काठमाडौं । एउटा प्रत्यक्ष अन्तर्वार्तामा प्रमोद (अग्रहरी)लाई एक पत्रकारले सोधे– तपाईंको अनुहार त नेपाली होइन नि !
अरे बा ! मसँग वंशजको नागरिकता छ भने म कसरी नेपाली नागरिक होइन ? प्रमोदलाई प्रतिप्रश्न गर्न मन थियो । तर, उनले हाँसी–हाँसी जवाफ दिए । कारण, उनले तराईवासी भएकै कारण सहनुपरेको विभेदको यो पहिलो प्रश्न थिएन । एक हिसाबले भन्दा यस्ता प्रश्न उनका लागि ‘युज टु’ भइसकेको थियो । तर पनि आफ्नो राष्ट्रियतामाथि नै प्रश्नचिह्न उठाउँदा किन मनले सहर्ष स्वीकार्थ्यो र ?
भलै, उनले विद्रोह गरेनन् । चुपचाप सहिरहे, जसरी आफ्नो छाला गहुँगोरो नभएकै कारण पुस्तौँदेखि उनका अग्रजहरूले सहँदै आएका थिए ।
निर्देशक मनोज पण्डितलाई समाजसँग विद्रोह गर्न मनपर्छ । प्रमोदलाई चुनौतीसँग रम्न । त्यसैले त कालान्तरमा प्रमोदलाई विद्रोह गर्ने मौका मिल्यो चलचित्र ‘एक’मार्फत ।
प्रमोदलाई मनोजले अफर गरे । क्यारेक्टर आफैँमा चुनौतीपूर्ण थियो । उनलाई चुनौतीसँग खेल्न डर त थिएन, तर एउटा कुरासँग भने शंका थियो । प्रमोदले सल्लाह गर्ने साथीहरू सौगात मल्ल र प्रवीण खतिवडा हुन् । उनीहरूले क्यारेक्टरले कथा कसरी पोट्रे गर्छ त्यसमा भरपर्ने र यसमा मनोज पण्डितलाई विश्वास गर्न सकिने विश्वास दिलाए ।
२०१७ अगस्ट १ मा छुट्टै मधेस अर्थात् ‘स्वतन्त्र मधेस’को एजेन्डा बोकेर छायांकनका लागि वीरगन्ज पुगे प्रमोद । आफ्नो चरित्र सही तरिकाले पोट्रे हुन्छ कि हुँदैन भन्नेमा उनलाई डर थियो । तर, आफैँ जन्मेहुर्केको भूमिमा उनले त्यस्ता थुप्र्रै व्यक्ति देखे–भेटेका थिए । चलचित्रमार्फत उनी त्यही चरित्र निभाउँदै थिए ।
“समाजमा रहेका कुरा आम दर्शकमाझ ल्याउनु र त्यसमा सचेत गराउनु एक अभिनेताको दायित्त्व पनि हो भन्ने मेरो बुझाइ थियो र छ पनि । त्यसैले पनि मैले यो चरित्र स्वीकार गरेँ,” प्रमोद भन्छन्, “थाहा छैन मैले गरेको प्रयासले स्वतन्त्र मधेस आवश्यक रहेको मनोविज्ञान पालेर हिँडेका पात्रको त्यो मनोदशा परिवर्तन गर्न सक्छ कि सक्दैन । तर, कम्तीमा प्रयास त गर्न सकिन्छ ।”
राम्रो सन्देश दिने मात्रै होइन, यो चरित्रले समाजमा राम्रो स्थान बनाउँछ होला भन्ने लोभ पनि उनमा आयो । थाहा छैन उनको यो अपेक्षा पूरा हुन्छ अथवा हुँदैन, तर प्रयास गरेका छन् ।
मधेस भर्सेस नेपालको कथा छ । कसैले स्वीकार गरोस् वा नगरोस् काठमाडौंले मधेसलाई हेर्ने नजर फरक छ । अन्तको त के कुरा उनले काम गरिरहेकै चलचित्र क्षेत्रमा पनि प्रत्यक्ष होस् वा परोक्ष यो विभेद छ । यसलाई भन्ने समय आइसकेको उनी बताउँछन् ।
“चलचित्र आफैँमा समाजको ऐना हो । यसको अर्थ चलचित्र कुनै पनि कुरा भन्ने बलियो माध्यम हो । आफूले अरू समय भन्न नसकेको कुरा चलचित्रमार्फत पनि भन्न सकिन्छ भन्ने थियो,” प्रमोद भन्छन्, “चलचित्रमा मेरो क्यारेक्टरको बुझाइ जे छ त्यही बुझाइ मेरो नहोला, तर समाजमा त्यस्ता धेरै क्यारेक्टर छन्, जसलाई उचित र अनुचित के हो भन्ने बुझाउन सक्नुपर्छ भन्ने मेरो मनमा थियो ।”
कहिले छालाको रङको कुराले, कहिले नागरिकताको कुराले त कहिले भूगोलको कुराले भारतीय ‘एजेन्ट’को आरोप मधेसमा बसोबास गरेकै कारण भोग्नुपरिरहेको यथार्थबाट प्रताडित उनको क्यारेक्टरले विद्रोह गर्छ । त्यसले देशमा पर्ने असर र निम्त्याउने समस्याबारे जानकारी दिँदै त्यसो गर्न हुँदैन भन्ने सन्देश दिन चलचित्र सफल हुने उनको विश्वास छ । “हामीले त राष्ट्रप्रतिको प्रेम देखाउन खोजेका छौँ, सचेत गराउन खोजेका छौँ । अरू कुनै उद्देश्य छैन,” प्रमोद भन्छन्, “पूरै देश एक हुनुपर्छ भन्ने सन्देश हो । राष्ट्रियता बलियो हुनुपर्छ भन्ने सन्देश दिनु हाम्रो उद्देश्य हो ।”
“मधेस सम्भावना बोकेको भूमि हो । त्यहाँको मलिलो माटो देशको सम्पत्ति हो । यसलाई सरकारले विभेदको नजरले किन हेर्छ ? यसको जवाफ राज्यले दिनुपर्छ,” प्रमोद थोरै राजनीतिक कुरा घुसाउँछन् उनको चलचित्रमा जस्तै, “यो तीतो व्यवहारले नै होला, सायद केही विद्रोही क्यारेक्टरहरू जन्मिए । यसमा राज्यको ध्यान बेलैमा जानुपर्छ, ताकि यस्ता चलचित्र फेरि–फेरि बनाइरहनु नपरोस् ।”
राजनीति मात्रै होइन, प्रमोदकै कार्यक्षेत्र चलचित्र नगरीमा पनि विभेद छ । खोइ कति बने मधेसकेन्द्रित चलचित्र ? बन्नैपर्छ भन्ने छैन, किनकि चलचित्र सर्जकको सिर्जना हो । उसले चाहेअनुसार गर्न सक्छ । तर, किन बनेनन् ? उनको प्रश्न हो ।
मधेसलाई लक्षित गरेर चलचित्र किन बनेनन् ?, मधेसको ठूलो भूमिलाई काठमाडौंका मेकरले किन नजरअन्दाज गरिरहे ? किन मधेसका विषयमा एक्सपेरिमेन्ट पनि गरिएन ? मधेसमा कति सिनेमा हल छन् ? नेपाली चलचित्रको प्रचार मधेसमा किन गरिँदैन ? आफ्नो घर भएको क्षेत्र परासीमै छैन सिनेमा हल, मधेसमा बस्ने नागरिकचाहिँ दर्शक होइनन् ? यस्ता थुप्रै गुनासा छन् प्रमोदसँग ।
“अक्सर मधेसी पात्रहरूलाई चलचित्रमा मजाकका रूपमा मात्रै प्रयोग गरिँदै आएको छ । स्ट्रङ क्यारेक्टरका रूपमा कमै मात्रै मधेसी क्यारेक्टरहरू छन्,” प्रमोद भन्छन्, “नेपालमा राम्रा मेकरहरू पनि त हुनुहुन्छ, जस्तै : नवीन सुब्बा, छिरिङ रितार शेर्पा, मीन भाम, दीपक रौनियार, दीपकराज गिरी, दीपाश्री निरौला, दीपेन्द्र के खनाल, निश्चल बस्नेत, खोइ त उहाँहरूले मधेसका विषयमा चलचित्र बनाएको ?”
प्रश्न थुप्रै छन् । तर, अनुत्तरित ।
उनकै चलचित्र ‘एक’ले चाहिँ मधेसका दर्शकलाई रिझाउन सक्ला ? “चलचित्रमा विचार छ । सन्देश छ । बुझाइ मुख्य कुरा हो,” उनी भन्छन्, “विषय बुझ्न चाहनेले चलचित्र हेर्नुहुनेछ । भुइँचालो, कोभिड होस् वा मधेसमा भएको डुबान त्यसले भावनात्मक रूपमा पनि पहाड र मधेसलाई जोडिसकेको छ । यो सकारात्मक प्रभाव चलचित्र प्रदर्शनमा पनि देखिएला ।”
मनोज पण्डितले निर्देशन गरेको ‘एक’ आउँदो दसैँको घटस्थापनाका दिन डिजिटल प्लेटफर्ममार्फत रिलिज हुँदै छ ।