site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाटक हेरेर कविता लेखी पुरस्कार जित्ने अवसर !

काठमाडौं । तपाईंले कथा, कविता, उपन्यासलाई नाटकमा रूपान्तरण गरेर मञ्चन भएको त धेरैपटक हेर्नु भएको होला । तर, के तपाईंले मञ्चन भइसकेको नाटकबाट कविता लेखेको कहिले देख्नु वा आफैँले लेख्ने मौका पाउनु भएको छ ?

यदि छैन भने तपाईंका लागि शिल्पी थिएटरले यो मौका जुराइदिने भएको छ । अब तपाईंले शिल्पीको नाटक ‘ठुला माछा–साना माछा’ हेरेर अब कविता लेखी पुरस्कार जित्न सक्नुहुनेछ ।

नाटक हेरेर कविता लेखेर पुरस्कार जित्ने सम्भवतः यो पहिलो प्रयास हो । तर, करिब १४ वर्षअघि रंगकर्मी सुनील पोखरेलको नेपाली अनुवादित नाटक ‘अ डल्स हाउस’ हेरेर केही दिग्गज कविहरूले कविता लेखिसकेका छन् । यसका साथै नाटक हेरेर केही पेन्टिङ पनि कोरियो । 

रंगकर्मी पोखरेलकाअनुसार नेपालका लागि नर्बेजियन राजदूतको घरमा रंगकर्मी निशा शर्माले नाटकको सानो हिस्सामात्रै प्रस्तुत गरेकी थिइन् । नाटक मञ्चनपछि कवि राजेन्द्र सलब, मञ्जुल लगायत कविहरूले कविता लेखेका थिए । 

तर,त्यसमध्ये कविता नाटकमै आधारित थियो कि थिएन भन्ने उनलाई धमिल सम्झनामात्रै छ । उनी यकिनका साथ भन्न सक्दैनन् ।

यसअर्थमा, हरेकपटक केही न केही नयाँ प्रयास गरेर नेपाली रंगमञ्च र रंगकर्मीलाई जीवित राख्ने गरेको शिल्पीको यो अर्को एउटा प्रयास पनि सम्भवतः पहिलो नै हो ।

रंगकर्मी तथा शिल्पीका निर्देशक घिमिरे युवराज नाटक र कविता अनि रंगकर्र्मी र कविहरूको पुरानो अनि निकट सम्बन्ध भएको मान्छन् । नाटकघरका नियमित दर्शकमा कविहरू पनि पर्ने उनी बताउँछन् । 

“नाटकघर र कविहरूको सम्बन्ध त पुरानै हो । तरपनि नयाँ कविहरूलाई योसँग कसरी जोड्ने अनि पुरानै कविहरूसँगको सम्बन्ध पनि अझै गाढा कसरी बनाइराख्ने भन्ने खुल्दुली सधैँ भइरहन्थ्यो,” घिमिरे युवराज भन्छन्, “त्यसैले यो नयाँ प्रयास किन नगर्ने त भन्नेर हामीले पहल गर्न लागेका हौँ ।”

‘नाटक हेर्नुस्, कविता लेख्नुस्, पुरस्कार जित्नुस्’ थिममा आधिरित यो कविता प्रतियोगिता अहिलेका लागि केही निश्चित ठाँउका व्यक्तिहरूले मात्रै भाग लिन पाउने छन् । 

‘शिल्पी नाट्य यात्रा २०७८’ अन्तर्गत नाटक टोली कात्तिक ४ गतेदेखि १७ गतेसम्म मोफसल यात्रामा रहनेछ । मोरङ, सुनसरी र झापाको प्रत्येक ७–७ वटा जिल्लामा जम्मा २१ शो मञ्चन गरिने रंगकर्मी घिमिरे युवराज बताउछन् । उनकै निर्देशन र परिकल्पना रहेको यो नाटकलाई शिल्पी थिएटरले ‘मुक्त नाटक’को नाम दिएको छ । 

ठाँउको पावन्दी नभएको (बोर्डर लेस) र दर्शकको सीमा पनि नभएकाले पनि यसलाई मुक्त रङ्गमञ्चको नाम दिइएको निर्देशक घिमिरेले बताए । 

खुला ठाँउमा मञ्च तयार गरेर यो नाटक मञ्चन गरिन्छ ।यसअर्थमा यसमा सडक नाटकको पनि केही विशेषता छन् भने यता बन्द कोठामा रंगमञ्चमा गरिने नाटकको विशेषता पनि छ । 

कवि शकुन्तला जोशीको संयोजकत्वमा अरू तीनजना दिग्गज कविहरूको निर्णायकत्वले उत्कृष्ट चार कविताका सर्जकलाई रु २५–२५ हजारका दरले नगद र प्रमाणपत्रसहित सम्मान गर्नेछ ।

कोरोना कहरमा रंगकर्मीहरू र नाटकघर अझै आर्थिक मारमा परेको भन्ने खबर सुनिरहँदा शिल्पीले राखेको पुरस्कार राशीबारे प्रस्ट्याउँदै घिमिरे युवराजभन्छन्, “मैले बारम्बार भन्दै आइरहेको छु कि रंगकर्मीहरू सक्रिय हुने भनेकै यस्तो जटिल परिस्थितिमा हो । आयो पुरस्कार राखिको कुरा, हामीले आयोजना गरेको भएपनि हामीलाई सम्बन्धित ठाँउको स्थानीयस्तरबाट सहयोग हुन्छ । उहाँहरू हाम्रो यो आइडिया सुनेर खुसी हुनुभएको छ ।”

यो ‘आइडि’या फुर्नुमा उनी कहीँकतै नागरिक आन्दोलनलाई पनि श्रेय दिँदै भन्छन्, “हो कहीँकतै त्यसैबाट फुरेको भन्दा पनि हुन्छ । जसरी नागरिक आन्दोलनमा कविता र नाटकको संयोजन देखियो त्यसले मलाई आफू एकलकाटे हुनुहुँदैनजस्तो लाग्यो । अरूविधासँग पनि मिलेर अघि बढौँ भनेर हो ।”

नागरिक आन्दोलनमा शिल्पीका रंगकर्मीहरू सुरुवातदेखि नै निरन्तर सक्रिय रूपमा लागिरहेका छन् । 

यो नाटक हेरेर कविता प्रतियोगिताको आयोजना गर्नुको कारणमध्ये अर्को भनेको कोरोनाकालपछि दर्शकलाई पुनः थिएटरमा फर्काउनु पनि रहेको घिमिरे युवराज बताउँछन् ।

अहिले काठमाडौं बाहिरका दर्शकलाईमात्रै केन्द्रित भए पनि विस्तारै काठमाडौंका दर्शकका लागि पनि यो मौका दिइने उनले बताए । 

कविताका मापदण्डहरू :
१. कविता अधिकतम २०० शब्दमा समेटिएको हुनुपर्ने, 
२. कविता टाइप गरेर वा फोटो खिचेर थिएटरको वेबसाइटमा अपलोड वा पोस्ट बक्स नम्बर ८२६६ मा पठाउन सकिने, 
४. कविता लेखनमा भाषाको सीमा छैन, आफूलाई सहज लाग्ने भाषामा लेख्न सकिने,
५. कविता नाटक (ठूला माछा साना माछा) को विषयवस्तुमा आधारित हुनुपर्ने, 
६. पहिलो चरण अन्तर्गत (सुनसरी, मोरङ र झापा) नाटक हेर्न अवसर प्राप्त गर्ने सर्जकहरूका लागि ०७८ मंसिर ३० गतेसम्म कविता पठाइसक्नुपर्ने, 
७. सर्जकले आफ्नो सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने, 
८. यस कविता प्रतियोगिताको अन्तिममा नतिजा आगामी ०७९ वैशाख १५ गते प्रकाशित गरिने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  ०७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro