काठमाडौं । यो वर्ष तिहारमा पनि नेपाली चलचित्र रिलिज नहुने भएका छन् । तिहारअघि बिग बजेटका हिन्दी चलचित्र नआउँदा तिहारमा पनि नेपाली चलचित्र रिलिज नहुने निश्चित प्रायः भएको हो ।
ठूलो ब्यानरका हिन्दी चलचित्र रिलिज भएपछि मात्रै आफ्नो चलचित्र रिलिज गर्ने तयारीमा नेपाली निर्माता छन् । यसअघि, बलिउड सिनेमा ‘सूर्यवंशी’ तिहारअघि नै प्रदर्शनमा आउने र नेपाली चलचित्र पनि रिलिज गर्ने मनस्थितिमा नेपाली निर्माता थिए । तर, सूर्यवंशीको बजार हेरेर मात्रै आफ्नो चलचित्र रिलिज गर्ने निर्माताको तयारी छ । त्यसैले तिहारमा नेपाली चलचित्र नआउने निश्चित भएको हो ।
अहिलेसम्म नेपाली चलचित्र प्रदर्शनका लागि कुनै पनि निर्माता तथा निर्देशकले वितरक तथा प्रदर्शकलाई प्रस्ताव गरेका छैनन् । अब पनि रिलिजका लागि प्रस्ताव नगर्दा तिहारमा प्रदर्शन हुने चलचित्रलाई प्रचार–प्रसारका लागि समय पुग्दैन ।
“अहिलेसम्म कसैले पनि नेपाली चलचित्रका लागि प्रस्ताव गरेको छैन । अहिलेसम्म रिलिजका लागि डेट नलिनु भनेको करिब–करिब प्रदर्शन हुँदैन भन्ने हो,” क्यूएफएक्स चेनका व्यवस्थापक रोशन अडिगा भन्छन् ।
सिंगल थिएटर सञ्चालक तथा वितरक गोपालकाजी कायस्थले पनि नेपाली चलचित्र तिहारमा रिलिज नहुने निश्चितजस्तै भएको बताए । अहिलेसम्म कसैले पनि रिलिज डेट नलिएको उनको भनाइ छ । हिन्दी चलचित्र रिलिज भएपछि मात्रै नेपाली निर्माताहरूले आफ्नो चलचित्र प्रदर्शन गर्ने उनले बताए ।
“ठूलो ब्यानरको हिन्दी चलचित्र रिलिज नभएसम्म अब नेपाली चलचित्र रिलिज हुने सम्भावना छैन । हिन्दी चलचित्र रिलिज भएपछि मात्रै नेपाली निर्माताले डेट लिनेछन्,” गोपाल भन्छन्, “सूर्यवंशी रिलिज भएपछि त्यसपछि दर्शक हलमा जान थाले भन्ने विश्वास भएपछि नेपाली चलचित्र पनि प्रदर्शनमा आउनेछन् ।” ठूलो ब्यानरका अपेक्षित चलचित्र रिलिज नभएसम्म केही साना नेपाली चलचित्र रिलिज भए पनि त्यसले दर्शकलाई हलसम्म तान्न नसक्ने उनको भनाइ छ ।
दर्शकले पर्र्खिएका चलचित्र रिलिज हुन केही समय लाग्ने उनले बताए । यद्यपि, राम्रो चलचित्र भए अहिले पनि दर्शक हलमा जाने उनी बताउँछन् । कोरोनाको त्रासका कारण हलसम्म दर्शक जाँदैनन् कि भन्ने आशंका निर्देशक तथा निर्मातामा रहे पनि त्यस्तो आशंका गर्नु नपर्नेमा उनको जोड छ ।
क्यूएफएक्स चेनका व्यवस्थापक रोशन अंग्रेजी चलचित्र हेर्न ठूलो संख्यामा दर्शक आउनुले कोरोनाको त्रासकै कारण नेपाली चलचित्रको बक्सअफिस प्रभावित होला भन्ने शंका गर्नुपर्ने ठाउँ नरहेको बताउँछन् । राम्रो चलचित्र भए दर्शक हलसम्म आउने पुष्टि भएको उनको भनाइ छ । विकेन्डमा ‘नो टाइम टु डाइ’मा हाउसफुल हुनु र ‘फास्ट एन्ड फ्युरियस–९’मा ७० प्रतिशतसम्म अकुपेन्सी हुनुले कोरोनाको त्रासको असर पर्छ भन्ने नरहेको रोशन बताउँछन् ।
सुरुमा सिनेमा हल खुलेको खण्डमा दसैँमा नै नेपाली चलचित्र रिलिज हुने अपेक्षा प्रदर्शक तथा वितरकको थियो । काठमाडौं उपत्यकासहित केही जिल्लामा हल त खुले, तर हिन्दी चलचित्र रिलिज नहुँदा नेपाली चलचित्र पनि प्रदर्शनमा आएनन् ।
नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन चलचित्रका वितरक, प्रदर्शक, निर्माता सहभागी अशोक शर्माको नेतृत्वमा ११ सदस्यीय सहजीकरण कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले दसैँमा चलचित्र रिलिजका लागि निर्माता तथा निर्देशकहरूसँग पहल गर्यो । तर, कोही पनि रिलिजका लागि तयार भएनन् । तिहारमा हिन्दी चलचित्र रिलिज हुन्छन् भन्ने अपेक्षा धेरैको थियो । यद्यपि, तिहारमा पनि हिन्दी चलचित्र नआएपछि नेपाली चलचित्र पनि रिलिज नहुने अवस्था आएको छ ।
अर्जुन कुमार र दीपेन्द्र के खनाल विकास बोर्डको सहयोगसँगै प्रदर्शकले लगानीको केही प्रतिशत मिनिमम ग्यारेन्टी दिए तिहारमा आफ्नो चलचित्र रिलिज गर्ने मनस्थितिमा थिए । तर, प्रदर्शक मिनिमम ग्यारेन्टीका लागि तयार नभएपछि उनीहरू पनि पछि हटे ।
‘चपली हाइट–३’ कहिले रिलिज हुन्छ निश्चित छैन । तर, दीपेन्द्र के खनालले ‘चिसो मान्छे’को रिलिज डेट लिइसकेका छन् । आउँदो वर्षको वैशाख ३० गतेका लागि उनले प्रदर्शन मिति लिएका छन् । त्यसैले यो वर्षको तिहारमा पनि दर्शकले नेपाली चलचित्र हेर्न नपाउने भएका छन् ।
चलचित्र विकास बोर्डको तथ्यांकानुसार पाँच दर्जन चलचित्र निर्माण भएर रिलिजका लागि तयार छन् । तर, रिलिजका लागि भने कसैले पनि हतार गरेका छैनन् ।
अंग्रेजी चल्दा नेपाली चलचित्र किन चलेन ?