
काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरप्रहरीले साइकलमा सवार एक व्यक्तिमाथि अमर्यादित व्यवहार गरेको छ ।
बुधबार बिहान बालुवाटार क्षेत्र हुँदै साइकलमा घर फर्किरहेका ती व्यक्ति र नगरप्रहरीबीच साइकल खोसाखोस भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ ।
यसै विषयलाई लिएर महानगरका मेयर बालेन्द्र शाह (बालेन) को आलोचना भइरहेको छ । काठमाडौं महानगरपालिका नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार ती व्यक्तिलाई अमर्यादित व्यवहार नगरप्रहरीबाट भएको स्वीकार गरे ।
“भिडियो आज बिहानको हो । नगरप्रहरीलाई जुन कार्यसम्पादनका लागि पठाएका थियौँ, त्यो हुन सकेन,” पाण्डेले भने ।
आलोचना भएपछि बालुवाटर क्षेत्रमा खटिएका नगरप्रहरी इन्स्पेक्टर शम्भु विष्ट कारबाहीमा तानिएका छन् । “त्यो राम्रो होइन । बालुवाटार क्षेत्रमा खटिएका इन्स्पेक्टर शम्भु विष्ट कारबाहीमा तानिइसके,” पाण्डेले बाह्रखरीसित भने ।
साइकलमा हिँडेका सर्वसाधारणको साइकल नखोसेर उनलाई घर पठाइएको पाण्डेले बताए । “साइकलमा हिँडेका ती व्यक्तिको साइकल खोसेका छैनौँ । केही नगरी घर पठाइसक्यौँ,” पाण्डेले भने ।
बालुवाटार क्षेत्रमा स्थानीयको गुनासोका आधारमा नगरप्रहरी इन्स्पेक्टर विष्टको नेतृत्वमा नगरप्रहरी टोली परिचालन गरिएको थियो ।
पाण्डेका अनुसार बालुवाटार क्षेत्रमा कवाड व्यवयासीहरूले हल्ला गरेपछि स्थानीयको गुनासो आएको थियो । इन्स्पेक्टर विष्टको टोली खटाइएको थियो ।
साइकलमा रहेका ती व्यक्ति पनि कवाडका सामान उठाउन निस्किएको दाबी गरिएको छ । लामो समयदेखि काठमाडौंभित्र कवाड व्यवसायीलाई नगरप्रहरीले दमन गर्दै आएको छ ।
केही समयअघि प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद प्रभु साह र डा. अमरेशकुमार सिंहले कवाड व्यवसायीमाथि दमन भएको भन्दै आपत्ति जनाएका थिए ।
प्रहरीले दमन गरेको र ५० भन्दा बढी घाइते भएको भन्दै उनीहरूको जीउधन र व्यवसायको सुनिश्चितताको माग गरेका थिए ।
लामो समयदेखि कवाड व्यवसायीहरू आन्दोलनरत छन् ।
फुटपाथ व्यवसायीमाथि लछारपछार गर्ने नगरप्रहरीको विगत
नगरप्रहरीले सर्वसाधारणलाई लछारपछार गरेको पहिलो घटना भने होइन । फुटपाथ व्यापार निषेधका नाममा सर्वसाधारणलाई दुःख दिँदै आएको छ ।
०७९ असार १७ गते नगर प्रहरीले बालुवाटारको फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्य दम्पतीमाथि जबरजस्ती लछारपछार गरेको थियो ।
०७९ असार २१ गते मंगलबार थापाथली चोकमा मकै बेच्ने ६० वर्षीय तेजबहादुर तामाङ, सीता लामा दम्पती र सञ्जुदेवी चौधरीको मकैसहित दाउरा, कराही, कपडालगायत सामान उठाएको थियो ।
०७९ असोज अन्तिम साता थापाथली क्षेत्रबाटै पानीपुरी र चटपटे बेच्दै आएकी लमजुङकी ३४ वर्षीय शर्मिला तामाङको ठेला जफत गरेको थियो ।
०७९ माघ १७ गते रुखबाट लडेर दुवै खुट्टा नचल्ने दोलखा सैलुङ गाउँपालिका–८ का ५२ वर्षीय डिल्लीबहादुर कार्कीलाई ह्वीलचियरसहित नगरप्रहरीले ट्रकमाथि राखेरे टेकु पुर्याएको थियो ।
तत्कालीन नगरप्रहरी प्रमुख धनपति सापकोटाका कारण बालेनले गाली खानुपरेको आरोप लागेपछि बालेनले सापकोटालाई हटाएर एसपी पाण्डेलाई नगरप्रहरी प्रमुखको जिम्मेवारी दिएका थिए ।
तर, पाण्डेले पनि सापकोटाकै शैली अपनाउँदै आएका छन् ।
महानगर आन्तरिक प्रशासन तथा जरिवाना इकाइका अनुसार करिब साढे दुई वर्षको अवधिमा नगरप्रहरीले फुटपाथ व्यवसायीका ५४९ ठेलागाडा र ७१४ वटा साइकल खोसिदिएको छ ।