मेरो संसार..., फेरि त्यो दिन..., मेरो एउटा साथी छ..., कति दिन बिते... । क्यासेट प्लेयरको जमानाको अन्त्यतिर आएका यी गीत अहिले पनि उत्तिकै सुनिन्छ । नेपाली पप जनरालाई सदाबहार र समृद्ध बनाउन गायक सुगम पोखरेलले एक गहकिलो इँटा थपे । सोही कारण उनी लोकप्रिय छन् ।
२०५२–५३ सालतिर पहिलो गीत रेकर्ड गराएका सुगमको गीत उनकै शब्दमा ‘झुर अनि सुपर फ्लप’ भयो । “मैले करियरको यात्रा नै असफलताबाट सुरु गरेको थिएँ । त्यसैले गर्दा मलाई सानोतिनो असफलताले असर गर्दैन । आत्तिने व्यक्ति भइदिएको भए म पहिलो गीतपछि नै यो क्षेत्रबाट बाहिरिइसकेको हुन्थेँ होला ।”
हिम्मत हारेनन् । काम गर्दै गए र सिक्दै गए । सुरुवातको तितो अनुभवका कारण सुगमलाई हिट, फ्लप र उतार–चढावले कहिल्यै असर गरेन । सुगमलाई आफ्नो मिहिनेतमा विश्वास थियो ।
पहिलो गीतको असफलतापछि रेडियो सगरमाथामा आरजेको रूपमा काम गर्न थाले । आरजेको कामले उनको गायन र संगीतप्रतिको मोहलाई टाढा हुन दिएन, बरु आकर्षण झनै बढेर गयो ।
प्रेम–विवाह गरेका सुगमले श्रीमती लिजालाई समर्पण गरेर गीत लेखे । उक्त गीतसहित दोस्रोपटक संगीत क्षेत्रको ढोका ढक्ढकाए । गीतको बोल थियो, ‘मेरो संसार तिमी नै हौ...’ । त्यस गीतले सांगीतिक क्षेत्रमा चिनायो । त्यसपछि उनले आजसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।
एकपछि अर्को गर्दै उनका गीत हिट हुँदै गए । लोकप्रियता बढ्यो । उनी हिट भएर हराउने गायक बनेनन्, धेरै लामो समय चुचुरोमा टिकेर बसे । तर, मानिसलाई एउटा लक्ष्य पुगेपछि अब अगाडि के त भन्ने लाग्छ । उनलाई पनि यही भयो ।
उनी भन्छन्, “एक मोडमा आएर अब के त भन्ने प्रश्नले सताउन थाल्यो । लाइफमा तपाईंले नेम, फेम सबै कमाइसकेपछि ह्वाट नेक्स्ट भन्ने हुन्छ । म पनि त्यो स्टेजमा थिएँ । अब म आफूलाई कसरी अगाडि बढाउने भनेर सोच्न सकिरहेको थिइनँ । किनभने, धेरैको करियर राम्रो हुँदा पनि पाँचदेखि १० वर्षसम्म मात्रै टिकेको देखेको थिएँ । मैले त्योभन्दा धेरै समय हिट भएर बिताइसकेको थिएँ । त्यही क्रममा अब कहिलेसम्म म यही गरिराख्ने, अब के गर्ने भन्ने अन्योल थियो ।”
सुगम पनि केही समय सुस्ताए । सुगमले सफलता सम्हाल्न सकेन भन्ने हल्ला पनि सुनिन थाल्यो । तर, केही समयको अन्तरालपछि उनी पार्श्वगायनमार्फत सांगीतिक क्षेत्रमा देखिए ।
पार्श्वगायन
सुगमलाई करियरको सुरुवातमा नै पार्श्वगायनमा प्रवेश गर्ने सोच थियो । तर, पहिलो गीतको असफलता र आरजेको करियर तथा दोस्रो गीत र त्यसपछिको सफलताले केही समय अल्झायो ।
उनको त्यो चाहना ६० को दशकतिर मनोज पण्डितको ‘लक्ष्य’ चलचित्रको ओरिजिनल साउन्ड ट्रयाक (ओएसटी)बाट पूरा भयो । सम्भवतः यो नेपालकै पहिलो ओएसटी (चलचित्रमा गीत नहुने तर प्रोमोसनका लागि बनाइएको छुट्टै गीत) भएको सुगम दाबी गर्छन् ।
त्यसपछि उनले लामो समय ब्रेक लिए र ‘मेरो एउटा साथी छ’मार्फत एकैपटक चलचित्रमा कम्पोजर र पार्श्वगायनमा पुनः प्रवेश गरे । उनको यात्रा पनि निरन्तर चल्दै गयो ।
१५–२० चलचित्रमा कम्पोज गरेर गीत पनि गाइसकेपछि उनलाई नेपाली चलचित्रमा एकै शैलीको गीतहरू मात्रै देखेर दिक्क लाग्न थाल्यो । केही समय यसबाट पनि ब्रेक लिने निर्णय लिए । ‘प्रेमगीत’मार्फत फेरि पार्श्वगायनमा फर्किए ।
पपगीतहरू गाउँदा आफ्नै कम्पोजिसनमा गाउने उनी चलचित्रमा भने केही आफ्नै र धेरैजसो अरूकै कम्पोजिसनमा गाउन रुचाउँछन् । कारण, उनी आफ्नो ‘कर्म्फट जोन’बाट निस्किएर आफूलाई ‘एक्सप्लोर’ गर्न चाहन्छन् ।
पपगीत ओझेलमा परेको हो ?
नवीन के भट्टराई, निमा रुम्बा, सुगम पोखरेललगायतले पपगायनलाई जति उचाइमा पुर्याए, त्यसपछि भने यो विधाका गीत सुस्ताएको टिप्पणी हुने गरेको छ । तर, सुगम यो कुरा मान्दैनन् । उनको विचारमा विस्तारै यसको हाँगाबिँगाहरू फैलिँदै गएको छ । अहिले पनि विपुल क्षेत्री, स्वप्न सुमन, सजनराज वैद्यलगायतले आ–आफ्नै शैलीमा यसलाई निरन्तरता दिइरहेको उनी बताउँछन् ।
पपगीत परिमार्जित भने हुँदै गएको उनको बुझाइ छ । स्रोताको गीत सुन्ने फ्लेवर पनि परिवर्तन हुँदै गएकाले यस्तो भएको हो कि भन्ने उनलाई लाग्छ । “समयसँगै आउने परिवर्तनलाई सकारात्मक रूपमा लिनुपर्छ । बुझाइनुसार गरिएको राम्रो चिज छ भने त्यो दीर्घकालीन हुन्छ । यदि, नराम्रो छ भने केही समय चमकदमक हुन्छ र त्यसपछि हराउँछन्,” उनी भन्छन् ।
प्रविधिले गीत सुन्नेसँगै हेर्ने पनि बनाइदिएको छ । तर, युट्युबसँगै आएको भाइरल र ट्रेन्डिङको पछाडि नभागी गुणस्तीय संगीत सिर्जनामा लाग्नुपर्नेमा सुगम जोड दिन्छन् ।
रोयल्टी
आफ्नो सिर्जनशील उमेर नेपाली सांगीतिक क्षेत्रलाई दिएका दिग्गज कलाकारहरूले पनि उमेर ढल्केसँगै केही ठूलै समस्या परे हात फैलाउनुपर्ने अवस्था छ । रोयल्टीका कुरालाई लिएर बेला–बेला बहस पनि हुने गरेको छ । तर, प्रतिफल शून्य प्रायः छ । आइट्युन्स, स्पोटिफाई र युट्युबबाट धेरथोर टेवा पुगिरहेको सुगम बताउँछन् ।
आकाशे खेती !
गीत–संगीतलगायत सिर्जना क्षेत्रलाई सुगम आकाशे खेतीको संज्ञा दिन्छन् । “यो भनेको आकाशे खेतीजस्तै हो । संगीत, चलचित्र वा साहित्य जे होस्, यी क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको छैन । यो पेसामा रहेका सबैलाई सजिलो छैन । सीमित वर्गका कलाकारहरूलाई मात्र यसैमा ढुक्क हुने अवस्था छ, त्यो पनि अहिले आफूले सकुन्जेल । सुरक्षाका लागि पनि होला, अहिले सबैजसोले वैकल्पिक पेसा अपनाइरहनुभएको छ ।”
सुगमले पनि साथीहरूसँग मिलेर वैकल्पिक पेसामा लगानी नगरेका होइनन्, तर त्यो लगानी बालुवामा पानी हालेसरह भयो । त्यसैले अहिले संगीतलाई मात्रै निरन्तरता दिने र पछि गएर व्यवसायमा पनि हात हाल्ने योजना उनको छ ।
सिर्जनामा नशाको प्रभाव ?
नशा र सिर्जनाको जिज्ञासा सुगम भन्छन्, “नशा गरेपछि मात्रै सिर्जना आउँछ भन्ने मलाई लाग्दैन । यो त व्यक्तिले जानी–नजानी बसाउने बानी हो । होला, कोही–कोहीमा यो लागु होला, तर सबैमा त्यस्तो नहुन सक्छ । यो आ–आफ्नो च्वाइस हो,” उनले भने ।
कुनै समय जानी–नजानी यसमा फसेका उनी अब भने त्यो कहिल्यै नदोहोर्याउने बताउँछन्, “त्यो मेरो गल्ती हो । तर, मलाई त्यसमा कुनै पश्चात्ताप छैन । किनभने, त्यसले पनि मलाई धेरै कुरा सिकाएको छ । तर, यसो भन्दैमा म सही थिएँ भन्न खोजेको भने पक्कै होइन ।”
त्यसबाट उम्किन उनलाई परिवार र साथीभाइले साथ दिएका थिए । यो घरको समस्या भन्दै लुकाउनु ठिक नहुने र यसमा बहस गर्नुपर्नेमा सुगमको जोड छ । तर, यसबाट उम्किनका लागि व्यक्ति स्वयंको इच्छाशक्ति हुनुपर्ने सुगम बताउँछन् ।
अहिले ‘नेपाल आइडल ४’ मा निर्णयकको रूपमा जोडिएका सुगम फ्रेन्चाइजी शोहरूले नयाँ प्रतिभाहरूका लागि राम्रो प्लेटफर्मको काम गरेको बताउँछन् । तर, कति लामो बाटो तय गर्ने भन्ने कुरा व्यक्तिको मिहिनेत र धैर्यतामा भरपर्ने उनले बताए ।
दसैँ नजिकिएको छ । यो समयमा धेरै गुन्जिने गीत ‘दसैँ तिहार’ हो । यो गीत उनले तीन वर्षअगाडि रिलिज गरेका थिए । हुन त योपछि पनि उनले अरू दसैँ गीत ल्याइसकेका छन् । तर, ती गीतहरू यसको छायामा परेको उनी बताउँछन् ।