site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सवारी लाइसेन्स परीक्षा : आएन स्मार्टकार्ड, दसैँपछि मात्रै नयाँ आवेदन
फाइल तस्बिर ।

काठमाडौं । यातायात व्यवस्था विभागले रोकिएका सवारी अनुमतिपत्र (लाइसेन्स)को परीक्षा सञ्चालन गरेको १५ दिन भयो । विभागले परीक्षा सञ्चालन गर्नुअघि नै दुई सातामा स्मार्टकार्ड आइपुग्ने जनाएको थियो । तर, अझै स्मार्टकार्ड आएको छैन ।

विभागले समयमा स्मार्टकार्ड ल्याउन नसक्दा सवारीचालकहरूले सहजै लाइसेन्स पाउन सकिरहेका छैनन् । यस्तै, नयाँ आवेदन खुलाउन विभागले आलटाल गरिरहेको छ ।

विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार नयाँ आवेदन खुलाउने प्रक्रिया छलफलमै छ । ‘‘नयाँ आवेदन नखुलाउँदै विभागमा छाप्नुपर्ने लाइसेन्स थपिँदै छन् । यसले विभागलाई थप भार थपिएको छ त कसरी नयाँ आवेदन खुलाउनु ? विभागले खरिद गरेको स्मार्टकार्ड पनि आइपुगेको छैन । दुई सातामा स्मार्टकार्ड आउने भने पनि समयमा कार्ड आएन । यद्यपि, नयाँ आवेदन खुलाउनेबारे छलफल भइरहेको छ । अहिले नै कहिले नयाँ आवेदन खुलाउनेबारे भन्न नसकिने अवस्था छ,” महानिर्देशक घिमिरेले भने ।

चाप बढ्यो
विभागका अनुसार प्रतिघण्टा ४५० वटा लाइसेन्स छाप्ने क्षमताको मेसिन छ । मेसिनको क्षमताअनुसार दैनिक नौ हजारवटा लाइसेन्स छाप्न सकिन्छ ।

‘‘एक दिनको हिसाबानुसार विभागले एक महिनामा दुई लाख लाइसेन्स छाप्न सक्छ । तर, अहिलेसम्म स्मार्टकार्ड आइनसक्दा छाप्ने मेसिन बन्द छ । एक वर्षमा १० लाख सवारीचालकलाई लाइसेन्स वितरण गर्नुपर्ने हुन्छ । तर, विविध प्राविधिक कारणले गर्दा भनेजति लाइसेन्स प्रिन्ट गरेर वितरण गर्न सकिरहेका छैनौँ । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा पुराना लाइसेन्सको परीक्षा सञ्चालन भइरहँदा विभागमा चाप बढेको छ,” उनले भने ।

विभागसँग लाइसेन्स छाप्ने एउटा मात्रै मेसिन छ । त्यो मेसिन बिग्रिए छपाइ रोकिन्छ ।

विभागले लाइसेन्स परीक्षा उत्तीर्ण गरिसकेका सवारीचालकहरूलाई रातो रसिदलाई लाइसेन्सका रूपमा वितरण गर्छ । तर, उक्त रातो रसिदलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले मान्यता दिँदैन । विभाग र ट्राफिक प्रहरीबीच समन्वय नहुँदा पनि चालकहरू थप मारमा पर्ने गरेका छन ।

पुराना आवेदकको परीक्षा सञ्चालन सुरु हुने बेला विभागले नयाँ आवेदन असोजको पहिलो सातादेखि खोल्ने जनाएको थियो । तर, अझै खुलाइएको छैन । विभागले स्मार्टकार्ड नआउँदा र पुरानै आवेदकको भार कम नभएको भन्दै दसैँपछि मात्रै नयाँ आवेदन खुलाउन सकिने जनाएको छ ।

महानिर्देशक घिमिरे भन्छन्, ‘‘कोरोना महामारीका कारण रोकिएका पुराना ६ लाख आवेदकहरूको परीक्षा अहिले सञ्चालन भइरहेको छ । यसै त विभागलाई पुरानै भार छ, पुराना आवेदकहरूको परीक्षाहरू सञ्चालन भएको बल्ल १५ दिन हुँदै छ । उक्त परीक्षाहरू असोज महिनाभरि सञ्चालन गरी त्यसपछि मात्रै नयाँ आवेदन खुलाउने कि भन्ने छ । सम्भवतः दसैँपछि नयाँ आवेदन खुलाउन सकिएला । छलफल भइरहेको छ । छलफलको औपचारिक निर्णय भने हुन सकेको छैन । एक महिनाभित्रमा स्मार्टकार्ड आइपुग्नेछ । त्यसपछि विभागमा लाइसेन्स छापिन सुरु हुन्छ ।”

विभागले रोकिएका परीक्षा सञ्चालन गरेपछि एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स वितरण थालेको छ । लाइसेन्सका लिखित र ट्रायल परीक्षा उत्तीर्ण गरेका सवारीचालकहरूलाई सहजै लाइसेन्स दिन विभागले अरू विकल्प खोजिरहेको जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १६:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro