काठमाडौं । सहरी क्षेत्रमा बाल्यकालको दसैँलाई सम्झिने हो भने झट्ट हाम्रो दिमागमा आउँछ, लट्ट्ई अनि रंगीबिरंगी पुच्छर भएका चंगाहरू । कुनै समय दसैँ आएको थाहा दिने भनेकै हप्तौँअघिदेखि निलो आकाशमा उडिरहेका चंगाहरू हुन्थे । लंगुरबुर्जाले दसैँ दैलोमै आएको आभास हुन्थ्यो ।
सोही स्मृतिलाई ताजा गर्न गायक सुगम पोखरेलले तयार पारे गीत । दसैँ आएसँगै गायक पोखरेलका दसैँ गीतहरू गुन्जिन थाल्छन् ।
“अहिले चंगा, लट्ट्ई, लिंगेपिङ, रोटेपिङ, लंगुरबुर्जादेखि लिएर सबै हराइसके । त्यसैले मैले मेरो स्मृतिमा भएका यी सबै चिजहरूलाई याद गर्दै बच्चाहरूका लागि भनेर यो रमाइलो गीत ल्याएको हुँ,” सुगम आफ्नो पछिल्लो दसैँ गीतबारे बेलिविस्तार लगाउँछन् ।
बालबालिकालाई समर्पित गर्दै सुगमले दुई वर्षअघिको दसैँमा ‘शुभ दसैँ’ ल्याए । सुगमको शब्द, संगीत र स्वर रहेको यो गीतमा उनकी छोरी एन्जेलिजाले पनि स्वर भरेकी छन् ।
उनले यो मात्रै होइन, अरू पनि दसैँ गीत बजारमा ल्याइसकेका छन् । ती मध्ये हरेक दसैँमा घरघर, जमघटमा सुनिने गीतहरू हुन्, ‘दसैँ तिहार’ र ‘दसैँ आयो’ । हुन त दसैँका अरू गीतहरू पनि गुन्जिन्छन् । तर, यी गीतहरू ‘मिस’ हुँदैनन् ।
‘दसैँ तिहार’ गीतबारे सुगम भन्छन्, “सन् २००८ मा दसैँको बेला सांगीतिक यात्राका लागि अमेरिकामा थिएँ । हामी परिवारभन्दा टाढा थियौँ । मलाई त्यो समय हामीजस्तै दसैँमा परिवारसँग हुन नपाएका, विदेशमा भएका नेपालीहरूको याद आयो र मसँग भएको केही शब्दलाई साथी रवि श्रेष्ठलाई दिँदै गीत लेखिदिन भनेँ ।”
यो गीतले दसैँको रमाइलो माहोलका साथै तिहारको दिदीभाइहरूबीचको मिलन अनि मायालाई पनि समेटेको छ । उनका अनुसार यो गीत रिलिज भएको दुई/तीन वर्षसम्म स्रोता–दर्शकले त्यति याद गरेनन् । सन् २०१६ देखि भने यसको चर्चा चुलियो ।
सुगम भन्छन्, “यो गीत हामीले करिब २०१०/०११ तिर रिलिज गरेका थियौँ । रेकर्ड गरेको पहिलो वर्ष कसैलाई पनि थाहा भएन । २०१२ मा पनि थाहा भएन, २०१३ मा पनि त्यति याद गरिएन । तर, २०१४ देखि अलिअलि सुन्न थालियो र २०१७ सम्म आउँदा त ‘एन्थम’ नै भयो ।”
अर्को ‘दसैँ आयो’ गीतमा गायक पोखरेलकै शब्द, स्वर र कम्पोजिसन छ ।
दसैँ भन्नेबित्तिकै सुगमको दिमागमा ‘क्लिक’ भइहाल्ने भनेको पारिवारिक जमघट नै हो । अरू पर्वहरूभन्दा पनि दसैँलाई विशेषगरी वर्षाैँदेखि टाढा रहेका परिवारसँगै बसेर रमाइलो गर्ने राम्रो मौकाको रूपमा उनी लिन्छन् । परिवारसँगै दसैँ मनाउँदाको मज्जा बेग्लै हुने उनी बताउँछन् ।
“सांस्कृतिक रूपमा त यसको महत्व छ नै, योबाहेक पारिवारिक पाटोबाट हेर्दा पनि वर्षभरि बाहिर गएकाहरू पनि पारिवारिक भेटघाटका लागि यही राम्रो माहोल बन्छ । अरू राम्रो कुराहरू पनि होला, तर मलाई यो चाडपर्व परिवारको मिलनविन्दु पनि हो जस्तो लाग्छ,” उनी भन्छन् ।
उनी अगाडि थप्छन्, “हाम्रो देशको हरेक घरबाट एक–दुईजना विदेशमा छन् । अथवा, कामको सिलसिलामा मजस्तै जानुभएको होला । यति मात्रै होइन, तपाईंहरूजस्तो पत्रकार अनि आर्मी, प्रहरी पेसामा भएका कतिले हरेक वर्षको दसैँ परिवारसँग मनाउन पाउँदैनन् ।”
अहिले प्रविधिले गर्दा केही सहज भएको उनी बताउँछन् । “अहिले दूरी जति टाढा भए पनि प्रविधिको विकासका कारण भर्चुअल भेटघाट दिनानुदिनजस्तो हुन्छ । नयाँ लुगा पनि अनलाइन सपिङको जमानामा एक क्लिकमै हुन्छ । अनि, मासु–चिउरा खान दसैँ नै कुर्नुपर्दैन,” सुगमले भने ।