काठमाडौं । हास्यटेलिशृंखला ‘सक्किगोनि’का कलाकार तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)लाई टेलिभिजन हेर्नेभन्दा युट्युब हेरेर प्रतिक्रिया दिने दर्शक धेरै छन् । टेलिभिजनबाट पनि ‘सक्किगोनि’ प्रसारण हुन्छ । तर, उनलाई ‘तपाईंको कार्यक्रम टेलिभिजनमा हेरेको थिएँ’ भन्नेभन्दा युट्युबमा हेरेको भन्ने धेरै छन् ।
प्रत्येक बिहीबार राति ८ बजे ‘सक्किगोनि’ टेलिभिजनबाट प्रसारण हुन्छ । टेलिभिजनबाट प्रसारण भइसकेपछि ‘सक्किगोनि’ युट्युब च्यानल जेपीटी क्रिएसनमा अपलोड हुन्छ । त्यहीँ हेरेर दर्शकले उनलाई राम्रो÷नराम्रो प्रतिक्रिया दिन्छन् ।
टेलिभिजनमा भन्दा कम्तीमा एक घण्टापछि मात्रै युट्युब च्यानलमा किन अपलोड हुन्छ ? टेलिभिजन र युट्युबमा एकैपटक किन अपलोड हुँदैन ? “हाम्रो सम्झौता नै टेलिभिजनमा भन्दा एक घण्टापछि युट्युबमा अपलोड गर्ने भन्ने छ,” अर्जुन भन्छन्, “दुवैबाट एकैपटक प्रसारण हुँदा टेलिभिजनका दर्शकमा असर गर्छ भन्ने हो ।”
आफूले चाहेको समयमा हेर्न सकिने र विज्ञापन हेरिरहनुपर्ने झन्जट नहुने भएकाले दर्शकले टेलिभिजनभन्दा युट्युबमा हेर्न रुचाउने गरेको उनको अनुभव छ । विदेशमा बस्ने नेपालीका लागि पनि युट्युब सहज माध्यम भएकाले टेलिभिजनमा भन्दा युट्युबमा ‘सक्किगोनि’ हेर्ने दर्शकको संख्या धेरै रहेको उनको भनाइ छ । केही शृंखला युट्युबमा आउन ढिलो भए पनि अब भने नियमित समयमै युट्युबमा ‘सक्किगोनि’ आउने अर्जुन बताउँछन् ।
युट्युबप्रति दर्शकको आकर्षण बढ्दै गएको र आकर्षणलाई नजरअन्दाज गर्न नसकिने ग्यालेक्सी फोर के टेलिभिजनका क्रिएटिभ निर्देशक विपीनकुमार आचार्य बताउँछन् । यद्यपि, नेपालमा टेलिभिजनको टीआरपी कति छ भन्ने यकिन तथ्यांक निकाल्ने प्रोपर सिस्टम नभएकाले युट्युबको जस्तो टेलिभिजनको दर्शक काउन्ट गर्न नसकिएको उनी बताउँछन् ।
“तर, युट्युबमा देखिने दर्शकको संख्या हेरेर टेलिभिजनलाई कमजोर भन्न मिल्दैन,” विपीन भन्छन्, “युट्युब च्यानल टेलिभिजनको थ्रेट भने कहिल्यै हुन सक्दैन ।” युट्युबमा दर्शक देखाइने गरेको तर टेलिभिजनमा नदेखिए पनि दर्शक धेरै हुने उनको भनाइ छ ।
टेलिभिजनमा परिवारसँग बसेर कार्यक्रम हेर्नु र एक्लै युट्युबमा हेर्नुमा ठूलो भिन्नता रहेको भन्दै टेलिभिजनमा रहेका केही विशेषतालाई युट्युबले अहिलेकै अवस्थामा उछिन्न नसक्ने उनी दाबी गर्छन् ।
ग्यालेक्सी फोर केबाट प्रसारण हुँदै आएको ‘सारेगमप लिटिल च्याम्प्स’ टेलिभिजनमा अन एअर भएको आधा घण्टापछि युट्युबमा अपलोड हुन्छ । तर, यसको पनि केही शृंखला निर्धारित समयभन्दा पछि युट्युबमा उपलब्ध भयो । यसलाई विपीन प्राविधिक समस्या भन्छन् ।
“हामीले युट्युबमा टेलिभिजनमा भन्दा आधा घण्टापछि राख्ने गर्छौँ । केही शृंखला टेक्निकल कारणले ढिलो भएको हो । अब त्यस्तो हुँदैन । निर्धारित समयमै अपलोड हुन्छ,” उनले भने ।
टेलिभिजनका दर्शकका कार्यक्रममा विज्ञापन हुन्छ । तर, युट्युबमा दर्शकका लागि भने अधिकांश कार्यक्रममा विज्ञापन हुँदैन । भए पनि हेर्ने वा नहेर्ने त्यो दर्शकले आफूले चाहेको गर्न सक्छन् । “त्यसैले एकैपटक दुवैमा लाइभ गर्दा टेलिभिजनमा भन्दा विज्ञापन नभएका कारण युट्युबमा चाँडो सकिन्छ भन्ने डर हो,” विपीन भन्छन्, “तर पनि एकैपटक दुवैमा लाइभ गर्ने कि भन्ने विषयमा पनि हाम्रो छलफल भइरहेको छ । तर, के गर्ने निर्णयमा पुग्न भने सकिएको छैन ।”
इन्टरनेटको सहज पहुँचका कारण उपभोक्ता डिजिटल प्लेटफर्मतर्फ भने आकर्षित हुन थालेका छन् । सिरिजहरू डिजिटल प्लेटफर्ममा राख्न थालिएको छ । फिचर फिल्म समेत डिजिटल प्लेटफर्ममा नै राख्ने क्रम बाक्लिँदै गएको छ । यसमा दर्शकको आकर्षण पनि बढ्दै गएको छ । नेपालमा भने ठूलो डिजिटल प्लेटफर्मको अभावका कारण टेलिभिजन रियालिटी शो तथा चलचित्र युट्युबमा नै रिलिज हुँदै आएका छन् । त्यसैले दर्शक सिनेमा हेर्न हलमा जानेभन्दा पनि युट्युबमा कुर्न थालेका छन् । रियालिटी शोहरू टेलिभिजनमा भन्दा पनि युट्युबमा कुर्नेहरूको संख्या उल्लेख्य छ ।
यद्यपि, पछिल्लो समय युट्युबमा देखिने भ्युुजमा विश्वास गर्ने अवस्था छैन । बुस्ट गर्नेदेखि भ्युजको संख्या तथा कमेन्ट समेत किन्न मिल्ने भएकाले कन्टेन्टमा देखिएको भ्युजकै आधारमा दर्शकको संख्या यति हो भनेर विश्वास गर्न नसकिने एक युट्युब च्यानल कम्पनीका व्यवस्थापक बताउँछन् ।
ट्रेन्डिङका लागि पनि विभिन्न वेबसाइटमार्फत लगानीकर्ताले चलखेल गर्ने गरेको ती व्यवस्थापकको भनाइ छ । “ट्रेन्डिङ, लाइक, कमेन्ट, डिसलाइक र भ्युज अहिले धेरै किन्ने गरेको देखिन्छ,” उनी भन्छन्, “भीपीएन युज गरेर ट्रेन्डिङ, लाइक, कमेन्ट, डिसलाइक किन्ने गरेका छन् ।” (भीपीएन भनेको प्रयोगकर्ताको लोेकेसन झुटो देखाउने प्रविधि हो ।)
अहिले फेसनकै रूपमा भ्युज किन्ने गरेको पाइएको ती व्यवस्थापकको दाबी छ । किनेको भ्युज भने दिगो नहुने र केही समयपछि हराएर जाने उनी बताउँछन् । “यसरी फेक भ्युज, कमेन्ट, लाइक र डिसलाइकले अन्ततः च्यानलाई समस्या देखाउँछ । त्यसैले व्यावसायिक कम्पनीहरूले सकेसम्म यसो गर्दैनन् । पछि आफैँलाई असर गर्ने भएकाले हामी फेक काम गर्दैनौँ । तर, हामीले नगरे पनि कलाकारहरूले आफ्नो प्रोफाइलका लागि आफ्नो खर्चमा भीपीएन गरिरहेका हुन्छन् ।” च्यानललाई असर गर्छ भन्दै फेक भ्युज तथा लाइक, कमेन्ट नकिन्न सुझाउँदा पनि रोक्न नसकिएको उनको गुनासो छ ।
स्वतस्फूर्त रूपमा भ्युज निकै कम रहेको र फेक भ्युज धेरै किनेको खण्डमा केही दिनपछि किनेको भ्युज स्वतः हट्ने सम्भावना उच्च हुन्छ । तर, भ्युज गइरहेकै अनुपातमा फेक भ्युज किनेको खण्डमा भने किनेको भ्युज पछिसम्मै कायम रहने बताइन्छ ।