काठमाडौं । सरोकारवाला निकायको पर्याप्त पहलको अभाव र सरकारी निकायको न्यून सहयोग घोषणाका कारण नेपाली चलचित्र लामो समय रिलिज नहुने भएका छन् । दसैँ र तिहारमा समेत रिलिज नभएका नेपाली चलचित्र अब फागुनसम्म करिब–करिब रिलिज हुने छैनन् ।
तिहारमा पनि रिलिज नहुने भएपछि अब नेपाली चलचित्र प्रदर्शनका लागि फागुन पुग्ने वितरक तथा प्रदर्शकहरू नै बताउन थालेका छन् । जाडो महिना चलचित्र रिलिजका लागि प्रतिकूल मानिन्छ । सामान्य अवस्थामा पनि जाडो महिनामा निर्माता तथा निर्देशकहरूले हम्मेसी चलचित्र रिलिज गर्दैनन् । बिग बजेट र ठूला ब्यानरका चलचित्रले सकेसम्म जोडो महिना छलेर रिलिज डेट लिने गरेका छन् ।
“अहिलेसम्मको अवस्था हेर्दा तिहारमा चलचित्र रिलिज नहुने देखियो । तिहार सकिँदा जाडो महिना सुरु हुन्छ । जाडो चलचित्र रिलिजका लागि उपयुक्त समय मानिँदैन,” वितरक तथा प्रदर्शक गोपालकाजी कायस्थ भन्छन्, “त्यसैले ठूलो बजेट लगानी गरेर निर्माण गरिएका चलचित्र अब करिब–करिब फागुनभन्दा अगाडि आउँदैनन् ।”
जाडो चलचित्र रिलिजका लागि ‘अफ सिजन’
जाडो मौसम ‘अफ सिजन’ भएकाले निर्माताहरूलाई रिलिजका लागि आग्रह पनि गर्न नसकिने उनको भनाइ छ । “करोडौँ लगानी गरेर निर्माण गरिएका चलचित्रमा जोखिम लिन कोही पनि तयार हुँदैन र यो स्वाभाविक पनि हो,” उनी भन्छन्, “आफ्नो लगानी सुरक्षित गर्न सबैले चाहन्छ । हामी भए पनि गर्ने त्यही नै हो । त्यसैले तपाईं चलचित्र रिलिज गर्नूस् भनेर भन्न पनि सकिन्न ।” सानो ब्यानरका केही चलचित्र प्रदर्शनमा आए पनि त्यसले दर्शक तान्न नसक्ने उनी बताउँछन् । साना ब्यानरका केही चलचित्रले भने रिलिज डेट घोषणा गरेका छन् ।
जाडो महिनामा बिहान र बेलुकाको शो चिसोका कारण प्रभावित हुने हुँदा निर्माताहरू चिसो छलेर रिलिज डेट लिने गर्छन् । यो वर्ष मेकरहरूले लिएको रिलिज डेटले पनि अपेक्षित चलचित्र जाडो महिनापछि आउने पुष्टि गर्छ । ‘ए मेरो हजुर–४’ ले चैत २५ गतेका लागि रिलिज डेट लिएको छ । ‘लप्पन छप्पन–२’ फागुन १३ गते प्रदर्शन हुने भएको छ । ‘चिसो मान्छे’ले वैशाख ३० गतेलाई रिलिज डेट लक गरेको छ । ‘म यस्तो गीत गाउँछु’, ‘प्रेम गीत’, ‘चपली हाइट’का सिरिजले प्रदर्शनको मिति तोकेका छैनन् । ‘पानी फोटो’ निर्देशक खगेन्द्र लामिछाने र ‘दयारानी’ निर्देशक माओत्से गुरुङले पनि रिलिजका लागि हतार नगर्ने बताएका छन् । यसले पनि जाडो महिना नससकिएसम्म नेपाली चलचित्र रिलिज नहुने संकेत गर्छ ।
‘पर्ख र हेर’को रणनीतिमा मेकर
‘पर्ख र हेर’को रणनीतिमा निर्माताहरू रहेको निर्देशक दिनेश राउत बताउँछन् । “कसैले पनि सुरुमा आउने आँट गरेको छैन । अरूको चलचित्र रिलिज भएपछि त्यसको रिजल्ट कस्तो आउँछ, त्यसका आधारमा रिलिज गर्ने अथवा नगर्ने निर्णयमा पुग्ने रणनीतिमा मेकरहरू छन्,” दिनेश भन्छन्, “कसको चलचित्र पहिला रिलिज होला भन्दाभन्दै अब बलिउड चलचित्र सूर्यवंशी आएपछि त्यसको बजार हेरेर मात्रै नेपाली चलचित्र आउने देखियो । सूर्यवंशी आएर यसको रिजल्ट हेरिसक्दा माघपछि मात्रै नेपाली चलचित्र रिलिज होलान् ।”
करिब दुई वर्षसम्म चलचित्र ‘होल्ड’ भइसकेका कारण अब हतार गर्ने पक्षमा निर्माताहरू छैनन् । लामो समय करोडौँ बजेट फ्रिज हुँदा त्यसको मार बेहोरेका निर्माता अब सहज अवस्थाको पर्खाइमा छन् ।
छायांकन सकेर पोस्ट प्रोडक्सनमा रहेका चलचित्रले पनि काम सक्न हतार गरेका छैनन् । निर्देशक दिनेशको चलचित्र ‘प्रकाश’ पोस्ट प्रोडक्सनमा छ । तर, उनी हतार नगरी काम गरिरहेका छन् । “प्रदर्शनका लागि यसअघि नै निर्माण भइसकेका चलचित्र छन्, त्यसैले अहिले हतार गरेर काम सकाउनुको अर्थ छैन,” निर्देशक दिनेश भन्छन् ।
छायांकनमा जाने तयारी यसअघि नै गरिसकेका निर्माताहरूले पनि अहिले फ्लोरमा जान हतार गरेका छैनन् । प्रदीप भट्टराई, निश्चल बस्नेतलायतले छायांकनमा जाने तयारी यसअघि नै गरिसके पनि उनीहरूले अहिले हतार गरेका छैनन् । निर्माण सम्पन्न भइसकेका चलचित्र नै रिलिज नभएर थन्किएको अवस्थामा हतार गरेर फाइदा नहुने भन्दै उनीहरूले हतार गरेका छैनन् ।
सरोकारवालाले गरेनन् पहल ?
सरकार र चलचित्र संघको आवश्यक पहल र सहयोग नगरेको दिनेश बताउँछन् । “चलचित्र विकास बोर्ड र चलचित्र संघले आकर्षक सहयोग गरेर चलचित्र रिलिजका लागि पहल गर्न सक्थे । केही प्रतिशत निर्माताई ग्यारेन्टी गर्न सक्थे । तर, त्यो नगर्दा वर्षौँदेखि चलचित्रमा लगानी भएको रकम फ्रिज भएर बसेको छ,” उनी भन्छन्, “एकपटक रिलिज भइसकेपछि पुनः रिलिज गर्ने प्रकृतिको बिजनेस चलचित्रमा हुँदैन । त्यसैले कसैले पनि एक्लै रिस्क लिन नसक्दा रिलिज पछि सर्दै गएको हो ।”