site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ सवारीमा आजदेखि अनिवार्य गरिएको इम्बोस्ड नम्बरप्लेट जडान कसरी गर्ने ?

काठमाडौं । सरकारले आजदेखि नयाँ सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान प्रक्रिया सुरु गरेको छ । नयाँ सवारी साधन किनी आजदेखि दर्ता हुने सबै प्रकारका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्न प्रक्रिया सुरु गरिएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले आजदेखि दर्ता भएका सवारी साधनमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने काम सुरु गरिएको जानकारी दिए । ‘‘नयाँ सवारी साधन किनेका सवारीधनीले आफ्नो सवारी दर्ता गर्दा इम्बोस्ड नम्बरप्लेट पनि आह्वान गर्नुपर्नेछ । यसका लागि सवारी धनीले यातायात व्यवस्था विभागको वेबसाइट आवेदन दिनुपर्नेछ,” उनले भने ।

महानिर्देशक घिमिरेकाअनुसार आवेदन दिइसकेपछि विभागले प्रमाणीकरण गरी विभागको सिस्टमबाट इम्बोस्ड नम्बरप्लेट जारी गर्नेछ । त्यसपछि सवारीधनीले कोड पाउँछन् । उक्त कोर्ड लिएर यातायात व्यवस्था कार्यालय गएपछि उनीहरूले इम्बोस्ड नम्बरप्लेट प्राप्त गर्नेछन् । 

विभागले दिएको इम्बोस्ड नम्बरप्लेट अनिवार्य रूपमा सवारीधनी आफैँले जडान गर्नुपर्नेछ ।  

आजदेखि नयाँ सवारी साधनमा अनिवार्य गरिएको इम्बोस्ड नम्बरप्लेटमा सवारी धनी र सवारी साधनको सम्पूर्ण विवरण रहनेछ । उक्त नम्बरप्लेटमा विद्युतीय चिप पनि रहने छ ।

प्रदेश नम्बर १, २ र सुदूरपश्चिममा लागु हुन समय लाग्ने 
वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा आजदेखि इम्बोस्ड नम्बरप्लेटको प्रक्रिया सुरु भइसकेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको नाम लामो भएकाले उक्त प्रदेशमा यो नियम लागु हुन समय लाग्नेछ । 

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीजस्तै १ र २ नम्बर प्रदेशको नाम छैन । त्यसैले प्रदेश नम्बर १ र २ को नाम नटुङ्गिएसम्म त्यहाँ यो नियम लागु नहुने विभागले जनाएको छ ।

पुराना सवारी साधनको हकमा कहिलेदेखि लागु हुन्छ ?
विभागले पुराना सवारी साधनको हकमा फागुन १ गतेदेखि सवारी नामसारी गर्दा र जेठ १ गतेदेखि सवारी दर्ता नवीकरण गर्दा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गरिने जनाएको छ । पुराना सवारीधनीले सवारी दर्ता गराउन आउँदा वा नामसारी गराउन आउँदा इम्बोस्ड नम्बरप्लेट आह्वान गर्न सकिने व्यवस्था मिलाइनेछ । यद्यपि अहिले पनि इम्बोस्ड नम्बरप्लेट जडान गर्न चाहनेहरूले पनि नम्बरप्लेट जडान गर्न सक्नेछन् । 

‘‘सवारीधनीले इम्बोस्ड नम्बरप्लेट दस्तुर बुझाएर अगाडि नै इम्बोस्ड नम्बरप्लेट जडान गर्न सकिने व्यवस्था मिलाइनेछ । इम्बोस्ड नम्बरप्लेट एकपटक जडान भइसकेपछि पुनः निकाल्न मिल्दैन,” महानिर्देशक घिमिरेले भने ।

इम्बोस्ड नम्बरप्लेटका विशेषताहरू 
पछिल्लो समय अत्यधिक मात्रामा सवारीसाधन चोरीका घटनाहरू बढ्दै गएका छन् । इम्बोस्ड नम्बरप्लेट जडान गरिसकेपछि सवारीसाधन चोरीका घटनाहरू क्रमिक रूपमा घट्दै जाने विभागको विश्वास छ । चोरी भएको खण्डमा पनि सजिलैसँग पत्ता लगाउन सकिने छ । कर तिर्न नमान्ने सवारीधनीलाई कर तिर्न सहजीकरण समेत इम्बोस्ड नम्बरप्लेटले गर्नेछ । 

इम्बोस्ड नम्बरप्लेटमा लेखिएका अक्षर मेसिनबाटै छापिएर आउनेछ । सवारीसाधन कुन समयमा कहाँ गएको छ भनी सजिलैसँग हेर्न सकिनेछ । साथै २०० मिटरसम्म आँखाले देख्न सकिनेछ । 

विभागसँग हाल करिब ५० हजारभन्दा बढी इम्बोस्ड नम्बरप्लेट भएकाले तत्काल नयाँ सवारी साधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्दा समस्या नआउने जनाइएको छ । 

जडान गर्न कति लाग्छ खर्च ? 
सरकारले इम्बोस्ड नम्बरप्लेट जडानका लागि सवारीसाधनपिच्छे फरक–फरक मूल्य तोकेको छ । मोटरसाइकल र स्कुटरका लागि साढे दुईहजार रूपैयाँ तिर्नुपर्नेछ । त्यस्तै तीनपांग्रे सवारीका लागि दुईहजार ९०० रूपैयाँ निर्धारण गरिएको छ । चार पांग्रे्रेका तीनहजार २०० रूपैयाँ र ठुला सवारीसाधनका लागि तीनहजार ६०० रूपैयाँ तोकिएको छ  । सार्वजनिक सवारीमा पेहेँलो र निजी सवारीमा सेतो अक्षरले लेखिएको नम्बरप्लेट हुनेछ । 

२०७४ भदौ ५ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बरप्लेट जडानको उद्घाटन गरेका थिए । त्यसपछि अंग्रेजी इम्बोस्ड नम्बरप्लेट नेपालीमा हुनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरिएको थियो । त्यसपछि लामो समय इम्बोस्ड नम्बरप्लेट जडानको काम रोकिएको थियो । 

उक्त रिट ०७६ चैतमा सर्वोच्च अदालतले खारेज गर्‍यो । त्यसपछि विभागले ०७७ साउन १ गतेदेखि पुनः इम्बोस्ड नम्बरप्लेटको काम सुरु गरेको थियो । फेरि दोस्रो चरणको कोरोना महामारीका कारण रोकिएको थियो ।

जडान नगरे कारबाही 
यातायात व्यवस्था ऐन २०५४ को दण्ड सजायसम्बन्धी व्यवस्थामा दर्ताको प्रमणपत्र उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी अर्कै नम्बर वा प्लेट राखी सवारी चलाउन लगाउनेलाई अधिकार प्राप्त अधिकारीले ६ महिनासम्म कैद वा पाँचहजारदेखि १५ हजार रूपैयाँसम्म जरिवाना गरी त्यस्तो सवारी जफत गर्न सक्ने व्यवस्था छ ।

विभागले अबको केही वर्षमा देशभरका सबै सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गर्ने योजना बनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  २०:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro