काठमाडौं । करिब सात महिनापछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन गएको कात्तिक ९ गतेदेखि खुलाइयो । तर, खुलाएको दुई दिनमै यातायात व्यवस्था विभागले प्राविधिक कारण देखाउँदै आवेदन बन्द ग¥यो । बन्द गरिएको केही दिनपछि विभागले फेरि नयाँ आवेदन खुलाइसकेको छ ।
दोस्रो लहरको कोरोना महामारीका कारण सात महिनाअघिदेखि लाइसेन्सको नयाँ आवेदन बन्द गरिएको थियो । नयाँ आवेदन खुलाएको दिन अत्यधिक संख्यामा आवेदन आउँदा समस्या भएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार नयाँ आवेदन खुलाएको दिनमा मात्रै करिब १५ लाख आवेदकले वेबसाइट खोलेका थिए । ‘‘धेरैजनाले एकैपटक आवेदन दिन खोज्दा समस्या आएको हो,” उनले भने ।
विभागले कहिले स्मार्ट लाइसेन्स खरिद, कहिले लाइसेन्स छाप्ने मेसिन खरिदको नाममा अर्बौँ रुपैयाँ खर्च गरिसक्यो । तर, सेवाग्राहीले भने विभागले खर्च गरेबमोजिमको कुनै पनि प्रभावकारी सेवा–सुविधा पाएका छैनन् ।
सात लाखभन्दा बढीले दिए नयाँ आवेदन
विभागका अनुसार आवेदन खुलाएको एक सातामा सात लाखभन्दा बढी व्यक्तिले नयाँ आवेदन दिएका छन् । महानिर्देशक घिमिरेले काठमाडौं उपत्यकामा सबैभन्दा धेरैले नयाँ आवेदन दिएको बताए ।
‘‘नयाँ आवेदन भर्नेहरूको चाप घट्दै गएको छ । कोरोना महामारीका कारण प्रभावित बनेको सेवा लामो समयपछि सुचारु गर्दा बढी आवेदन परेको हो,” उनले भने ।
पहिलो चरणको कोरोना महामारीपछि पनि विभागले बन्द गरिएको नयाँ आवेदन खुलाएको थियो । त्यस बेला पनि विभागले अहिलेकै जस्तो प्राविधिक समस्या झेल्नुपरेको थियो । अहिले त्यस्तै समस्या दोहोरिँदा समेत विभागले समाधान गर्ने दीर्घकालीन योजना बनाएको छैन । एकैपटकमा धेरै सेवाग्राहीले सेवा लिन खोज्दा समस्या आएको महानिर्देशक घिमिरेको भनाइ छ ।
आवेदन खुलाएको पहिलो, दोस्रो दिनको जस्तो चाप अहिले घट्दै गएकाले समस्या नदोहोरिने विभागका प्रवक्ता लोकनाथ भुसालको दाबी छ । ‘‘विभागले लाइसेन्स सहजै उपलब्ध गराउन विभिन्न कामहरू गरिरहेको छ । अब केही महिनाभित्रै आवेदकको चाप घटाएर सहजै लाइसेन्स उपलब्ध हुने वातावरण हुन्छ,” उनले भने ।
नयाँ आवेदकले आठ महिनादेखि एक वर्षसम्म परीक्षाका लागि कुर्नुपर्ने देखिन्छ ।
विभागलाई पुराना चार लाख परीक्षार्थी सेवाग्राहीको चाप कम गर्न पनि हम्मेहम्मे परेको छ ।
काठमाडौं उपत्यकामा चारवटा यातायात व्यवस्था कार्यालयहरू छन् । प्रवक्ता भुसालका अनुसार बाँकी पुराना चार लाख आवेदकहरूको फाराम दर्ता प्रक्रिया सुरु भइसकेको छ । ‘‘पुराना आवेदकको परीक्षा सकिएपछि मात्रै नयाँ आवेदकको पालो आउँछ,” उनले भने ।
विभागले बल्ल उपत्यकाका चार यातायात कार्यालयहरूमा पुराना आवेदकको फाराम दर्ता गर्दै छ । दर्ता गरिसकेपछि परीक्षा सञ्चालन गर्न करिब आठ महिना लाग्ने उनले बताए ।
पुरानै प्रणालीमा फाराम भर्नुपर्ने बाध्यता
सेवाग्राहीले विभागको वेबसाइटमा राखिएको पुरानै प्रणालीअनुसार सवारी लाइसेन्सको फाराम भर्नुपर्ने बाध्यात्मक अवस्था छ । गाउँ, टोल र अञ्चलकै आधारमा फाराम भर्नुपर्छ । तर, नयाँ नागरिकता, पासपोर्ट, परिचयपत्रमा संघीयताअनुसार ठेगाना हुन्छ । प्रदेश, महानगरपालिका, नगरपालिका, गाउँपालिका त्यसमा हुन्छ ।
परिचयपत्रमा एउटा र विभागको वेबसाइटको फाराम अर्को प्रकारको हुँदा सेवाग्राहीहरूले पटक–पटक गुनासो गर्दै आएका छन् । विभागले नयाँ व्यवस्था अपडेट हुन समय लाग्ने जनाएको छ । देशमा संघीयता गएको भने चार वर्ष भइसकेको छ ।
डेढ वर्ष बित्यो तर आएन स्मार्ट कार्ड
विभागमा गत वर्ष कात्तिकमा स्मार्ट कार्ड अभाव हुँदा एक फ्रान्सेली कम्पनीसँग स्मार्ट कार्ड खरिद प्रक्रिया अगाडि बढाइएको थियो । त्यसअनुसार कम्पनीले तीन महिनाभित्रमा स्मार्ट कार्ड उपलब्ध गराउनुपर्ने थियो । तर, डेढ वर्ष बित्यो, अहिलेसम्म स्मार्टकार्ड आइपुगेको छैन । विभागले खरिद गरेको कार्डले करिब डेढ वर्षलाई पुग्ने जनाएको थियो । तर, अहिलेसम्म स्मार्ट कार्ड नआउँदा समस्या उस्तै छ । दुई वर्षपहिले विभागले १० लाख स्मार्ट लाइसेन्स खरिद गरेर वितरण गरेको थियो ।
प्रवक्ता भुसाल कोरोना महामारीका कारण समयमै स्मार्ट कार्ड ल्याउन नसकिएको दाबी गर्छन् । ‘‘खरिद गरिएका स्मार्ट कार्ड अबको दुई महिनाभित्रमा आइसक्छ । यद्यपि, एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण थालेका छौँ,” उनले भने ।
प्रवक्ता भुसाल मागअनुसार परीक्षणकालीन लाइसेन्स आपूर्ति गर्न सकिने बताउँछन् । उनी भन्छन्, ‘‘देशभरका सबै कार्यालयहरूबाट परीक्षणकालीन लाइसेन्स वितरण सुरु भइसकेको छ । विभागले सेवाग्राहीको सास्तीलाई मध्यनजर गर्दै सुरु गरेको सेवा हो । उक्त लाइसेन्स नेपालमै सहजै छाप्न सकिन्छ । मागअनुसार आपूर्ति गर्न सकिन्छ,” उनले भने ।
विभागले एक वर्षसम्म परीक्षणकालीन लाइसेन्स वितरण गरेर त्यसपछि सहज वा झन्झटका आधारमा कदम चालिने जनाएको छ ।
ट्रायल सेन्टर थप्न ढिलाइ
काठमाडौं उपत्यकामा चारवटा मात्रै ट्रायल सेन्टर हुँदा कछुवा गतिमा पुराना आवेदकको परीक्षा सञ्चालन भइरहेको छ ।
विभागले कोरोना महामारीलगत्तै ट्रायल सेन्टर थप गरेर आवेदकले सहजै परीक्षा दिने वातावरण बनाउने जनाएको थियो । ट्रायल सेन्टर थप्ने विषयमा महानिर्देशक घिमिरे भन्छन्, ‘‘पुराना आवेदक र नयाँ आवेदकको अत्यधिक चापलाई मध्यनजर गर्दै उपत्यकाभित्र ट्रायल सेन्टर थप्ने तयारी हो । यद्यपि, विधि र प्रक्रियाबमोजिम ट्रायल सेन्टर थप्न समय लाग्छ । ट्रायल सेन्टर थप्ने विषयमा वाग्मती प्रदेश सरकारसँग छलफल भइसकेको छ । सरकारकै समन्वयमा ट्रायल सेन्टर थपिने हो । प्रक्रिया पूरा गरेर थप्नुपर्ने भएकाले ढिलो भएको छैन । अलपत्र परेको छैन ।”
अहिले उपत्यकाका चारवटा यातायात कार्यालय एकान्तकुना, ठूलो भर्याङ, चाबहिल र भक्तपुरबाट ट्रायल परीक्षा सञ्चालन भइरहेको छ । आवेदकहरूले परीक्षा दिने ट्रायल सेन्टर नपाउँदा ट्रायलकै लागि लामो समय कुर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
सरकारले ०७७ चैत १९ गते जारी गरेको सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ मा आफ्नै मोटरसाइकलमा ट्रायल परीक्षा दिन मिल्ने व्यवस्था समेत गरेको थियो । तर, व्यवस्था यातायात कार्यालयहरूमा पार्किङस्थल भद्रगोल हुने निष्कर्ष निकाल्दै खारेज गरियो ।