site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महानायक अर्थात् ‘बेकार’को बहस
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्रमा बेला–बेलामा पद र पदावलीको विवाद उठिरहन्छ । कहिले महानायक को हो भनेर त कहिले महानायिका को भनेर । यस्ता पदावली दिने न आधारिक कुनै सरकारी निकाय हुन्छन् न त त्यसको विश्वसनीय संस्था नै । त्यसैले पनि यस्ता पदावलीलाई लिएर विवाद भइरहन्छ ।

विशेषगरी नेपाली चलचित्र उद्योगमा ‘महानायक’ को हो भन्ने विषयलाई लिएर चर्को बहस हुने गरेको छ । भलै, यस्ता बहस चलचित्रसम्बन्धी ठूला फोरमहरूमा भने भएका छैनन् । सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा को ‘महानायक’ भन्ने विषयमा गरमागरम बहस भइरहेकै छ । चाहे दीपाश्रीले कोभिड–१९ का कारण भएको पहिलो लकडाउनमा राजेश हमालबारे बोल्दा भएको विवाद होस् अथवा पछिल्लो समय भुवन केसीलाई शिव श्रेष्ठले घुमाउरो शैलीमा ‘महानायक’ भनेको प्रसंग होस् वा गौरी मल्ललाई ‘महानायिका’ भनेको विषय होस् । समय–समयमा यो विषयले स्थान पाइरहेकै छ ।

‘महानायक’ मात्रै होइन, ‘महानायिका’को पदावली पनि करिश्मा मानन्धरलाई दिइयो । उनले पनि ‘महानायिका’को पदावलीको ताज पहिरिन् राजेश हमालबाट । केही हप्ता अगाडि शिव श्रेष्ठले ‘माहानायिका’ गौरी मल्ल भएको बताए । लगत्तै गौरी मल्लले आफूलाई यस्ता पदावलीको कुनै मोह नरहेको स्पष्ट पारिन् । आफूलाई राम्रो काम र दर्शकको मायासँग मात्रै सरोकार रहेको बताइन् । उनको यो प्रतिक्रियालाई धेरैले रुचाए ।

KFC Island Ad
NIC Asia

राजेश हमालले भने ‘महानायक’को तलाउमा कसैले ढुंगा हानेर त्यसको तरंग किनारातर्फ फैलिँदै गर्दा सामाजिक सञ्जालमा आएर आफूविरुद्ध बोल्नेहरूलाई गालीगलौजमा नउत्रिन भन्ने गरेका छन् । उनले कहीँ कतै पनि आफू ‘महानायक’ नभएको र आफ्नो कामको मूल्यांकन मात्रै गरिदिन र अनावश्यक पदावलीले सुशोभित नगरिदिन आग्रह गरेका छैनन् । उनले कुनै पनि कालखण्डमा काम गर्ने हरेक व्यक्तिको योगदान हुने भन्दै योगदानका आधारमा व्यक्तिको कदर हुनुपर्ने बताएका छन् । यसको अर्थ उनलाई दिइएको उक्त पदावलीप्रति उनी असन्तुष्ट छैनन् ।

यो त भयो ‘महानायक’ र ‘महानायिका’को पदावलीको कुरा । यसबाहेक पनि नेपालमा थुप्रै पदावली प्रयोगमा आइसकेका छन् । ‘सुपरस्टार’, ‘मेगास्टार’, ‘सदाबहार नायक÷नायिका’ आदि ।

Royal Enfield Island Ad

यी विषय नेपाली चलचित्रका लागि आवश्यक छन् कि छैनन् ? केही चलचित्रकर्मीहरू भन्छन्– छैन । अनावश्यक विषयहरू उठान भइरहेको उनीहरूको भनाइ छ । यस्ता विषयमा हुने बहसले चलचित्र क्षेत्रलाई माथि उठाउन मद्दत नगर्ने चलचित्रकर्मीहरूको बुझाइ छ । चलचित्रले उठान गर्ने विषय र त्यसले छाड्न सक्ने प्रभावका विषयमा बहस हुनुपर्नेमा अन्य विभिन्न पदावलीमा अग्रज चलचित्रकर्मीहरू नै अल्झिरहेको उनीहरूको गुनासो छ । यसले नेपाली चलचित्र र चलचित्रकर्मी कहाँ छन् भन्ने यथार्थलाई उजागर गरेको निर्देशक सुजित बिडारी बताउँछन् ।

असली योगदानकर्ता त्यो हो, जसले अप्ठ्यारो पर्दा चलचित्र उद्योगलाई आफ्नो तर्फबाट योगदान गर्छ । राजेश हमालले आफूले सुरुआती वर्षमा ठूलो संख्यामा चलचित्र खेलेर यस क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न योगदान गरेको दाबी गर्दै आएका छन् । वर्षमा दुई/चारवटा चलचित्र बनिरहेका बेला आफूले त्यसलाई बढावा दिएको बताउँदै आएका छन् ।

महानायक–महनायिकाको हल्ला मौसमी हल्ला भएको सुजितको ठहर छ । कसलाई यो हल्ला चलाउँदा फाइदा हुन्छ, त्यही समयमा उसले हल्ला चलाइरहेको उनको भनाइ छ ।

कला क्षेत्रमा मानपदवीको कुनै अर्थ नरहेको उनको धारणा छ । कसैले यो वा त्यो शब्दावलीबाट सम्बोधन गरिदियोस् भन्ने लोभ रहेको तर यसको कुनै औचित्य नरहेको उनी बताउँछन् । ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैँ भइरहेको सुजितको टिप्पणी छ ।

“आफ्नो काममा केन्द्रित हुनुपर्नेमा अनावश्यक हल्ला र चर्चामा रमाउने प्रवृत्ति रहेको छ । आत्मप्रशंसा गरे/गराएर आत्मरतिमा रमाउने चलन हाम्रोमा हाबी छ,” उनी भन्छन्, “अनावश्यक कुराले प्रश्रय पाइरहेको छ । चलचित्रमा अभिनयको र यसका विभिन्न विधाका विषयमा क्वालिटी डिभेट हुनुपर्ने तर यहाँ नचाहिने अनावश्यक विषयमा बहस भइरहेको छ ।”

को ‘महानायक’ र को ‘महानायिका’ ? भन्ने विषयमा ‘रुवाबासी’ भइरहेको निर्देशक सुजितको भनाइ छ । अहिलेको शून्य समयमा कसरी चलचित्र क्षेत्रलाई अगाडि बढाउने भन्ने छलफल हुनुपर्नेमा त्यसतर्फ कसैको ध्यान नगएको गुनासो गर्छन् ।

“अहिलेको समय कसरी नयाँ तरिकाबाट अगाडि बढ्ने भनेर छलफल र बहस हुनुपर्नेमा अझै पनि घिसीपिटी विषयमै लडाइँ गरिरहेका छौँ । यसले हाम्रो अवस्था देखाउँछ । हाम्रा चलचित्र किन राम्रा भएनन् भन्ने पनि यस्तै–यस्तै कारणले हो भन्ने पुष्टि गर्छ,” उनले भने ।

कोरोना संक्रमणको त्रासले सिर्जना गरेको खाली समयमा उपलब्धिमूलक काम केही पनि नभएको बताउने उनी यस्तै झिनामसिना अनावश्यक कुरामा समय खर्र्चिइएको बताउँछन् । चलचित्र समाजको ऐना हो भने यस्ता अनावश्यक विषय नेपाली चलचित्र र चलचित्रकर्मीहरूको ऐना भएको उनको टिप्पणी छ ।

कुनै पनि चलचित्र उद्योगमा महानायक, युगनायक हुँदैनन् । जसले दर्शकको मन जितेको छ, ऊ आम जनतामाझ लोकप्रिय कलाकार हुन्छ । चलचित्रको कथाभित्रको नायकलाई बाहिर ल्याएर त्यसको प्रयोग गर्नु नै गल्ती भएको समीक्षक तथा निर्देशक मनोज पण्डित बताउँछन् । अप्ठ्यारोमा रहेको समाजलाई जसले बाहिर ल्याउन सक्छ त्यो नै नायक हुने उनको बुझाइ छ । “हाम्रो समाजमा सन्दुक रुइत नायक हुन् । अनुराधा कोइराला नायिका हुन्,” उनी भन्छन्, “चलचित्रको कथाभित्रको पात्रलाई सिनेमाभन्दा बाहिर ल्याएर प्रयोग गर्नु अज्ञानता हो । चलचित्रको भाषा नबुझ्नेहरूले गरेको काम हो ।”

राजेश हमाललाई कसैले कलाकार भन्न सक्ने तर ‘नायक’ वा ‘महानायक’ भनिए त्यो गलत प्रयोग र अभ्यास हुने उनको ठहर छ । उनलाई लामो समय काम गरेको र धेरै चलचित्रमा अभिनय गरेको कलाकार भनेर सम्मान गर्न सकिने तर नायक नै भन्न नसकिने उनको निष्कर्ष छ ।

“दयाहाङ राई र सौगात मल्ललाई अब्बल क्षमता भएका कलाकार भन्न सकिन्छ । तर, कसैले नायक वा महानायक भन्छ भने त्यो चलचित्रको भाषा नबुझेको व्यक्ति हो भनेर बुझ्नुपर्छ,” मनोज स्पष्ट पार्छन्, “यस्तै कमजोर बुझाइको परिणाम हो हाम्रो अहिलेका चलचित्र र चलचित्र उद्योग । यसको शृंखला चलिरहेको र पछिल्लो पुस्ताले पनि यसलाई अवलम्बन गरिरहेको छ ।” ज्ञानले मात्रै विद्यमान यो समस्यालाई चिर्न सकिने उनको भनाइ छ ।

राजेश हमाल व्यस्त भएको समयमा चलचित्र छान्न जानेनन् भनेर उनको आलोचना भयो । उनले यसलाई स्वीकार पनि गरेका छन् । पछिल्ला दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’मा पनि आफू चुकेको उनले बताएका छन् ।

चलचित्रबाट केही टाढिएका उनी पछिल्लो समय गीतको म्युजिक भिडियोमा काम गरिरहेका छन् । पछिल्लो पुस्ताका कलाकारसँग म्युजिक भिडियोमा उनी नाचिरहेका छन् । उनले चलचित्रमा रहेको आफ्नो योगदान र गरिमालाई बचाउन नसकेको भनेर टिप्पणी हुने गरेको छ ।

त्यसो त उनका आलोचक मात्रै होइन, समर्थक पनि छन् । उनलाई ‘महानायक’ मान्न थुप्रै चलचित्रकर्मीहरू तयार छन् । जति उनलाई ‘महानायक’ मान्न चलचित्रकर्मी तयार छन्, त्यसको कैयौँ गुणा बढी दर्शक राजेशलाई ‘महानायक’को योग्य ठान्छन् ।

गत वर्षको लकडाउनमा दीपाश्रीले राजेश हमालले ‘महानायक’को जिम्मेवारी ननिभाएको भन्दा सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । उनले आफ्नो नियत खराब नरहेको तर शब्द चयनमा चुकेको भनेर माफी माग्दा पनि राजेशका समर्थकले दीपाश्रीलाई ‘तथानाम’ गाली गरेका थिए । दीपाश्रीमाथि यति धेरै गाली आयो, उनी ‘डिप्रेसन’मा पुग्ने अवस्था आएको उनकै सहकर्मीले बताएका थिए ।

उनी ‘महानायक’ हुन् वा होइनन्, त्यसलाई गौण ठान्ने हो भने पक्ष वा विपक्ष जो जहाँ उभिए पनि राजेश नेपाली चलचित्र क्षेत्रका अग्रज नायक हुन् । नेपाली चलचित्र आजको दिनसम्म आइपुग्न निश्चय नै उनको मात्रै एकलौटी योगदान छैन, तर इँटा उनले पनि थपेका छन् । भुवन केसी, शिव श्रेष्ठ, करिश्मा मानन्धरको पनि त्यसैगरी योगदान छ । तर, विडम्बना के भने डेढ वर्षदेखि नेपाली चलचित्र थला पर्दा यी चारैजना नायक/नायिकाले केही ठोष योगदान गरेनन् । न त यसका लागि पहल नै गरे ।

पहिलो लकडाउनपछि ५० प्रतिशत सिट क्षमतामा खुलेका सिनेमा हलमा शिव श्रेष्ठले आफ्नो चलचित्र त रिलिज गरे, तर उनको चलचित्रप्रति दर्शकको आकर्षण देखिएन । सुरुमा ‘शिव दाइ नेपाली चलचित्रका लागि भगवान् बनेर आउनुभयो आफ्नो चलचित्र प्रदर्शन गर्ने निर्णय गरेर’ भन्ने वितरक तथा प्रदर्शकले पछि सामान्य समयमा रिलिज गर्न वितरक र प्रदर्शकले नमान्ने खालको चलचित्र भएकाले प्रदर्शन गरेको टिप्पणी गरे । एकजना वितरकले एक कदम अगाडि बढेर बाह्रखरीसँग भनेका थिए, “शिव दाइले झन्डै चालिस वर्ष खर्चिएर कमाएको इज्जत एउटा चलचित्रबाट माटोमा मिलाए ।”

अहिले पनि भुवन केसी र शिव श्रेष्ठको अभिनय रहेको शोभित बस्नेतको चलचित्र ‘डाँडाको वरपीपल’ रिलिज हुँदै छ । तर, यो चलचित्र प्रदर्शक र वितरकले नै प्रदर्शनका लागि रुचाएको चलचित्र होइन । सकेसम्म ठूलो ब्यानरका अरू नै चलचित्र रिलिज गर्न वितरक र प्रदर्शक चाहन्थे । तर, कोही पनि तयार नभएपछि यो चलचित्र आइपुगेको हो ।

चलचित्र क्षेत्र शून्य रहँदा राजेश गीतको भिडियोमा नाचेर समय कटाइरहेका छन् । नेपाली चलचित्र अप्ठ्यारोमा परेका बेला आफूलाई अग्रज र आफूलाई विभिन्न पदावलीले शुशोभित गर्न चाहनेहरू नै गुमनाम प्रायः रहे ।   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro