site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्णालीका किसानलाई अर्को बालीका लागि बिउ जोगाउनै मुस्किल  
फाइल तस्बिर

काठमाडौं । पटक–पटक खाद्य संकटको मार खेप्दै आएका कर्णालीका बासिन्दाको धानसहित अन्नबाली अविरल वर्षासँगै आएको बाढी–पहिरोले लग्यो । खाद्य संस्थानकै भरमा बाँच्न वाध्य कर्णालीका बासिन्दाको भित्राउन ठिक्क पारिएको अन्न बाली बाढी–पहिरोले बगाउँदा अर्को बाली लगाउने बिउ जोगाउन मुस्किल परिरहेको छ ।
 
कर्णालीका किसानहरुले लगाएको मार्सि धान, मुरी धान, कोदो, फापर, सिमीलगायत अन्नबाली बाढी–पहिरोले बगाउँदा अर्को बाली लगाउन बिउ जोगाउन मुस्किल परेको हो । कति अन्नबाली खेतमै उम्रिएको, कति अन्नबाली माटोमा मिसिएको र कति बाढी–पहिरोले बगाएको छ । अब बाढी–पहिरोले माटोमा मिसाएको धानबालीबाट बिउ आउँछ की भनेर किसानले खेतमा धानको बिउ खोजिरहेका छन् ।  बिउ निकाल्ने भन्दै माटो समेतको धान उठाउन थालेका छन् । 

गत साता आइतबारदेखि निरन्तर परेको वर्षाका कारण मानवीय क्षतिसँगै अन्नबालीमा पनि क्षति पुग्यो । देशभरका विभिन्न प्रदेशहरुमा क्षति पुग्नुका साथै कर्णाली प्रदेशले पनि ठूलो क्षति व्यहोर्नुपर्यो ।
 
भित्र्याउन ठिक्क पारिएको धान थन्क्याउन नपाउँदै खेतमै डुबेपछि र बाढी–पहिरोले लगेपछि कर्णालीका किसानलाई फेरी भोकमरीको चपेटामा पर्ने चिन्ता पनि उत्तिकै छ । 

मुगुका जुनबहादुर रावत अर्को बाली धान लगाउनका लागि बिउको जोहो गर्न धान खोज्न खेतमा झरेको बताउँछन् । ‘‘वर्षभरी परिश्रम गरेर भित्र्याउने बेला भएको धानबाली वर्षाले लग्यो । खेतबारीमा लगाएको धान अन्नबालीले ६ महिना खान पुग्दैनथ्यो । अहिले त झन बाढी–पहिरोले सबै लग्यो । अब के खाने, कसरी परिवार पाल्ने ?,” रावतले गुनासो गरे । 
 
कर्णालीको दुर्गम जिल्ला हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायतका जिल्लाहरुका बासिन्दाहरुको पीडा पनि उस्तै छ । लगातारको वर्षाले कर्णालीका १० ओटै जिल्लामा असर परेको छ ।

हुम्ला जिल्लाका हिक्मत जंग शाही खाने अन्न त के अर्को बाली लगाउन बिउको जोहो गर्न समेत गाह्रो हुने अवस्था आएको बताउँछन् । ‘‘चार कट्ठा जमिनमा धान खेती थियो । खोला किनाराका सबै खेतको धान बगायो । अब कसरी खाने, कहाँबाट बिऊ ल्याउने भन्ने पिरलो पर्न थालेको छ,” उनले भने, ‘‘धान काटेर खेतभरी सुकाएका थियौँ । एक्कासी बाढिपहिरो आयो र सबै लग्यो,” उनले भने, ‘‘सात जनाको परिवार अब कसरी पाल्ने ? वर्ष दिनको कमाइ एकैपटक स्वाहा भयो । अर्को बाली लगाउने बेला हुँदैछ । कहाँबाट बिउ खोजेर रोप्ने ? माघ फागुनमा अर्को अन्नबाली रोप्ने बेला हो ।”

कर्णालीका यी जिल्लाहरुमा धानसँगै कोदो, गहुँ, सिमी, फापर, आलु, स्याउ, भटमास धेरै उत्पादन हुन्छ ।
 
धानसँगै कोदो, आलु, सिमी, फापरलगायत अन्नबाली पनि बाढी–पहिरोले सखाप बनाएको छ । ४८ हजार हेक्टर क्षेत्रफलमध्ये ११ हजार पाँच सय हेक्टर क्षेत्रफलको धानबाली क्षति भएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । 

निर्देशनालयका अनुसार कालीकोटमा एक हजार ११५ हेक्टर, मुगुमा एक हजार ३७५ हेक्टर, सुर्खेतमा दुई हजार ५०० हेक्टर, दैलेखमाा एक हजार ५०० हेक्टर, जुम्लामा ७०८ हेक्टर क्षेत्रफल, सल्यान दुई हजार ७५८ हेक्टर, रुकुमपश्चिममा ६१० हेक्टर, जाजरकोट ७५३ हेक्टर र डोल्पामा १५० हेक्टर क्षेत्रफलको धानबाली क्षति भएको छ । 

सुर्खेतका निमित्त निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायाले भित्राउन ठिक्क पारेको धानबाली क्षति हुँदा यसपालिको धानबाली उत्पादन घट्ने बताए । उनले कर्णालीमा ३० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको प्रारम्भिक अनुमान रहेको जानकारी दिए । ‘‘क्षतिको यकिन विवरण आउँन बाँँकी नै छ । विगतका वर्षहरुमा भन्दा यो वर्ष धानबालीको उत्पादन घट्ने अनुमान लगाएका छौँ,” उनले भने ।
 
यस्तै अन्य अन्नबालीको यकिन विवरण नआइसकेको जनाइएको छ । कर्णालीका अधिकांश जिल्लामा पाकेको अन्न बाली भित्र्याउने सिजन असोज–कात्तिक हो  । 

करिब ६ जिल्लाका बासिन्दा खाद्य संस्थानकै भर पर्दै आएका छन् । सुर्खेत, दैलेख, सल्यान र रुकुमपश्चिममा किसानको आवश्यकता अनुसार खाद्यन्न उत्पादन हुन्छ । कालिकोट, जुम्ला, जाजरकोट, मगु, डोल्पा र हुम्ला जिल्ला खाद्य संस्थानकै भर पर्छन् । दुर्गम जिल्लाका नागरिक दुईदेखि पाँच दिनसम्म लगाएर खाद्य संस्थान पुगेर चामल ल्याउने गरेका छन । त्यही पनि कतिपय नागरिकले चामल पाउँदैनन् । सरकारी तथ्यांक अनुसार कर्णालीमा वार्षिक २३ हजार मेट्रिक टन खाद्यन्न अपुग हुने गरेको छ । 

अझै मौन छ प्रदेश सरकार 
कर्णाली प्रदेश सरकारले कृषकलाई कस्तो खालको सहयोग गर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन । कर्णाली प्रदेश मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव राजकुमार श्रेष्ठ कृषकहरुको हकमा अहिले कुनै निर्णय नगरेको बताउँछन् । 

‘‘अहिले कर्णाली प्रदेशका १० ओटै जिल्लामा कति क्षति पुग्यो भन्ने विवरण माग गरिएको छ । कृषि, अन्नबाली, पशुचौपया, पूर्वाधारहरुको क्षतिको यकिन विवरण आइसकेपछि मात्रै सहयोग गर्ने भन्ने कुरा हुन्छ । कस्तो किसिमको सहयोग गर्ने भन्ने सम्बन्धित मन्त्रालयले प्रस्ताव गर्छ । त्यसपछि मात्रै के गर्ने भन्नेबारे निर्णय गरिन्छ,” उनले भने ।

कर्णाली प्रदेश सरकारले विपदमा परी मृत्यु हुनेहरुका परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । 
 
यस्तै मुगु जिल्लामा बस दुर्घटना हुँदा ३३ जनाले ज्यान गुमाए । उनीहरुका परिवारलाई एक/एक लाख रुपैयाँ दिने निर्णय भएको छ । विगतका वर्षमा पनि कर्णालीबासीले खडेरी पर्दा पनि यस्तै किसिमको पीडा खेप्दै आएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro