site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘प्यासन’लाई ‘प्रोफेसन’ बनाउने यात्रामा सीता (भिडियो कुराकानी)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । कोरोना महामारीका कारण जारी लामो समयको लकडाउनमा धेरै बेरोजगार बने । तर, सीता न्यौपानेका लागि भने लकडाउन अवसर पनि बन्यो ।

लामो लकडाउन अरूलाई जस्तै सीताको लागि पनि ‘डिप्रेसिङ’ समय थियो । तर, सोही समयमा उनले नयाँ यात्रा सुरु गरिन् । “पहिलो लकडाउनमा मैले आफूलाई चिन्ने मौका पाएँ । एकदम डिप्रेसिङ मोमेन्ट थियो । लाइफमा केही पनि भइरहेको थिएन । यही समयमा अब लाइफलाई कसरी अगाडि लैजाने भन्ने सोच्ने क्रममा आफ्नो सानैदेखिको खुबीलाई बुझेँ, आफ्नो क्षमतालाई चिने र अघि बढेँ,” उनले आफ्नो स्ट्यान्ड अप कमेडियनको यात्राको सुरुवात सुनाइन् ।

सीता सानैदेखि हँस्सीमजाक गर्ने, साथीहरूमाझ हरेक कुरालाई ह्युमरस शैलीमा प्रस्तुत गर्ने गर्थिन् । उनले साथीहरूबीच ‘इन्टटेनर’को छवि बनाएकी थिइन् ।

स्कुल, कलेजमा साथीहरूलाई हँसाउने सीता नेप–ग्याजमसँग आबद्ध भएदेखि लाखौँ दर्शकलाई हँसाउने भइसकेकी छन् । दुई वर्षदेखि नेप–ग्याजमको युट्युब च्यानललाई फलो गरिरहेकी सीताले यसअघि भारतीय स्ट्यान्ड अप कमेडीहरू पनि हेर्थिन् ।

अहिले सीता ‘प्यासन’लाई ‘प्रोफेसन’ बनाउन मिहिनेत गर्दै छिन् ।

छोटो समयमै चर्चा
स्ट्यान्ड अप कमेडियनको रूपमा सीताले हँसाउन थालेको सात महिना मात्रै भएको छ । तर, उनको चर्चा भने पहिलो पर्फोमेन्सबाटै भइसकेको थियो । सात महिनाअघि नेप–ग्याजमको युट्युब च्यानलमा ‘के हेरेको बे ?’ शीर्षकमा जब उनको पहिलो भिडियो अपलोड भयो, उनलाई ‘राष्ट्रिय दिदी’ समेत भनियो ।

‘पन्चलाइन’का कारण उनी पहिलो प्रस्तुतिबाटै चर्चामा आएकी हुन्, त्यो कुरा उनी आफैँ पनि स्वीकार्छिन् । उनको उक्त भिडियो अहिलेसम्म सात लाख ७६ हजारले हेरिसकेका छन् ।

अडिसन पास हुन व्रत
स्ट्यान्ड अप कमेडियन बन्ने सपना पूरा गर्न नेप–ग्याजममा अडिसनका लागि जान लागेकी थिइन् । व्रत बसिन् । किनभने, सीतालाई अडिसन जसरी पनि पास हुनु थियो ।

“व्रत बसेर भनौँ कि को–इन्सिडेन्ट भनौँ कि मिहिनेत भनौँ, अडिसन पास भएँ र आज यहाँसम्म आइपुगेको छु,” उनले भनिन् । प्यासन, मिहिनेत र रुचिले छोटो समयमा धेरै दर्शकको माया पाएको उनको बुझाइ छ ।

हक्की स्वभाव 
स्ट्यान्ड अप कमेडियन सीतालाई धेरैले दिने प्रतिक्रिया भनेको ‘बोल्डनेस’ अर्थात् ‘हक्की स्वभाव’ हो । दर्शकको प्रतिक्रिया उनी स्वीकार पनि गर्छिन् ।

उनी आफ्नो प्रस्तुति तयार बनाउँदा समसामयिक विषय, आफ्नै भोगाइ, युवती–महिलाहरूको भोगाइलाई समेट्ने गर्छिन् । पछिल्लो समय उनले राजनीतिक विषयमा पनि प्रस्तुति दिन थालेकी छन् ।

“पढे–लेखेको देशको युवा पिँढीको रूपमा राजनीतिको प्रभाव आफूमा अनि समग्र युवायुवतीमाझ कस्तो छ भनेर देखाउन पनि मैले यो विषयलाई छोएको हुँ” सीताले बताइन् ।

सीतालाई व्यक्तिगत रूपमा मनपरेको आफ्नो प्रस्तुति ‘जय नारी’ हो । त्यसमा ‘बिग्रेको छोराहरू सुधार्ने सुधार केन्द्र हौँ र हामी ?” भन्ने उनको लाइन अत्यधिक रुचाइरहेको छ । महिला, मध्यमवर्गीय परिवारको अभाव, राजनीतिक व्यंग्यलाई ह्युमरस शैलीमा दर्शकसामु प्रस्तुत गर्न सक्नु उनको खुबी हो ।

एमएसी माइक्रो बायोलोजीकी विद्यार्थी उनी पढाइ र कमेडी दुवैलाई सँगसँगै ‘ब्यालेन्स’मा लैजाने योजनामा छिन् ।

डर
सीतालाई जानीनजानी कसैलाई मन नपर्ने कुरा केही भन्छु कि, मानवताको सिद्धान्त बिर्सन्छु कि, जात, रङ, धर्ममा झुक्किएर केही बोलिएला र कसैको चित्त दुखाउँछु कि भन्ने कुराले भने एकदमै डर लाग्छ । त्यसैले उनी आफ्नो कन्टेन्टमा विशेष ध्यान दिन्छिन् ।

एक जिम्मेवारी युवा पिँढीको रूपमा समाजमा र देशमा भइरहेको गलत कुरालाई सकेसम्म परिवर्तन गरौँ भनेर उनी आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेकी छन् । “सम्बन्धित ठाउँसम्म पुग्नु नपुग्नु अर्को पाटो हो,” सीता भन्छिन्, “तर, पहिलो पाटो भनेको मैले आफूले सक्दो कोसिस त गरेको छु नि भन्ने कुराले आत्मसन्तुष्टि मिल्छ ।”

नेप–ग्याजम 
लेखमणि त्रिताल, एकजना कमेडियनबाट सुरु भएको नेप–ग्याजममा अहिले ६ जना स्ट्यान्ड अप कमेडियनहरू छन् । सुरुमा भिडियो रेकर्ड गरेर युट्युबमा अपलोड गर्ने सोचले मात्रै सुरु गरिएको थियो । तर, अहिले यसको उचाइ निकै चुलिएको छ ।

“यो लेभलसम्म पुग्छौँ होला भनेर हामीले सोचेकै थिएनौँ । एकजनाबाट सुरु गरेका थियौँ । हामीले कहिले पनि नयाँ कमेडियन चाहियो भनेर भनेका थिएनौँ । तर, उहाँहरू आफैँ नै आउने इच्छा राख्दै हामीसम्म आउनुभयो । त्यसपछि हामीले अडिसन गर्न थालेका हौँ,” नेप–ग्याजमका निर्देशकमध्ये एक शरद श्रेष्ठले भने ।

नेप–ग्याजमको कोर टिममा अहिले शरदसँगै आशिष शाही, लेखमणि त्रिताल, ज्ञानेन्द्रराज मिश्र, रुपेश श्रेष्ठ र सन्तोष देवकोटा गरी ६ जना सदस्य छन् ।

सन् २०१७ को फेब्रुअरीदेखि सुरु भएको यसले चार वर्षको अन्तरालमा नै नेपालमा स्ट्यान्ड अप कमेडी विधालाई नै स्थापित गर्न सफल बनिसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७८  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro