । सायद कर्ममा यतै बसेर गीतसंगीतमा नै रम्नु लेखेको रहेछ ।”
म्याग्दीमा जन्मिएका प्रकाश सानैदेखि गाउँघरमा गीत गाउँथे । मेलापात जाँदा, विवाह, व्रतबन्ध, उत्सव, विदेशबाट लाहुरेहरू आउँदा उनी गीत गाउथेँ । उनी अरूको गाएको सुन्न भए पनि त्यस्ता कार्यक्रममा पुग्थे ।
गीत गाउँदा मात्रै होइन उनको बोलीमा पनि स्थानीय लवज आउँछ । सायद त्यसैले पनि होला दर्शकले उनका गीत निकै रुचाउँछन् । ‘घर कता हो बैनीको’ को सफलतापछि भने प्रकाशले अब गायन करियरमा मात्रै फोकस भएर अघि बढ्ने निर्णय लिइसकेका छन् । उनको यो निर्णयलाई ‘जाम भो माइली’ को सफलताले अझै ऊर्जा थपेको छ ।
तर, उनको मनमा पछि दर्शकबाट यही माया नपाउँला कि भन्ने डर पनि छ । किनभने उनको आम्दानीको स्रोत भने पनि गीतका लागि लगानी भने पनि यही नै हो । आर्थिक पाटोबाट हेर्दा अझै पनि ढुक्क हुन सक्ने अवस्था नरहेकाले उनमा कहिलेकाहीँ पछि राम्रो सिर्जना गर्न नसकेर असफल भइन्छ कि भन्ने डर छ ।
“यहाँहरूकै मायाले हो, आर्थिक पाटो त्यति बलियो छैन भनेर थाहा हुँदाहुँदै पनि गायन पेशाले तानेको छ । अब म भाग्न पाउँदिन । अब अर्को के नयाँ दिने । दर्शकको मायालाई कसरी चुकाउने कसरी नयाँ अनि दर्शकले रुचाउने गीत–संगीत सिर्जना गर्ने भन्ने तर्फमात्रै ध्यान जान्छ,” उनले भने ।
हरेक व्यक्तिले आफ्नो पहिलो पारिश्रमिक हात परेपछि यो किन्छु त्यो किन्छु, यसो गर्छु त्यसो गर्छु भन्ने सपना देख्छन् । तर, प्रकाश दोहोरी साँझमा गीत गाएर पहिलोपटक कमाएको पैसाले कोठा भाडा तिर्न चाहिँ पुग्ने भयो भनेर खुसी भएका थिए ।
हुन त प्रकाशको यसअघिका गीतहरू ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’ ‘चोली मैलो भो’ लाई पनि दर्शकले उत्तिकै माया दिएका थिए । तर, उनी त्यति चर्चामा आएनन् ।
“यो माहोल त सोचेकै थिइनँ । थोरै भ्युज गइदिए हुन्थ्यो । ताकि अर्को काम गर्न ऊर्जा मिलोस् भन्ने थियो । तर, दर्शक र श्रोताको माया अनि साथ सहयोगले एकदमै खुसी छु,” प्रकाशले भने ।
गायन, लेखनदेखि भिडियो कन्सेप्टसँगै अभिनयमा पनि उनी सक्रिय छन् । कुनै पनि गीत दर्शकले रुचाउनका लागि शब्द, आवाज र भिडियो सबैकुराले भूमिका खेल्ने उनी बताउँछन् ।
युवापुस्ताहरू जति नै पप अनि वेस्टर्न गीतहरूप्रति आकर्षित भए पनि अन्ततः आफ्नो देशको मौलिकता नै रुचाउने उनको बुझाइ छ । किनभने उनका हरेक गीत लोकशैलीको हुन्छन् । यतिमात्रै होइन उनका भिडियोमा पनि मौलिकता देख्न सकिन्छ ।
प्रकाशले आधा दशकको गायन यात्रामा करिब एक दर्जन गीत दर्शकका लागि पस्किसकेका छन् । तर, उनी करियरको टर्निङ प्वाइन्ट ‘आरने’ गीत मान्छन् । जसमा जातीय विभेदको विषय उठाइएको छ । यो गीत आएसँगै दर्शकमा आफू अलि बढी चिनिन थालेको र अझै माया अनि सल्लाह सुझाव पाएको प्रकाश बताउँछन् ।
‘घर कता हो बैनीको’ मा सातदिनको यात्रातय गरी झोलामा नुन बोकेर फर्किरहेको परिवारको मुली होस् अथवा ‘जाम भो माइली’ मा जीविकोपार्जनका लागि काँधमा जालो बोकेर माछा मार्न गएको पात्र होस् वा त ‘आरने’ का हतियार बनाउने आरन पात्र होस्, उनका गीतसँगै भिडियोले गाँउघरको मौलिकता, यथार्थ अनि कथा–व्यथा बोल्छन् ।
उनी आफ्ना गीतले रमाइलोमात्रै नदिएर हिजोका गाँउघरका दिनहरू पुनः ताजा गराउने र सन्देश दिनेखालका हुने गरेको बताउँछन् ।
“बुबाहरू पहिले सात/आठ दिनको यात्रा तय गरेर सदरमुकामबाट नुन, तेल लिएर फर्किंदा बाटोमा रमाइलो गर्ने, जिस्काउने गर्नुहुन्थ्यो रे ! त्यही सुनेर मैले घर कता हो बैनीको गीतको भिडियो कन्सेप्ट तयार पारेको थिएँ,” प्रकाशले भने ।
आफ्नो लोकभाकाका गीतलाई सबै उमेर समूहका त्यसमाथि युवापुस्ताले नै मन पराइदिँदा उनी आफैँ दङ्ग छन् ।