site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तिहारका सदाबहार गीतमा चलचित्रकै वर्चस्व

काठमाडौं । नेपालमा पर्व गीतको परम्परा पुरानै हो । असार होस् अथवा तिज वा दसैँ । यी पर्वमा गाइने गीत छुट्टाछुट्टै छन् । हिन्दु नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अथवा तिहारमा गाइने गीत पनि छुट्टै छन् । पर्व गीत सबैभन्दा धेरै तिजका छन् । तिहारका गीत उल्लेख्य संख्यामा छन् । 

धार्मिक तथा पौराणिक रूपमा सुरु भएको तिहारलाई देउसी–भैलो गीतले रौनक थपेको छ । तिहार गीत भन्नेबित्तिकै केही गीत आम नेपालीको मस्तिष्कमा गुञ्जिन्छन् । यी गीतलाई सदाबहार तिहार गीतका रूपमा लिन सकिन्छ । 
 
‘तिहारै आयो, लौ झिलिमिली,
सुन हजुर भैलिनी आइन् आँगन...’

चलचित्र ‘स्वर्ग’को यो गीत बज्नेबित्तिकै तिहार आएको अनुभूति हुन्छ । यो चलचित्रलाई शम्भु प्रधानले निर्देशन गरेका थिए । चलचित्र ‘स्वर्ग’लाई चिनाउन पनि यो गीत सफल भयो । भिडियोमा नीर शाह, गौरी मल्ललगायत कलाकार छन् । यादव खरेलको शब्दरचना रहेको यो गीतमा संगीत शम्भुजित बास्कोटाको छ ।

० ० ०

चलचित्रमा तिहारको देउसी–भैलो गीत राख्ने चलन पुरानै हो । ‘बदलिँदो आकाश’, ‘सम्झना’मा पनि देउसी र भैलो गीत समेटिएको थियो ।

अहिले बनिरहेका चलचित्रमा पनि देउसी–भैलो गीत राख्ने गरेको पाइन्छ । तर, पछिल्ला चलचित्रमा समेटिएका देउसी–भैलो गीतमा स्व. श्रीकृष्ण श्रेष्ठको चलचित्र ‘कोहिनुर’को गीत निकै लोकप्रिय छ । 

‘ए हजुर यसपालीको 
तिहारै रमाइलो...’

भिडियोमा स्वेता खड्का र श्रीकृष्ण श्रेष्ठको अभिनय छ । प्रमोद खरेल र अञ्जु पन्तको स्वरमा रहेको गीतको शब्द सुन्दर श्रेष्ठले लेखेका हुन् । शम्भुजीत बाँस्कोटाले संगीत भरेका छन् ।
 
० ० ०

‘दियो बाली साँझको
फूल सजाई पूजाको...’

तिहारको अर्को सदाबहार गीत हो यो । चलचित्र ‘चिनो’मा समेटिएको यो गीत पनि तिहारमा अधिकांशले सुन्छन् । तिहार गीत भन्नेबित्तिकै धेरैले सम्झिने देउसी–भैलो गीतमा यो पर्छ ।

२०४८ सालमा निर्माण भएको यो चलचित्र प्रदर्शन भएयता यसको गीत हरेक तिहारमा बज्दै आएको छ । तुलसी घिमिरेले निर्देशन गरेको चलचित्रको यो गीतमा भारतीय गायिक आशा भोस्लेको स्वर छ ।  निर्देशक घिमिरे स्वयंले लेखेको यो गीतमा रञ्जित गजमेरले संगीत भरेका छन् ।

० ० ०

चलचित्र ‘विजय–पराजय’ले पनि नेपाली सांगीतिक क्षेत्रलाई लोकप्रिय देउसी–भैलो गीत दियो । यो चलचित्रको निर्देशन राजेन्द्र सलभले गरेका थिए । गीतको हो,

‘निधारमा लर्काएर सप्तरंगी टीका
हिँडिरहू सधैँ तिमी शिखरको बाटो...’

कवि तथा गीतकार दिनेश अधिकारीले लेखेको यो गीतले भाइटीकाको महत्त्व दर्शाएको छ । यसमा पनि शम्भुजित बाँस्कोटाकै संगीत छ । गीतमा हेमलताको स्वर सुन्न सकिन्छ ।
 
० ० ०

‘वर्षमा दिनैमा लै लै...’ 

तिहारको अर्को लोकप्रिय गीत हो यो । सुगम पोखरेलको स्वरमा रहेको गीत दसैँ र तिहारमा बज्ने नयाँ गीतमा सबैभन्दा लोकप्रिय गीत यही नै हो । दसैँ र तिहार दुवै पर्वलाई समेटेको योग गीत रवी श्रेष्ठले लेखेका हुन् । गीतमा सुगम स्वयंले संगीत भरेका छन् । यो गीतले युट्युबमा पनि राम्रो भ्युज पाएको छ । 

० ० ०
दाजु र बहिनीबीचको सौहार्दपूर्ण सम्बन्धलाई तिहार र दसैँसँग जोडेर तयार पारिएको गीत हो,

‘दाइ त मेरो लाहुर जाने...’  

युक्त गुरुङ र सावित्री शाहको स्वर रहेको यो गीतको शब्द दैवज्ञराज न्यौपानेले लेखेका हुन् । युक्त गुरुङले नै संगीत भरेको गीतमा दिदीभाइको आत्मीय सम्बन्धसँगै लाहुरेको कथा समेटिएको छ । 

० ० ०

धार्मिक तथा पौराणिक कालखण्डका कथा भन्ने पर्वका गीतमा पनि गीतकारहरूले कतै सुटुक्क युवा उमेरका केटाकेटीमा बसेको मायाप्रेमलाई घुसाएका छन् भने कतै परिवारसँग छुट्ट्एिर परदेशिएको छोराको कथा भनेका छन् । त्यसैले त यी गीत युवादेखि उमेर ढल्किँदै गरेका वृद्धवृद्धासम्मले मन पराए ।

लाहुर गएको दाइले बहिनीलाई ल्यााइदिने फूलबुट्टे सारी होस् अथवा प्रेमिकालाई ल्याइदिने मायाको चिनो नै किन नहोस्, गीतले समेटेका छन् । परिणामः यी गीतले आम संगीतप्रेमी नेपालीको मन जितेका छन् ।

तिहारका पुराना गीतको संगीतमा शम्भुजित बास्कोटाको एकछत्र वर्चस्व छ । तिहारका अधिकांश लोकप्रिय गीतमा उनले संगीत भरेका छन् । उनीसँगै तुलसी घिमिरेले पनि आफूलाई अग्रपंक्तिमा उभ्याएका छन् ।

पछिल्ला वर्षहरूमा पनि पर्व गीत नगाइएका होइनन् । चाहे तिज होस् अथवा दसैँ र तिहार । तर, ती गीतले पर्वका पुरानालाई छायामा पार्न सकेका छैनन् । महँगो स्टुडियो, सुलभ प्रविधि र भिडियो निर्माणमा महँगो लगानी भए पनि पुराना गीत नै लोकप्रिय छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  ०८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro