काठमाडौं । नेपालमा ‘मास्टर पिस’ सिनेमा छन् ? स्वयं चलचित्रकर्मीहरू नै भन्छन्– छैनन् । करिब ६ दशक लामो इतिहास तय गरिसके पनि नेपालमा हालसम्म एउटा पनि मास्टर पिस सिनेमा बनेका छैनन् ।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएका, ती फेस्टिभलमा केही विधामा अवार्ड जितेका, फिल्म मेकिङमा ग्रान्ट (विदेशी लगानी) पाएका तथा नेपालबाट ओस्कार इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएका चलचित्रहरू मध्ये पनि कुनै एउटा मात्रै पनि मास्टर पिस सिनेमा नरहेको चलचित्रकर्मीहरू नै स्वीकार गर्छन् ।
निर्देशक विनोद पौडेल ६० वर्ष लामो नेपाली चलचित्रको इतिहासमा मास्टर पिस चलचित्र कसैले पनि बनाउन नसकेको बताउँछन् । कुनै पनि एकाध इन्टरनेसनल फिल्म फेस्टिभलमा जाँदैमा त्यसलाई मास्टर पिस फिल्म भन्न नमिल्ने उनको धारणा छ । “मीन भाम, मेरो र केही साथीहरूका एकाध चलचित्र अन्तर्राष्ट्रिय फेस्टिभलमा जाँदैमा वा त्यहाँ केही अवार्ड जित्दैमा त्यो चलचित्र मास्टर पिस सिनेमा हुँदैन,” निर्देशक पौडेल भन्छन्, “म र केही साथीहरूका चलचित्र ओस्कारमा गए होलान्, तर मेरो चलचित्र मास्टर पिस सिनेमा होइन ।” नेपालमा अहिलेसम्म कोही निर्देशकले पनि मास्टर पिस सिनेमा बनाउनै नसकेको उनको भनाइ छ ।
मिडियामा राम्रो कभरेज पाउँदैमा र तुलनात्मक रूपमा राम्रो हुँदैमा त्यसलाई मास्टर पिस सिनेमा भन्न नसकिने निर्देशक पौडेल बताउँछन् । “मास्टर पिस सिनेमा त्यो हो जसमा निर्देशकले केही छुट्टै थर्ट भनेको छ । जसलाई विश्वभरका अधिकांश दर्शकले मन पराउँछन्,” उनी भन्छन्, “जुन सिनेमा विश्व चलचित्र क्षेत्रकै लागि मानक हुन्छ ।”
त्यस्ता चलचित्र किन बनाउन सकिएन भन्ने विषयमा नेपाली निर्देशकहरूले आफ्नै समीक्षा गर्ने समय आइसकेको उनी बताउँछन् । “मास्टर पिस सिनेमा बनाउन किन सकिएन भन्नेमा हामीले समीक्षा गर्नुपर्ने समय आइसकेको छ,” पौडेल भन्छन्, “मैले मेरै समीक्षा गर्नुपर्छ, किनभने म पनि यही क्षेत्रमा रहेकाले यसको हिस्सेदार म पनि हो ।”
बजारमा राम्रो कलेक्सन गरेका चलचित्रलाई बक्स अफिस रिपोर्ट राम्रो भएकै आधारमा मात्रै मास्टर पिस सिनेमा मान्न नसकिने निर्देशक विनोद पौडेलको भनाइ छ ।
नेपाली चलचित्र क्षेत्रमा एउटा चलचित्र बनाएर केही सफल भएपछि अर्को चलचित्रमा त्यति नै मिहिनेत वा त्योभन्दा राम्रो बनाउन मेकरहरू गम्भीर भएको देखिँदैन ।
किन बन्न सकेनन् नेपालमा मास्टर पिस सिनेमा ?
सामान्यतया बनाउँछु भनेर मास्टर पिस सिनेमा निर्माण नहुने निर्देशक दिनेश राउत बताउँछन् । यही बनायो भने मास्टर पिस सिनेमा हुन्छ बनेर नबन्ने उनको भनाइ छ । “अहिले विश्वमा मास्टर पिस भनिएका चलचित्र पनि मास्टर पिस सिनेमा बनाउँछु भनेर बनाइएका होइनन्,” निर्देशक राउत भन्छन्, “जसले आफ्नो थर्ट र भिजनले सिनेमा बनाए त्यही नै विश्वभर मन पराइयो । त्यसैले के बनाउँदा र कसरी बनाउँदा विश्वले मन पराउँछ भन्ने नै छैन ।”
यही र यस्तो बनायो भने मास्टर पिस सिनेमा बन्छ भन्ने भइदिएको भए सबैले त्यस्तै सिनेमा बनाउँथे भन्दै उनी अगाडि भन्छन्, “यही नै बनाउँदा विश्वभरका दर्शकले मन पराउँछन् भन्ने यकिन नहुने भएकाले आफूले भन्न खोजेको कुरा व्यक्तिगत तरिकाले भन्दा त्यही कहिलेकाहीँ मास्टर पिस सिनेमा हुन्छ ।”
मास्टर पिस सिनेमा बनाउने कुनै फर्मुला नभएको उनको भनाइ छ । “आउट अफ फर्मुला भनेर बनाइएका चलचित्र पनि मास्टर पिस भनेर आज फिल्म कलेज र इन्स्टिच्युटमा हामी पढ्न पाउँछौँ । व्यक्तिको भिजन र थर्टलाई भन्दै जाँदा त्यो अरूभन्दा फरक र राम्रो भइदियो भने त्यसलाई मन पराइँदो रहेछ,” निर्देशक राउत भन्छन् ।
तर, नेपालमा भने अहिलेसम्म बनाउँछु भनेर बनाइएका पनि मास्टर पिस सिनेमा बनेनन् भने इन्डिभिजुअल रूपमा निर्माण गरिएका चलचित्र संयोगले पनि मास्टर पिस बनेन् । नेपाली चलचित्र क्षेत्र बजार निर्देशित छ । बजारमा के बिक्री हुन्छ त्यसलाई केन्द्रमा राखेर चलचित्र निर्माण हुने गरेका छन् ।
“मलाई यो कुरा भन्नु छ भनेर बनाउने भन्दा बजारमा यो पक्ष बिक्री हुन्छ भनेर यहाँ अधिकांश चलचित्र बनाइन्छ,” उनी भन्छन्, “यो सिनेमा चल्यो, अब यस्तै सिनेमा बनायो भने चल्छ भनेर यहाँ चलचित्र बनाइन्छ । उदाहरणका लागि लुट र छक्का पञ्जालाई लिन सकिन्छ । लुट र छक्का पञ्जा बनेपछि यस्तो चलचित्र चल्ने रहेछ भनेर त्यस्तै चलचित्रको बाढी नै आयो । तर, चलेनन् । किनभने, त्यो समयका लागि लुट केही नयाँ थियो, त्यही भएर चल्यो । बजार निर्देशित भएर त्यही थर्टबाट अरू चलचित्र बनाउँदा चलेनन् ।”
दर्शकलाई सोचेर बनाउँदा औसतभन्दा माथि उठेर मास्टर पिस सिनेमा बन्ने सम्भावना कम हुने निदेशक राउतको भनाइ छ । “मलाई केही फरक कुरा मनपर्छ, त्यसैले म बजारमा जेसुकै होस् म आफ्नै सोचबाट निर्देशित भएर चलचित्र बनाउँछु भनेर बनायो भने त्यही मास्टर पिस हुनसक्छ” उनी भन्छन्, “आज मलाई मात्रै राम्रो लागेको कुरा नै भोलि विश्वभरका दर्शकले रुचाउन सक्छन् ।”
नौलो प्रयोग गर्न रुचाउनेहरूबाट यसको सम्भावना उच्च हुने उनी बताउँछन् । नेपालमा भने ‘एक्सपेरिमेन्ट’ गर्न रुचाउने फिल्ममेकर निकै कम रहेको उनको अनुभव छ । “एक्सपेरिमेन्ट गर्ने थर्ट भएको मेकरकै अभाव अथवा उसका लागि बजेट उपलब्ध गराउने फाइनान्सर नहुने अवस्था पनि छ,” निर्देशक राउत भन्छन्, “थर्ट र भिजन भएर मात्रै हुँदैन, त्यससलाई फ्लोरमा लैजान बजेट पनि चाहिन्छ । त्यसको अभाव पनि हुनसक्छ ।”
‘एक्सपेरिमेन्ट’ गर्ने तीव्र इच्चाशक्ति भएको मेकरको पनि नेपालमा कमी छ, जसका कारण नेपालमा विश्वले रुचाउने मास्टर पिस सिनेमा नबनेको चलचित्रकर्मीहरू बताउँछन् ।