काठमाडौं । नेपालमा विदेशी ठूला ब्यानरका चलचित्र छायांकनमा आउने क्रम केही बाक्लिएको छ । बलिउडसँगै हलिउड चलचित्र पनि आउन थालेका छन् ।
यद्यपि, बलिउड र हलिउडका चलचित्र छायांकनका लागि पहिलोपटक नेपाल आउन लागेका भने होइनन् । केही समयअगाडि मात्रै बलिउड सिनेमा ‘उचाइ’को नेपालमा छायांकन गरिएको थियो ।
केही समयपछि बलिउडकै अर्को चलचित्र छायांकनका लागि नेपाल आउँदै छ । धर्मा प्रोडक्सनको चलचित्र छायांकनका लागि नेपाल आउन लागेको हो ।
थ्रि ह्विलर्सको नेपाल छायांकनको व्यवस्थापनमा एक हलिउड चलचित्र पनि छायांकनका लागि नेपाल आउँदै छ । तर, नाम भने सार्वजनिक गरिएको छैन ।
विश्वकै प्रतिष्ठित फिल्म प्रोडक्सन हाउस बाल्ट डिज्नेले निर्माण गर्न लागेको चलचित्र पनि छायांकनका लागि नेपाल आउने सम्भावना उच्च छ । कारण, डिज्नेले ‘तेन्जिङ’ निर्माणको घोषणा गरेको छ ।
विश्वकै अग्लो शिखर सगरमाथा पहिलोपटक आरोहण गर्ने तेन्जिङ नोर्गे शेर्पाको विषयमा आधारित रहेर चलचित्र निर्माण हुन लागेको हो । यसका लागि निर्माण कम्पनीले नेपालमा अडिसन आह्वान गरिसकेको छ । सगरमाथा आरोहीको कथा भएकाले यसको छायांकन नेपालमा हुने अधिक सम्भावना छ । तर, निश्चित भने भइसकेको छैन ।
चलचित्रमा हिमालको सिन भएकाले अरू नै देशमा पनि छायांकन गर्न सकिने निर्देशक छिरिङ रितार शेर्पा बताउँछन् । उनको कम्पनी मिला प्रोडक्सनले नेपाल अडिसनको जिम्मा लिएको छ । आउँदो वर्ष यो चलचित्रको छायांकन हुने उनको भनाइ छ ।
“हिमाल र हिउँको सिन चाहिने भएकाले अरू नै देशमा पनि यो चलचित्रको छायांकन गर्न सक्छ डिज्नेले,” निर्देशक छिरिङ भन्छन्, “तर, सकेसम्म नेपालमा छायांकन गराउन सके नेपालका लागि पनि राम्रो हुने थियो भन्ने हो ।” यदि, ‘तेन्जिङ’को छायांकन नेपालमा भयो भने यहाँको छायांकनको व्यवस्थापन मिला प्रोडक्सनले पाउने सम्भावना उच्च छ । अडिसनको जिम्मा पनि उसैले पाएकाले मिलाले नै व्यवस्थापनको जिम्मा पाउने उच्च सम्भावना छ ।
यदि, तेन्जिङको छायांकन नेपालमा भएको खण्डमा यो प्रोडक्सनले न्यूनतम १२ करोडदेखि १५ करोड रुपैयाँ खर्च गर्ने छिरिङ बताउँछन् । केही समयअगाडि नेपालमा छायांकन भएको उचाइले नेपालमा १६ करोड रुपैयाँ खर्च गरेको थियो ।
काम सिक्ने अवसर
विदेशका ठूला ब्यानरका चलचित्र नेपाल आउँदा उनीहरूले नेपालमा खर्च गर्ने ठूलो रकमसँगै यहाँका चलचित्र प्राविधिकले पनि उनीहरूबाट काम सिक्ने अवसर पाउँछन् । “उनीहरूले खर्च गर्ने पैसा त छँदै छ, त्योभन्दा पनि ठूलो हाम्रा प्राविधिकले बाहिरका स्किल प्राविधिकबाट काम सिक्छन्, जुन नेपाली चलचित्रका लागि फाइदाको कुरा हो,” छिरिङ भन्छन्, “विश्वकै ठूला चलचित्र उद्योगका ट्रेन्ड मेनपावरबाट काम सिक्नु भनेको हाम्रा प्राविधिक दक्ष हुनु राम्रो पक्ष हो । उनीहरूले सिकेको ज्ञान हाम्रा चलचित्रमा प्रयोग हुन्छ, यो अर्को ठूलो नाफा हो, हाम्रो चलचित्र उद्योगका लागि ।”
नेपाली चलचित्र प्राविधिकलाई दक्ष बनाउने अवसरका रूपमा यसलाई उपयोग गर्न सक्नुपर्ने अर्का निर्देशक प्रदीप भट्टराई बताउँछन् । नेपाली चलचित्र प्राविधिक महँगो खर्च गरेर दक्षता वृद्धिका लागि हलिउड, बलिउड जान नसक्ने बताउँदै प्रदीप भन्छन्, “विदेशबाट चलचित्र प्राविधिक नेपाल आएका बेला उनीहरूले काम गर्ने टेक्निक सिक्न सकिन्छ । त्यसैले यसलाई हामीले अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ । ट्रेन्ड मेनपावरसँग काम गर्दा धेरै कुरा सिक्ने अवसर पाइन्छ । डिज्नेका प्राविधिकहरूसँग काम गर्न पाउनु अवसर हो ।”
विदेशी चलचित्रका प्राविधिकहरूबाट ज्ञानसँगै काम गर्ने तौरतरिका पनि सिक्नुपर्नेमा उनको जोड छ । काम गर्ने व्यक्तिमा अनुशासन पनि हुुनुपर्ने उनी बताउँछन् ।
“हामी महँगो सेट लगाएर काम गर्न सक्दैनौँ । कसैको घर वा होटेल मागेर काम गर्नुपर्छ । अघिल्लो दिनसम्म सफा रहेका घर र होटेलका कोठाका भित्ता हामीले छोड्ने बेलामा पूरै कालो भइसकेको हुन्छ,” प्रदीप भन्छन्, “स्किल त छँदै छ, चलचित्र प्राविधिक कति अनुशासित हुनुपर्छ भन्ने पनि सिक्नुपर्छ ।” उच्च व्यावसायिकता हरेक चलचित्रकर्मीमा हुनुपर्ने उनी बताउँछन् ।
सरकारले छायांकनमा सहयोग गर्नुपर्छ
निर्देशक छिरिङ रितार सरकारले चासो देखाए विश्वका ठूला चलचित्र उद्योगका ठूला ब्यानरका सिनेमा छायांकनका लागि नेपाल आउने सम्भावना रहेको बताउँछन् । तर, यसका लागि सरकारले विशेष कार्यक्रममार्फत पहल गर्नुपर्नेमा उनको जोड छ ।
“विश्वका कयौँ देशले आफ्नो देशको पर्यटन प्रवर्द्धनका लागि ठूला उद्योगका चलचित्रलाई आफ्नो देशमा छायांकनका लागि आउन पहल गरिरहेका हुन्छन्,” छिरिङ रितार भन्छन्, “न्युजिल्यान्ड होस् वा प्राकृतिक रूपमा सुन्दर अरू देश हुन्, उनीहरूले अरू देशका चलचित्र आफ्नो देशमा छायांकनका लागि आउँदा एयर टिकट र होटेलको सुविधा सरकारले उपलब्ध गराउँछन् । नेपालले पनि यसतर्फ सोच्नुपर्छ ।”
यदि, सरकारले चलचित्रमार्फत पनि नेपालको पर्यटन प्रवर्द्धन हुन्छ भन्ने सोचेको खण्डमा विश्वभर हेरिने धेरै चलचित्र छायांकनका लागि नेपाल आउने उनको विश्वास छ ।
सरकारले एयर टिकेट र होटेल सुविधामा खर्चिने रकमभन्दा धेरै उनीहरूले छायांकनका क्रममा खर्च गर्ने बताउँदै उनी भन्छन्, “नेपालमा खिचिएका चलचित्रले दीर्घकालीन फाइदा कति दिन्छ भन्नेतर्फ राज्यको सोच हुनुपर्छ ।” चलचित्रमा देखिने सिन हेरेर पर्यटकले उक्त ठाउँ खोज्ने र यसले अन्ततः दीर्घकालीन रूपमा पर्यटन प्रवर्द्धन हुने उनको भनाइ छ ।
सरकारले चलचित्रको शक्ति नै बुझेन
सरकारलाई चलचित्रको शक्ति र यसको महत्त्व थाहा नभएको निर्देशक प्रदीप भट्टराई बताउँछन् । भारतले चलचित्रको शक्ति र महत्त्वलाई बुझेर सहयोग गरिरहेको तर नेपालका राजनीतिक दल र सरकारले भने सधैँ चलचित्रलाई सामान्य सम्झिएर उपेक्षा गरिरहेको उनको गुनासो छ ।
“भारतमा कतिपय चलचित्रमा राजनीतिक दल र नेताहरूको अनसिन लगानी गरिरहेका छन् । त्यसको अर्थ उनीहरूले चलचित्रमा कति शक्ति छ भन्ने बुझेका छन्,” प्रदीप भन्छन्, “अक्षय कुमार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कति निकट छन् भन्ने धेरैलाई थाहा छ । अक्षयका कति चलचित्रमा मोदी र उनको पार्टीको लगानी छ । तर, नेपालमा आजसम्म यो अभ्यास हुन सकेको छैन ।”
कला–साहित्य राजनीतिबाट प्रेरित हुन नहुने तर यसको शक्ति र क्षमतालाई राजनीतिले स्वीकार गरेको अवस्थामा सरकारले चलचित्र क्षेत्रलाई सहयोग गर्ने उनको धारणा छ ।
विदेशी चलचित्रमा अवसर
विदेशी चलचित्र छायांकनका लागि नेपाल आउँदा चलचित्र प्राविधिकले मात्रै काम पाउँदैनन्, कलाकारले पनि अभिनयको अवसर पाउँछन् । तर, यसमा भने हाम्रो केही कमजोरीहरू रहेको निर्देशक प्रदीप बताउँछन् ।
विश्वका ठूला ब्यानरका चलचित्रमा काम गर्ने नेपाली कलाकार पनि उत्तिकै अब्बल हुनुपर्नेमा उनको जोड छ । तर, अहिले त्यसो हुन नसकेको उनी बताउँछन् ।
“धेरैजसो विदेशी चलचित्रको छायांकन टोली नेपाल आएर काम सकेर स्वदेश फर्किने बेलामा मात्रै यहाँ थाहा हुन्छ । उनीहरूले नेपाली कलाकारका लागि कहिले अडिन आह्वान गर्छन् थाहै हुँदैन,” प्रदीप भन्छन्, “जुन कम्पनीले नेपालमा छायांकनको व्यवस्थापन गरेको हुन्छ, उसैले आफूनिकट र आफ्नाहरूलाई कलाकारका रूपमा छनोट गर्ने गरेका छन् । कतिमा कहिल्यै नसुनेका र नचिनेका व्यक्ति कलाकारका रूपमा काम गरिरहेका हुन्छन् ।”
यदि, दक्ष कलाकारले उनीहरूसँग काम गर्न पाए र निर्देशकलाई उसको काम मन परे त्यही चलचित्रमा सिन बढाउने तथा अन्य चलचित्रका लागि आफ्नो देशमा बोलाउने सम्भावना उच्च हुने प्रदीप बताउँछन् । तर, कलाकारका नाममा अभिनय गर्नै नजान्ने व्यक्तिलाई सेटमा उभ्याइँदा नेपाली कलाकारको अभिनय क्षमतामाथि नै उनीहरूको गलत धारणा बन्नेमा सचेत हुनुपर्नेमा उनको जोड छ ।
केही वर्षअगाडि नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौं’मा विदेशी चलचित्रकर्मीसँग काम गरेका अभिनेता कर्मालाई सोही सिनेमामा उनको अभिनय क्षमता हेरेर अहिले हलिउड सिनेमामा अफर आएको छ । यद्यपि, लिखित सम्झौता नभइसकेका कारण यसबारे कर्माले विस्तृत जानकारी दिइसकेका छैनन् । उनका अनुसार मौखिक सहमति भने भइसकेको छ ।