site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैंको मुखमा व्यापारीको हालीमुहाली, चार दिनमा ११५ पसल कारबाहीमा

काठमाडौं । फितलो अनुगमनका कारण काठमाडौं उपत्यकामा उपभोक्ताहरू ठगिने क्रम बढ्दै गएको छ । जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, नेपाल प्रहरीलगायत निकायहरूले प्रभावकारी अनुगमन नगर्दा उपभोक्ताहरू ठगिने क्रम बढेको हो ।

चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकामा चहलपल बढेको छ । भिडभाडकैबीच व्यापारीहरूले उपभोक्ताहरूसँग दोब्बर–तेब्बर मूल्य लिइरहेका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालकी उपाध्यक्ष सूवर्णप्रभा गुरागाईं सम्बन्धित निकायले अनुगमनको दायरा नबढाउँदा उपभोक्ताहरू ठगिने गरेको बताउँछिन् ।

‘‘दसैंको बेलामा विभिन्न तरिकाले उपभोक्ताहरू ठगिने गरेका छन् । यसपटक  सम्बन्धित निकायले अनुगमनको दायरा बढाउँन सकेका छैनन्,” उनले भनिन्, ‘‘काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकामा अनुगमन भएकै छैन । भक्तपुरमा एकदिन मात्रै अनुगमन भयो । लत्ताकपडामा सत प्रतिशत मूल्य वृद्धि भएको छ । दसैंको बेलामा खाने तेल, चिनीलगायत अत्यावश्यक खाद्यान्नको अत्याधिक मूल्य वृद्धि भएको छ ।”

उनका अनुसार गत वर्षको फागुनदेखि अहिलेसम्म १०० देखि १२५ रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । बजार अनुगमन गर्ने निकायबाट प्रभावकारी रूपमा अनुगमन नहुँदा अहिले बजारमा मिति सकिएका सामान बिक्री भइरहेको उनको दाबी छ । “सामानको माग बढी हुँदा कालोबजारी गर्ने, पहिलेदेखि बिक्री हुन नसकेका पुराना सामानहरूबढी मूल्यमा बिक्री भइरहेको छ,” उनले भनिन् ।

काठमाडौं उपत्यकामा आफूखुसी मूल्य तोक्दै सामान बेच्ने गरेको र स्थानीय सरकारले अनुगमन गर्न अप्ठ्यारो मानेको उपाध्यक्ष गुरागाईंको भनाइ छ ।

महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा अनुगमन समित पनि गठन भएको छ । समितिका एकाइ प्रमुख नरेन्द्रविलास बज्राचार्य भने महानगरको तर्फबाट अनुगमन भइरहेको दाबी गर्छन् । “महानगरका विभिन्न विभागले फरक–फरक क्षेत्रमा अनुगमन गरिरहेका छन् । हामीले अनुगमन समिति बनाएर अनुगमन थालिसकेका छौँ । गत वर्षजस्तै यो वर्ष पनि अनुगमनलाई तीव्रता दिनेछौँ,” उनले भने । 

महानगरकाअनुसार अहिलेसम्म विभिन्न २८ वटा व्यवसायिक क्षेत्रमा अनुगमन भएको छ । त्यस क्रममा विभिन्न व्यवसायीलाई कारबाही गरिएको महानगरले जनाएको छ । कालिमाटीको योगेन्द्र लाल दासको तरकारी पसल, त्रिपुरेश्वरस्थित जैसवाल पान भण्डारलगायत अन्य व्यवसायमा अनुगमन गरी कारबाही गरिएको महानगरको भनाइ छ । उनीहरूलाई २० हजारदेखि ५० हजारसम्म जरिबाना गरिएको छ । 

नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवर भने अहिलेसम्म उपभोक्ता ठगीको गुनासो प्रहरीसम्म नपुगेको बताउँछन् । तर पनि आफूहरूको तर्फबाट दैनिक रूपमा अनुमन भइरहेको उनले बताए । ‘‘दैनिक तीन सिफ्टमा अनुगमन गर्ने गरेका छौँ । अहिलेसम्म उपभोक्ता ठगिएको गुनासो आएको छैन । दसैं तिहार लक्षित गर्दै साधारण तरिकाले उपत्यकाका विभिन्न ठाउँमा अनुगमनका लागि प्रहरी खटाएका छौँ । दसैं तिहारमा उपभोक्ता ठगिन दिनेछैनौँ,” प्रवक्ता कुँवरले भने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडबाड लक्षित अनुगमन थालिसकेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोविन्दप्रसाद रिजालले असोज १७ गतेदेखि अनुगमन थालेको जानकारी दिए । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग विभिन्न सरोकारवाला निकायको समन्वयमा दैनिक अनुगमन गरी कारबाही गरिरहेको बताए । 

‘‘उपभोक्तालाई बढी मूल्यमा सामान बेच्ने, मिति सकिएका सामग्री बिक्री गर्ने, कालो बजारी गर्नेलगायत पसलहरूलाई कारबाही गरिरहेको छौँ,” प्रजिअ रिजालले भने ।  

चार दिनमा ११५ पसललाई कारबाही
प्रजिअ रिजालका अनुसार दसैंको बेलामा विभिन्न तरिकाले उपभोक्ताहरू ठगी गर्ने ११५ वटा पसललाई कारबाही गरिएको छ । ४० वटा पसललाई ३ लाख ७० हजार रुपैयाँ जरिबाना तिराइएको छ । 

काठमाडौं प्रशासनको तथ्यांकअनुसार असोज १७ गते खाद्यान्न लत्ताकपडा, तरकारीलगायत कुल २६ वटा पसलमा अनुगमन गरिएको थियो । ती पसलमध्ये सातवटा पसललाई ६० हजार रुपैयाँ जरिबाना गरिएको छ । यस्तै, १८ गते सोमबार ३२ वटा पसलमा अनुगमन गरिएको छ । जसमध्ये १५ वटा पसललाई एक लाख ४५ हजार जरिबाना गरिएको छ । १९ गते मंगलबार २५ वटा पसलमा अनुगमन गरिएकोमा १३ वटा पसललाई एक लाख १० हजार रुपैयाँ जरिबाना तिराइएको छ । यस्तै, बुधबार २० गते ३२ वटा पसलहरूमा अनुगमन गरिएको छ । जसमध्येबाट ५ वटा पसललाई  ५५ हजार रुपैयाँ जरिबाना गरिएको छ । 

यीमध्ये ७५ वटा पसललाई तत्काल सुधार गर्न र केहीलाई आवश्यक स्पष्टिकरण माग गरिएको प्रशासनले जनाएको छ । प्रजिअ रिजालका अनुसार उपभोक्तालाई ठग्ने एउटै पसललाई ५० हजारसम्म जरिबाना तिराउने गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ०६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro